Pages

Tuesday, September 7, 2021

 

एमसीसी -

एमसीसीको बिषयमा स्वर्णीम वाग्ले

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अहिले उठेका कुरामा टिप्पणी गर्नुभन्दा पहिला यसको पृष्ठभूमिबारे चर्चा गर्नु आवश्यक छ । यसको १८ वर्षको लामो इतिहास छ ।

विकासका लागि असाध्यै ठूलो पैसा ल्याउने माध्यम तीन-चारवटा छन् । पहिलो- आन्तरिक राजस्व । दोस्रो, परम्परागत दातृ निकाय, जसको आधार विश्वभरि सय अर्ब डलर हाराहारीको छ । तेस्रो हो- निजी स्रोत, जसमा प्रत्यक्ष विदेशी लगानी, रेमिट्यान्स, निजी-सार्वजनिक साझेदारी जस्ता कुरा आउँछन् । चौथो हो- अवैध पुँजी पलायन, कर छली (ट्याक्स् हेभनमा लुकाउने) आदिमा रोक ।

 सहस्राब्दी विकास लक्ष्यबाट दिगो विकास लक्ष्यमा जाँदा अर्बौंबाट हजारौं अर्बको खेलमा हामी गएका छौं ।

अल्पविकसीत देशहरूको आवश्यकता असाध्यै ठूलो भएपछि सन् २००२ मा संयुक्त राष्ट्र संघ (अमेरिकाले होइन) ले मेक्सिकोको मन्टरेमा पहिलो इन्टरनेसनल कम्फेरेन्स अन फाइनाइसिङ फर डेभलेपमेन्ट (एफएफडी)शीर्षकमा अन्तराष्ट्रिय सम्मेलन गर्‍यो । यसको दोस्रो बैठक २००८ मा कतारको दोहामा र तेस्रो बैठक २०१५ मा इथोपियामा बस्यो ।

एमसीसीको कुरा गरिरहँदा बिर्सन नहुने अर्को कुरा के हो भने यो ऋण होइन, अनुदान हो । ५०० मिलियन डलर (करिब ५५ अर्ब रुपैयाँ) को अनुदान भनेको नेपालको इतिहासमै अहिलेसम्म आएको छैन ।

ती शिखर वार्तामा प्रधानमन्त्री तहबाटै सहभागिता हुनुपर्ने थियो । योजना आयोगको सदस्यको हैसियतले मैले त्यो बैठकमा नेपालको प्रतिनिधि मण्डलको नेतृत्व गरेको हुँ ।

मेक्सिकोमा सम्पन्न सम्मेलनमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले एकदमै महत्वपूर्ण वक्तव्य दिए । स्मरणीय के छ भने यो सम्मेलन भन्दा एक वर्ष पहिले अमेरिकी जुम्ल्याहा टावरमा आतंककारी हमला भएको थियो । ९/११ हमलापछि आतंकवादको एउटा महत्वपूर्ण कारण अल्पविकास पनि हो भन्ने कुराले महत्व पायो । अन्य देशले अमेरिकालाई तिमी शक्ति राष्ट्र, विश्व अर्थतन्त्रको एक चौथाई अर्थतन्त्र तिम्रै छ । आजको हिसाबले पनि ८० टि्रलियन डलरको विश्व अर्थतन्त्रमा २० टि्रलियन त उसकै छ । त्यसैले अमेरिकाले अली बढी उदार भएर सहयोग र लगानी गर्नुपर्‍यो भन्ने दबाव पर्‍यो ।

अमेरिकाले त्यतिबेला १० बिलियन डलर जति सहयोग दिन्थ्यो । तर, त्यसको ठूलो हिस्सा इजरायल, इजिप्ट जस्ता सामरिक हिसाबले उसका लागि महत्वपूर्ण राष्ट्रमा जान्थ्यो । अरु युएसएआईडी मार्फत बाँकी विश्वलाई दिन्थ्यो ।

एउटा अघोषित मान्यता के छ भने अर्थतन्त्रको ०.७ प्रतिशत अफिसियल डेभलपमेन्ट एसिस्टेन्स (ओडीए) दिनुपर्छ । साना स्क्यान्डिभियन देशले यो दिन्थे । तर, पछि बेलायत जस्ता देशले पनि दिन थाल्यो । अमेरिकाको अर्थतन्त्रै यति ठूलो कि यसलाई ०.७ प्रतिशत पुर्‍याउनै गाह्रो थियो । आजकै मितिमा २० ट्रिलियन डलरमा ०.७ प्रतिशत हाल्ने हो भने त १४० बिलियन डलर हुन आउँछ । त्यो भनेको सारा विश्वले दिने सहायता बराबर रकम हुनपुग्छ ।

राष्ट्र संघको सम्मेलन, ९/११ पछिको अवस्था र ओडिएको पृष्ठभूमिमा जर्ज डब्लु बुसले ल हामी पैला हाल्न तयार छौं, तर विकासका नाममा तानाशाहलाई बढावा दिने, राजनीतिक, आर्थिक स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्र लगायतका आधारभुत मानवीय स्वतन्त्रता नभएका अनुदार मुलुकमा निरपेक्ष हिसाबले पैसा खन्याउन चाहिँ सक्दिनँभने ।

बुसले तीन वर्षमा सहयोग रकम ५० प्रतिशतले बढाउँछु, तर शर्तसहित भने । उनले मन्टरे सम्मेलनपछि विकास गर्न इच्छुक, राष्ट्रिय अपनत्व पनि बढाउँछु, सुधार पनि गर्छु भन्ने मुलुकलाई सहयोग गर्छु भनेर २००२ मार्चमा घोषणा नै गरे । यो विषयमा अमेरिकी दुई प्रमुख दल डेमोक्र्याट र रिपब्लिकनले सहमति गरे ।

वैदेशिक सहयोग र एमसीसीबीचको भिन्नता

जनवरी २००४ मा एमसीसीको औपचारिक सुरुवात भयो । युएसएआईडीको भन्दा पनि फरक ढंगले काम गरौं, जुन वैदेशिक सहायता क्षेत्रमै कोशेढुंगा सावित होस् भनेर एमसीसीको सुरु भएको हो ।

 अमेरिकाले हामी जुन पायो, त्यो मुलुकलाई दिँदैनौं, अनुदानका लागि तीनवटा मापदण्ड पूरा गर्नुपर्छ भन्यो ।

पहिलो, आफ्नै जनतामा लगानी गरेका छन् कि छैनन् हामी हेर्छौं । स्वाथ्य, शिक्षामा कति खर्च गरेको छ ? प्राकृतिक स्रोत साधनहरू जोगाएका छन् कि छैनन् ?बालबालिकालाई नियमित खोप दिएको छ छैन ? शिशु स्वास्थ्यको अवस्था के छ ? बालिकाहरूले प्राथमिक तह पार गरेका छन् कि छैनन् ?

दोस्रो, आर्थिक स्वतन्त्रताको अवस्था कस्तो छ ? उद्योग व्यवसाय गर्ने बन्देजहरू छन् कि ? आर्थिक खुल्लापन र स्वतन्त्रता छ कि छैन ? वित्तीय नीति, मुद्रास्फिति, नियमनको गुणस्तर, आर्थिक गतिविधिमा महिलाहरूको सहभागिता, भूमिमाथिको हक र पहुँच एवं बिजनेस स्टार्टअप गर्न सकिने अवस्था छ कि छैन ? भन्ने लगायतका आठ वटा सुचकहरू बनाएर मूल्यांकन गर्ने भए ।

तेस्रो, विधिको शासन । शासन व्यवस्था विधिको शासन अनुसार चलेको छ कि छैन भन्ने हेर्ने भए । राजनीतिक अधिकार कस्तो छ, सूचनाको हक, मौलिक हकको अवस्था के छ, भ्रष्टाचार नियन्त्रण छ की छैन, सरकार प्रभावकारी छ कि छैन भन्ने लगायतका २० वटा सूचक हेरिसकेपछि मात्रै पैसा हाल्छौं भने । जथाभावी पैसा दिएर आˆनै नागरिक दबाउने खराब शासकहरुलाई पाल्नु छैन भन्ने उनीहरूको दृष्टिकोण रहृयो ।

जनतामा लगानी गर्ने, विधिको शासन भएको र आर्थिक स्वतन्त्रता भएका देशलाई रकम दिने गरी एमसीसी गठन भयो ।

एउटा वा दुई वटा ठूला प्राथमिकताका आयोजना छनोट गरेर रकम हाल्ने भए । कनिका छरे जसरी रकम वितरण नगर्ने भए । त्यस्तो देश, जुन नीतिगत सुधारका लागि तयार छ, उसलाई मात्रै रकम दिने । तर, प्राथमिकता निर्धारणको अधिकार पनि सम्बन्धित देशलाई नै दिइने भयो । तिमीलाई चाहिने के हो भन्ने कुरा तिमीबाटै आओस्, हामी मिलेर आयोजना सम्पन्न गरौं भन्नेमा गयो ।

एमसीसीको कुरा गरिरहँदा बिर्सन नहुने अर्को कुरा के हो भने यो ऋण होइन, अनुदान हो । ५०० मिलियन डलर (करिब ५५ अर्ब रुपैयाँ) को अनुदान भनेको नेपालको इतिहासमै अहिलेसम्म आएको छैन ।

विश्व बैंक आदिले दिने पनि सहुलियतपूर्ण ऋण मात्र हो । एमसीसी गठन भएको एक वर्षपछि २००५ देखि उनीहरूले कार्यक्रम थाले । आजको मितिसम्म ५० वटा देशमा ४७ वटा आयोजना सम्पन्न गरिसकेको छ ।

नेपालमा यसरी भित्रियो

यो त्यतिबेलाको कुरा हो, जति बेला नेपालमा द्वन्द्व, ज्ञानेन्ऽको राज आदि थियो । जसले गर्दा नेपाल एमसीसीको राडार स्क्रिनमै थिएन ।

माओवादी शान्ति प्रक्रियामा आएर द्वन्द्व व्यवस्थापन भइसकेपछि २०११ को डिसेम्बरमा आएर मात्रै हाम्रा सूचकहरू हेरे । डा. शंकर शर्मा त्यतिबेला अमेरिकामा राजदुत हुनुहुन्थ्यो । राजदुत अर्थशास्त्री भएको हुनाले कुरा गर्न सजिलो पनि भयो होला ।

२०१२ देखि बल्ल उनीहरू नेपाल आउन थाले । त्यसपछि एक दुई करोड डलर हालेर थ्रेस होल्ड प्रोग्रामसुरु गरे । अर्थ मन्त्रालय र एमसीसी मिलेर ग्रोथ डाइगोनेस्टिक स्टडीगर्‍यो । नेपालको आर्थिक बृद्धिको प्रक्रियामा के के बाधकहरू छन् भन्ने मे २०१४ मा त्यो प्रतिवेदन निस्कियो । त्यसको प्रस्तावनामै शान्ताराज सुवेदीको हस्ताक्षर छ । त्यसले पनि सरकारको अपनत्व छ भन्ने देखाउँछ ।

हामीले चारवटा कुरा पहिचान गर्‍यौं । पहिलो समस्या विद्युत अभाव नै हो । दोस्रो सडक, यातायात । भूपरिवेष्ठित भएकाले पनि र बनेको सडकको अवस्थाले गर्दा पनि ढुवानी असाध्यै महंगो भयो । तेस्रो, नीतिगत निरन्तरताको अभाव । छिटोछिटो सरकार बदलिने र अघिल्लो सरकारको निर्णय परिवर्तन गर्ने जस्ता कुरा यसमा पर्ने भयो । र, चौथो, श्रम समस्या ।

सन् २०१४ पछि भने यसमा म पनि प्रत्यक्ष संलग्न भएँ । पहिचान भएका चार समस्या मध्ये नीतिगत निरन्तरताको कुरा विस्तारै साम्य हुँदै जाला । संविधान बन्ने क्रममा रहेकाले स्थिरता पनि आउला । श्रम सम्बन्धका कुरा पनि द्वन्द्वकालको जस्तो छैन । त्यसपछि बाँकी रहृयो, विद्युत र सडक समस्या । यो दुई वटामा रुपान्तरणकारी काम गर्ने निर्णय भयो ।

सन् २०१५ मा अफिस अफ मिलिनियम च्यालेन्ज नेपाल (ओमसीएन, नेपाल) स्थापना गर्‍यौं नेपाल सरकारकै पूर्णअपनत्वमा । अमेरिकामा छात्रवृत्तिमा पढेको, बेलायतको डिग्री, विभिन्न भाषामा समेत कमाण्ड भएका वरिष्ठ पूर्वसचिव कृष्ण ज्ञवालीलाई यसको नेतृत्व लिन भन्यौं । विद्युत र सडकका उत्कृष्ट साथीहरूको टीम बनायौं ।

२०१२ मा यो प्रक्रिया सुरु भएयता विभिन्न दलको मात्रै होइन प्रधानन्यायाधीशको नेतृत्वमा समेत सरकार बन्यो । कृष्ण ज्ञवालीको ठाउँमा पछि तुलसी सिटौला आउनु भयो । सरकार जुनसुकै पार्टीको बने पनि अफिस अफ मिलिनियम च्यालेन्जले आफ्नो काम गरिरहृयो ।

विद्युत उत्पादनमा राम्रो काम भइरहेको छ । तर, प्रसारण लाइनमा काम हुन सकेको थिएन । चाहिने जति खपत नेपालमा गर्ने र बचेको बिजुली भारतमा निर्यात गर्ने योजना छ । त्यसका लागि ४०० केभीकै प्रसारण लाइन चाहिन्थ्यो ।

हाम्रो पनि पैसा हाल्ने तर हाम्रो महालेखा परीक्षकले हेर्न नपाउने भनिएको छ । यो सफेद झूठ हो । किनभने, कम्प्याक्टको दफा ३.८ मा एमसीए, नेपालले अन्तराष्ट्रिय मापदण्ड पूरा गरेका अडिटर प्रस्ताव गर्ने भनिएको छ

सडकका लागि पनि विश्व बैंक, एसियाली बैंकहरूले ऋण दिइरहेका छन् । त्यसैले सडक मर्मत सम्भारमा जाउँ भन्ने भयो ।

त्यसपछि उनीहरूले दुई वर्ष तयारी गरे । यो पृष्ठभूमिमा २०१७ मा सम्झौता (कम्प्याकट) मा हस्ताक्षर भयो अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबाट ।

सन् २००२ देखि २०१७ सम्मको यति कुरा गर्दा इन्डो प्यासिफिक भन्ने सुन्नुभयो ? त्यो शब्द त कहीँ पनि आएन ।

एमसीसी अमेरिकी संस्था भए पनि नेपालमा हामीले आफ्नै संस्था एमसीए नेपाल गठन गरेका छौं । यो मन्त्रिपरिषदको गठन आदेशमार्फत बनेको संस्था हो । जसको अध्यक्ष नेपाली नै हुनुहुन्छ, खड्ग विष्ट । त्यस्तै सञ्चालक समितिको अध्यक्षमा अर्थ सचिव हुनुहुन्छ ।

नेपालमा गर्न खोजेको के हो ?

अमेरिकीहरूले नीतिगत सुधार, नतिजा देखिने गरी काम गर्ने र अपनत्व स्थापित हुने गरी काम गर्नुपर्नेमा जोड दिए । नीतिगत सुधारका लागि विद्युत नियमन समिति बन्ने भयो । नतिजा देखिने गरी काम गर्नका लागि आयोजना सुरु भएको पाँच वर्षमा काम सकिनै पर्छ । त्यसैले सुरु हुनु अगाडि जग्गा, वन लगायतका सम्पूर्ण काम गरिसक्नु पर्‍यो । हामीले आफ्नै संस्था स्थापना र अलिअलि लगानी गर्नुको कारण अपनत्वहोस् भनेर हो । आˆनो लगानी भएपछि माया पनि हुने भयो । ५० करोड डलर उनीहरूले र १३ करोड डलर हामीले राख्ने भयौं ।

पैसा पनि हाल्यो, मौलिक नेपाली संस्था पनि बनायो । अझै उच्च किसिमको प्रतिवद्धताका लागि संसदले अपनत्व देखाउनुपर्छ भनियो । एमसीसी पनि त्यसैगरी रिपब्लिकन र डेमोक्र्याटको सर्वसर्वसहमतिबाटै जन्मिएको हो ।

उनीहरूले छानेको सूचक तलमाथि हुँदा आयोजना रद्द पनि गरेका छन् । तान्जानियामा निलम्बनै गरे । माडागास्कर र मालीमा प्रतिगमन भएपछि आयोजना नै बन्द भएका छन् ।

सुशासनलाई बढावा दिने र आयोजनालाई अर्जुन दृष्टि दिनुपर्दछ । सडक र बिजुली बाहेक अन्त लगाउन पाइँदैन । ३०० किलोमिटरको हाइभोल्टेज प्रसारण लाइन बनाउन ४० करोड डलर र अरु ३०० किलोमिटरको सडक सम्भार, नीतिगत कुराका लागि भनेर हिसाब गरिएको छ । घडीको सुई अन भएपछि रोकिँदैन । त्यसैले अन अगाडि नै सबै तयारी भइरहेको हो । यति ठूलो आयोजना निर्धारित समयमै सम्पन्न हुनु पनि नेपालका लागि ठूलो उपलब्धी हुनेछ भन्ने लाग्छ । मेलम्ची २२ वर्ष भइसक्यो । अर्थात् समयमा आयोजना पूरा हुनु पनि आफैंमा उपलब्धी हो ।

यो आयोजनाले नेपाल विद्युत प्राधिकरणकै मास्टर प्लानलाई सहयोग गर्ने गरी आएको हो । लप्सीफेदीबाट रातमाटे, रातमाटेबाट दमौली, दमौलीबाट बुटवल र बुटवलबाट भारतको बोर्डरसम्म प्रसारण लाइन बनाउने भनिएको छ । भारतले पनि बोर्डरसम्म प्रसारण लाइन ल्याउँछ । ता कि अतिरिक्त बिजुली भारत निकासी गर्न सकियोस् । कोशीबाट आएको इटहरी इनरुवा हुँदै हेटौंडासम्म आउँछ । रातमाटेबाट हेटौंडासम्म पनि पुर्‍याउँछौं ।

४०० केभीको प्रसारण लाइन भएपछि बुटवल पश्चिम एसियन विकास बैंकले बनाइरहेको छ । पूर्वमा पनि काम भइरहेको छ । त्यसैले यो आयोजना पुरा हुनु भनेको एक किसिमले पूर्व पश्चिम जोड्ने बिजुलीमार्ग बन्नु पनि हो ।

अन्तरदेशीय प्रसारणलाइन कति महत्वपूर्ण हुँदो रहेछ भन्ने त ढल्केवर-मुजˆफपुर प्रसारण लाइन हेरे भइहाल्यो नि । त्यहीँबाट बिजुली आयात गरेर लोड सेडिङ मुक्त भयौं । दोस्रो बुटवल-गोरखपुर, तेस्रो लम्की-बरेली, चौथो, अत्तेरिया-बरेली, पाँचौ कोहलपुर-लखनौं र छैठौं इनरुवा-पूणिर्या प्रसारण लाइन बन्छ । यो त हाम्रै विद्युत प्राधिकरणको ग्रान्ड मास्टरप्लान हो ।

नेपालमा बिजुली बेचेर धनी हुने भन्न थालेको त धेरै वर्ष भइसक्यो । विकासको हिसाबले पनि यो असाध्यै महत्वपूर्ण छ ।

तथ्यहीन आलोचना र यथार्थ

हाम्रो पनि पैसा हाल्ने तर हाम्रो महालेखा परीक्षकले हेर्न नपाउने भनिएको छ । यो सफेद झूठ हो । किनभने, कम्प्याक्टको दफा ३.८ मा एमसीए, नेपालले अन्तराष्ट्रिय मापदण्ड पूरा गरेका अडिटर प्रस्ताव गर्ने भनिएको छ । त्यो अन्तराष्ट्रिय मापदण्डको हुनुपर्दछ । योग्य अडिटर्सको रोस्टर बनाउँ र त्यसमध्ये जसले गरे पनि हुन्छ भनिएको छ । काकाको कम्पनीको अडिट भतिजले अडिट गरे जस्तो हुनु भएन । यसमा हामीले आपत्ती जनाउनुपर्ने के छ ?

 महालेखा परीक्षकलाई कुनै पनि बेला अडिट गर्न यो दफाले रोकेको मानिने छैन भनिएको छ । तर बाहिर यसको ठीक उल्टो प्रचार गरियो ।

४०० किलोमिटर लामो प्रसारण लाइन बनाउँदैछौं । भारतबाट विद्युत ल्याएर लोडसेडिङ मुक्त भयौं । बढी भएको पनि भारतमै वा भारतकै बाटो भएर बेच्ने भनिरहेका छौं । ५० औं करोड लगानी छ । बिजुलीलाई प्राथमिकता दिएको नेपालले नै हो । र, त्यो खपत अनि निर्यातकै लागि हो । यस्तो अवस्थामा भारतलाई तिम्रो संरचना के छ ? हामीले बेच्न चाहेको बिजुली किन्छौ कि किन्दैनौ भन्ने नसोधी गर्न त मिल्दैन नि ।

बरु, सुरुमा भारतको पनि असहमति जस्तो देखिन्थ्यो । त्यहाँका पूर्वउर्जा सचिवले मसँगको निजी कुराकानीमा भारतलाई विश्वासमा नलिई काम गर्न खोजेको हो कि जस्तो आशय व्यक्त गरेका थिए ।

भारतसँगको कुरा मिलाउने जिम्मा तिम्रो है भनेर अमेरिकाले नेपाललाई भन्नु नाजायज हो भन्ने लाग्दैन । यसले आवश्यक पर्‍यो भने सहजीकरण गरौंला पनि भनेकै छ । त्यसैले भारतको कुरा निकाल्नु भनेको बखेडा झिक्नु मात्रै हो ।

अहिलेसम्म पाएको सहयोगमा यो सबैभन्दा ठूलो आयोजना हो । जसले अहिले संसदमा किन लानु भनिरहेका छन्, नलगेको भए उनीहरूले नै यति ठूलो आयोजना संसदमा नलगी खुसुखुसु गर्ने भन्ने थिए होलान् । यति होल्डिंग्स जसरी सुटुक्क गर्ने भनेर उफ्रन्थे होलान् । संसदमा लगेन भनेर टनकपुरको विषयमा त्यत्रो लफडा भएको होइन र ?
सुरुमा मलाई पनि संसदमा किन लानुपर्‍यो र भन्ने लागेको थियो । सबै दाताले संसदकै सहमति खोज्लान् भन्ने परेको थियो । तर, यही प्रकृतिको सहयोग आउँछ भन्ने संसदमा लगे पनि केही फरक पर्दैन । ५० करोड डलरको अभुतपुर्व अनुदान अरुले पनि दिन्छन् भने संसदलाई जानकारी दिँदा के फरक पर्छ र ? संसदमा लानु भनेको अनुमोदनका लागि मात्रै होइन । त्यहाँ समर्थन, जानकारीका लागि पनि लान सकिन्थ्यो ।

ऐनहरू बाझियो भने सम्झौतामा लेखिएको कुरा प्रधान हुन्छ भनिएको छ । ऐनको कुरा त मन्त्रिपरिषदले मात्रै गर्न सक्ने कुरा भएन । त्यसैले पनि संसदमा लानुपर्छ भनिएको हो । मेरो विचारमा उनीहरूले भिएना सन्धिको स्पिरिटमा उच्चस्तरको राष्ट्रिय प्रतिवद्धता खोजेका हुन् । यसमा कुनै आपत्ति छैन । हाम्रै हितको कुरा गरेका हुन् ।

कुनै कानूनी अड्चनका कारण आयोजना प्रभावित भयो भने त्यत्रो अनुदान खेर जान्छ । अनुदानको रुपमा आउने रकम उनीहरुको करदाताले तिरेको पैसा हो । पश्चिममा त्यसको ठूलो महत्व हुन्छ ।

नेपालले छानेको आयोजनाका लागि, ५० करोड डलर ऋण होइन, अनुदान र पाँच वर्षमा सम्पन्न गर्नैपर्ने गरी आउनु भनेको त नेपालकै हितमा हो । २००२ यता विकसित घट्नाक्रम हेर्दा पनि यो नेपालका लागि अहितकर विल्कुल छैन ।

इन्डोप्यासिक प्याफिकको कुरा एमसीसी बनेताका आएकै थिएन । खासगरी ट्रम्प आएपछि उठेको हो । इन्डोप्यासिकफिकलाई अमेरिकाले एउटा नीतिहो भनेर बारम्बार भनिरहेकै छ । र, त्यो नीतिमा खुल्लापन, विधिको शासन र स्वतन्त्रता पर्छ भनेको छ ।

सत्तरी वर्षअघि चितवनको राप्ती उपत्यका खोल्नेदेखि आज दशौँ लाख नेपालीको सम्बन्ध गाँसिएको छ अमेरिकासँग । नेपालका लागि अमेरिकी राजदूतको स्पष्टोक्ति र कागजपत्र हेर्दा पनि सैन्य गठबन्धन हो भन्ने कहिं देखिँदैन ।

वैदेशिक सहायताको पनि आफ्नै कूटनीति त हुन्छ नै । त्यहाँका जनताले आफ्नो देशलाई सकारात्मक रुपमा लिउन् भनेर सहयोग गर्छ नै । दिन, दुःखी गरिबहरूलाई सहयोग गर्नु हाम्रो धर्मै हो भन्ने हिसाबले पनि केहि अनुदान आउने गर्छ ।

इन्डोप्यासिफिक अलाइन्सका कुरा आएको पनि १०-१२ वर्ष यता मात्रै हो । जब २००८ मा अमेरिकामा बाराक ओबामा आए उनले अमेरिका भनेको एट्लान्टिक शक्ति मात्रै होइन, प्यासिफिक पावर अर्थात प्रशान्त क्षेत्रको पनि शक्ति हो भन्न थाले । किनभने, ओबामा हवाईमा जन्मे, हुर्केका हुन् । जुन, प्रशान्त महासागरको बीचमा पर्छ । प्रशान्त शक्ति पनि हौं भन्नुको अर्थ हामी युरोप र एसिया दुबैतिर प्रभाव भएको विश्व शक्ति हौं भन्न खोजिएको हो ।

सामरिक, आर्थिक, राजनीतिक, जनता-जनताबीचको सम्बन्ध जस्ता कुरामा एसियासँग गाँसिने उद्देश्य पनि हो । सि चिनफिङ सत्तामा आएपछि बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) ल्याए । बीआरआईले गर्दा अमेरिका अलिकति चनाखो भएकै हो । किनभने, यो क्षेत्रको पुरानो शक्ति अमेरिका पनि हो । उसले धेरै देशलाई शीतयुद्धताका सुरक्षाको प्रत्याभूति दिएको थियो ।

चीनले यहाँ आएर के गरिरहेको छ भन्नेमा अमेरिकालाई चासो पक्कै छ । तर, हाम्रो प्रसारण लाइन बनाउने र सडक सम्भार गर्ने काम ग्रान्ड एलान्इसको अंग होइन ।

अर्कोतीर चीन पनि एमसीसीप्रति संशकित नभएको होइन । सी चिनफिङको भ्रमणअघि डा. शेखर कोइराला लगायत हामी चीन गएका बेला चिनियाँ कम्युनिष्ट पार्टीका थिंक ट्यांक चाइन रिर्फम फोरममा पनि यो कुरा उठेको थियो । त्यो कुन अर्थमा भने अमेरिका लगायतका पश्चिमाहरूले चीनलाई केही आरोप लगाएका छन् । तिमीहरूले बीआरआईको नाममा ऋण थोपरेर विभिन्न देशहरूलाई ऋणको पासोमा पारिराखेका छौ । प्राकृतिक स्रोत साधन भएका देशमा निरंकुश शासक भए पनि पैसा खन्याएका छौ । एक किसिमको नवउपनिवेशको अभ्यास गरिरहेका छौ । जसरी १९ औं शताब्दीमा बेलायत र फ्रान्सले गरे । यो आलोचनाले चीनलाई बिझाएको पनि छ ।

चीन यसरी चनाखो भएर अगाडि बढेको अवस्थामा चीनले गर्नेखालको भौतिक पूर्वाधारमा लगानी र ऋण भन्दा अनुदानै आएपछि चीन पनि सशंकित भएको हो ।

बीआरआईकै प्रतिस्पर्धीको रुपमा आएको हो त ? भन्ने रुपमा बुझेको पाइन्छ । तर २००२ देखिकै श्रृखंला बुझ्दा भने त्यस्तो देखिँदैन ।

विगतलाई केलाएर हेर्दा एमसीसीको पृष्ठभूमि फरक छ भन्दा चीनका एक सिनियर प्राध्यापकले डाक्टर वाग्ले, सित्तैमा भन्ने कुरा केही पनि हुँदैनभनेका थिए । हामीलाई पनि जित्ने गरी यत्रो ठूलो अनुदान दिनुको पछाडि अमेरिकीहरूको कुनै न कुनै स्वार्थ छ भन्ने चिनियाँ बुझाइ छ ।

बाठो बन्न खोज्नेहरूको अल्पज्ञान

 हाम्रा सूचक राम्रो भएर २००५ मै आयोजना शुरु गरेको भए त २०१३ मा सम्पन्न भइसक्ने थियो । र, इन्डोप्यासिफिकको लफडा पनि आउने थिएन । एमसीसी आउनुमा चिनियाँहरूको पनि संशय होला । चीनले विरोध गरेमा तिमीले पनि यस्तो कार्यक्रम लिएर आउ, आँखा चिम्लेर हस्ताक्षर गर्छौं भन्नुपर्छ हामीले ।

सन् २००२ देखिकै श्रृखंला हेर्दा स्वाभाविक रुपमा, हाम्रै माग अनुसार, अमेरिकाको घोषित नीति मन्टरे कम्फरेन्सको घोषणालाई टेकेर बनेको संस्थाले अरु ५० वटा देशमा गरेको सहयोगको मोडल अनुसार भएको हो । अहिले आएर बुर्लुक-बुर्लुक उफ्रन अलि असंगत लाग्छ ।

नेपालमा सन् २०१२ देखि यो कार्यक्रम चलिरहेको छ । ओएमसिएमका साथीहरू र अमेरिकीहरूले प्रधानमन्त्री लगायत सबै शीर्ष नेतृत्वलाई भेट्नु भएको छ ।

कर्मचारीतर्फको कुरा गर्नुहुन्छ भने पहिलो दिनदेखि नै अर्थ सचिव, उर्जा सचिव र भौतिक पूर्वाधार सचिवहरू बसेर छलफल गरेका छौं । नागरिक समाज, निजी क्षेत्रको प्रतनिधित्व गराइएको छ । सकेसम्म सबै पक्षलाई समेटिएको छ । योबाट बेखर रहेको कोही छ जस्तो लाग्दैन । २०१२ देखि घनिभूत छलफल चलिरहेको थियो । जादु गरे जस्तो गरी फ्याट्ट ल्याइएको होइन । अझै बढी छलफल गर्नु हुँदैनथ्यो भन्ने त होइन, तर पर्याप्त छलफलचाहिँ भइसकेको छ ।

इन्डोप्यासिकलाई जोडेर चीनको पनि चासो र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रकै आन्तरिक राजनीतिको कारणले विवाद जस्तो देखिएको हुन सक्छ । नेकपामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा बोल्दै आएकाहरूले नै यसको विरोध गरे जस्तो लाग्छ । के निहुँ पाएँछौं र ठुँगी हाँलु भन्ने हुन जस्तो लाग्छ ।

यो संसदबाट मजाले पास हुन्छ । काम पनि तोकिएकै समयमा सुरु हुन्छ । तर, यो खिचातानीले चाहिँ जसले दिल खोलेर यत्रो सहयोग गरेको छ, उ जिल्ल परे होलाजस्तो लाग्छ । प्रधानमन्त्रीको प्रतिवद्धता छ । अर्थ मन्त्री, परराष्ट्र मन्त्री लगायतले बुझेर नै समर्थन गरेका छन् । प्रतिपक्षी दलको पनि सय प्रतिशत प्रतिवद्धता छ ।

लोकतन्त्रमा बहस हुनु नराम्रो होइन । तर, बहस बुझेर गरेको राम्रो । यस बहसमा चाहिँ धेरै बाठो बन्न खोज्नेहरूको अल्पज्ञान छचल्किएको मात्र हो ।

 

 

No comments:

Post a Comment