भुलभुलैयाको राजनीति
कुमार-अगस्त्य
सम्बादे।
कुमारजी आज्ञा
गर्नुहुन्छ, हे अगस्त्य मुनि, अब म भुलभुलैया राजनीतिको बिषयमा बताउँछु; ध्यानदिएर
सुन्नुहोस्।
ठिक ९ बर्ष अघि हो। तत्कालीन
एनेकपा माओवादीको विस्तारित बैठकको समापनमा अध्यक्ष प्रचण्डले अध्यक्ष र
उपाध्यक्षहरुको सम्पति पार्टीकरण गर्ने घोषणा गर्नुभयो। चमत्कारिक नारा कोरल्न र
माहोललाइ एक्कासी अर्कैतिर मोड्न चौपट्टै सिपालु प्रचण्डले आफ्नो पुरानै
ट्याक्टिसलाइ प्रयोग गर्नुभएको सबैले वुझिसकेका थिए। नत्र त बालाजुको विस्तारित
बैठकले पनि केन्द्रीय कमिटीका सदस्यहरुले सम्पति सार्वजनिक गर्ने र पार्टीकरण
गर्ने निर्णय गरेकै थियो। द्वन्दकालमै पनि उहाँले हाम्रो पार्टी सरकारमा जाँदा शीर्षस्थ
तहका नेताहरु राज्यको पदमा जाने छैनन् भनि कान्तिपुर र काठमाडौं पोष्टका सम्पादक
नारायण वाग्ले र प्रतिक प्रधानलाइ दिएको अन्तर्वार्तामा भन्नुभएको थियो। जनताको मन
छुने कुरा गर्दिनु र तत्काललाइ तात्तातो प्रभाव पार्नु एउटा कुरो हो तर त्यस्लाइ
कार्यान्वयन तहमा लैजानु वेग्लै कुरो हो। नेपाली जनता आफ्ना नेता सादा जीवन उच्च
विचारको नमूना भएको देख्न चाहन्छन्। जनताको यही भावना वुझेर उहाँले जनताको मन छुने
कुरा गर्नुभएको हो भनेर सबैले वुझेका थिए।
सर्वसाधारण जनता चमत्कारिक नाराबाट आकर्षित
भएका र एकोहोरिएका घटना धेरै छन्। ती चमत्कारिक नाराले यथार्थ धरातलमा टेक्न
नसकेपछि मनै भाँच्चिने गरी मोहभङ्ग भएका घटना अनगिन्ति छन्। साठीको दशकमा चार्ल्स
डे गालको शासनकालमा फ्रान्समा माइकल देब्रेको नेतृत्वमा निकै चर्को बामपन्थी युवा
विद्रोहको लहर उठ्यो। तिनीहरुको नारा आकर्षक र भाषण चर्का हुन्थे। त्यो तात्तातो
उच्छ्वासको राप र ताप क्यूवा, जर्मनी, चीन, वेलायत, इटली, भारत र नेपालसम्म आइपुगेको
थियो। पाकिस्तान समेत् अछुतो रहेन। त्यसैको असर प्रभावले इटालीमा रेड ब्रिगेड जन्मियो।
रेड ब्रिगेड उल्कासरी जन्मियो र मरुभूमिमा पानीसरी बिलायो। माइकल देब्रे
सिन्ड्रोमले माओपत्नीलाइ पनि असर ग-यो। आयरल्याण्डका युवाहरु आन्दोलित भए।
अक्सफोर्ड बिश्वविद्यालय बिद्यार्थी युनियनका तत्कालीन अध्यक्ष तारीक अली यति
प्रभावित भएकि उनले त्यही आन्दोलनलाइ अघि बढाउन आफ्नो सम्पूर्ण उर्जा, शक्ति र
सामर्थ्य खन्याए। श्रीलङ्कामा रोहन विजयवीरले धेरै युवाहरुलाइ यही आन्दोलनमा होमे।
माइकल देब्रेको आकर्षण भदौको बाढी भएर उर्ल्यो, महाप्रलय नै ल्याउने होकि भनेझैं
गरी फैलियो र वस्तीभरी दुर्गन्ध थुपारेर लोप भयो। माइकेल देब्रेलाइ राष्ट्रपतिको
सल्लाहकार पदमा आशीन देखेर कतिले आफ्नै आँखाको दृष्टिभ्रम होकि भन्ठाने।
आन्दोलनकालमा जोसँग मिठोमसिनो खान पैसा हुँदैनथ्यो, आन्दोलन विसाएर तिनै व्यक्ति
फाइभस्टार होटलमा दिनदिनै कक्टेल डिनर लिईरहेका भेटिनेभए। अक्सफोर्ड बिद्यार्थी
युनियनका अध्यक्ष तारीक अली टेलिभीजन प्रोड्युसरको उत्पादक बनेर गुमनाम जिन्दगी
विताइरहेका भेटिए।
सन १९६७ मा भारतको नक्सलबारीमा जन्मिएको
कम्युनिष्ट आन्दोलन पनि शुरुमा विद्युत चट्याङ जत्तिकै शक्तिसाली भएर देखापरेको
थियो। शुरुमै सगरमाथाको शीखर चुम्ने उँचाईमा पुगेको र व्यापकतामा फैलिंदै गएको
नक्शलाइट आन्दोलन वादलको गड्याङगुडुङमै सकियो। ग्रिष्मले सुकाएको धर्तीलाइ एक
अञ्जुली पानी बर्षाउन सकेन। गड्याङगुडुङ गर्दै आएको बादल पानी नपर्दै लाखापाखा
लागे। अहिले त विद्युतझट्काका अवशेषहरु मात्रै फेला पर्छ।
आकासै थर्काउनेगरी खरो र नुनचर्को जातीय
नारा वोकेर आएका दक्षिणपन्थी अभियानहरु पनि कुनै धर्तीमा जरा नहाल्दै सुकेभने
वाँकिपनि झाङ्गिन सकेनन्। शुरुमा भारतले रोपाईं गरेको श्रीलङ्काको तमील विद्रोह
टीठलाग्दो कथा बनेर रह्यो। खालिस्तानको सपना छरेर डँढेलोसरी फैलिएको पञ्जावी विद्रोह
भिंडरावालेको चिहानमा सदगत भयो। साम्प्रदायिक चिथ्राले लपेटिएको बाल ठाकरेको शिवसेना
जातीय विद्वेषको धुवाँ भरिएकोले आफ्नै रागले चाउरिएको मरिच बनेको छ। साम्प्रदायिक
घृणाको धारीलो हतियार तिखारेर निस्केका गोरेबहादुर खपाङ्गीले जातीय विद्वेषको पोको
२०६२ दशैंमा ज्ञानेन्द्रको हातमा वुझाइदिएका थिए। वर्गीय दृष्टिकोणलाइ च्याप्प
पक्डेर वर्गसङ्घर्षलाइ अघि बढाउञ्जेल रूपलाल विश्वकर्माको सर्वाहारा श्रमिक सङ्गठन
विस्तार भैरहेको थियो। वर्गसङ्घर्ष छाडेर जातपातमा लाग्नुपर्छ भन्ने मन्त्र कस्ले
सुनाइदियो कुन्नि ? उनी त एक्कैचोटी कृष्ण भट्टचन भएर निस्के। साम्प्रदायिक
दक्षिणपन्थी बाटोतिर मोडिएपछि रुपलाललाइ जनताले विर्से र सङ्गठनपनि झ-यामझुरुम्
भयो।
यो संसार परिवर्तनशील छ। समय परिवर्तनशील
छ। समयसँगै मान्छेका भावना, विचार र जीवनशैलिमा पनि परिवर्तन भैरहेको हुन्छ। जुन
नेता र शासकले समयको वहाव, वदलाव र राष्ट्रको आकांक्षालाइ वुझेर त्यहीअनुसार एक
कदम अगाडी बढ्छन्, तिनीहरु युगान्तकारी बन्छन्। जस्ले क्षितीजपारीबाट उदाउनलागेको
घाम देख्न सक्दैन, तिनीहरु त्यहीं किनारा लाग्छन्। इजिप्टलगायत खाडी मुलुकका
शासकहरुलाइ नपुग्दो केही थिएन। कुबेरको खजानाले ढुकुटी भरिएको थियो। उनीहरुको शब्द
भूईंमा झर्न पाउँदैनथ्यो, तामेल भैसक्थ्यो। श्री र ऐस्वर्यले भरिपूर्ण भएरपनि
समयसँगै आइरहेको परिवर्तनलाइ महसुस गर्न नसकेवापत लाइबेरियाका कर्नल कद्दाफीले
समेत दन्डित हुनुप-यो। सिरियाका राष्ट्रपति एर्सादलाइ एकातिर रुस र अर्कोतिर चीनले
सहारा दिएर जसोतसो उभ्याइदिएका छन्, नत्र तिनलाइ पनि जनताले पल्लो किनारामा
पुग्नेगरी हुत्याइसकेका हुन्। फ्रान्सका तत्कालीन राष्ट्रपति जनरल देगाल निकै
शक्तिसाली शासकमा गनिन्थे। जनताको ढुकढुकी छाम्न नसकेको, गुम्सिएका भावनालाइ निकास
दिन नसकेको र समयको पदचाप वुझ्न नसकेवापत सर्लक्क किनारा लाग्नुप-यो। जनताबाट
तिरस्कृत तुलसी गिरी जस्ता थोत्रा मान्छे र बासी बिचार वोकेर राजकाज चलाउन खोज्दा
ज्ञानेन्द्र शुरुबाटै असफल भए।
तत्कालीक
आकर्षण र चमत्कारिक प्रभावको भरमा प्राप्त समर्थन टिकाउ नहुँदोरहेछ। भारतमा राजीव
गान्धीको राजनीतिमा प्रवेश अप्रत्यासित थियो। तत्कालीक आकर्षणको प्रभावमा जनताले
आफ्नो आस्था र विश्वास ओइराए। तर, चमक हराउन र रङ्ग खुइलिन धेरै समय लागेन। राजीव
गान्धीप्रतिको वितृष्णा यतिसम्म बढेको थियोकि पछिल्लो निर्वाचनकालमा काङ्ग्रेसी उम्मेदवारहरु
नै राजीवलाइ चुनावीसभामा वोलाउन हैनकि नवोलाउन चाहन्थे। बाङ्ग्लादेशको पहिलो
आमनिर्वाचनकालमा शेख मुजीवको प्रभाव क्षणिक भएपनि व्यापक थियो। त्यही प्रभावले भोट
सोहो-यो। तर, दीर्घकालीन सोच, भिजन र कार्यक्रमसहित नभएकोले निर्वाचनलहर पानीको
फोकाभन्दा बढी भएन।
टिकाउ
राजनीति गर्ने होभने सिद्धान्तकै राजनीति गर्नुपर्छ, नभए मूल्यको राजनीति। जनताको भावना भड्काएर गरिने राजनीतिको आयु र
प्रभाव क्षणिक नै हुन्छ। मनि र मसलको भरमा गरिने राजनीतिक यात्रा कहाँसम्म पुग्छ
भनेर वुझ्न नितीशअघिको विहारलाइ हेरे पुग्छ।
हे अगस्त्य मुनि, सातौं
विस्तारित वैठकको समापनमा अध्यक्ष प्रचण्डले अगाडी सारेका औषधिका पुडिया आक्रोशको
आवेगलाइ ब्रेक लगाउने तत्कालिक भ्रम र भान्ति मात्र थिए। अवका जनता ठूलठूला भाषण र
नारामा अल्मलिंदैनन्। ब्यवहार, कर्म, चरित्र र नियतलाइ हेरेर कसीमा खरो उत्रियोभने
मात्र पत्याउने छन्। यति भनेर कुमारजी मौन भए।
ईति श्रीस्कन्ध
पुराणे, हिमवत्खण्डे, नेपाल महाम्त्ये, प्रचण्डोध्याय शुभम्
आइतवार, जुलाई 04, 2021
No comments:
Post a Comment