Pages

Saturday, October 2, 2021

 


राष्ट्रका हिरोहरू

 

 

सदानन्द सापकोटा

हरेक क्रान्तिको उपलब्धिसँगै क्षतिपूर्ति खोज्ने चलन हुन्छ । ‘सहिद अन्त जन्मियोस्, र क्रान्तिको पहिलो उपलब्धि मैले पाऊँ’ भन्ने समाजमा क्षतिपूर्ति नलिने कुनै नायक देशमा छ त ? खोज्दै थिएँ । सम्झिएँ, सदानन्द सापकोटा (खोजानन्द) । 
सिन्धुली, गोलन्जोर गाउँपालिकाको हैबारबेसी र्‍यालटारमा १९८५ चैत २२ गते जन्मेका सदानन्दको प्रारम्भिक शिक्षा झाँगाझोली वेद पाठशालामा भयो । थप पढाइका लागि तीनधारा पाठशाला, काठमाण्डु आए । म्याट्रिकको परीक्षा दिन वनारस जानुपर्ने हुन्थ्यो । २००३ मा ५० रुपैयाँ छात्रवृत्ति दिँदै राणा सरकारले पठायो । १४ पेपरमा ७ पेपर दिएपछि भारतीय स्वतन्त्रता संग्रामको चापले बाँकी परीक्षा हुन सकेन, नेपाल फर्किए । नेपालमै परीक्षाकेन्द्र हुनुपर्‍यो भनी २००४ वैशाख १ गते राणा सरकारलाई तीनसूत्रीय माग पेस भयो । त्यसैलाई जयतु संस्कृतम् आन्दोलन भनिन्छ । 

असार १ गते जयतु संस्कृतमको जुलुसले नगर परिक्रमा गर्‍यो । मंसिरमा डाँडो कटाइएर उपत्यका हदबन्दी गरिनेमा पद्यशंकर अधिकारी (रामेछाप), गंंगाप्रसाद गौतम(फुदुग, इलाम), तारा शर्मा (पोखरा) र गिरिराज ज्ञवाली (रिढी) सहित सदानन्द पनि थिए । 

अवसर र त्याग 
मौका नपाएर आदर्शवादी, त्यागी बन्नु भिन्नै कुरा हो । मन्त्री विश्वबन्धु थापा, मजिस्ट्रेट बलराम प्याकुरेल र भूवनलाल प्रधानले २०१८ कात्तिक १७ गते राजा महेन्द्रको मन्त्रीको आश्वासन सुनाए । त्यसलाई अस्वीकार गरेका सापकोटालाई कात्तिक २९ गते राजाको प्रलोभन पत्र अनशन थलो न्युरोडमा रिसल्लाले दिँदा ‘हठी’ भनिएर धुलीखेल पु¥याएर पूर्व १ नं. छोड्न नपाउने हदबन्दी गरियो । 


टंकप्रसाद आचार्य आयोगले ०२७/२८मा राजनीतिकपीडितलाई जग्गा दिने निर्णयले देशैभरिका कांग्रेस र कम्युनिस्टलाई जग्गा दिइयो । सापकोटालाई पनि सर्लाही, मुर्तियामा ३ बिघा खेत र ६ कठ्ठा घडेरी दिइयो । तर, उनले लिएनन् । ०४७ मा कृष्णप्रसाद भट्टराई र राधाकृष्ण मैनाली आयोगले जेलजीवन, प्रवास वा भूमिगत राजनीतिकपीडितलाई राज्यले के, कति रकम दियो ? को, कस्ता परेभन्ने वकपत्र ‘रातो किताबले’ गर्छ ।उनी क्रान्तिको क्षतिपूर्ति नलिने अत्यन्तै प्रतीक हुन् ।

सत्याग्रही कम्युनिस्ट
गंगालाल श्रेष्ठ, (हलुवाइ) नेतृत्वमा गठित लाल कम्युनिस्टका संस्थापक सदस्य सदानन्दको क्रान्तिमा अनशनको राजनीतिक हतियार निरन्तर प्रयोग गर्दै संर्घषका मैदानमा आजन्म डट्दै रहे । २००५ मा वनारसबाट पर्चा छपाएर परासी, पाल्पा, स्याङ्जा, तौलिहवा संगठन गर्न लाग्दा किसान संर्घषले अत्तालिएका जिम्दारहरूको उजुरीले २००६ साल असार ६ गते गिरफ्तार गरी भैरहवा जेल चलान भयो । पहिलो अनशनले भैरहवाबाट जेल सरुवा गराई काठमान्डु, भद्रगोल पठाइए । त्यसपछि अनशन संघर्षको हतियार बन्दै गयो । उनको अन्तर्राष्ट्रवादी चेत र भूमिका १९५५ जुन २२ देखि २७ सम्म दार्जलिङको रिगटयाग भएको चिया बगान मजदुर आन्दोलनमा सहभागिताले जनाउँछ । घुमक्कड यात्री सदानन्द २०६३ साल फागुन २२÷२३ मा रामेछाप भंगेरीस्थित नेपाली कांग्रेसका नेता नारायणबाबु श्रेष्ठको घरमा बसे । काठमान्डु जान्छु भनी मन्थलीमा अन्तिमपटक देखिएका उनी त्यसपछि अलप भए ।

 

 

गणेशराज गौतम ‘निदी’ 

तिलस्मी क्रान्तिकारी गणेशराज गौतम ‘निदी’को जन्म २००५ मा ओखलढुंगा लिखु, दक्षिण लेती गोतामे गाउँको धनाढ्य परिवारमा भएको थियो । संगठित राजनीतिमा २०२१ देखि लागे । २०२८ सालको भोकमरीमा ‘भकारी फोर’ अभियानमा जुटे । ३ वर्ष पोकलीको जनजीवन स्कुलका शिक्षक रहेर जिल्लाका सुतेका कम्युनिस्टलाई ब्युँझाउँदै आन्दोलनमा उतारे । अनिकालपीडित सहयोग समिति, लिखुखोलाबाट फैलिएको किसान आन्दोलनले जिल्लाका ठालुहरू र प्रशासन आतंकित भयो । पक्राउ परे । ओखलढुंगामा कडा यातना दिँदै अञ्चल प्रशासन राजविराज पुर्‍यायो । केही दिनपछि मुक्त गरिएर इलाका नजरबन्द राख्दै महिने तारिखमा हाजिर हुनुपर्ने गरी ओखलढुंगामै फिर्ता पठाइयो । 


सपना श्रेष्ठसँग २०२६ सालमा अन्तर्जातीय विवाह गरेर नजरबन्दी तोड्दै सपरिवार रौतहट, गौर पुगे । गौरमा उनी नेपाल निवासमा (माधव नेपाल) रहे । गौरपछि वीरगन्ज लागे । वीरगन्जका साथीहरूमा विमल निभा, गोपाल गिरी, महेन्द्रबहादुर आमात्य, कौशल, प्रमोद अधिकारी, आमोद धितालहरू थिए । ‘हिमाली आवाज’ पत्रिकाको प्रकाशन भयो । निदीलाई सम्झिँदै निभा भन्छन्, ‘अति ऊर्जावान्, अति सक्रिय, अति इमानदार, अति सहयोगी, अति उत्साही, अति सरल, अति सर्वहाराकरण मात्रै हैन, चिन्तन, व्यवहार र भूमिकाबीचको मिलन भएको एक उम्दा व्यक्तित्व थिए ।’ निभा जोड दिएर थप्छन्, ‘मैले अति शब्दमा त्यसै जोड दिएको होइन । ‘निदी’मा अचम्मका गुण भएर हो’ । 


वीरगन्जमा पनि प्रशासनको नजरमा परेपछि नेपालगन्ज लागे । कोइलावासमा मजदुर पुष्पराज पौड्याल र शम्भु पौड्यालसँग संगत थियो । २०२८ पुसमा नेपालगन्ज आए, निष्क्रिय भने रहेनन् । क्याम्पस आन्दोलन र कर्मथलो बन्यो भने सहयोद्धा नवयुवाहरू । २०२८ सालमा नेपालगन्जबाट सहसम्पादक महेन्द्र शर्मासहित सामयिक संकलन पत्रिका ‘स्वर’ प्रकाशन गरे । क्याम्पसबाट ‘दियालो’ पत्रिका निक्लिन थाल्यो । जनकपुरबाट प्रकाशित ‘नयाँ पाइलो’ र राजधानीको ‘मातृभूमि’ साप्ताहिकको संवाददाता त थिए नै । 


२०३१ वैशाख २४ गते दुई छोरासाथै गर्भवती सपनालाई काठमान्डुमा पुर्‍याएर साला राजकुमारको संरक्षण लगाई नेपालगन्ज फर्केका ‘निदी’ जेठ २४ मा गिरफ्तारमा परे । प्रशासनले खजुराको घरमा आगो लगाइदियो । सहयोगीहरूले बनाइदिए । बाँके गाउँ विष्णुबहादुर गुरुङकोमा आफ्ना सामग्री छाडेर २०३१ असारमा दुई सय रुपैयाँ दिएर अन्तिमपटक बिदा गरेको महेन्द्रराज शर्मा भन्छन् । देहरादुन थलबहादुर थापाको दाइको सम्पर्कमा जान्छु भनेर बिदा भएका ‘निदी’ फेरि सार्वजनिक भएनन् । निभाको आशंकामा निदीको हत्या गरिएको हुनुपर्छ । तर, वामनेता लोककृष्ण भट्टराई भन्छन्, ‘२०३७ सालमा हेटौंडामा माक्र्सवादीको भेलामा सहाना प्रधानसँग उनले भेट गराएका थिए ।’ निदीपत्नी सपना श्रेष्ठका अनुसार उनले २०३२ वैशाखमा नेपालगन्ज आउँदा ‘निदी’ बेपत्ता भएको थाहा पाइन् । कुनै न कुनै वेला सरकारले आफ्नो हत्या गर्न सक्छ भनेर बाराम्बार भन्ने गरेको सपनाको भनाइ छ ।


तत्कालीन नेवि संघका नेता तथा साहित्यकार सनत रेग्मीको भनाइमा तीसको दशकका ‘निदी’ आफूले पश्चिममा भेटेको पहिलो कम्युनिस्ट भएको र उनको निष्ठा, साहित्यिक चेत, सोच अनुकरणीय रहेको बताउँछन् ।

 

No comments:

Post a Comment