Pages

Wednesday, September 1, 2021

अमेरिकाले अफगानिस्तानसँगको सानो युद्धकिन हार्‍यो ?

-पामीर गौतम

 

आफ्नो दूतावाससमेत दोहामा सारेर अमेरिका अन्ततः अफगानिस्तानबाट पूर्ण रूपमा फिर्ता भएको छ। तालिवानलाई सत्ताच्युत गर्दै अफगानिस्तानमा डेरा जमाएको अमेरिकी सेनाले बीस वर्षको लडाइँबाट भएको मानवीय क्षति र आर्थिक क्षतिको हिसाब छाडेर सम्झौताभन्दा २४ घन्टा अगाडि नै काबुल छाड्यो। धेरैले यसलाई अमेरिकाको राज्य निर्माण परियोजनाको विफलताको उदाहरणका रूपमा लिए । कतिपयले यसलाई अमेरिकी शक्तिको क्षयीकरणको रूपमा व्याख्या गरेका छन् ।

पहिलो तर्कले अन्तर्राष्ट्रिय सम्बन्ध तथा शान्ति र द्वन्द्व अध्ययनमा व्यापक मान्यता पाएको छ । अर्कातर्फ, केही वर्षयता अमेरिकी शक्ति पतनको विषयका पुस्तकहरू बजारमा अत्यधिक बिक्दै बेस्ट सेलर भएका छन् । यसैबाट प्रभावित भएर अफगानिस्तानको अहिलेको अवस्थालाई परिभाषित गर्ने प्रयास पनि देखिएका छन् । तर, अफगानिस्तानको यो मुद्दालाई लिएर अमेरिकी शक्ति क्षयीकरण भएको निष्कर्षमा पुगिहाल्ने समय भने अझै भएको छैन । अमेरिका अझै पनि सैन्य, आर्थिक र मुख्यतः राजनीतिक रूपमा विश्व राजनीतिमा सबभन्दा प्रभावशाली र तेस्रो विश्वका जनताका लागि प्रमुख सपनाको गन्तव्य राष्ट्रकै रूपमा छ । निकट भविष्यमै अमेरिकाको स्थान अरू राष्ट्रले लिने सम्भावना तत्कालका लागि न्यून छ । 

अन्तर्राष्ट्रिय राजनीतिमा शक्तिशाली राष्ट्रहरूले कमजोर प्रतिद्वन्द्वीहरूसँग पराजित भएका धेरै उदाहरण छन् । हामी नेपाली आफैँ पनि कहिल्यै उपनिवेश हुन नपरेकोमा गर्व गर्दै आएका छौँ । हार्वर्ड विश्वविद्यालय, अन्तर्राष्ट्रिय सुरक्षा कार्यक्रमका अनुसन्धाता इभान एरेग्विनटोफ्टको अध्ययनअनुसार सन् १८०० देखि १८४९ सम्म बलिया राष्ट्रको कमजोर प्रतिद्वन्द्वीसँग भएको संघर्षमा विजय दर ८८.२ प्रतिशत थियो । त्यो दर सन् १९५० देखि १९९९ को बीचमा ४८.८ प्रतिशतमा झर्‍यो । दोस्रो विश्वयुद्धपछिका प्रमुख युद्धमा विश्वका प्रमुख शक्तिहरू कमजोर प्रतिद्वन्द्वीहरूसँग हारेका छन् । सोभियत संघको सन् १९८० को दशकको अफगानिस्तान युद्ध, अमेरिकाको भियतनाम युद्ध तथा हालैको इराक र अफगानिस्तानसँगको युद्धमा शक्तिराष्ट्रको पराजय भयो । यद्यपि, त्यसमा सोभियत संघ र अमेरिका परम्परागत सैन्य क्षमतामा आफ्ना प्रतिद्वन्द्वीभन्दा अतुलनीय स्तरले बलिया थिए । 

अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनमा प्रभावशाली मानिएको यथार्थवादी चिन्तनले राष्ट्रिय हितलाई राष्ट्रको शक्तिको सन्दर्भमा परिभाषित गर्छ । यथार्थवादी चिन्तनका पिता एवं महान् प्राचीन इतिहासकार थुसेडिडिस (४६० बिसी ४०० बिसी) एथेन्स र स्पार्टाबीचको युद्धको बारेमा चित्रण गर्दै लेख्छन्शक्तिशाली त्यही गर्छन्, जो उनीहरू चाहन्छन् । यो उक्ति आज पनि यथार्थवादी चिन्तनको आधारभूत तर्कका रूपमा रहेको छ । उनीहरूका अनुसार राष्ट्रिय स्वार्थका लागि राष्ट्रहरू युद्धमा जानु सामान्य हो र शक्तिशाली राष्ट्रहरू आफ्नो तुलनात्मक शक्तिद्वारा प्रतिद्वन्द्वीमाथि सजिलै विजयी हासिल गर्न सक्छन् । अमेरिकी सरकारले पनि भियतनाम, इराक र अफगानिस्तानसँगको युद्धका प्राथमिक उद्देश्य अमेरिकी राष्ट्रिय हित, अमेरिकी सर्वाेच्चताको संरक्षण र विस्तारका रूपमा परिभाषित गरेको थियो । तर, यथार्थवादी विचारकहरूले अमेरिकाले यी युद्धमा हार बेहोर्ने चेतावनी दिएका थिए । 

आर्थिक र मानव मूल्य मात्र होइन, झन्डै दुई दशक बितिसक्दा पनि इराक युद्धबाट विश्वमा अमेरिकाको प्रतिष्ठामा परेको क्षति अझसम्म भरपाई हुन सकेको छैन

बीसौँ शताब्दीका सबैभन्दा सम्मानित अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता र यथार्थवादी सिद्धान्तका समर्थक हान्स जे. मोर्गेन्थोउ भियतनाम युद्धका घोर आलोचक थिए । उनले भियतनाममा हजारौँ सेना पठाउँदा अमेरिका जित्न पनि नसक्ने, पछि हट्न पनि नसक्ने अवस्थामा पुग्ने र त्यसले राष्ट्रको प्रतिष्ठामा ठूलो आँच आउने भन्दै सचेत गराएका थिए । टाइम्स म्यागेजिनको लेखमा मोर्गेन्थोउले अमेरिकाले नरसंहारद्वारा मात्र भियतनाम युद्ध जित्न सक्ने चेतावनी दिएका थिए । अक्टोबर २००२ मा अमेरिकी कांग्रेसले राष्ट्रपति जर्ज डब्लू बुसलाई इराकमा सैन्य आक्रमण गर्ने वा नगर्ने विषयमा स्वनिर्णयको अधिकार दियो । इराकमा सैन्य आक्रमणको विषयमा विवाद चलिरहँदा २६ सेप्टेम्बर २००२ मा ३३ जना अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा अध्ययनका प्राध्यापकहरूले न्युयोर्क टाइम्समा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति बुसलाई इराकविरुद्ध हुने सैन्य हस्तक्षेप अमेरिकी हितमा नहुने भन्दै यस्तो निर्णय नगर्न अपिल गरेका थिए ।

इराक युद्ध सुरु भएपछि पनि सन् २००४ मा ८५० जना अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षा अध्ययनका विज्ञहरूले राष्ट्रपति बुसलाई पत्र लेख्दै इराक युद्धमा केन्द्रित अमेरिकी नीति भियतनाम युद्धपछिको अमेरिकाको सबैभन्दा ठूलो गल्ती हुने चेतावनी दिएका थिए । इराक युद्धको विरोधकै निरन्तरतामा सन् २००९ मा अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरूले अमेरिकी राष्ट्रपति ओबामालाई खुला पत्र लेख्दै अफगानिस्तान मामलामा पुनर्विचार गर्न अपिल गरेका थिए । पत्रमा अफगानिस्तानमा अमेरिकी रुचि त्रुटिपूर्ण रहेको र यसले अमेरिकी संलग्नतालाई लम्ब्याउने र परिणाम प्राप्त गर्न सहज नभएको उल्लेख गरिएको थियो । त्यसमा फेरि तालिवानकै हातमा सरकार आएको छ  ।

२० खर्ब अमेरिकी डलरभन्दा बढी वित्त र लाखौँ मानव जीवन मूल्य चुकाउन परेको इराक युद्ध अमेरिकी विदेश नीतिको इतिहासकै ठूलो विपत्तिमध्ये एक हुन पुग्यो । राष्ट्रपति बुसको भाषण लेखकका रूपमा काम गरेका डेविड फ्रम सन् २०१९ मा द एटलान्टिकमा प्रकाशित आफ्नो लेखमा लेख्छन्– ‘हाम्रो अज्ञानता, अभिमान र अपरिपक्वताले अमेरिका, इराक र यो क्षेत्र कसैका लागि पनि इराक युद्धले राम्रो परिणाम ल्याएन । आर्थिक र मानव मूल्य मात्र होइन, झन्डै दुई दशक बितिसक्दा पनि इराक युद्धबाट विश्वमा अमेरिकाको प्रतिष्ठामा परेको क्षति अझसम्म भरपाई हुन सकेको छैन ।’ 

अहिले कतिपय विचारकहरूले भनेझैँ विश्वशक्तिको रूपमा रहेको अमेरिकाले भियतनाम, इराक र अफगानिस्तानमा युद्ध हार्नु अमेरिकी शक्तिको क्षयका कारणले होइन, अमेरिका आज पनि कुनै पनि राष्ट्रसँग प्रभावकारी ढंगले युद्ध लड्न र जित्न सक्ने क्षमता राख्छ । तर, दोस्रो विश्वयुद्धपछि अमेरिकाले लडेका अधिकांश युद्धहरू परम्परागत होइनन्, गृहयुद्धहरू हुन्, जहाँ छापामार शैलीको सामना गर्नुपर्ने हुन्छ । इराक र अफगानिस्तानको मुद्दा त झनै जटिल थिए । अमेरिकाले एउटै देशभित्र छापामार युद्ध लडिरहेका विभिन्न आतंकवादी र विद्रोही समूहको सामना गर्नुपरेको थियो ।

उदाहरणका लागि सन् २००४ मा इराकको फलुजा सहरमा मुजाहिद्दिन छापामारहरूसँगको युद्ध जित्न नसकेर अमेरिकी सेना फर्किनुपर्‍यो । जसमा मुजाहिद्दिन छापामार र तिनका समर्थकहरू मात्र होइन, स्वयं अमेरिकाद्वारा प्रशिक्षित इराकी पुलिस फोर्सकै सदस्यहरूले समेत अमेरिकी पराजयको उत्सव मनाएका थिए । 
छापामार र परम्परागत युद्ध शैलीमा धेरै अन्तर हुन्छ । परम्परागत युद्धमा आफ्ना प्रतिद्वन्द्वीलाई कमजोर पार्न सशस्त्र बलमाथि प्रहार गरिन्छ ।

छापामार युद्ध शैलीमा चाहिँ प्रतिद्वन्द्वीको लडाइँ जारी राख्ने इच्छामाथि लक्षित गरिन्छ, जसमा प्रतिद्वन्द्वीको सैन्य क्षमताको कुनै अर्थ हुँदैन । जापानी सेना र चियाङ काइ सेकका सुसंगठित सेनासँग छापामार युद्ध लडेर जितेका माओत्से तुङ छापामार युद्ध शैलीलाई लिएर लेख्छन्जब गुरिल्ला एक बलियो दुस्मनसँग भिड्छन्, शत्रु अघि बढ्दा छापामार पछि हट्छन् । रोकिएका वेला तिनलाई परेसान गर्छन्, थाकेको अवस्थामा तिनीहरूमाथि आक्रमण गर्छन् । जब शत्रु पछि हट्न थाल्छन्, अनि छापामारले लखेट्न थाल्छन् ।छापामार युद्ध शत्रुको क्षमताभन्दा तिनीहरूको युद्ध लड्ने मनोबल कमजोर पार्नमा केन्द्रित हुन्छ । अफगानिस्तानमा तालिबानलाई सिध्याउन आएको अमेरिका अन्ततः त्यहाँका गुरिल्लाहरूसँग लड्न थाकेर फर्किएको छ । 
(गौतम अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता हुन्)

 


No comments:

Post a Comment