माइतीघर आन्दोलनका भित्री कथा \
सर्भिस लेनसँग जोडिएको वैभव जानकी भोजनालयकी सञ्चालिका जानुका तिमिल्सिना
आफूले रेस्टुरेन्ट सञ्चालन गरेकाले आन्दोलनका कारण ‘डिस्टर्ब’ भयो भन्न नपाइएको
बताउनुहुन्छ । “आन्दोलनमा आएकाले चिया खाजा मगाउँछन् । खाएर पैसा नतिर्दासम्म
हेरेर बसिरहन पनि भएन । हुलमुलमा पैसा नै नतिरी भाग्छन् । त्यसैले व्यापार निकै
राम्रो हुन्छ भन्न मिल्दैन,” उहाँले भन्नुभयो,
“रेस्टुरेन्टमा
एउटा शौचालय छ । पैसा तिरेर पानी किनेका हुन्छौँ, त्यही उनीहरूलाई दिनुपर्ने
हुन्छ । शौचालय नदिन पनि भएन । दिउँ भने फोहोर गरिदिन्छन्, पालो पाइएन भनेर आफू आफूबीच
त्यहीँ कुटाकुट गर्छन् ।”
त्यसो त माइतीघरमा आन्दोलन नभएका दिनमा पनि राजनीतिक
घटनाक्रमका आधारमा सुरक्षाकर्मी खटाइने गरिएको छ । कुनैकुनै दिन त चार, पाँचवटा संस्थाका कार्यक्रम
एकैपटक जुध्छन् । पालैपालो कार्यक्रम गरेर आफ्नो बाटोतर्फ लाग्छन् । तर त्यसपछि
हुन्छ अर्कै कारोबार । आन्दोलन सकिएपछि आन्दोलन स्थलको दक्षिणतर्फको अर्काे
साँघुरो तर एकान्त सडकमा सहभागीलाई पालैपालो लगेर रकम बाँड्ने गरेका दृश्य आफूले
निकैपटक देखेको वरपरका व्यवसाय सञ्चालन गर्नेहरू सुनाउँछन् ।
आन्दोलन स्थलको दक्षिणतर्फका घरधनी तारा श्रेष्ठले शनिबार पाहुना आउने र
शान्त वातावरणमा बस्न पाए हुन्थ्यो भन्ने सोचिन्छ तर दिउँसो त्यसरी बस्नै नपाउने
गरेको गुनासो गर्दै भन्नुभयो, “कहिलेकाहीँ सन्चो हुँदैन । एकान्तमा बस्न
पाए हुन्थ्यो भन्ने लाग्छ । तर ध्वनि प्रदूषणले निकै झर्काे लाग्छ ।” आन्दोलनकारीले
आफूले यति सहभागी ल्याएको भनी कुराकानी गर्ने गरेको सुनिन्छ भन्दै उहाँले मानिस
गन्ती गरेको आफूले देख्ने गरेको सुनाउनुभयो ।
वैभव जानकी भोजनालयकी सञ्चालिका जानुकाले हालैको
घटना स्मरण गर्नुभयो, “एक जना बूढी आमालाई ‘यो उमेरमा जिन्दावाद
! मुर्दावाद ! गर्न किन आउनुभएको ?’ भन्दा ‘हिजो पाँच सय दिएका थिए, आज सात सय रुपियाँ दिन्छु
भन्थे । खै कता गए उनीहरू ? खोजिरहेकी छु’ भन्नुहुन्थ्यो ।”
सँगैको क्लास नेपाल नामक संस्थाका कार्यक्रम अधिकृत
दुर्गा भट्टले कहिलेकाहीँ पालोमा बस्नुपर्ने हुँदा एउटा समूहका आन्दोलनकारीले
अर्काेको माग बडो ध्यान दिएर सुन्ने गरेको देखेको बताउनुभयो । उहाँले थप्नुभयो,
“अहिलेसम्म
त आन्दोलन शान्त नै रहने गरेको देखिन्छ । भागाभाग वा ढुङ्गामुढा हुँदैन । तिनका
माग कति सुनुवाइ हुन्छ भन्ने त थाहा भएन तर खाजा पसलेहरूलाई राम्रै आम्दानी भएको
देख्छौँ ।”
No comments:
Post a Comment