Pages

Friday, June 11, 2021

 

जालझेल जगमाथि बनेको सिष्टम


कुमार-अगस्त्य सम्बादे                          

-आनन्दराम पौडेल

 

कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि, अब म जालझेल र षडयन्त्रको जगमा निर्माण भएको सिष्टमको के हालत हुँदोरहेछ ? त्यो बताउँछु; ध्यानदिएर सुन्नुहोस्।                           जुनजुन देशले आधारभूत बिषयहरुमा सैद्धान्तिक सहमति गरेर सम्बिधान निर्माण थाले त्यहाँ सफा सम्बिधान निर्माण भयो। निर्माताले विदेशीका एजेण्डा घुसाउँदा राष्ट्र सफरर भएको र सम्बिधान डङ्ग्रङ्ग पछारिएको पनि छ। सवैलाइ थाहा छ, दक्षिण अफ्रिकामा नश्लीय विभेद चर्को थियो। राज्यव्यवस्था सम्पूर्ण गोराको पक्षमा थियो। कालाहरुको हातमा सत्ता आएपछि प्रतिशोधको भावना राखेर काम गर्छन् कि भनेर शङ्का गरिएको थियो। तर, नेल्शन मण्डेला लगायत राष्ट्रिय नेताहरुले प्रतिशोधकेन्द्रीत भएर काम गर्न थाल्यौंभने मुलुक अनन्त द्वन्दको शृङ्खलामा फँस्नेछ भनेर देशवासीलाइ सम्झाए। १.जातीय, लैङ्गिक, नश्लीय र अन्य सवैखाले विभेदलाइ प्रतिवन्ध लगाउने तथा जातीय समानता र राष्ट्रिय एकता प्रवर्द्धन गर्ने। २.अल्पसङ्ख्यक राजनीतिक दलहरुलाई लोकतन्त्रसम्मत तवरले व्यवस्थापिकामा सहभागी गराउने। ३.स्थानीय सरकारको अधिकार,कर्तव्य र संरचनाको बिषयमा सम्बिधानमै प्रष्ट खाका तैयार गर्ने। स्थानीय सरकारको समग्र अधिकार, कर्तव्य र अन्य गुणहरु संसदीय तह र प्रान्तीय विधान दुवैमा राखिने लगायत ३४ बुँदाका पूर्वशर्तहरु पहिल्यै तय गरियो। टेष्ट गर्न सम्बैधानिक अदालत गठन गरिएको थियो। नेशनल एसेम्ब्लीमा ७३ प्रतिशत अश्वेत, १५ प्रतिशत श्वेत, ९ प्रतिशत रङ्गीन र ३ प्रतिशत भारतीय थिए। प्रतिशोधको भावना नराखेको, आधारभूत सैद्धान्तिक सहमति गरेको र विवाद सुल्झाउन सम्बैधानिक अदालत गठन गरिएको कारणले गर्दा अत्यन्तै जटील र नाजुक परिस्थितिमा पनि दक्षिण अफ्रिकामा सम्बिधान निर्माण सम्भव भयो।

     भारतमा पनि सम्बिधानसभाको शुरुमै पण्डित जवाहरलाल नेहरूले सैद्धान्तिक अवधारणाहरु प्रस्तुत गर्नुभएको थियो, जस्लाइ सभाले आधारभूत वुँदाको रुपमा स्वीका-यो। भारतले स्वतन्त्रतासँगै भयङ्कर पेचीला समस्या र डरलाग्दा चुनौति ब्यहोर्नुपरेको थियो। मुसलमानहरुको ठूलो समूह राष्ट्रिय चुनौति बनेर खडा भएका थिए। देश टुक्र्याएरै छाड्ने भयङ्कर षडयन्त्र बोकेर उनीहरु अगाडी आएका थिए। त्यसबाहेक अतिशय विविधता र विषमताले भरिएको देशमा सबैले राष्ट्रप्रति निष्ठा राखेर तथा पद्धति र अनुशासन भित्र रहेर काम गरेका कारणले २बर्ष ११महिनामा सम्बिधान निर्माण सम्भव हुन सक्यो। कति सूक्ष्म र गहन विमर्श हुन्थ्यो भन्ने बिषयमा बी.शिवा रावले दि फ्रेमिङ अफ ईण्डियाज कन्स्टिच्यूशनपुस्तकमा खुलस्त गरेका छन्। सम्पति सम्बन्धी अधिकारको प्रस्तावित एउटा दफा यस्तो थियो, “कुनैपनि व्यक्तिलाइ उस्को जीवन, स्वतन्त्रता र सम्पतिबाट कानुनको उचित प्रकृयावेगर वञ्चित गरिने छैन।धेरै छलफल र लामो प्रकृयाबाट यी प्रावधानहरु लेखिएका थिए। उपसमितिको रिपोर्टसँगै आफ्नो व्याख्यात्मक नोटमा उचित प्रकृयाशव्दमाथि सर बी.एन.राऊले टिप्पणि लेखे, “ विगत आधा शताव्दीको अभ्यासमा अमेरिकाको सुप्रीम कोर्टमा ४० प्रतिशत मुद्दाहरु यही उचित प्रकृयाको वरिपरी घुमिरहेछन्। विभिन्न सन्दर्भमा बेग्लाबेग्लै व्याख्या हुन थालेपछि यो शव्दको बिषयमा अमेरिकामै यस्तो जनचर्चा चल्यो, “यो शव्दको त्यही अर्थ हुन्छ जुन अदालतले निकाल्छ। त्यसबाहेक यस्को अर्को परिभाषा सम्भव छैन।अमेरिकाको अनुभवबाट पाठ सिकेर आईरिश सम्बिधानमा “निजी सम्पतिको अधिकारसँगै सामाजिक न्यायको सिद्धान्तपनि लागु हुनेछ” भनेर जोडिदिएको उदाहरण समेत् उहाँले उल्लेख गर्नुभएको थियो। अर्को एउटा दफामा पनि लामो वहस र मन्थनबाट यस्तो वाक्य तैयार भएको थियो, “कसैको पनि सम्पति सार्वजनिक उपयोगका लागि तवसम्म अधिग्रहण गरिने छैन, जवसम्म उक्त सम्पतिको लागि न्यायोचित क्षतिपूर्ति भुगतानको व्यवस्था हुँदैन र क्षतिपूर्तिको निर्धारण कुन नियमअनुसार र कुन तरिकाबाट गर्ने सुनिश्चित हुँदैन।यो दफामा पण्डित नेहरूले कडा आपत्ति जनाए। उनले यो प्रावधान जमिन्दारी प्रथा उन्मूलन गर्न वाधक हुनेछ भन्ने तर्क पेश गरे। कमसेकम सार्वजनिक उपयोगको सट्टामा सरकारी उद्देश्यलेखियोस् भनेर विशेष अनुरोध गरे। लामो र गहन वहस भयो। अन्तमा यस बिषयमा सल्लाहकार समितिमा भोटिङ भयो र २ मतले नेहरुको प्रस्ताव पराजित भयो। तैपनि, ‘न्यायोचितशव्दलाइ हटाउन सवै सहमत भए। निर्णायक स्थानमा रहेका व्यक्तिले वदनियत प्रयोग गरेमा समग्र संरचनाको आधारभूत तहमै कतिसम्म गहीरो असर पर्दोरहेछ भन्ने अर्को एउटा भयङ्कर उदाहरण यहाँ उल्लेख गर्दछु। भारत स्वतन्त्र गराउन महात्मा गान्धीको योगदान स्तूत्य छ। ग्रामराज्य उनको राजनीतिक दर्शन थियो। ग्रामराज्यको जगमा हिन्द स्वराज्यको संरचना निर्माण हुनेछ भनेर चेतनशील नागरिक प्राय सवैले सोचेका थिए। तर, डा.भीमराव अम्बेडकर स्थानीय निकाय विरोधी थिए। सम्बिधानसभामा सम्बिधानको मस्यौदा पेश गर्दै उनले भने, “हाम्रा गाउँहरु स्थानिकवाद, अज्ञानता, सङ्कीर्ण मानसिकता र साम्प्रदायिकताको अन्धकूप वाहेक केही हैनन्। सम्बिधानको मस्यौदामा हामीले गाउँलाइ फालेर व्यक्तिलाइ केन्द्रमा राख्न सफल भएका छौं, यस्मा म खुशी छु।निर्णायक स्थानमा रहेका केही व्यक्तिले आफ्नो वदनियतलाइ प्रयोग गर्दा विश्वकै ठूलो प्रजातान्त्रिक देश भन्ने भारतको राज्यसंरचना आधारभूत तवरमै फेरवदल भयो। स्थानीय निकायहरु पूरै उपेक्षित र तिरस्कृत भए। स्वतन्त्रता आन्दोलनदेखि नै ग्राम स्वराज्य नै हिन्द स्वराज्य हो र त्यहीनै वास्तविक लोकतन्त्र होभन्दै आएका स्वतन्त्रतासेनानीहरु र यो दर्शनका पक्षपातीहरुले यो मुद्दालाइ काँधमा बोकेर निरन्तर सङ्घर्ष गरिरहे। जस्को अथक प्रयासले गर्दा ४० बर्षपछि सम्बिधानमा ७३औं र ७४औं संशोधन गरी बल्ल स्थानीय निकायलाइ मान्यता दिइयो। अझैपनि कतिपय राज्यले स्थानीय निकायलाइ यथोचित व्यवहार गरेका छैनन्।

     नेपालमा पनि २०४७ सालको सम्बिधान निर्माण गर्दा स्थानीय निकायलाइ विर्सेकै हो। धेरै दबाव परेर बल्ल-बल्ल २०५५ सालमा स्थानीय स्वायत्त ऐनले थोरबहुत जिम्मेवारी दिएपछि स्थानीय निकाय वौरेका हुन्। २०४७ सालको सम्बिधान निर्माण गर्दा, कसैले घुसाइदिएको अथवा आफैंले साँचेर राखेका केही पूर्वाग्रह विश्वनाथ उपाध्यायजीको दिमागमा सेट थियो। प्रधानमन्त्रीलाइ  प्रतिनिधिसभा भङ्ग गर्ने एब्स्ल्यूट अधिकार दिनहुँदैन भन्नेमा उहाँ दृढ हुनुहुन्थ्यो। सम्बिधान निर्माणकालमा भएका छलफलका टिपोटहरु अध्ययन गर्दा आयोगका सदस्यहरु सवैले प्रधानमन्त्रीलाइ निर्वाध अधिकार दिनुपर्छ भनिसक्दापनि विश्वनाथजीले छेस्किनि लगाउन खोज्नुभएको थियो। प्रधानमन्त्रीले चाहिएको अवस्थामा भङ्ग गर्ने भनेको सामान्य अभ्यास हो। त्यो प्रावधानलाइ हामीले प्रष्टसँग किटेर राख्नुपर्छ।छलफलमा निर्मल लामाले भन्नुभएको थियो। भरतमोहनजीले भङ्गसँगै निर्वाचनको अवधिपनि तोक्नुपर्छ भन्नुभएको थियो। दमननाथ ढुङ्गानाजीको यही मत थियो। माधव नेपालले प्रधानमन्त्रीको स्थानमा मन्त्रीपरिषद राख्ने होकि भन्नुभएको थियो। यो मतैक्यता विश्वनाथजीको दृष्टिकोणसँग फरक परेकोले उहाँ छट्पटाउनुभएको थियो। वैकल्पिक सरकार बन्न सक्छभने भङ्ग नगर्न सकिन्छ भनेर प्रतिवन्धात्मक वाक्य राख्न उहाँले प्रस्ताव राख्नुभयो, तर त्यहाँ कसैले समर्थन गरेनन् । पछि रामानन्द प्रसाद सिंह, मुकुन्द रेग्मी र लक्ष्मण अर्यालजीलाइ आफ्नो विचारप्रति लचीलो बनाएर अध्यक्षले भोटिङ्मा लग्नुभएको थियो। प्रद्युम्नलाल राजभण्डारीजी अनुपस्थित हुनुभएकोले ८ जनाको सभा वसेको थियो। आफ्नो विचारको पक्षमा ३ मत मात्र पर्ने स्थिति भएपछि निर्णायक मत दिनुपर्ने अध्यक्ष आफैंले सदस्य सरह मत दिएर मत बराबरी भएको घोषणा गर्नुभएको थियो। आफ्नो यही नियतलाइ विश्वनाथ उपाध्यायजीले प्रधानन्यायाधीश भएका वेलामा २०५२ भदौ १२ गते प्रकट गर्नुभएको प्रष्टै देखिन्छ।

    जनता सचेत र जागरुक नहुँदा,  विदेशी शक्तिकेन्द्रका अगाडी सधैं नतमस्तक रहने लम्पसारवादी नेताहरूले विदेशी एजेण्डाहरू घुसाएर सम्बिधानलाइ बर्णशङ्कर बनाइदिंदारहेछन् भन्ने ज्वलन्त उदाहरण त नेपालको वर्तमान सम्बिधान भएको छ। ‘प्रदेश संरचना’ राष्ट्रको आवश्यकता थिएन र जनताको माग पनि थिएन। भारतको आदेशमुताविक प्रदेश संरचना लादियो। क्रिश्चियन मिशिनरीलाइ प्रवर्द्धन गर्न ‘हिन्दु राष्ट्र’ फाल्नैपर्ने भएकोले युरोपीयन युनियनको निर्देशनमुताविक ‘हिन्दु राष्ट्र’ फालिएको हो। वर्गसङ्घर्षलाइ बिस्थापित गर्नकालागि अमेरिकाको निर्देशनमुताविक जातीय-साम्प्रदायिक राजनीति स्थापित गरियो। निरपेक्ष गरिबीको रेखामुनि परेका विपन्नहरूलाइ दिनुपर्ने आरक्षण समेत् जात, सम्प्रदायमा बाँडियो। नेताहरूका खल्तिका मान्छे भर्नका लागि प्रतिनिधिसभामा समेत् समानुपातिक दरबन्दि राखिएको हो। पार्टीका झोलेहरूलाइ न्यायाधीश बनाउनकै लागि न्यायपरिषदमा राजनीतिक अनुहारको बहुमत गराइयो। सम्बिधान निर्माण गर्दा कतिसम्म जालझेल, षडयन्त्र गरेभने सम्बिधानसभाले आफैंले सङ्कलन गरेको जनताको अभिमत समेत्, विदेशी एजेण्डाहरूको विरुद्धमा भएकोले जनताका अभिमतलाइ लुकाइयो, छिपाइयो र दबाइयो। विदेशीहरूका एजेण्डाको भारीले थिचिएर नेपालको बर्तमान सम्बिधान गति लिननसक्ने अवस्थामा छ। जालझेल र षडयन्त्रको जगमा उभ्याइएको सम्बिधानले सासैफेर्न नसकिरहेको स्थिति प्रष्टै देखिन्छ। यति भनेर कुमारजी मौन हुँदाभए।

ईति श्रीस्कन्ध पुराणे, कुमार-अगस्त्य सम्बादे, नेपाल महात्म्ये, सिष्टम बर्णनम् शुभम्।

शुक्रवार, जून 11, 2021

 

No comments:

Post a Comment