वयोवृद्ध /
वृद्ध जनसंख्याको चुनौतीलाई धेरै देशले 'दीर्घायुको लाभांश’ मा बदल्न थालेका छन् । ६५ वर्षमाथिको जनसंख्या
क्रमशः २५ र १८ प्रतिशत रहेका जापान र सिंगापुरले सृजनशील खालका अवकाश आय र
स्वास्थ्य हेरचाहका कार्यक्रम ल्याइरहेका छन् ।
विज्ञानको उपलब्धिले पछिल्लो समय मान्छेको आयु पनि
बढ्दो छ । सन् १९६० को दशकमा नेपालीहरूको औसत आयु ३५ वर्ष हाराहारी थियो, जुन अहिले ७० वर्ष नाघेको छ । कुनै समय थियो, ५० वर्ष पुगेका नेपालीहरू ७० वर्षका जस्ता देखिन्थे तर
लम्बिँदो आयुसँगै शरीरको हेरचाह र पर्याप्त पोषणले गर्दा अचेल बुढ्यौलीमा पनि
ऊर्जाशील देखिन थालेका छन् । त्यसैले ‘सत्तरी
कुनामा लत्तरी’ भन्ने उखान अब पुरानो
भइसकेको छ । हुन त यति बेला नेपाल युवा जनसंख्या बढी भएको देशमध्येमा पर्छ, आधा जनसंख्याको उमेर २४ वर्षभन्दा कम छ तर यो अवस्था
सधैं रहनेवाला छैन । अबको एक दशकमै हामी वृद्ध समाजतिर उक्लिँदै छौं ।
राष्ट्रसंघको विश्व जनसंख्या प्रक्षेपण (डब्लूपीपी)–२०१५ अनुसार, सन्
२०५० मा नेपालको १४ प्रतिशत जनसंख्या ६५ वर्षमाथिका नागरिकले भरिएको हुनेछ । १८–६५
वर्षबीचको जनसंख्यालाई श्रमबजारमा सक्रिय मानिन्छ । केटाकेटी
र ज्येष्ठ नागरिकहरू श्रमबजारमा सक्रिय नहुँदा उनीहरूको हेरचाहका लागि राज्यको
दायित्व बढ्छ । त्यति बेला एक जना वृद्ध व्यक्तिलाई हेरचाह गर्न झन्डै पाँच जना
काम गर्ने उमेरका व्यक्तिको खाँचो पर्नेछ, जुन
अहिलेभन्दा झन्डै दोब्बर हो । त्यो चुनौती सामना गर्न अहिलेका
बालबालिका र नयाँ पुस्तालाई थप उत्पादनशील हुने गरी हुर्काउन जरुरी छ । उनीहरूलाई मानसिक र शारीरिक रूपमा
स्वस्थ बनाउने गरी लगानी गर्न आवश्यक छ ।
वृद्ध जनसंख्याको
चुनौतीलाई धेरै देशले ‘दीर्घायुको
लाभांश’ मा बदल्न थालेका छन् । एसियाकै जापान र सिंगापुर त्यसका उदाहरण हुन् । ६५ वर्षमाथिको जनसंख्या जापानमा २५ र सिंगापुरमा १८ प्रतिशत छ, जुन थप बढ्ने क्रममा छ । तर यी दुवै मुलुकले त्यसलाई ख्याल गरी सृजनशील खालका अवकाश आय र
स्वास्थ्य हेरचाहका कार्यक्रम ल्याइरहेका छन् । त्यसको सकारात्मक नतिजा पनि आइरहेको छ ।
सिंगापुरका
विश्वविद्यालयहरूले आफ्ना विद्यार्थीलाई जीवनभरिका लागि सिक्न सहयोग गर्छन् । नयाँ सीप सिक्न पूर्वविद्यार्थीहरूलाई कर्जा दिन्छन् । यस्तै, सामाजिक
जोखिम मिलानजस्ता संयन्त्र परिचालन गरिएका छन् । ‘मेडिसिल्ड
लाइफ’ जस्तो कार्यक्रममार्फत अस्पतालमा
लाग्ने खर्च समेट्ने बिमा कार्यक्रम पनि छन् । सिंगापुरले ‘सेन्ट्रल
प्रोभिडेन्ट फन्ड लाइफ लङ इन्कम फर दी इल्डर्ली’ कोषअन्तर्गत आफ्ना जनतालाई अवकाशका बेला चाहिने आम्दानीको आवश्यकता
पूरा गर्ने गरेको छ । त्यसका लागि जनताले
पनि मासिक रूपमा कोषमा अनिवार्य योगदान गर्नुपर्छ ।
जापानले विभिन्न
हेल्थ केयर,
प्रिभेन्टिभ केयर र
लङटर्म केयरलाई मिलाउँदै ज्येष्ठ नागरिकहरूलाई हेरचाह गर्ने कार्यक्रम ल्याएको छ । ज्येष्ठ नागरिकको हेरचाहमा लाग्ने खर्च घटाउन ‘पारो द रोबोटिक सिल’ जस्ता हेरचाहमा केन्द्रित
रोबोटहरूको डिजाइनमा लगानी हुन थालेको छ ।
विश्व आर्थिक मञ्चकी प्रोजेक्ट
लिड काशित सोफियतले २० मे २०२१ मा प्रकाशित एक लेखमार्फत वृद्ध जनसंख्यालाई अवसरमा
बदल्न मुलुकहरूले ‘उमेरअनुकूल’ नीतिहरू बनाउनुपर्ने सुझाएकी छन् । त्यसमा पाको उमेरका कर्मचारी तथा कामदारलाई लचिलो खालको काम
गर्ने विकल्प,
अवकाश, जीवनकालभरि काम लाग्ने सिकाइ
प्रवर्द्धन,
उमेरमैत्री
कार्यस्थललगायतका कुरा छन् । पुनर्तालिम, पुनःसीप, सीप सुधारजस्ता सीपमूलक तालिममा
लगानी गर्न सकिन्छ ।
अवकाश लिने उमेर पुगे
पनि काममा टिकाइराख्ने वातावरण बनाउनु महत्त्वपूर्ण मानिन्छ । चरणबद्ध रूपमा लिने अवकाशअन्तर्गत पूरा समयको सट्टा दिनको
केही घण्टा मात्रै काम गर्न दिने नीति ल्याउन सकिन्छ । त्यसले एकैचोटि पर्ने आर्थिक भारलाई कम गर्छ । त्यसो गर्दा सरकारलाई आयकर आइराख्छ भने, पेन्सन वा वृद्धभत्ताबापतको
दायित्व पनि कम हुन्छ । अर्को, जीवनको उत्तरार्द्धमा काम गर्दा स्वास्थ्य
र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने अध्ययनहरूले देखाएका छन् । एस्तेबन काल्वोको ‘डज
वर्किङ लंगर मेक पिपल हेल्दियर एन्ड ह्याप्पियर ?’ शीर्षक
अनुसन्धानले पनि जीवनको लामो कालखण्डसम्म काम गर्नेहरूमा समग्र स्वास्थ्य र कल्याण
राम्रो हुने देखाएको छ । तर काम भने उनीहरूले मन पराएको
हुनुपर्छ ।
भारतमै पनि अवकाशको उमेर ६० देखि
६५ वर्ष छ । अझ अमेरिकामा त ६२ वर्षमा मात्रै ‘अर्ली
रिटायरमेन्ट’ लिन पाइन्छ । यस बेला पूरै लाभ लिन पाइँदैन । पेन्सन र सामाजिक सुरक्षाका
सम्पूर्ण लाभ लिने हो भने ७० वर्ष कुर्नुपर्छ ।
No comments:
Post a Comment