Pages

Thursday, January 6, 2022

 

वयोवृद्ध     /  


वृद्ध जनसंख्याको चुनौतीलाई धेरै देशले 'दीर्घायुको लाभांश’ मा बदल्न थालेका छन् । ६५ वर्षमाथिको जनसंख्या क्रमशः २५ र १८ प्रतिशत रहेका जापान र सिंगापुरले सृजनशील खालका अवकाश आय र स्वास्थ्य हेरचाहका कार्यक्रम ल्याइरहेका छन् ।

विज्ञानको उपलब्धिले पछिल्लो समय मान्छेको आयु पनि बढ्दो छ । सन् १९६० को दशकमा नेपालीहरूको औसत आयु ३५ वर्ष हाराहारी थियो, जुन अहिले ७० वर्ष नाघेको छ । कुनै समय थियो, ५० वर्ष पुगेका नेपालीहरू ७० वर्षका जस्ता देखिन्थे तर लम्बिँदो आयुसँगै शरीरको हेरचाह र पर्याप्त पोषणले गर्दा अचेल बुढ्यौलीमा पनि ऊर्जाशील देखिन थालेका छन् । त्यसैले ‘सत्तरी कुनामा लत्तरी’ भन्ने उखान अब पुरानो भइसकेको छ । हुन त यति बेला नेपाल युवा जनसंख्या बढी भएको देशमध्येमा पर्छ, आधा जनसंख्याको उमेर २४ वर्षभन्दा कम छ तर यो अवस्था सधैं रहनेवाला छैन । अबको एक दशकमै हामी वृद्ध समाजतिर उक्लिँदै छौं ।

राष्ट्रसंघको विश्व जनसंख्या प्रक्षेपण (डब्लूपीपी)–२०१५ अनुसार, सन् २०५० मा नेपालको १४ प्रतिशत जनसंख्या ६५ वर्षमाथिका नागरिकले भरिएको हुनेछ । १८–६५ वर्षबीचको जनसंख्यालाई श्रमबजारमा सक्रिय मानिन्छ । केटाकेटी र ज्येष्ठ नागरिकहरू श्रमबजारमा सक्रिय नहुँदा उनीहरूको हेरचाहका लागि राज्यको दायित्व बढ्छ । त्यति बेला एक जना वृद्ध व्यक्तिलाई हेरचाह गर्न झन्डै पाँच जना काम गर्ने उमेरका व्यक्तिको खाँचो पर्नेछ, जुन अहिलेभन्दा झन्डै दोब्बर हो । त्यो चुनौती सामना गर्न अहिलेका बालबालिका र नयाँ पुस्तालाई थप उत्पादनशील हुने गरी हुर्काउन जरुरी छ । उनीहरूलाई मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउने गरी लगानी गर्न आवश्यक छ ।

वृद्ध जनसंख्याको चुनौतीलाई धेरै देशले ‘दीर्घायुको लाभांश’ मा बदल्न थालेका छन् । एसियाकै जापान र सिंगापुर त्यसका उदाहरण हुन् । ६५ वर्षमाथिको जनसंख्या जापानमा २५ र सिंगापुरमा १८ प्रतिशत छ, जुन थप बढ्ने क्रममा छ । तर यी दुवै मुलुकले त्यसलाई ख्याल गरी सृजनशील खालका अवकाश आय र स्वास्थ्य हेरचाहका कार्यक्रम ल्याइरहेका छन् । त्यसको सकारात्मक नतिजा पनि आइरहेको छ ।

सिंगापुरका विश्वविद्यालयहरूले आफ्ना विद्यार्थीलाई जीवनभरिका लागि सिक्न सहयोग गर्छन् । नयाँ सीप सिक्न पूर्वविद्यार्थीहरूलाई कर्जा दिन्छन् । यस्तै, सामाजिक जोखिम मिलानजस्ता संयन्त्र परिचालन गरिएका छन् । ‘मेडिसिल्ड लाइफ’ जस्तो कार्यक्रममार्फत अस्पतालमा लाग्ने खर्च समेट्ने बिमा कार्यक्रम पनि छन् । सिंगापुरले ‘सेन्ट्रल प्रोभिडेन्ट फन्ड लाइफ लङ इन्कम फर दी इल्डर्ली’ कोषअन्तर्गत आफ्ना जनतालाई अवकाशका बेला चाहिने आम्दानीको आवश्यकता पूरा गर्ने गरेको छ । त्यसका लागि जनताले पनि मासिक रूपमा कोषमा अनिवार्य योगदान गर्नुपर्छ ।

जापानले विभिन्न हेल्थ केयर, प्रिभेन्टिभ केयर र लङटर्म केयरलाई मिलाउँदै ज्येष्ठ नागरिकहरूलाई हेरचाह गर्ने कार्यक्रम ल्याएको छ । ज्येष्ठ नागरिकको हेरचाहमा लाग्ने खर्च घटाउन ‘पारो द रोबोटिक सिल’ जस्ता हेरचाहमा केन्द्रित रोबोटहरूको डिजाइनमा लगानी हुन थालेको छ ।

 विश्व आर्थिक मञ्चकी प्रोजेक्ट लिड काशित सोफियतले २० मे २०२१ मा प्रकाशित एक लेखमार्फत वृद्ध जनसंख्यालाई अवसरमा बदल्न मुलुकहरूले ‘उमेरअनुकूल’ नीतिहरू बनाउनुपर्ने सुझाएकी छन् । त्यसमा पाको उमेरका कर्मचारी तथा कामदारलाई लचिलो खालको काम गर्ने विकल्प, अवकाश, जीवनकालभरि काम लाग्ने सिकाइ प्रवर्द्धन, उमेरमैत्री कार्यस्थललगायतका कुरा छन् । पुनर्तालिम, पुनःसीप, सीप सुधारजस्ता सीपमूलक तालिममा लगानी गर्न सकिन्छ ।

अवकाश लिने उमेर पुगे पनि काममा टिकाइराख्ने वातावरण बनाउनु महत्त्वपूर्ण मानिन्छ । चरणबद्ध रूपमा लिने अवकाशअन्तर्गत पूरा समयको सट्टा दिनको केही घण्टा मात्रै काम गर्न दिने नीति ल्याउन सकिन्छ । त्यसले एकैचोटि पर्ने आर्थिक भारलाई कम गर्छ । त्यसो गर्दा सरकारलाई आयकर आइराख्छ भने, पेन्सन वा वृद्धभत्ताबापतको दायित्व पनि कम हुन्छ । अर्को, जीवनको उत्तरार्द्धमा काम गर्दा स्वास्थ्य र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने अध्ययनहरूले देखाएका छन् । एस्तेबन काल्वोको ‘डज वर्किङ लंगर मेक पिपल हेल्दियर एन्ड ह्याप्पियर ?’ शीर्षक अनुसन्धानले पनि जीवनको लामो कालखण्डसम्म काम गर्नेहरूमा समग्र स्वास्थ्य र कल्याण राम्रो हुने देखाएको छ । तर काम भने उनीहरूले मन पराएको हुनुपर्छ ।

 भारतमै पनि अवकाशको उमेर ६० देखि ६५ वर्ष छ । अझ अमेरिकामा त ६२ वर्षमा मात्रै ‘अर्ली रिटायरमेन्ट’ लिन पाइन्छ । यस बेला पूरै लाभ लिन पाइँदैन । पेन्सन र सामाजिक सुरक्षाका सम्पूर्ण लाभ लिने हो भने ७० वर्ष कुर्नुपर्छ ।

No comments:

Post a Comment