Pages

Saturday, October 23, 2021

 

अत्याचार

 

माओवादीले क्रुर हिंसाको अभियान चलाउँदा गरेका अत्याचार।

 

‘नेपालभरि यस्तै हो नि, तपाईंहरूलाई थाहा छँदै छ,’ हरेक प्रश्नको जवाफ यही वाक्यबाट सुरु गर्थे । चुपचाप सिडियो साप मात्रै थिएनन्, डोल्पाबाट ‘कान्तिपुर’ दैनिकका लागि समाचार पठाउने संवाददाता पनि चुप थिए । माओवादीको उर्दी थियो– ‘समाचार नलेख्नू, लेख्न परे हाम्रो समर्थनमा लेख्नू ।’

सुन्दा सरल लागे पनि यो ‘ज्यान जाने’ सम्मको धम्की थियो । उनीहरूले भनेजस्तो र चाहेजस्तो लेख्नुपर्ने अघोषित ‘सेन्सरसिप’ थियो । 

‘झूटो समाचार लेख्नुभन्दा चुपचाप बस्नु नै जाती,’ संवाददाता मात्र चुप थिएनन् । दुनैबाट २ घण्टा हिँडेपछि पुगिने थाला गाउँकी देउमाया रोकाया पनि चुपचाप थिइन् । ‘तिमी आइमाईहरूले साँचो कुरा भन्छौ, समय साँचो बोल्ने छैन । त्यसैले नचिनेको मान्छे आउँदा चुपचाप बस्नू भनेका छन, हाम्रा बूढाले,’ लगभग डेढ घण्टापछि देउमायाले साँचो कुरा बोलिन् ।

उतिबेला भिड्न–मार्न उकास्ने दुवैथरीको अहिले घाँटी जोडियो । तर, देउमायाको जीवनको सहारा खोसियो । न त उनको घाउमा मलम लाग्यो, न गएको छोरो नै फर्कियो । यो देउमाया र उनका परिवारको इच्छाले वा राजनीतिक सिद्धान्तले प्रेरित भएर गरेको योगदान थिएन ।

उनको इच्छा त छोराले एसएलसी पास गरोस्, अरू अलिकति पढोस् अनि कतै कमाइ गरोस् भन्ने थियो । त्यसैले त एसएलसी परीक्षा हुनुअघि उनले छोरालाई ट्युसन पढ्न नेपालगन्ज पठाइन् । ‘ट्युसन पढ्न होइन, मार्न पठाएछौं, पुलिसका हात मार्न दिएजस्तो भयो,’ 

 ‘कोही मान्छे भेटे कि कीरा मार्दाझैं मार्दा । रित्तो घरमा बस्नुपरेको छ । उज्याला घामजूनजस्ता छोरा पढ्न पठाएको होइन मार्न पठाएका रहेछौं,’ कुटोको आवाजसँगै देउमायाको आवाज पनि ठूलो हुँदै गयो । जग्गा किन्ने मान्छे पाए उनलाई यहाँ एकछिन पनि बस्न मन थिएन । तर, यो बेला कसले किन्ने त्यस्तो ठाउँको जग्गा जमिन ?

दसैंको बेला थियो । मानिसहरू छलमस्टका पुजारीसँग शक्ति र आशीर्वाद माग्न आउँथे । दोहोरो टीका लगाउँथे (पश्चिम नेपालमा टीका एकले अर्कालाई सँगसँगै लगाउने चलन छ ।) ‘मन्दिरमा पूजाआजा र पर्व मनाउन बन्देज लगाइएको छ । हिन्दु धर्म, राजा र पूजाआजा मेटाउनुपर्छ । आफ्नो शक्ति निकाल्नुपर्छ भन्दै मन्दिरमा फोहोर गर्दै हिँड्ने गर्छन्,’ दुनैमा आश्रय लिइरहेका छलमस्टका पुजारी मोहनवीर रोकाया निकै दुःखी देखिए ।

पूजा–आजा बन्द गरेर आफ्नो शक्ति निकाल्नेहरू शक्तिविहीन भएका हुन् वा फेरिएका हुन्, अहिले पूजाआजामै व्यस्त छन् । अनि मन्दिरका लागि बजेट पाइएन भनेर रोइकराइ गरिरहेका छन् । मोहनवीरले उतिखेरै भनेका थिए, ‘कसैको आस्था मारेर निकालेको शक्ति धेरै टिक्दैन ।’

हामीले नेपालगन्ज बसाइमै पनि युद्धले बनाएका घाउका पाइला पछ्याउने निधो गर्‍यौं र दिउँसो दिउँसो बाँकेको चिसापानी धाउन थाल्यौं । हामीले सोचेजसरी नै यहाँ पनि युद्धका डोब भेटिए । मुगुको शेरीका नन्दबहादुर बुढा एक बर्षअघि भागेर यहाँ आएका रहेछन् । उनको जायजेथा माओवादीको कब्जामा थियो । खान माग्दा दिन नसकेपछि माओवादीले उनलाई बारम्बार मुसल लगाएछन् । मुसल लगाउनु भनेको गोलो लामो मुसलले तिघ्रा र पिँडुला पेल्नु हो ।

‘मेरो त पुरानो भयो, म तपाईंहरूलाई आलो घाउ देखाउँछु,’ नन्दबहादुरले हामीलाई नजिकैको घरमा पुर्‍याए, जहाँ अम्मकला बुढा अरूले भित्र्याएको धान हेरेर टोलाइरहेकी थिइन् । गाउँमा यसरी नै अन्न भित्र्याउने बेला भएको थियो । तर, ज्यान बचाउन उनको परिवार गाउँ छोडेर रातिराति हिँड्यो । ‘दिउँसो हिँड्न दिन्नन्, उतै फर्काउँछन् । अनि मार्छु मात्र भन्छन्,’ फुपूको घरमा शरण परेकी अम्मकलाको परिवार गाउँ छोड्दा सँगै थियो । तर, राति लोग्ने कता गए पत्तै भएन । दुई छोरी लिएर अम्मकला एकातिर लागिन् । अहिले उनी कहाँ छन् अम्मकलालाई थाहा थिएन ।

‘लोग्ने कता गए, गमगढी पो छन् कि ? बाँचेकै छन् कि, मारिए कि ?,’ मनमा असंख्य प्रश्न थिए । अनुहारमा सहिनसक्नु पीडा थियो । पीडालाई आँसुले बगाउनेबाहेक अम्मकलासँग अरू उपचार थिएन । रातिराति खाली खुट्टा हिँड्दा छोरीहरूका खुट्टाका एकपत्र छाला गएका थिए, तर पनि माओवादीबाट नसमातिई घर छोडेर भाग्न सफल भएकोमा थोरै सन्तोष भने थियो ।

खुट्टा दुखेको होइन स्कुल छोड्नुपरेको पीडामा निरन्तर रोइरहेका थिए छोरीहरू 

 

हामी सुर्खेत आयौं। बिस्थापित भएर आएकाहरू धेरै थिए सुर्खेतमा। तिनीहरूसँग धेरै बेर बसेपछि यो चुपचाप तोडियो र आवाज आयो, सुक्कसुक्कको । अनि आँखाबाट बलिन्द्र धारा आँसु पोखिए । सुर्खेतको चउरले नबिर्सेको भए पनि आउने विस्थापितहरूले योभन्दा अघि आएका विस्थापितहरूलाई सुनाएको व्यथा निकै कहालीलाग्दो थियो । त्यति वेला यहाँ बगेका आँसुको भेल भेरीमा नमिसिएको भए अझै पनि जमिन ओसिलो हुँदो हो ।

विराट जुम्लाकी हर्केनी बुढागाउँको खबर र आफन्तमाथि भएको ज्यादती बोलेर होइन, आँसुले व्यक्त गर्दै थिइन् । माओवादीहरूलाई आधा बाली बुझाउने र भन्नासाथ खाना खुवाउनु त परेकै थियो, अब उनीहरूले पिटाइ पनि खानुपर्ने भयो । यस्तो पीडामा पनि केही गर्न नसकी निरीह बन्नुपर्ने हाम्रो अवस्थाप्रति थोरै दया लाग्यो ।

‘कि त पाटीमा हिँड भन्दा, कि त घर छोडी जाऊ भन्दा,’ साउतीमै हर्केनीले यहाँ आउनुको पीडा पोखिन् ।

छेउमै बसेकी उनकी देउरानी माघे बुढाले काखे नानीलाई देखाउँदै थपिन्, ‘उनीहरू भोकाया छन्, पख पख भन्दाछौं, के गन्ने त ?’ माघेको प्रश्न हामीतिरै सोझियो । ‘जन्ता त मर्‍यो त । माओवादी मर्‍यो भन्छन् जन्तै मर्‍या देखिन्छ, आर्मी मर्‍यो भन्दाछन् जन्तै मर्‍या देखिन्छ ।’ सत्र हजार मानिस मारिएपछि दुवै पक्षले हामी एकै हौं भनेर थाहा पाएको कुरा माघे र हर्केनी बुढाको सामान्यज्ञानले पहिल्यै देखेको थियो ।

‘कठै आफ्ना त मर्ने दिन आइगया छिया, यिनको के हुने हो ?,’ केटाकेटीतिर देखाएर हर्केनीले कुराको बिट मारिन् । कर्णालीको यही अवस्था थियो, देशका अन्य भेगका मानिसहरूले ‘काम गर्ने बेला’ भन्ने उमेरमा कर्णाली भने ‘मर्ने बेला’ भयो भन्न बाध्य थियो ।

सुर्खेतको चउरमै बस्ने मुगु, सेरीका बाँचे बुढालाई कामको खाँचो थिएन । हातपाउ बसेका थिएनन् । यही चउरमा पनि राडी बुन्न व्यस्त थिए । तर भन्थे, ‘केटाकेटी बौलाउन लाग्या छन्, मै बौलाएको छु । कहिले केटाकेटी भोक लाग्यो भन्दा, कहिले जोई भोक लाग्यो भन्दा, कहिले छोरो भोक लाग्यो भन्दा, कहिले छोरी भोक लाग्यो भन्दा, कहिले भाइ भोक लाग्यो भन्दा, कहिले दाइ भोक लाग्यो भन्दा, हाँसने मान्ठ देख्दा अचम्मले मद्दा छौं ।’

बाँचेले जस्तै पीडा पोख्न एकै सास काफी थियो यो चउरमा बसेका सयौं मानिसलाई ।

 

 

 

 

No comments:

Post a Comment