Pages

Tuesday, March 29, 2022

कम्युनिष्ट गालि          \

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार राजधानीका आयोजित मुस्लिम इतेहाद संगठनको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ‘जंगलमा कराउने नीलो स्याल’ को संज्ञा दिए। दाहाललाई आफूले सुधार्न चाहे पनि नसकेको उल्लेख गर्दै उनले दाहाल स्यालजसरी ठाडो मुन्टो लगाएर कराएको बताए

ओलीले नै अघिल्लो आइतबार इलाममा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनालको जुँगा एमालेले टाँसिदिएको बताएका थिए। एमालेले बनाएको जुँगामा खनालले ताउ लगाएको आरोपसमेत उनले लगाए। त्यसअघि राजधानीमा आयोजित कार्यक्रममा ‘संविधान मिच्ने ओलीले सजाय पाउनुपर्ने’ भन्दै खनालले एमालेको मत राख्ने बाकस खाली पार्नुपर्ने बताएका थिए। त्यसैको जवाफमा ओलीले खनालकै निर्वाचन क्षेत्रमा पुगेर व्यक्तिगत आलोचना गरेका हुन्

 

स्थानीय निर्वाचन नजिकिँदै गर्दा जनतामाझ लैजाने राजनीतिक मुद्दामा बहस गर्नुपर्नेमा राजनीतिक दलका शीर्ष नेताहरूले व्यक्तिगत गालीगलौज गरिरहेका छन्। पूर्वप्रधानमन्त्री भइसकेका ठूला पार्टीका शीर्ष नेताले एकले अर्कोलाई ‘फटाहा’, ‘बौलाहा’, ‘चिम्पान्जी’, ‘अपराधी’, ‘बिचौलिया’, ‘नालायक’ जस्ता उपमा दिने गरेका छन्। बितेका पाँच वर्षमा आफूले जितेका स्थानीय सरकारको समीक्षा र आगामी योजनाबारे उनीहरूले खासै बहस गरेका छैनन्

 

एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैभन्दा बढी एकअर्काको उछितो काढ्दै आएका छन्, त्यो पनि तुच्छ भाषामा। नेपाल र ओलीबीचको आन्तरिक मनमुटाव निकै पुरानो हो

एमसीसीसम्बन्धी पार्टीको धारणा सार्वजनिक गर्न गत फागुन १७ मा आयोजित पत्रकार सम्मेलनमा ओलीले नेपाललाई राजनीतिक अपराधीको संज्ञा दिए। गत फागुन २८ मा राजधानीमा आयोजित निजामती कर्मचारी संगठनको अधिवेशन उद्घाटनका क्रममा ओलीले सरकारका मन्त्रीहरूलाई चिम्पान्जीको संज्ञा दिए। चिम्पान्जीमा कुस्ती खेल्न खोज्ने चरित्र रहेको उल्लेख गर्दै उनले आफ्ना दुवै हातले छाती ठोकेर भने, ‘माननीय मन्त्रीहरूलाई म त्यस्तै देख्छु, ड्यामड्याम छाती पिट्छन्। अहिलेका मन्त्रीहरू सामा र ऐँजेरु हुन्।’ फागुन २७ मा पोखरामा प्रेस चौतारीको अधिवेशन उद्घाटन गर्दै उनले झन्डै दुई तिहाइको सरकार ढालेर दाहाल–नेपाललाई दशा लागेको बताए। ‘सरकार ढालेर गएका बिचराहरू, देउवाको ढोका बाहिर कुरेर बस्या छन्, प्रसाद बाँड्न आउँछन् कि भनेर। कताका जंगेहरू कताका बुंगे भए,’ उनको भनाइ थियो। ओलीले गत चैत १ मा एमाले भ्रातृ संस्था अखिल नेपाल महिला संघको कार्यक्रममा पार्टी फुटाएर जानेहरूलाई पतीतको संज्ञा दिए

 

एकीकृत समाजवादीका अध्यक्ष नेपालले गत शनिबार काठमाडौंमा भएको कार्यक्रममा ‘अब निर्वाचनमा ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने’ बताएका थिए। ‘तब मात्रै नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहरिनेछ,’ उनले भनेका थिए, ‘ऐन उल्लंघन हुँदा एउटा नागरिकले जेलमा कैदीका रूपमा जीवन बिताउनुपर्ने, ओलीले संविधान मिच्दा किन नपर्ने?’ गत फागुन २५ मा पार्टीको प्रशिक्षणमा माओवादी अध्यक्ष दाहालले आफूलाई हेपे एमाले–कांग्रेसलाई रछ्यानमा पुर्‍याउने तागत रहेको बताए

 

गत फागुन अन्तिम साता प्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटको एक कार्यक्रममा एमसीसीको विषय जोडेर एमाले नेता भीम रावललाई दिमाग खुस्केको र लाज पचेको बताए। उनले दुई जिब्रेको संज्ञासमेत दिएका थिए। उनले भने, ‘आफू रक्षामन्त्री हुँदा पास गर्ने? क्याबिनेटबाट पास गरेर संसद्मा ल्याउने, संसद्बाट पास गर्नुपर्छ भनेर निर्णय गरेर ल्याउने। अहिले विरोध गर्ने?’

 

कांग्रेस उपसभापति धनराज गुरुङले केही समयअघि विराटनगरमा माओवादी र एकीकृत समाजवादीलाई हात्तीको कानमा बस्न आएको चमेरो भनेका थिए। ‘हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ,’ उनको भनाइ थियो। माओवादी अध्यक्ष दाहालले उपसभापति गुरुङले सुन्नै गाह्रो हुने भाषा बोलेको भन्दै आपत्ति जनाएका थिए

 

कांग्रेसका केही नेताले सबै निर्वाचनमा गठबन्धन गर्न नहुनेमा जोड दिएपछि माओवादी नेता वर्षमान पुनले कांग्रेसलाई सत्ताबाट सडकमा ल्याउने बताएका थिए। अध्यक्ष दाहालले ओलीलाई संघीयता र गणतन्त्रविरोधी भएको आरोप लगाउँदै आएका छन्। उनले बेलाबेला गर्ने भाषणमा गोरुगाडा मनस्थिति नहराएको प्रसंग पनि जोड्ने गरेका छन्

 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेताहरूको भाषणले समाजलाई असभ्यतातिर लैजान खोजेको बताउँछन्। पार्टीको नीति र विचार कमजोर हुँदै गएपछि कार्यकर्तालाई ‘रेडिकल’ बनाउन नेताहरूले ताली खाने लोभमा यस्तो अभिव्यक्ति दिने गरेको उनले बताए। ‘यसको असर कम्युनिस्ट आन्दोलनमै पर्ने हो। नेताहरूको मानसिकता कार्यकर्तालाई सभ्यता सिकाएर आफू लोकप्रिय बन्न सकिँदैन भन्ने छ,’ उनले भने, ‘कांग्रेसमा गाली कल्चर नभएकाले त्यो अवस्था लामो समय रहन सक्दैन।’ गठबन्धनभित्र द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री देउवाले दोस्रो पुस्ताका नेतालाई गठबन्धन दललाई असर पर्ने गरी नबोल्न निर्देशन नै दिएका थिए

 

गालीको नयाँ शृंखला

एमाले अध्यक्ष ओली पहिलेदेखि नै माओवादीको कटु आलोचक हुन्। एकीकृत समाजवादी अध्यक्ष नेपाल एमालेमै हुँदा आन्तरिक प्रतिस्पर्धा तीव्र थियो। एमाले र माओवादी एकता भएपछि ओली र नेपालको राम्रो सम्बन्ध भएन। नेकपा विभाजनपछि उत्पन्न परिस्थितिले गालीगलौजको नयाँ शृंखला सुरु भएको देखिन्छ

 

ओलीले कारबाही गरिएका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटामाथि पनि आलोचना गरिरहेका छन्। उनले मतपत्रको रङलगायत विषयमा चर्को आलोचना गर्दै आएका छन्

 

भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य निर्वाचनमा आफ्नो मुद्दा प्रवाह गर्नेभन्दा पनि जनतालाई आफूप्रति आकर्षित गर्न नेताहरू गालीगलौजमा उत्रेको बताउँछन्। ‘सँगै बस्ने, खाने गरेका नेता भएकाले उनीहरूलाई एकअर्काको आनीबानी थाहा छ,’ उनले भने, ‘नेताहरूले प्रयोग गर्ने भाषाले भविष्यमा कस्ता कार्यकर्ता उत्पादन होलान् भन्ने देखिन्छ।’ नयाँ संविधान आएपछि नेताहरूले मुलुक कसरी चलाउने, मुद्दा के हो भन्ने सन्देश जनतालाई कहिल्यै नदिएको उनको भनाइ छ

 

राजनीतिक विश्लेषक आचार्य भने कम्युनिस्ट पार्टीको विश्वव्यापी प्रवृत्ति नै पार्टी विभाजन भएपछि गैरराजनीतिक टीकाटिप्पणी गर्ने देखिएको बताउँछन्। पार्टी विभाजन, संघ तथा प्रदेशको सरकारबाट बहिर्गमन जस्ता विषयले दाहाल र नेपालप्रति ओली निकै अनुदार देखिएको नेताहरू बताउँछन्। दाहालले पटक–पटक ओलीलाई आफूहरूले बालकोटको बार्दलीमा पुर्‍याएको बताउने गरेका छन्। प्रधानमन्त्री हुँदासमेत आफ्ना विरोधीलाई कटाक्ष गर्ने ओली अहिले भइरहेका हरेक आमसभामा कांग्रेसभन्दा पनि बढी नेपाल र दाहालप्रति आक्रामक देखिन्छन्। दाहालले ओलीलाई संघीयताविरोधी भन्दै गणतन्त्र ल्याउन नचाहेको आरोप लगाउँदै आएका छन्

 

समाजशास्त्री राम गुरुङ मुलुक सञ्चालनको सिद्धान्त, नीति र कार्यक्रमको अभावमा व्यक्तिगत आलोचना गरेर आफूलाई उच्च देखाउने होडबाजीको उपज नेताहरूको बोलीमा देखिएको बताउँछन्। उत्तेजना उत्पन्न गराएर राजनीति गर्ने प्रवृत्ति नेताहरूमा बढेको उनको तर्क छ

मङ्गलवार, मार्च 29, 2022 

No comments:

Post a Comment