Pages

Saturday, March 12, 2022

 

बच्चाका दुःख       \

 

दैलेख । दिउँसोको सिरसिरे बतास। बिहानैदेखि आकाश डम्म थियो । सूर्यको किरणलाई बादलले ढाकेको। एकाएक नजर खुला आकाशको छानोमुनिका कलिला हातहरूमा ठोक्किए। ढुंगामाथि हथौडा बजारिरहेका थिए यी कलिला हातहरू।

सूर्यको किरणलाई बादलले ढाकेजस्तै उनीहरूको भविष्य पनि कोरोनाले ढाकेको थियो । जिन्दगी अन्धकार देखिन्थ्यो। कापी–कलम समाउनुपर्ने हातहरू निरन्तर हथौडाले ढुंगा फोरिरहेका थिए । लाग्थ्यो, हथौडा उनीहरूको भविष्यमाथि नै बज्रिइरहेको छ । ‘तिमीहरू पढ्ने विद्यालयको नाम के हो ?’ ढुंगामाथि बजार्दै गरेका हातहरूलाई रोक्दै एकै स्वरमा उनीहरूको उत्तर थियो, ‘सरकारी स्कुलमा हो । हामी सरकारी स्कुलमा पढ्छौँ ।’

सोधेँ, ‘स्कुलको नाम नै सरकारी स्कुल हो र ?’ मेरो प्रश्नमा उनीहरू केही बोलेनन् । एकआपसमा मुखामुख गर्न थाले। उनीहरूको विद्यालय उनीहरूकै पिठ्युँमा थियो– जनआधारभूत विद्यालय ठाटीकाँध गाउँपालिका– २ पीपलचौतारा। सरकारी स्कुलमा पढेका न हुन्, कसरी थाहा पाऊन् र विद्यालयको नाम ! ‘कति कक्षामा पढ्छौ ? विद्यालय जान छाडेर किन गिट्टी कुट्न थालेको ?’ मेरा प्रश्नहरूमा निरन्तर उत्तर दिँदै गए– ‘दीपेन्द्र थापा कक्षा २ । भूपेन्द्र थापा कक्षा ४ । विद्यालय जान मन थियो तर विद्यालय बन्द छन् । घरमा पैसाको समस्या छ । गिट्टी कुटेर आएको पैसाले कापी–कलम किन्ने हो ।’

‘पढेर के बन्ने हो ?’

‘डाक्टर, पाइलट बन्ने हो ।’

पिठ्युँमा जनआधारभूत विद्यालय ठाटीकाँध– २ पीपलचौतारा । शरीरमा विद्यालयको पोसाक अनि हथौडा ढुंगामाथि बजारिरहेका हातहरू । दिउँसो विद्यालय जाने उनीहरू कापी–किताब जोहो गर्न घर नजिकैको बाजाखेत पुग्छन् । घरको आर्थिक अवस्था दयनीय भएका कारण शरीर ढाक्ने पोसाकसम्म पाउँदैनन् । साँझ–बिहान विद्यालयकै पोसाक पहिरेर गिट्टी कुट्छन् । उही पोसाक पहिरेर हतारहतार विद्यालय पुग्छन् । दिउँसो विद्यालय जाने उनीहरूका कलिला हातहरू ढुंगामाथि बजार्नु रहर नभई बाध्यता हो ।

कलिला हातहरू ढुंगामाथि बजार्दै गिट्टी कुटेर आएको केही पैसाले पढ्ने खर्च जुटाउने गरेको कक्षा २ मा अध्यनरत दीपेन्द्र्र थापा बताउँछन् । घरमा कापी–कलम किन्ने पैसा छैन’, उनले भने, ‘बुबा परदेश जानुभएको छ । आमाले दिनभरि काम गर्दा पनि साँझ–बिहान छाक टार्न मुस्किल हुन्छ । कापी–कलम किन्नका लागि पनि गिट्टी कुट्छु ।’ उनी उमेरले १० वर्षका भए । पढ्ने इच्छा हुँदाहुँदै पनि अभाव नै अभावमा विद्यालय आउने–जाने गर्छन् । कलिला हातहरू ढुंगामाथि बजार्दै दिनभरि आधा प्याक गिट्टी कुट्ने गरेको उनी बताउँछन् । अभाव नै अभावमा पनि गिट्टी कुटेर भविष्यमा डाक्टर बन्ने चहना छ उनको । अहिले अभावमै बाँचे पनि मिहिनेत गरेर पढ्ने र गिट्टी कुटेरै भए पनि भविष्यमा डाक्टर बन्ने चाहना छ उनको । भूपेन्द्र थापाको पनि चाहना डाक्टर बन्ने नै छ।

उल्टा खुट्टा पारेर हथौडाले गिट्टी कुट्दै गरेका उनले पनि अगाडकिा २ वटा दाँतहरू देखाउँदै मन्द मुस्कानमा भने, ‘ठूलो भएर धेरै पढेर भविष्यमा डाक्टर, पाइलट, आर्मी, पुलिस बन्ने छ। गिट्टी कुटेर आएको पैसाले कापी–किताब किन्छु।’कोरोनाका कारण विद्यालय बन्द भएपछि घरायसी काममा र गिट्टीको रासमा बसेर भविष्य खोज्ने उनीहरू प्रतिनिधि पात्र मात्र हुन् । यहाँका धेरै बालबालिकाको अवस्था उनीहरूको जस्तै छ। घरको आर्थिक अवस्था कमजोर भएका कारण केही समय गिट्टी कुट्दै गिट्टीको रासमाथि र दाउराको भारीमा भविष्य खोज्दै अन्ततः उनीहरू पहाडमा आफ्नो भविष्य खोज्दाखोज्दै अन्धकार भविष्यमा छिर्छन् । डाक्टर, इन्जिनियर बन्ने सपना कता हराउँछन्, उनीहरूले ती सपना सम्झिन फुर्सद नै पाउँदैनन् ।

शनिवार, मार्च 12, 2022

 

No comments:

Post a Comment