अत्याचारविरुद्ध \
अप्रिल १९२६ मा कलकत्तामा गोर्खा कल्याण संघले चितपुर रोडको आफ्नो
कार्यालयमा भारतको स्वतन्त्रता संग्राममा केही आर्थिक दान जुटाउन एउटा समारोह
गरेको थियो । तिनताक खड्गबहादुर भर्खरै बीकममाथि कलेजको डिग्री हासिल गरेर स्वतन्त्रता संग्राममा होमिएका थिए । त्यस दिन संघको सभामा गइरहेको समय
एउटा अग्लो बिल्डिङबाट कसैले तलतिर एउटा कागज–चिठी फ्याँकेपछि उनले उकालो हेर्दा
एउटी महिलाले त्यो चिठी पढ्न भनी इसारा गरिन् । उनले हतारसाथ पत्र खोलेर पढे । त्यहाँ लेखिएको थियो— पद्मप्रसाद भनिने बनारसमा बस्ने एक नेपालीले ती अठार वर्षीया राजकुमारी मैयालाई
झुठो आश्वासन दिएर कलकत्ता ल्याई व्यापारी हीरालाललाई बेचेछन् । हीरालालले राजकुमारीलाई आफ्नै घरमा देह व्यापारमा राखेको रहेछ । खड्गबहादुरलाई यस पत्रले अवाक्–भावुक मात्रै नबनाएर, उनलाई कैयौं
नेपाली महिलालाई तस्करी गरी बनारस हुँदै कसरी कलकत्ता पुर्याइँदो रहेछ भन्ने
कुराले घोच्न थाल्यो । राजकुमारीलाई हीरालालबाट कसरी मुक्ति दिलाउने र खोसेर घर पुर्याइदिने भन्नेतिर उनले सोच्न लागे । अन्तमा उनले तय गरे— तस्करीको यो घीनलाग्दो शृंखला र रोगलाई स्वाहा पार्न हीरालालको हत्या गर्नैपर्छ ।
केही दिनपश्चात् खड्गबहादुर अर्कै
पहिरन लगाई धारिलो खुकुरी बोकेर हीरालालको घर पुगे । कुरा कोट्याउनलाई र सच्चाइ बुझ्नलाई उनले हीरालाललाई भने, ‘मलाई बनारसबाट पद्मप्रसादले पठाएका
हुन् ।’ यति भन्दा नै हीरालालले उनलाई घरभित्र पसायो र आफ्नो भव्य बैठककोठामा बसायो । हीरालाललाई देखेर उनी तीनछक परे । चाउरी परिसकेको वृद्ध, केश रंगाएको र सिरानीमा अडेस लागेर
कुराकानी गर्ने । उनले अझै कुरा बुझ्न भने, ‘पद्मप्रसादले सोह्र–सत्र वर्षका दुई ठिटीहरूलाई बनारस ल्याएका छन् । तर तपाईंकोमा पुर्याउनलाई अलिक निकै पैसा चाहिन्छ
भन्दै छन् । उनले तपाईंलाई बनारस आउन भन्नका लागि मलाई यहाँ पठाएका हुन् ।’ हीरालालले गदगद हुँदै भन्यो, ‘मैले राजकुमारीलाई पाउन त्यति धेरै
रकम दिएको थिएँ तर यसलाई मैले कज्याउनै सकेको छैन, अहिलेसम्म पनि ।’ खड्गबहादुरलाई यही कुरो टुंगो गर्नु थियो । अनि त्यति नै बेला उनले धारिलो–चम्किलो खुकुरीले हीरालालको हत्या गरिदिए । त्यसपछि पद्मप्रसादलाई पनि मार्छु भन्दै उनी बनारस जान लाग्दा मन फर्काएर नजिकैको लालबजार पुलिस थानामा गए र मैले यसो गरें भन्दै आफूलाई सुम्पिए ।
अर्को दिन हीरालालको
हत्याबारे समाचार चारैतिरका खबरकागजको शीर्ष स्थानमा छापियो । भय र त्रासले हीरालालजस्तै अन्य धेरैले शारीरिक मज्जाका निम्ति राखेका कैयौं नेपाली महिलालाई मुक्ति दिए । खड्गबहादुर सिंह विष्टलाई रिहा गरिनुपर्छ भन्दै कलकत्ता महानगरीभित्र भयानक रूपमा विरोध प्रदर्शन सुरु भयो । कसैले रिहाइका निम्ति पैसा–धन बटुल्न थाले, कसैले न्यायाधीशलाई पत्र लेखे । न्यायालयमा उभ्याइएका खड्गबहादुरले भने, ‘मैले केही भूल गरेकै छैन, कानुनमुताबिक वा नैतिक आधारमा । मैले हीरालालको हत्या गरेको हुँ । तर यदि मेरो दायित्व यस्तो घटना देख्दा पनि चुप लागेर बस्नु हो, आफ्नै चेलीबेटीको पीडा–दुःखमा मौन
धारण गर्नु हो भने अनि यदि म समाजका निम्ति हीरालाल र त्यस्तै दुष्टहरूभन्दा अझै
खतरनाक छु भने मलाई सजाय दिनुहोस् ।’ तर न्यायाधीश ग्रेगोरीले आठ वर्षको सजाय घोषणा गरे । उनलाई कारावासमा थुनियो । व्यापक विरोध सुरु भयो ।
यसैबीच अखिल
भारतीय गोर्खा लिगका अध्यक्ष र देहरादूनबाट निस्कने अंग्रेजी पत्रिका ‘हिमालय
टाइम्स’ अनि नेपाली पत्रिकाहरू ‘गोर्खा संसार’ र ‘तरुण गोर्खा’ का सम्पादक ठाकुर
चन्दन सिंहले यस सजायका विरुद्ध युद्ध नै छेडे । भारतभरि नै विरोधको आवाज उठाउँदै ठाकुर चन्दन सिंह — जो
भारतीय स्वतन्त्रता संग्राममा अहम् भूमिका निभाउँदै थिए — ले चारैतिर सभा–जुलुसहरू
गर्न थाले । आइतबार २७ मार्च १९२७ मा उनले कलकत्ताको अल्बर्ट भवनमा ठूलो सभा गरे र तिनताकका नेताहरू सुवासचन्द्र बोस, बीसी रोय, सरोजिनी नायडु, मोतीलाल नेहरू, वीर सावरकर, महात्मा गान्धी, पण्डित नेहरू आदिलाई खड्गबहादुरको
रिहाइको अपिल गरे । भनिन्छ, कलकत्ताको त्यस दिनको जुलुसमा एक
लाख मानिसले भाग लिएका थिए । ठाकुर चन्दन सिंहले अति नै मन छुने भाषण दिएका थिए । भाषणमा उनले खड्गबहादुरलाई दिएको सजाय अति नै कडा एवं भर्त्सनायोग्य हो भन्दै दुष्टहरूको
विरोधमा लड्ने समाजसेवक र देशभक्तहरूलाई नियम–कानुनले छुट्याउन सक्नुपर्छ भने । सभामा गोर्खा, बंगाली, युरोपेली जाति सबैले बोले र सजायको
निन्दा गरे । विपिनचन्द्र पालले सभाको अन्ततिर प्रस्ताव पढी सुनाए, जसमा त्यसताकका राज्यपाललाई खड्गबहादुरलाई रिहाइ गर्ने अपिल गरिएको
थियो । कलकत्ताका अखबारहरूले सम्पादकीयहरू पनि लेखे । नभन्दै दुई वर्ष बाह्र दिन कारावासमा बसेपछि खड्गबहादुरलाई ३१ मार्च १९३० मा रिहा गरियो, सधैंका लागि । उनले अब सबै महिलालाई आफ्नै दिदी–बहिनी सम्झँदै र मान्दै जीवनभरि विवाह गर्नेछैन भन्ने प्रण गरे । र उनकै अभिन्न साथी खरसाङका नारायण प्रधानले ती राजकुमारीलाई २४ अप्रिल १९३० मा विवाह गरे ।
No comments:
Post a Comment