Pages

Monday, March 28, 2022

 

विपन्नजनका प्रवल संशय           \

 

विपन्नप्रतिको वास्तविक चासो नै कुनै पनि राजनीतिक थितिमा न्यायमूलक समाज निर्माण गर्ने आधार हो। तर समसामयिक नेपालमा राजनीतिक मूल्यमान्यता गरिबद्वेषी छ

हाल मौलाइरहेको राजनीतिक अभ्यासले धेरथोर चिन्तन गर्ने र उच्च निष्ठासाथ काम गर्ने व्यक्तिलाई मूलधारे आर्थिक र राजनीतिक गतिविधिबाट पाखा लगाएको छ

हाम्रा साझा उद्देश्यबारे हामी अनभिज्ञ छौं। साझा लक्ष्यहरू कसरी पहिल्याउने भन्नेबारे समेत अन्योल छ। हिजो निजीकरणको सहारामा नेपाललाई औद्योगिकीकरण गर्ने बाटो रोजियो। विज्ञान र प्रविधिलाई सहायक साधन ठानियो। यही बाटोबाट रोजगारी र धेरै हदसम्म समानतासमेत हासिल हुने बुझाइ वर्चस्वशालीको ठूलो तप्कामा रह्यो। तर यस्तो किसिमको सत्यता नेपालमा मात्र नभएर संसारका धेरै मुलुकमा गलत साबित भइसक्यो। यसको अर्थ हाम्रो साझा लक्ष्य मानवीय रचनाको जंगलमा हराएको छ। प्रस्ट छ, लोकतन्त्रजस्तो सतही शब्दले यस्तो जंगलबाट हामीलाई पार लगाउन सक्तैन। लोकतन्त्रलाई लोकतन्त्रवादीहरूले नै धेरै अर्थहीन बनाएका छन्। परिणाम, कतै रामका पितामा समृद्धि खोज्ने, कतै सद्गुरु वाणीमा समाजवाद खोज्ने, कतै ज्योतिषशास्त्रमा लोकतन्त्र खोज्ने शीर्षस्थ नेताको बुद्धिमत्ता हेर्दा यस्तो लाग्छ— उनीहरूले हाम्रो साझा नियतिलाई अविवेक र अन्धविश्वासतर्फ धकेलिसके। यता यी नेताका भिक्षुहरू मन्त्र पढिरहेका छन्, उता यिनै नेता–संरक्षित छोटे उस्तादहरू सुपारी, तेल, गिट्टी–बालुवा, ऊर्जा र अन्य आधारभूत वस्तुको कालोबजारीमै स्थानीय सरकारको सफल लोकतान्त्रिक कालको अनुभूति गरिरहेका छन्। यस्ता अविवेकी र नितान्त अज्ञानी नेताहरूलाई हाम्रो जीवन र समाज सुम्पने हो? के उनीहरूको हठसामु लम्पसार परेर समग्र थितिलाई सधैं संकटोन्मुख बनाइरहने हो? पक्कै होइन

 

समकालीन संकट नितान्त सांस्कृतिक र आर्थिक किसिमको छ। यसमा धेरै पत्र छन् जसले राजनीतिक व्यवहारमार्फत ती संकटलाई प्रकट गरिरहेका छन्। मूलतः राष्ट्रिय योजना तथा नीति, राजनीतिक निष्ठा, सार्वजनिक बौद्धिक प्रतिबद्धता र नेतृत्वको गुणमार्फत संकट मौलाएको छ। आज काठमाडौं अनौठो किसिमको बौद्धिक अलमलमा छ। अधिकांश अवस्थामा काठमाडौं एकै पटक दुइटा घोडा चढ्न खोजिरहेको छ। उदाहरणका लागि, संघीय शासनलाई नै हेरौं। काठमाडौंमा राजनीतिक र बौद्धिक अधिकारीहरू एकैसाथ संघीयताविरुद्ध विषवमन गर्छन्, सँगै जनताले साझा उद्देश्यहरूको निर्क्योल गर्न पाउने अधिकारको पक्षमा रहेको जस्तो पनि गर्छन्। केन्द्रीकृत शासन र स्वायत्त अधिकारबीच सन्तुलन कायम गर्ने बहानामा उनीहरू सार्थक परिवर्तनको विपक्षमा अनेक तर्क दिँदै आफैंलाई छक्याउने काम गरिरहन्छन्। केवल देखिने र सुनिनेबीचको खाडल थप बलियो बनाइरहन्छन्। विपन्न जनताको ठाउँबाट हेर्दा यस्तो सोच र व्यवहारले तात्त्विक काम नगर्ने प्रस्ट छ

 

आर्थिक क्षेत्रमा बौद्धिक अलमलको प्रभाव प्राकृतिक प्रकोपकै स्तरमा छ। विकास खर्चका नाममा काठमाडौंका अधिकारीहरूले नेपालको आर्थिक भविष्य केवल दाता राष्ट्रका आर्थिक नीतिहरूले मात्र सही किसिमले सोच्ने ठानिरहे। लाग्छ, हाम्रा आर्थिक नीतिहरू दिशानिर्देश गर्ने सितारा दाताहरू नै हुन्। यो अवस्थासम्म आइपुग्दा यस्तो लाग्छ, हामी आफ्ना वित्तीय नीति र आर्थिक लक्ष्यहरूबारे सोच्न छोडिरहेका छौं, तिनलाई दाता राष्ट्रहरूसमक्ष सुम्पिरहेका छौं। व्यापारका प्राथमिकताहरू नीतिगत तहमै जनताको गुणस्तरीय जीवनलाई चौतर्फी किसिमले खोक्रो बनाउने दल–संरक्षित छोटे उस्तादहरूको हातमा गइसकेको छ। त्यस्तै, लगानीलाई सबै क्षेत्रमा खुला छोड्दै उत्पादनका क्षेत्रमा कुनै प्राथमिकता नतोकिने राष्ट्रिय नीति अवलम्बन गरिएको छ। त्यसैले हाम्रो साझा आर्थिक भविष्य राष्ट्रिय गौरव ठानिएका त्यस्ता परियोजनाहरूमा भर पर्न थाले जहाँ ऋणभार बेपत्ता छ तर रोजगारीको अनुपात न्यून छ। यस्ता नीति र व्यवहारले आर्थिक संकटलाई थप बढाइरहने मात्र हुन्

 

आर्थिक रूपले दरिद्रताको विशेषता कस्तो हुन्छ भने त्यसले समग्र अवस्थालाई पछाडि धकेलिरहेको हुन्छ। लामो समयदेखि धेरै कुरा अवरुद्ध रहेको आभास दिलाइरहन्छ। यस्तो सोच र अभ्यासमा निहित हिंसाले समेत उस्तै अनुभूति दिइरहन्छ। हाम्रा पथप्रदर्शकहरूले नेपालको राजनीति र अर्थतन्त्र ढुक्कसँग आफ्नो ज्ञानको वशमा समाहित रहेको विश्वास दिलाउन सकेका भए विपन्नजनलाई राजनीतिक अस्थिरता ठूलो लाग्ने थिएन। विद्यमान संकटको सन्त्रासले तर्साउने थिएन। तर वास्तविकता भिन्न छ। त्यसैले संशय प्रबल छ

Monday, March 28, 2022

No comments:

Post a Comment