कुहिएका कम्युनिष्ट र पथभ्रष्ट बाहुन।
कुमार-अगस्त्य सम्बादे।
-आनन्दराम पौडेल
हे अगस्त्य मुनि, तनावमा रहेका
गैंडाकोटबासीहरूको तनावको कारण खुलाउँछु; ध्यानदिएर
सुन्नुहोस्। गैंडाकोटका जयेश्वर सपकोटाकी २१ बर्षीय छोरी बिना सापकोटा २ हप्तादेखि
बेपत्ता छिन्। तिनको हत्या गरिएको वा बन्धक बनाएर कतै लुकाइएको हुनसक्ने आशङ्का
गरिएको छ। बिनाका पिता जयेश्वर सापकोटाले मेडियालाइ दिएको अन्तर्वार्ता युट्युबमा
हेर्न सकिन्छ। अन्तर्वार्तामा जयेश्वर भन्छन् – “मेरी छोरी
बिना र प्रवेश कँडेल नामको केटो ५ बर्षदेखि अर्थात् बिना १६ बर्षकी हुँदादेखि
सँगसँगै हुन्थे। उस्को मोटरबाइक, स्कुटीमा राखेर हाम्री
बिनालाइ सधैं लैजानेगर्थ्यो। केही दिनअघि त बिनासँगै ४ दिन यहीं घरमा बसेको पनि
हो।
१८ गतेको दिनपनि त्यो केटोले हाम्रै अगाडी
बिनालाइ स्कुटीमा चढाएर लिएरगएको हो। त्यो केटोले कुसुम ढकाल नामकी अर्की केटीलाइ
पनि ३ बर्षदेखि मायाजालमा भुलाइराखेको थियो। त्यही बिषयमा ‘ती अर्कीसँग
(अर्थात् कुसुम ढकालसँग) तिमीलाइ मिलाउँछु’ भन्दै हाम्री
छोरीलाइ हाम्रै अगाडी स्कुटीमा चढाएर लगेको थियो। पछि रातीतिर त्यो केटो प्रवेश
कँडेलले एक्कासि भिडियोकल गर्यो। भिडियोकल गर्दा हाम्री छोरी बिना बेहोसभएर
ढलिराखेको अवस्था थियो। ‘बिना बेहोस भै’ भनिरहँदा त्यो केटो प्रवेश कँडेलको अगाडी मदिराको बोतल थियो। उस्को एउटा
हातमा मदिरा भरिएको ग्लास तथा अर्को हातमा सल्काएको चुरोट थियो। त्यो केटोले
मायाजालमा भुलाइराखेको कुसुमसँग हाम्री छोरी बिनाको भेट गराएर मिलाउनखोजेपछि केही
भनाभन भएको भनेर प्रत्यक्षदर्शीले बताएका छन्। राती ९ बजेपछि ती दुईजनालाइ सँगै
देख्नेहरू पनि छन्। राती ९ बजेपछि देख्नेहरूले – ‘प्रवेश
कँडेलले बिनासँग तँलाइ झुण्ड्याएर मारिदिन्छु’ भनेको
सुन्नेहरू पनि छन्।”
हे अगस्त्य
मुनि, ती बेपत्ता पारिएकी बिनाका पिता जयेश्वर सापकोटाले
अन्तर्वार्तामा भन्छन् – “५ बर्षदेखि, अर्थात्
मेरी छोरी बिना १६ बर्षकी हुँदादेखि नै सधैं त्यही प्रवेश कँडेलसँग हिंड्थिन्।
त्यस्ले सधैं बिनालाइ लगिरहन्थ्यो। एकपटक त यिनीहरू भाग्नलागेका रहेछन्। कस्सो
मैले थाहा पाएँ र सम्झाएँ। जब तिमीहरूलाइ कुनै रोकटोक, रेस्ट्रिक्शन
छैनभने तिमीहरू किन भाग्नुपर्यो भनेर सम्झाएपछि भाग्ने योजना रद्दगरेका हुन्।”
हे अगस्त्य मुनि,
यो एउटा प्रतिनिधि घटना हो। अहिले पूर्व मेचीदेखि महाकालीसम्मका
हरक्षेत्रमा यही प्रकृतिका, यस्तै-यस्तै गतिविधि भैरहेका
छन्। बिना सापकोटाको फेसबुक-एकाउण्ट हेर्दा, त्यहाँ उनले – “In relationship with
Pravesh kandel since 5 years” सगौरव लेखेको पढ्न पाइन्छ।
आजकाल लिभिङ
टुगेदर पनि सामान्य भैसक्यो। कालिमाटीस्थित प्रहरीको महिला सेलमा नयाँ-नयाँ युवती
हुर्रिंदै आइरहेकी हुन्छिन्। पीडा र रोदन मिश्रित भाषामा बेदना पोख्तै भन्छिन् –
“फलानो केटोसँग ५ बर्षदेखि लिभिङ-टुगेदरमा छौं। त्यस्ले दुईपटक
एबोर्शन गरायो। अहिले त्यो केटो अर्कैसँग सल्केको छ। मेरो त जीवन नै बर्बाद
गरिदिनेभयो। लौ न, मलाइ न्याय दिलाइदिनुपर्यो !”
हे
अगस्त्य मुनि, ‘इन रिलेशनशीप विथ’ र ‘लिभिङ टुगेदर’ मा झीनो
मात्र अन्तर रहेछ। तरुनी केटीलाइ बिहान घरबाट लिएर जाने र राती घरमै फिर्ता
ल्याउने कर्मलाइ ‘इन रिलेशनशीप विथ’ रहेछ
र तरुनी केटी लिएर छुट्टै कोठामा बस्नुलाइ ‘लिभिङ टुगेदर’
भन्नेरहेछन्।
हे
अगस्त्य मुनि, यो नेपाली समाज कता जाँदैछ ? भन्ने गम्भीर सवाल खडा भएको छ। “मेरी छोरी फलानो
केटासँग ५ बर्षदेखि इन रिलेशनशीप विथ मा छ” भनेर बाउले सगर्व
भनिरहन्छन्। उता हुनेवाला ससुराबाउसँग केटोले भिडीयोकल गर्दा, अगाडी केटी बेहोस अवस्थामा छ। सँगै मदिराको बोतल छ। एउटा हातमा मदिराले
भरिएको ग्लास छ र अर्को हातमा सल्काएको चुरोट छ। हुनेवाला ससुराबाउसँग यसरी पेश
हुनुलाइ के भन्ने ? “मेरी छोरी ५ बर्षदेखि (अर्थात् सोह्रै
बर्षको उमेरदेखि) फलानासँग ‘इन रिलेशनशीप विथ’ मा छ” भनेर सगौरव भन्ने बाउ-आमालाइ त यो समान्य
लाग्ला तर खान्दानी ईज्जत भएका, मर्यादाको सीमाभित्र रहेका,
सभ्य परिवारको लागि त यो किमार्थ पाच्य हुन सक्दैन। तर, अधिकांश नेपाली परिवारले आफ्ना सन्तानलाइ कस्तो बनाइरहेका छन् त ? नाताकुटुम्ब
चिन्दैन। चिनेर पनि मर्यादा गर्दैन। मान्यजनलाइ ढोग्नु त परैजाओस् प्रणामसमेत्
गर्दैन। प्रणाम गर्नका लागि भन्योभने ठाडो नमस्ते गर्छ, शीर निहुराउँदैन। खाजा
बनाउने त परैजाओस् चियाधरि पकाउँदैन। ठाडठाडै बोल्छ र ओठेजवाफ लाउँछ - नेपालको
नयाँ पुस्ता।
हे
अगस्त्य मुनि, अचम्मको स्थिति के भैरहेको छभने नेपालमा
कम्युनिष्ट नेताहरू कुहिएर, सडेर, डुङडुङ्ति
गन्हाएकाले राज्यब्यवस्था लथालिङ्ग भएको छभने बाहुनहरू बिग्रिएर समाज भताभुङ्ग भएको
छ।
अगस्त्य मुनिले बाहुनको प्रसङ्ग निकाल्नासाथ
हेटौंडा, नवलपुरका नन्दराम ‘अकिञ्चन’ ले बाहुनहरूको बचाउमा केही भन्न खोजेका थिए।
बाहुनको पक्षमा केही भन्न खोज्दा, आफूले चिनेजानेका बाहुनहरु सम्झे। आफ्नै घरका ६
दाजुभाई र ६ बुहारीहरु दिनरात एकले अर्कोलाइ सिध्याउने दाउपेच र षडयन्त्रमा मात्र
तल्लीन भएको झल्झल्ति देखे। आफ्नै सालोको क्षुद्रता र जङ्गली
व्यवहार सम्झे। आफ्नै स्वार्थमा तल्लीन मामाहरुका अनुहार सर्लक्क देखे। जति
सम्झँदापनि एउटा बाहुनले अर्कोलाइ बाहुनको नजरले नहेरेका दृष्यहरु मात्र देखिए।
सवैभन्दा बढी बाहुन समुदायमै मूल्य निख्रेको, संस्कार
हराएको, मर्यादा रित्तिएको र टीम
कल्चरको अभाव पाए।
“बाहुनमा एकताको भावना छैन।
एउटा बाहुनले अर्को बाहुनलाइ रीस, द्वेष र इर्ष्या मात्रै
गर्छ। यी बाहुनहरुलाइ ठोक्नै पुगेको छैन। यी सड्दै गएका अहङ्कारी बाहुनहरुको
पक्षमा किन बोल्ने ?” बाहुनको पक्षमा
बोल्नलागेका नन्दराम ‘अकिञ्चन’ टक्क
रोकिए।
हे अगस्त्य मुनि, राजनीतिक नेताहरूदेखि समाज र समुदायका बाहुनहरू
पथभ्रष्ट हुँदैगएकोले नै नेपाल अपराधीहरूको लागि उर्बर, मलीलो भूमि
भएको छ। “जघन्य अपराधीहरुको लागि नेपाल स्वर्गभूमि हो” भनेर बब्लु
श्रीवास्तवले उपन्यासको ढाँचामा लेखेको आत्मसंस्मरण “अधुरा ख्वाब” मा
तथ्य बिवरणहरु सहित् खुलाएका छन्। उनले लेखेका छन्, “जुन
देशमा सय-पचास लाख खर्च गरेर सांसद बन्न सकिन्छ, त्यस्तै
खर्च गरेर प्रधानमन्त्रीसँग पहूँच बनाइराख्न सकिन्छ, मिनटभरमा
नागरिकता निकाल्न सकिन्छ, त्यस्तो देशमा के गर्न
सकिंदैन ?” मिर्जा दिलसाद वेगको हत्यापछि हरेक
हत्याकाण्डसँगै छानविन आयोग बन्न थाल्यो। तर, बिडम्बना
ती कुनैपनि आयोगको प्रतिवेदन कार्यान्वयन भएन। हरिप्रसाद शर्मा आयोगले प्रतिवेदनमा
लेखेको छ, “शान्तिसुरक्षा र व्यवस्थाको
चर्को नारा घन्काउनेहरु नै अपराधीको संरक्षक, पृष्ठपोषक
र अभिभावक बनेका छन्। उच्चस्तरका राजनीतिक नेताले अपराधी पाल्ने, संरक्षण गर्ने र आफ्नो अभिन्न मित्र बनाउने
कार्य गर्छनभने शान्तिसुव्यवस्था कायम हुन सक्दैन।” सेफर
वर्ल्डको प्रतिवेदनमा पनि नेपालमा निर्वाचनको समयमा अपराधीले नेतालाइ संरक्षण
गर्ने र वाँकि समयमा नेताले अपराधीलाइ संरक्षण गर्ने प्रचलन रहेको भन्ने उल्लेख छ।
कम्युनिष्ट नेताहरू कुहिएर सडेकाले
राज्यब्यवस्था भताभुङ्ग भएको तथा बाहुनहरू पथभ्रष्ट भएकोले समाज लथालिङ्ग भएको
स्थितिलाइ छर्लङ्ग राखिदिएर कुमारजी मौन रहँदाभए।
ईतिश्री स्कन्द पुराणे, हिमवत्खण्डे,
कुमार-अगस्त्य सम्बादे, नेपाल महात्म्ये,
समाज बर्णनम् शुभम्।।
मङ्गलवार, जुलाई 14, 2021
No comments:
Post a Comment