अत्याचार \
नयाँदिल्ली — सुखदुःखमा सँगै जीवन बिताउने वाचा गरेका पतिबाटै यौन
धन्धामा लाग्ने प्रस्ताव आउँदा एउटी महिलालाई के लाग्दो हो ? सोच्नै
नसकिने प्रस्ताव र त्यसलाई अस्वीकार गर्दा खेपेको यातनाले अर्घाखाँचीकी २२ वर्षीया
झरना (नाम परिवर्तन) निरीह होइन बरु न्यायको लडाइँमा अझ बलियो बनिरहेकी छन् ।
आफ्नै पतिविरुद्ध लडाइँ लड्न महिलाका लागि कम चुनौतीपूर्ण छैन । तर, उनमा साहस
डगमगाएको छैन । ‘कानुनी रूपमा सम्पूर्ण सजाय नदिलाएसम्म मलाई सन्तोष हुनेछैन,’ उनले भनिन्, ‘न्यायालयमाथि
भरोसा छ । दुवै देशमा मुद्दा चलिरहेको छ । मेरो अस्मितालाई
बेच्न खोज्नेले कडाभन्दा कडा सजाय पाउनेमा म विश्वस्त छु ।’
‘श्रीमान्–श्रीमतीबीचको
कुरा हो’ भन्दै आपसी मेलमिलाप गरेर मुद्दा सल्टाउन उनलाई सामाजिक दबाब नआएको होइन । तर,
आफूले पाएको पीडा बिर्सिन नसक्ने भएकाले उनी
अदालतको ढोकासम्म पुगिन् । हालै उनले
दिल्लीको पटियाला हाउस कोर्टमा न्यायाधीशलाई आफूमाथि भएका घटनाबारे तीन घण्टा
लगाएर सुनाइन् । यौन र घरेलु हिंसाका मुद्दामा अरू कसैलाई नराखेर न्यायाधीश एक्लैले उनको बयान लिएका छन् । अदालती थप प्रक्रियाका लागि दिल्ली आइपुगेकी झरनाले कान्तिपुरसँग भनिन्, ‘महिलाका
लागि रक्षक र सबैथोक उसैको पति हो भनेर भनिन्छ र सिकाइन्छ । मेरो हकमा भने पति नै भक्षक भइदियो ।’
बुटवलकी झरनाको २०७५ वैशाख २३ गते अर्घाखाँचीका
दुर्गाप्रसाद घिमिरेसँग मागी विवाह भएको थियो । त्यतिबेला उनी बुटवलमै कानुन विषय लिएर कक्षा ११ पढ्दै थिइन् । बुबाआमाको
कमजोर आर्थिक स्थितिका कारण पढाइकै बीच उनको विवाह भयो । केटा वैदेशिक रोजगारीबाट फर्किएकाले झरनाका बुबाआमाले छोरीको भविष्य राम्रै होला भन्ने विश्वासले जिम्मा लगाएका थिए । ‘केटा ओमानबाट फर्किएको हो, फेरि
विदेश जाने तयारीमा छ भन्ने मलाई भनिएको थियो,’
झरनाले भनिन्,
‘म ११ को फाइनल परीक्षाको तयारीमा थिएँ । विवाहको चाहना थिएन । तर, पारिवारिक परिस्थितिले विवाह गर्नुपर्यो ।’
विदेश जाने तयारीमा रहेका भनिएका पति दुर्गा
दिल्ली आउजाउ गर्ने गरेको उनले विवाह पछि मात्रै थाहा पाइन् । आफू दिल्लीमै आयुर्वेदिक औषधालयमा त कहिले होटलमा काम गर्ने दुर्गाले बताएका थिए । ‘मलाई पनि दिल्ली आउन निरन्तर दबाब दिन थालेका थिए, सासू
ससुराको पनि त्यस्तै राय थियो,’ झरनाले सुनाइन् ‘तर, मेरो पढ्ने इच्छा थियो, १२ मा पढ्दै थिएँ । दबाब थेग्न नसकेर पतिको घर अर्घाखाँची नै गएर बस्न थालें । पढाइ र परीक्षाको बहाना गर्दै उनले दिल्ली आउनुपर्ने
दबाबलाई झेल्दै आइन् । त्यहीबीच छोरी जन्माइन् । त्यसले पनि उनको दिल्ली नजाने चाहनालाई सघाउ पुग्यो ।
तर, २०७८ जेठ मसान्तमा पतिले झुक्याएर उनी ८ महिने छोरी काखमा च्यापेर दिल्ली आइपुगिन् । ‘दिल्ली जानुपर्छ भनेर ममाथि ठूलो दबाब थियो, मेरा बुबाआमाको इच्छा त थिएन । तर, घरतिर सबैको चाहना त्यही थियो, श्रीमान् घर आएको मौकामा थप दबाब दिए,’ उनले सुनाइन्, ‘त्यसका लागि मलाई कुटपिट पनि गरे । श्रीमान्ले बुटबल जाऊँ तिमीलाई माइत छाडेर दिल्ली जान्छु भनेका थिए, तर कृष्णनगर सीमामा ल्याए ।’ कृष्णनगर आएको थाहा पाएपछि उनले माइतमा फोन गरेर जानकारी दिएकी थिइन् ।
नेपाल हुँदै पतिबाट पटकपटक यातना र कुटपिटको
सिकार भइसकेकी उनले प्रहरी र स्थानीय तहमा उजुरी लिएर नपुगेकी होइनन् । तर,
पटकपटक मिलापत्र गराएर उनलाई फर्काइन्थ्यो । दिल्ली ल्याइपुर्याएपछि उनको जीवन थप पीडादायी बन्यो । छिटौनी गाउँको १९१ नम्बरको प्रकाश हाउसको सानो फ्ल्याटमा पतिले उनलाई बन्दीझैं बनाएर राखे । र, यौन व्यवसायमा लाग्न दबाब दिए । ‘यहाँ आएपछि थाहा भयो, उसको काम त कर्ल गर्ल सप्लाई गर्ने रहेछ,’ उनले भनिन्,
‘ह्वाट्स एपमार्फत ग्राहकसँग सम्पर्क भएपछि
उनीहरूलाई केटी पठाउने काम गर्ने रहेछ । उसको कैयौं सीमकार्ड थियो । यताबाट केटीहरूको फोटो पठाउने तथा भाउ मिलेपछि ग्राहककहाँ पठाउने गर्ने रहेछ ।’
दुर्गाले उनको समेत फोटाहरू ग्राहकलाई पठाउन
थाले । ग्राहकको फोन उठाउन र कुरा गर्न श्रीमान्ले नै दबाब दिन थालेपछि निरन्तर त्यसको प्रतिवाद गरिन् । त्यसको बदला उनले यातना सहनुपर्थ्यो । कहिले त करेन्टसमेत लगाएर सताउने गरेको उनी सुनाउँछिन् । ‘छोरी सानी थिई, भागेर जाने उपाय पनि थिएन । साथमा
फोनसमेत नभएपछि कसैलाई कल गर्ने कुरा भएन,’
उनले भनिन्,
‘सँगैको फ्ल्याटमा दुईजना भारतीय विद्यार्थी
बस्थे । म समस्यामा रहेको अनुमान लगाएका रहेछन् । मैले उनीहरूलाई मेरो बाबाको फोन नम्बर दिएर कुरा गराइदिन आग्रह गरें ।’
बुटबलमा सानो व्यवसाय गरिरहेका उनका बुवाले
दिल्लीमा छोरी असुरक्षित रहेको खबर पाए । असार २५ मा रूपन्देही प्रहरीमा पुगेर उनले घटनाको जानकारी दिए । रूपन्देही प्रहरीले दिल्लीमा महिलाको उद्धारलगायत सामाजिक कार्यमा सक्रिय संस्था किन इन्डियाका नवीन जोशीलाई सम्पर्क गर्यो । ‘रूपन्देही प्रहरीबाट सूचना आएलगत्तै हामी सक्रिय भयौं, नेपालमा फोन गरिएको नम्बरमा सम्पर्क गरेर
लोकेसन लियौं र त्यहाँ पुगेर रेकी गर्यौं,’
जोशीले भने,
‘ठाउँको यकिन भइसकेपछि दिल्ली महिला आयोग र
प्रहरीको सहयोग लिएर ढोका फोडेर झरनाको उद्धार गर्न सफल भयौं ।’
त्यतिबेला झरना अचेत अवस्थामा फेला परेकी थिइन् । उनी आफैं हिँड्न सक्ने स्थितिमा थिइनन् । कुटपिट र करेन्टसमेत लगाइएकाले उनलाई पहिला अस्पताल पुर्याइयो । दुर्गालाई कोठाबाटै प्रहरीले पक्राउ गरेको थियो । तर, दिल्ली प्रहरीले केही दिनको हिरासतपछि जमानतमा
छाड्यो ।
सुरुमा त झरनाले मुद्दा मामिलाबाट केही होला
भन्ने आस गरेकी थिइनन् । पतिसँगको विषयमा मुद्दा मामिलामा गयो कि मिलापत्र गराइदिने व्यवहारबाट परिचित भएकै कारण उनी त्यसतर्फ लाग्न त्यति उत्सुक देखिएकी थिइनन् । तर, आवश्यक काउन्सिलिङपछि उनी अन्यायविरुद्ध मुद्दा
लड्न तयार भइन् । उनलाई किन इन्डियाले कानुनी प्रक्रियाबाट
न्याय दिलाउन सहयोग गरेको छ । साथै उनलाई नेपालमा सामान्य रोजगारीको अवसर पनि मिलाइदिएको छ । यतिबेला उनी अत्याचारविरुद्ध नेपालमा समेत मुद्दा लडिरहेकी छन् ।
रूपन्देही जिल्ला अदालतमा पतिविरुद्ध मानव
बेचबिखनबिरुद्धको मुद्दा लडिरहेकी छन् भने दिल्लीको पटियाला हाउस कोर्टमा घरेलु
हिंसा, इच्छाविपरीत
नग्न तस्बिर र भिडियो बनाएर विभिन्न ठाउँमा पठाएको तथा करेन्ट लगाएको कसुरमा
मुद्दा चलाएकी छन् । दिल्लीबाट छुटेर आएर झरनाका माइतीलाई धम्की दिइरहेका बेला पक्राउ परेका दुर्गा अदालतको आदेशमा थुनामा छन् । ‘रूपन्देही जिल्ला अदालतमा सबै प्रक्रिया चलिरहेको छ । बहस,
बकपत्र सकिएको छ,’
झरनाले भनिन्,
‘अब अदालतको फैसला आउने पर्खाइ मात्रै छ । अदालतमाथि विश्वास छ, दोषीले
कडा सजाय र मैले न्याय पाउनेछु ।’
माघ २५, २०७८
No comments:
Post a Comment