Pages

Tuesday, March 8, 2022

 

लघुकथा       \   

उमेर घटाएर करणि    \

-आनन्दराम पौडेल ।

 

ती युवतीसँगको भेट पनि आकस्मिक थियो। हामी लमजुङबाट फर्कंदैथियौं। बसमा ती युवतीको र मेरो एउटै सीट भएकोले सामान्य कुराकानि भएको थियो। पोखरा आइपुगेपछि हामी आ-आफ्नो बाटोलागेका थियौं। तर, भोलिपल्ट बिहानै फेवातालको बीचमा रहेको मन्दिरछेउमा तिनीसँग पुन भेट भयो। त्यहाँबाट लेकसाइडमा आएर सँगै चिया पियौं। चिया पिउँदैगर्दा तिनैले विमर्श-सम्बाद शुरु गरिन्। तिनी खारिएको (भेट्रन) वकीलको खोजीमा आएकी रहिछन्।

तिनले भनिन् –“युवाहरूसँग रसरङ्ग गर्ने बानि परेकोले पढाईमा त्यति मनलाग्दैन थियो। तर, घरमा बाबा-मम्मीले सधैं पढाईको बिषयमा सोधखोज गरिरहने भएकोले नतिजा देखाउन जरुरी भैराखेको थियो। यस्को लागि एकजना शिक्षकलाइ फसाउँने निर्णय गरें। भैरव माबि मोहोरियाका शिक्षक प्रकाश थापा रसीलो, फरासीलो र रोमाण्टिक लागेकोले उनैसँग नजिक हुँदै लहसिंदै गएँ र फँसाइहालें। मेरो टाढाको नातेदार अर्जुनविक्रम थापाले शिक्षक प्रकाश थापासँग मेरो अन्तरङ्ग सम्बन्धको गन्ध पाएछ। उ पनि मेरो पछि लाग्यो। उस्ले पैसाको प्रलोभन पनि दियो। शुरुमा त उस्ले राम्रै रकम रु. पाँचहजार सम्म दिन्थ्यो; तर पछि-पछि त मेरो शरीरसँग खेलेर दुई हजार र अझ एकहजार पो दिनथाल्यो। त्यतिले नपुगेर उधारो राख्नथाल्यो। उता शिक्षक प्रकाश थापाले पनि मेरो नतिजाको लागि खासै योगदान दिएन। यी दुबैमाथि मलाइ झोकचल्यो। त्यसपछि यी दुबैजनालाइ ठेगान लगाउँछु भनेर योजना बनाएँ। योजनामुताविक एउटा धनाढ्य ब्यापारीको छोरालाइ आफ्नो बनाएँ। उस्ले – ‘जति खर्च लाग्छ म दिउँला; गतीलै वकील खोज’ भनेकाले उस्कै सल्लाहअनुसार वकील खोज्न म पोखरा आएकी हुँ।”

यति भनेर उनी रोकिइन्। यतिञ्जेलसम्म म एकोहोरो उनको कुरा सुनिरहेको थिएँ र छक्कपरिरहेको थिएँ।

“उनीहरूको विरुद्ध मुद्दाचाहीं के भनेर हाल्ने ?”  मैले सोधें।

“जबर्जस्ति करणि मुद्दा हाल्ने हो।”  उनले जवाफ दिइन्।

“बर्ष-डेढ बर्षदेखि करणि गराउँदैहिंडेर, अब अहिले आएर जबर्जस्ति करणि भन्न मिल्छ र ?”  आश्चर्यमानेर मैले सोधें।

“ल, तपाईंलाइ थाहैरहेनछ; १८ बर्षमुनिकी केटीले जति करणि गराउँदै हिंडेपनि जबर्जस्ति करणि मुद्दा हाल्न पाउँछे नि ! अदालतले पनि महिलाकै पक्षमा फैसला गरिदिन्छ।” ती युवतीले प्रष्ट बुझाइन्।

“तर तिमी त २०-२१ बर्षकि देखिन्छ्यौ त ?”  मैले कौतुहल राखें।

“८ कक्षामा फाराम भर्दा मैले ३ बर्ष घटाएर जन्ममिति लेखेको थिएँ र त्यहीअनुसार नागरिकता बन्यो।”  उनले भित्री रहस्य नै खुलाइन्।

“तपाईंको नजरमा कुनै गतीलो वकील छ कि ?”  ती युवतीले सोध्दैथिइन्। त्यसपछि तिनको छेउमा बस्न घीनलाग्यो। हतार भएको जनाएर त्यहाँबाट कुलेलम ठोकें। केही दिनसम्म त कस्तो भैरह्योभने बाटाघाटमा भेटिएका नेपाली युवतीहरू सबैमा, उमेर घटाएर करणि गराउँदैहिंड्ने, तिनै लमजुङे युवती देख्नथालें।

मङ्गलवार, मार्च 08, 2022

 

No comments:

Post a Comment