नेपाली साहित्यको हालत
कुमार-अगस्त्य सम्वादे
-आनन्दराम पौडेल
कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि ! पछिल्लो
कालखण्डमा नेपालको साहित्य किन रङ्ग खुइलिएको कपडा भयो ? किन प्रभावपूर्ण भएन ? भन्ने तपाईंको जिज्ञाशामा अब म नेपाली साहित्यको अन्तरङ्ग
दास्तान कहन्छु; ध्यान दिएर सुन्नुहोस् । साहित्यमा त आमजनताको मर्म, व्यथा अभिव्यक्त हुनुपर्थ्यो र जनभावना
बग्नुपर्थ्यो । तर, अहिले पछिल्लो कालखण्डमा नेपाली साहित्य
होहल्लाको खेति भएको छ । नेपालमा अहिले जताततै सिण्डिकेट चलेको छ र सिण्डिकेट
सिण्ड्रोमबाट नेपाली साहित्यपनि अछुतो छैन। नेपाली साहित्यकार वृत्तमा
पनि गुट-उपगुटको सिण्डिकेट र सञ्जाल जबर्जस्त छ ।
मेडिया यिनैको पकडमा छ । ज-जस्ले गुट-उपगुट बनाउन सक्यो वा गुटमा छिर्न सक्यो
त्यस्को लागि विशेष स्थान सुरक्षित रहन्छ। प्रिण्ट मेडियादेखि इलेक्ट्रोनिक
मेडियासम्म यिनीहरुकै सेवामा तत्पर रहन्छन् । सिण्डिकेट-साहित्यकारहरुको विशेषता
के हुन्छभने तिनीहरु आफ्नै गुट र सिण्डिकेटभित्र सीमित
रहन्छन् । पालैपालो निमन्त्रणा, पालैपालो रमझम, पालैपालो प्रशंसा र पालैपालो सम्मानले विचरा
उनीहरुको जिन्दगि हस्याङ्फस्याङमै बितिरहेको हुन्छ। प्रशंसा खाँदा र पालोपैंचो
तिर्दातिर्दै भ्याइनभ्याइ भैरहेको हुन्छ। आफ्नै परिवारभित्रको अड्कोपड्को, समस्या, चुनौति र व्यथा वुझ्न र
महसुस गर्नका लागि एक मिनेट समय निकाल्न नसकिरहेको स्थितिमा टोल, छरछिमेक, समुदाय र समाजसँग अन्तरङ्ग
सम्वाद गर्न भ्याउने स्थिति हुँने कुरैहुँदैन। स्वनिर्मित कृत्रिम संसारमा
भुल्दाभुल्दै र आत्मरतिमा रम्दारम्दै उनीहरुले यथार्थ जगतको धरातल भुलिसक्छन्।
सर्जकको संसार र वास्तविक संसारको सम्बन्ध गाढा नहुञ्जेल सृजनाको रङ्ग गाढा
बस्दैन। पछिल्लो कालखण्डका नेपाली साहित्य रङ्ग खुइलिइएको कपडा जुन भैरहेछ, त्यस्को यही कारण हो।
सामाजिक, सांस्कृतिक र आर्थिक हैसियतबाट एउटा सर्जकको
विश्वदृष्टि निर्माण हुन्छभने सृजनाको श्रोत, आधार र 'क्याचमेण्ट' चाहीं उस्को सम्बन्ध, सङ्गत र उठबस नै हो। यही आँखाले उस्ले
बिषयबस्तुलाइ हेर्छ र त्यही अनुसार पाउँछ पनि। यस दृष्टिकोणको अभावमा न त सर्जकले
समाजको मर्म-व्यथा वुझ्न सक्छ न अन्तर्विरोधहरु पहिचान गर्न सक्छ न त यथार्थ र
सजीव चित्र उतार्न सक्छ। यथार्थ जगत र समाजबाट टाढिएकै कारणले २०६३ सालको
अन्तिमतिर आततायी वितण्डावादीहरुले तराईमा आफ्नै सामुन्ने
पूर्वज-साहित्यसाधकहरुलाइ लत्याइरहँदा र अपमानित गरिरहँदा उनीहरुको हृदयमा
सम्वेदनाको रस प्रवाह भएन। लक्ष्मीप्रसाद देवकोटा, सिध्दिचरण श्रेष्ठ, भानुभक्त आचार्यहरुको शालिक
ढालिरहँदा र फालिरहँदा नेपाल प्रज्ञाप्रतिष्ठान, प्रगतिशील लेखक सङ्घ, नेपाल लेखक सङ्घ, लोकतान्त्रिक लेखक सङ्घ
लगायत साहित्यिक सङ्घसंस्थाहरु र अगुवा साहित्यकारहरु मौन रहे। न त सृजनामा न त
आवाजमा उनीहरुका एकशब्द कतै पढ्न र सुन्न पाइयो। हे अगस्त्य मुनि, यसरी नेपाली साहित्य, नेपालका अन्य क्षेत्र झैं
आत्माहीन, धोद्रो र सङ्कुचित हुँदैगएको
सत्य हो। यति वर्णन गरेर कुमारजी मौन भए।
इति कुमार-अगस्त्य सम्वादे, नेपाल महात्म्ये, साहित्य खण्डे शुभम् ।
No comments:
Post a Comment