समाज-ब्यवस्था
खुकुरीको
धारमा वाचा–कसम
आफ्नै कानुनमा बाँधिए भुजुङका ४०० परिवार
भाद्र
३०, २०७८आश गुरुङ
काठमाडौँ — बुद्धिजीवी वरपर बस्छन् ।
गत वर्ष बनेको कानुन उल्लंघन नगरेको, पापकर्म
नगरेको,
झूटो नबोलेको
भनेर गाउँका हरेक घरमूलीले अनिवार्य कसम खानुपर्छ ।
सत्य बोलेको छु भनेर तामाको ताउलो र ताउलोभित्रको खुकुरीको धारमा छोएर कसम
खानुपर्ने नियम छ । स्थानीय भाषामा यसलाई ‘धर्म समात्ने’
भनिन्छ ।
यसका लागि भुजुङवासीले बर्सेनि भदौ अन्तिम साता सभा राख्छन् ।
यसलाई ‘भदौ सभा’
भनिन्छ ।
करिब ४ सय घरधुरीका गाउँलेबीच चार दिन लगाएर गरिएको सभा गत आइतबार सकिएको हो ।
भुजुङ साविक गाविस हुँदा ९ वटै वडा एकै ठाउँमा रहेको गाउँ हो ।
त्यतिबेला
भुजुङलाई ‘एउटै गाउँ, एउटै गाविस’
भनेर
चिनिन्थ्यो ।
यो कामको व्यवस्थापन गाउँमा गठित
रीतिथिति व्यवस्थापन समितिले गर्छ । समितिमा बुद्धिजीवी, जनप्रतिनिधि, हरेक टोलका
अगुवा, आमा समूह,
युवा क्लबका अध्यक्षलगायत रहन्छन् । समिति २५
सदस्यीय हुन्छ ।
समितिका अध्यक्ष कालबहादुर गुरुङका
अनुसार सभामा घरमूलीले आफूसहितका आफ्ना परिवारले चोरीडकैती नगरेको, कसैको हानिनोक्सानी नपुर्याएको, आफ्ना बस्तुभाउले अरूको खेतीबाली नखाएको, बन्देज लगाएको ठाउँमा बस्तुभाउ नलगेको भनी धर्म
समात्नुपर्छ ।
सभाले तय गरेको कानुनविपरीत काम गरेमा
गाउँलेलाई जरिवाना लाग्छ । यो चलन क्व्होलासोंथर–४ भुजुङमा परम्परा हो । कोरोना संक्रमण जोखिमलाई ध्यानमा
राख्दै यसपटक भौतिक दूरी कायम गरेर सभा गरिएको उनले सुनाए । ‘पोहोर र
अहिले कोरोनाको डरका बीच हामीले भदौ सभा गर्यौं । छिटो–छिटो सक्नुपर्ने बाध्यता थियो । ४ दिनको
सभामा अन्तिम दिन हामी समिति मात्रै बस्यौं र ३ दिनसम्मको छलफलमा उठेका कुरालाई
निचोड निकाल्यौं,’ उनले भने ।
गुरुङ जातिको आदिम थलो क्व्होलासोंथर पतनपछि छरिएका गुरुङ १ हजार २ सय वर्षअघि भुजुङ आएको मानिन्छ । ‘हामी जहिलेदेखि (तमु) गुरुङ कहलियौं । हाम्रो पुर्खाले समाज र गाउँलाई एकतामा बाँध्न सभा सुरु गरे । त्यसैलाई निरन्तरता दिएका हौं,’ उनले भने, ‘१ हजार २ सय वर्षअघि ६० कुरिया घर बसाएको बेलादेखि सभा हुँदै आएको छ ।’
वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार
लमजुङका दशथर, नौथर, बाह्रथर, चौथर, पाँचगाउँ, छगाउँ (मादीदेखि लमजुङतर्फको कास्की) मा आ–आफ्नै नालसभा
हुन्थ्यो । ‘हामीले आगामी वर्षका लागि कानुन र नीतिनियम बनाएका छौं । मानापाथी, शेरधार्नी (नापतौल) को मूल्य तोकेका छौं । चोरीडकैती तथा
अरूमाथि पापको काम नगर्ने नियम बनाएका छौं,’
उनले भने,
‘नियम उल्लंघन गरेमा कारबाही हुन्छ ।’ कुनै विशेष निर्णय गर्नुपरेमा समितिमात्रै बसेर निर्णय गर्न
सक्ने उनले बताए ।
साविक भुजुङ गाविसका अध्यक्ष
नारायणबहादुर गुरुङका अनुसार गाउँले सबैको सहभागितामा नीतिनियम बनाइएको हुन्छ । सभामा सहभागी नहुनेलाई जरिवाना गरिन्छ । ‘यो नितान्त आन्तरिक
मामिला हो । राज्यको कानुन,
संविधानसँग हाम्रो समाजको कानुन बाझ्दैन । हामी व्यावहारिक पक्षलाई बढी ध्यान दिन्छौं,’ उनले भने । उनका अनुसार कानुन संशोधन वा परिवर्तन गर्नुपरेमा समिति र
बुद्धिजीवीको भेला डाकेर निर्णय लिनुपर्छ ।
गाउँमा हुने धान, मकै, कोदोलगायत खाद्यान्न
बालीको भाउ, कामदारको दैनिक ज्याला,
घिउ,
महको मूल्य, चोया तथा ऊनद्वारा
निर्मित विभिन्न हस्तकलाका सामग्रीको मूल्य सभाले तोक्छ । सभाले पहिलोपटक
ब्रोइलर कुखुराको मासु प्रतिशेर १ सय ८० रुपैयाँ तोकेको छ । गत वर्षसम्म
तोकेको थिएन । लोकल कुखुराको प्रतिशेर २ सय तोकेको छ । गत वर्ष १ सय ५० थियो । गत वर्ष ७० रुपैयाँ रहेको लोकल रक्सी प्रतिबोतल १ सय पुर्याइएको
छ । राँगाको मासु प्रतिधार्नी (८ शेर) को ६ सय रुपैयाँ, भैंसीको ५ सय ५०, खसीको १ हजार १ सय, भेडाबाख्रा
प्रतिधार्नी १ हजार ५० रुपैयाँ तोकेको छ ।
ज्यामी (दक्ष) को प्रतिदिन ६ सय ५०
रुपैयाँ, अर्धदक्ष ६ सय,
ढुंगा,
माटो बोक्न खट्नेलाई ५ सय ज्याला
तोकिएको छ । गोरुसहित जोत्नेको १ हजार,
असारे पर्म खाजासहित ४ सय, हिउँदे पर्म ३ सय, अन्न (धान, मकै, कोदो) प्रतिपाथी २ सय, पराल प्रतिभारी २ सय
तोकिएको छ । गुरुङको मृत्यु संस्कारमा अर्घुं गर्दा घ्याब्रे गुरुको समूहलाई पगरीबापत ५ हजार, पच्यु गुरुहरूलाई
पगरीबापत ४ हजार रुपैयाँ कायम गरिएको छ । ठूलो छोरासँग पुटपुटे नाच्दा गाउँ कोषमा ५ हजार र पुटपुटे
नाचका गुरु समूहलाई १० हजार रुपैयाँ तोकेको छ । दसैं र तिहारमा एक
टोलले अर्को टोललाई भैंसी उपलब्ध
गराउँदा जरिवाना गर्न नपाउने नियम बनाइएको छ ।
गाउँका अगुवा बृजबहादुर गुरुङका अनुसार
यो वर्ष ५१ हजार १ सय ७५ रुपैया जरिवाना संकलन भएको छ । बन्देज लगाएको
ठाउँमा चौपाया गएको, बाली नष्ट गरेको,
व्यक्तिले कसैको चोरी गरेको, अटेरी गरी सभामा
उपस्थित नभएकाको जरिवाना लिइएको हो । ‘जरिवाना रकम गाउँको कोषमा जम्मा हुन्छ । यो पैसा विकास
निर्माण र गाउँमा गरिने पूजापाठमा खर्च हुन्छ,’
उनले भने ।
प्रकाशित : भाद्र ३०, २०७८
No comments:
Post a Comment