पिल्सिएका
पिल्सिएररहेकी
सप्पाले आत्महत्या गरिन्।
गत वर्ष असोज १६ गते बाजुराकी सप्पा
नेपालीले आफ्ना चार सन्तानसहित कवाडी खोलामा हामफालेर जीवन समाप्त पारिन् । १ वर्षदेखि
५ वर्षबीचका तीन छोरी र एक छोरासहित एकैसाथ हेलिएर मृत्युको बाटो रोजिसक्दा कवाडी
खोलाको छालसँगै उनको जीवनमाथिका सबै प्रश्न र गुनासाहरू अनन्तमा विलीन भए । आम भाषामा भन्दा, उनले जीवनका सम्पूर्ण दुःख लुकाइन् । तर
बाँचिबस्नेका लागि, समाज व्यवस्था र राज्यप्रणालीका लागि भने
उनीहरूको सामूहिक मृत्युले अनेकौं प्रश्न छोडेर गएको छ ।
यस घटनामाथि बाजुरा र धनगढीका
अनलाइनहरूले खबर छापे । त्यहीँका स्रोतबाट प्राप्त समाचारहरूको
अध्ययन गरेर त्यति बेलै यही स्तम्भमा एउटा प्रतिरोध–लेख लेख्दा र
त्यसयता पंक्तिकारलाई बारम्बार लागिरह्यो,
यो त आत्महत्या होइन बरु
राज्यसंरक्षित संस्थागत सामूहिक हत्या हो । यो त तहैपिच्छेका राज्यसंयन्त्रको
घोर गैरजिम्मेवारीले चलाएको हत्यातन्त्रको अर्को शृंखला हो । यसलाई ‘आत्महत्या’ नाम दिएर
बिर्सने छुट राज्यलाई त छैन–छैन,
सचेत वर्गलाई पनि छैन ।
सप्पा नेपाली बाजुराको उपल्लो
भेगअन्तर्गत रुगिन गाउँकी ३० वर्षीया कर्मठ श्रमजीवी महिला थिइन् । बाजुराको
सदरमुकाम मार्तडीदेखि एक दिनको बाटो हिँडेर कोल्टी बजार पुगिन्छ । त्यहाँबाट
फेरि अर्को एक दिन लगाएर पुगिन्छ रुगिन गाउँ । कोल्टीदेखि धुलाचौर हुँदै पुगिने
सबभन्दा माथिल्लो गाउँ गुम्बा र पारि हुम्लासमेत जोड्ने कच्ची सडक बनेपछि उनको
परिवार नजिकैको कवाडी खोला किनारको
बस्तीमा झरेको थियो । यसलाई कवाडी बजार पनि भनिन्छ । कमाइखाने आफ्नै जमिन नभएकाले
सिजनमा गरिने खेतीपातीको कामबापत पाइने ‘खलो’
र लुगा सिउने ‘लगिदार’
हरूबाट पाइने नगद वा अन्नपातका भरमा
यिनको परिवार पालिन्थ्यो । श्रीमान् धर्म नेपालीले आर्थिक उपार्जनको काम नगरी बेकार बसिदिनाले
श्रीमान्सहित सम्पूर्ण परिवारको पेट पाल्ने जिम्मा उनैको थियो । माइतीमा
बाबु मरिसकेका र आमाले अर्को बिहे गरेको स्थितिमा हारगुहार–सरसहयोग माग्नलाई पनि कोही थिएन ।
स्थानीयका अनुसार, खोलामा हेलिने अघिल्लो दिन काम गरेबापत खलो
(अन्न) लिन रुगिन पुगेकी सप्पा घरधनीले चित्तबुझ्दो गरी खलो नदिएकाले त्यहाँ केही
बेर भनाभन भएपछि रित्तै हात घर फर्केकी थिइन् । कथित उपल्लो जातका साहू, लगिदारको यस्तो हेपाइविरुद्ध प्रतिकार गर्ने
सप्पाको भर आफ्नै पाखुराबाहेक केही थिएन । श्रीमान् थिए तर उनीबाट कुनै सहयोग थिएन बरु उल्टो उनको अपमान
र हिंसाले सप्पालाई घरभित्रै थप असहाय बनाउँथ्यो ।
एक, विजेता
गोर्खा राज्यका पालादेखिको पूर्वाग्रहको बाछिटाले आजसम्मै अपहेलित बाजुराको पनि
सुदूर उत्तरी भेगको बसाइ । दुई,
साँझबिहान खानै नपुग्ने हदैसम्मको
आर्थिक बेहाली । तीन,
जात व्यवस्थाको सबभन्दा पीँधको
समुदायको पनि महिला भएर बाँच्नुका चुनौती । र चार, बेकारीमा दिन गुजार्ने लोग्नेका रातदिनका
कुण्ठा र प्रताडनाको सिकार भइरहने दैनिक जीवन । सप्पाको जीवनलाई हेर्न मिल्ने
हरेक कोणले बताउँछन्, उनी कुन हालतमा कसरी बाँचिरहेकी थिइन् !
रुगिन गाउँबाट ओर्लने मात्र नभई
बिच्छ्याँ, गुम्बालगायत बाजुराकै गाउँहरूतिर सोझिने वा
कवाडी तरेर ताँजाकोट, हुम्लातर्फ मोडिने यात्रुहरूको ट्रान्जिट बन्न
लागिरहेको कवाडी बस्ती हुम्ला,
मुगु र बाजुरा तीन जिल्लाको सीमा
छोएर बसेको साँघुरो खोंच हो । वरिपरि रूखपातबिनाका दर्फर्याउँदा अग्ला–अग्ला पहाडले घेरिएको यो बस्तीमा पुराना घर कम
र टिनले छाएका टिनैले बारेका एकतले नवनिर्मित घर ज्यादा छन् । बजार भनिए पनि गाउँ–पहाडकै बजार भन्नसम्म मिल्ने अझै बनिसकेको छैन
यो, बन्ने क्रममा मात्रै छ ।
घरको चरम आर्थिक संकट र कमाई
ल्याउने आफू एक्लो मान्छे,
जतिखेरै रूखो हावा चलिरहने र धूलो
उडिरहने, खानेपानीकै समेत अभाव भएको अव्यवस्थित बस्ती
अनि उदास–उतुंग चट्टानी पहाडहरूबीच बाँचेकी सप्पाको
मथिंगल मर्नुअघि कतिसम्म विचलित हुँदो हो ! कल्पना गर्दा पनि कहाली लाग्छ । बस्तीलाई
पश्चिम पारेर बगिरहेको कवाडी खोला दुई सय
मिटर दक्षिणमा पुगेपछि हुम्ला र मुगुबीचबाट बग्दै आउने कर्णालीमा मिसिन्छ । विकट
गाउँका बासिन्दा, गरिब र दलितप्रति हुनसम्मको हेपाहा राज्य
व्यवस्था, जात व्यवस्थाका तहैतहले विषाक्त समाज र क्रूर
पारिवारिक पितृसत्तासमेतको तेहरो कोपले लखेटिएकी सप्पा यिनै कवाडी र कर्णालीको
भेलमा हुत्तिँदै यिनैका काखमा गुटमुटिँदै निद्रालीन हुन पुगिन् !
उनी कसरी हामफालिन् ? प्रत्यक्षदर्शी कोही छैन तर अनुमान गर्नेहरू
भन्छन्— त्यसरी बच्चैसमेत खोलामा फालेर त मर्ने खाले
मान्छे त्यो होइन ! स्थानीय हिमाली गाउँपालिका प्रमुख गोविन्द मल्लसहित धेरैको
बुझाइ छ, सप्पा पारिवारिक तनावका कारण मरिन् । मृत्युको
धरापजस्तो कवाडी खोला देखाउँदै सप्पाका ससुरा लालमनि दमाई बताउँछन्, ‘खोलामा नुहाउन भनेर बच्चा बोकेर आएकी मेरी
बुहारी, त्यो लडेर खाने मान्छे हो, यसरी मरी भनेर मन मान्दैन ।’
Tuesday, October 26, 2021
No comments:
Post a Comment