Pages

Wednesday, March 30, 2022

 

आर्थिक सङ्कट श्रीलङ्का र नेपालको          \

 

करिब २३ सय किलोमिटर पर रहेको, नेपालको अर्को छिमेकी श्रीलंका यति बेला आर्थिक रूपले समस्याग्रस्त छ। एकातिर, श्रीलंका ऋणको भारीले थिचिएको छ। अर्कातिर, विदेशी मुद्रा सञ्चिति रित्तिँदै गएको छ। कोभिड महामारीले थिलथिलाएको अर्थतन्त्र पछिल्लो समय रुस–युक्रेन युद्धका कारण झनै प्रभावित बन्न पुगेको छ

ऊर्जा र खाद्यान्न संकट

यति बेला ऊर्जा संकट र मूल्यवृद्धिले श्रीलंकाली सर्वसाधारणलाई पनि अत्यन्त आहत तुल्याएको छ। घण्टौं लाइनमा उभिँदा पनि जनताले आफ्ना सवारीसाधनमा तेल हाल्न पाएका छैनन्। अझ लामो लाइनमा बस्दै गर्दा कम्तीमा चार जनाले ज्यानै गुमाउनुपर्‍यो। पेट्रोलियम पदार्थको हाहाकारले उत्पन्न तनाव नियन्त्रण गर्न सरकारले सेना लगाएर तेल–ग्यास बाँड्न थालेको छ। कुनै समय नेपालीले भोगेको अत्यासलाग्दो लोडसेडिङ यति बेला श्रीलंकाली जनताले भोग्दै छन्। अहिले दैनिक साढे सात घण्टासम्म लोडसेडिङ हुने गरेको छ। बिजुलीका लागि श्रीलंका धेरैजसो जलविद्युत्मा भर पर्दै आएको छ। सुक्खा मौसममा जलाशयहरूमा पानी घट्न पुग्दा पूर्ण क्षमतामा बिजुली उत्पादन हुन सकेको छैन। एकातिर, रुस–युक्रेन युद्धपछि इन्धनको मूल्य विश्वभरि नै अकासिएको छ। अर्कातिर, विदेशबाट पेट्रोलियम पदार्थ आयात गर्नलाई राज्यसँग पर्याप्त विदेशी मुद्रा छैन

अर्थतन्त्र बिग्रँदै गएपछि सरकारले ६ महिनाअघि आर्थिक संकटकाल घोषणा गरेको थियो। खास गरी धान, चामल, चिनीलगायतका दैनिक उपभोग्य खाद्यान्नको अधिक संग्रह (होर्डिङ) र कालोबजारीका कारण मूल्य बढ्न थालेपछि त्यसलाई रोक्न सरकारले आधारभूत खाद्यान्नको आपूर्तिमा नियन्त्रण गर्न थाल्यो। त्यसका बाबजुद मूल्यवृद्धि लगातार बढ्दै गएको छ, जुन गत जनवरीमा १४ प्रतिशत र फेब्रुअरीमा साढे १७ प्रतिशत पुग्यो। यो सम्भवतः एसियाकै उच्च मूल्यस्फीति दर हो

 

ऋणको बोझ

ऋण तिर्न नसकेर झन्डै टाट पल्टने अवस्थामा पुगेको श्रीलंकाका लागि यति बेला कसरी हातमुख जोर्ने भन्ने चिन्ता मुख्य बनेको छ। कुनै समय विदेशी सहयोग लिन नचाहेको श्रीलंका यति बेला अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्थासँग सहयोग लिन खोजिरहेको छ। भारतले डेढ अर्ब डलर ऋण दिएको छ भने चीनले अढाई अर्ब डलर ऋण दिनेबारे सोचिरहेको छ (द न्युयोर्क टाइम्स, २५ मार्च २०२२)

 

दुई वर्ष अवधिमा विदेशी मुद्रा सञ्चिति ७० प्रतिशतले घटेर २.३१ अर्ब डलरमा झरेको छ। तर, यो वर्ष मात्रै उसले तिर्नुपर्ने कुल ऋण भने झन्डै ७ अर्ब डलर छ। डलर अभावमा उसले नाइजेरिया, जर्मनी र साइप्रसस्थित आफ्ना मिसनसमेत बन्द गर्नुपर्‍यो। आयात बढ्दै जाँदा यहाँको व्यापारघाटा चुलिँदै गएको थियो। सरकारले डलर प्रयोगमा बन्देज लगाएको छ, जसका कारण श्रीलंकाली जनता विदेशयात्रा गर्न सक्दैनन्। श्रीलंकाले एक वर्षअघि विदेशी मुद्राको सञ्चिति बढाउन आयातमा प्रतिबन्ध लगाएपछि औषधिसहित पाउडर दूध, चिनी, दाल, गहुँजस्ता अत्यावश्यक वस्तुको अभाव बढेको थियो। सेन्ट्रल बैंक अफ श्रीलंकाका अनुसार, सन् २०२१ को अन्त्यतिर आइपुग्दा श्रीलंकाको व्यापारघाटा अघिल्लो वर्षका तुलनामा झन्डै आधाले बढेर १.९ अर्ब डलर पुग्यो। सोही अवधिमा निर्यात करिब २० प्रतिशतले वृद्धि हुँदा आयात झन्डै ४७ प्रतिशतले बढ्यो। डिसेम्बर २०२१ मा निर्यात १.१६ अर्ब डलर र आयात २.२४ अर्ब डलर बराबरको थियो

 भुक्तानी सन्तुलन बढाउन श्रीलंकाले आफ्नो मुद्राको मूल्य झन्डै १५ प्रतिशतले घटाएर कमजोर बनाएको छ। निर्यात वृद्धिमार्फत विदेशी मुद्रा भित्र्याउन सकिने अपेक्षामा उसले यसो गरेको हो। २५ मार्चमा डलरका तुलनामा श्रीलंकाली रुपैयाँको खरिद दर २८४.८२ र बिक्रीदर २९९.९१ छ

 

पर्यटन र विप्रेषण

विदेशी मुद्रा आर्जनका मुख्य स्रोत पर्यटन र बिदेसिएका कामदारले पठाएको रकम (रेमिट्यान्स) दुवै घट्दा श्रीलंकाली अर्थतन्त्रलाई थप मार परेको छ। पर्यटनमा आधारित अर्थतन्त्रले रोजगारी बढाउन योगदान दियो। तर, महामारीले गर्दा पर्यटक आउन छाडेपछि यो क्षेत्र नराम्ररी प्रभावित भयो। पर्यटनबाट धानिएको अर्थतन्त्रमा त्यसको ठूलो भार पर्न गयो। सन् २०२० पछि यहाँको पर्यटन क्षेत्र ठप्पजस्तै छ। सन् २०१८ मा श्रीलंकाले २३ लाख पर्यटक भित्र्याएकामा त्यसपछिका वर्षमा यो संख्या घट्दो क्रममा छ। सन् २०१९ को अप्रिल इस्टरमा भएको बम हमला र कोभिड महामारीका कारण यो क्षेत्र झनै ओरालो लाग्न थाल्यो। श्रीलंका पर्यटन विकास प्राधिकरणको तथ्यांकअनुसार, सन् २०२० मा श्रीलंका आउने पर्यटकको संख्या अघिल्लो वर्षका तुलनामा झन्डै ७४ प्रतिशतले घट्न पुग्यो। उक्त वर्ष ५.०७ लाख विदेशी पर्यटक मात्रै भित्रिए, जुन सन् २०२१ मा थप ६२ प्रतिशतले घट्न गई १.९४ लाखमा सीमित रह्यो

 

अर्कातिर, रेमिट्यान्समा उल्लेख्य ह्रास आएको छ। सन् २०२१ मा श्रीलंकाको रेमिट्यान्स ५.४९ अर्ब डलरमा सीमित भयो, जुन १० वर्षयताकै कम हो (रोयटर्स, ११ फेब्रुअरी २०२२)। कोभिड महामारीपछि वैदेशिक रोजगारीमा जानेहरूको संख्या ह्वात्तै घटेको थियो

 

सन् २०१९ मा करिब २ लाख श्रीलंकाली वैदेशिक रोजगारीमा गएकामा सन् २०२० त्यो संख्यामा झन्डै ७४ प्रतिशतले ह्रास आयो। सोही वर्ष करार सम्झौता सकिएर वा कोभिडका कारण रोजगारी गुमेर थप ४० हजार श्रीलंकाली स्वदेश फर्किए (न्युजवायर, ८ डिसेम्बर २०२१)। गत वर्ष त्यो संख्यामा उल्लेख्य सुधार आई करिब १.२० लाख श्रीलंकाली कामका लागि बिदेसिएको अनुमान छ

 

सुधारका उपाय

यो समस्यासँग जुध्न श्रीलंकाले संरचनागत समस्यालाई पनि हल गर्नुपर्ने देखिन्छ। पछिल्लो समय उसले सहुलियत ब्याजदरमा पाइने द्विपक्षीय र बहुपक्षीय सहयोगभन्दा पनि अन्तर्राष्ट्रिय वित्त बजारबाट महँगो ब्याजदरमा ऋण लिने गरेको थियो, जसको भुक्तानी अवधिसमेत छोटो थियो। विदेशी मुद्रा सञ्चिति घटेपछि अन्तर्राष्ट्रिय वित्तीय बजारमा उसलाई ऋण लिने बाटो लगभग बन्द भएको छ। ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि एसएन्डपी, मुडिजलगायतका मुख्य क्रेडिट रेटिङ एजेन्सीहरूले श्रीलंकाको रेटिङलाई घटुवा गरे (साउथ एसियन भ्वाइसेज, १८ फेब्रुअरी २०२२)

 

यस्तो वित्तीय अवस्थाका बावजुद श्रीलंकाले अझै विस्तारकारी बजेटलाई कायमै राखेको छ। चालु आर्थिक वर्षको बजेटमा सस्तो लोकप्रियताका कार्यक्रमलगायत सरकारी रोजगारी र उच्च सैन्य खर्चलगायतमा बढी बजेट (करिब ७.९ अर्ब डलर) छुट्याइएको छ। त्यसका लागि पनि थप ऋण लिनुपर्ने अवस्था छ। अर्कातिर, उद्योग र बजार ठूलो मात्रामा सरकारी नियन्त्रणमा छन्। एडभोकेटा इन्स्टिच्युटले सन् २०१९ मा प्रकाशित गरेको अध्ययन प्रतिवेदनअनुसार, श्रीलंकामा सरकारी स्वामित्वका ५ सय २७ उद्योग छन्। यस्तै, कर्मचारी संख्या पनि चाहिनेभन्दा बढी र अप्रभावकारी छ (साउथ एसियन भ्वाइसेज, १८ फेब्रुअरी २०२२)। कुल श्रमशक्तिमध्ये १६ प्रतिशत सरकारी जागिरमा छ। सरकारी जागिरबाट अवकाश पाउनेहरूको संख्या धेरै भएकाले उनीहरूलाई दिइने पेन्सनको दायित्व पनि चर्को छ। नेपालमा जस्तै श्रीलंकामा पनि राजस्वको ठूलो हिस्सा (गत वर्ष ७३ प्रतिशत) सरकारी कर्मचारीको तलबभत्तामै ठिक्क हुने गरेको छ। पछिल्ला वर्षहरूमा श्रीलंका लगातार घाटा बजेटमा चलेको थियो। अर्थतन्त्र चलाउन ऋणमा निर्भर थियो

 

विश्व बैंकका अनुसार, कोभिड महामारीका कारण सन् २०२१ मा गरिबी दर करिब ११ प्रतिशत थियो, जुन सन् २०१९ का तुलनामा २ प्रतिशत बढी हो। सन् २०२१ मा यहाँको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ८४ अर्ब डलर बराबर थियो। बेरोजगारी दर साढे ४ प्रतिशत हाराहारीमा थियो भने आर्थिक वृद्धिदर ३.३ प्रतिशत। सन् २००९ मा गृहयुद्ध टुंगिएसँगै श्रीलंका आर्थिक हैसियत पनि बढेर उच्च मध्यम आय भएको मुलुकमा पुगेको थियो। सन् २०२० मा प्रतिव्यक्ति आम्दानी ३,६८० डलर थियो

 

नेपाललाई पाठ

यति बेला श्रीलंकाको आर्थिक संकटले नेपाललाई पनि झस्काएको छ। नेपालको अवस्था श्रीलंकाको हाराहारीमा नपुगे पनि केही समययता तल झरेका बृहत् आर्थिक सूचकहरूले अवस्था राम्रो नभएको संकेत गर्छन्। खास गरी बढ्दो व्यापारघाटा र घट्दो रेमिट्यान्सका कारण विदेशी मुद्रा सञ्चितिमा गिरावट आएको छ। चालु आर्थिक वर्षको माघसम्म विदेशी मुद्रा सञ्चिति ९.७५ अर्ब डलर छ, जुन गत साउनका तुलनामा १७ प्रतिशत कम हो। अहिले भएको सञ्चितिले जम्मा ६–७ महिना मात्रै वस्तु तथा सेवा आयात गर्न पुग्ने देखिएको छ

 

भुक्तानी सन्तुलन (बीओपी) ऋणात्मक हुने क्रम पनि बढ्दो छ। चालु आर्थिक वर्षको माघसम्म मुलुक भित्रिनेभन्दा बाहिरिने रकम २.४७ खर्ब रुपैयाँले बढी छ। अर्कातिर, कोभिड महामारीपछि प्रभावित विश्व श्रमबजार र अर्थतन्त्रका कारण रेमिट्यान्स पनि घट्न पुगेको छ। चालु आर्थिक वर्षका ७ महिनामा ५.४० खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रियो, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिका तुलनामा साढे ५ प्रतिशत कम हो

 

त्यसो त पछिल्ला वर्षहरूमा नेपालको सार्वजनिक ऋण पनि बढ्दो छ। यद्यपि, धान्नै नसकिने अवस्थामा भने पुगिसकेको छैन। तर, विदेशी मुद्रा सञ्चिति यसरी नै घट्दै र जीडीपीका तुलनामा विदेशी ऋण बढ्दै जाने हो भने अर्थतन्त्र धराशायी हुन बेर लाग्नेछैन। पर्यटन, निर्यात र वैदेशिक लगानी बढाउन सकेको भए रेमिट्यान्स आप्रवाह कम हुँदा पनि राज्यले विदेशी मुद्रा भित्र्याएर भुक्तानी सन्तुलन राख्न सकिन्थ्यो। तर, ती क्षेत्रमा खासै ध्यान गएको देखिँदैन। बेलैमा संरचनागत सुधारलगायत नीतिगत हस्तक्षेप नचाले श्रीलंकाको जस्तो अवस्था नआउला भन्न सकिन्न

चैत्र १६, २०७८ ०८:३३

No comments:

Post a Comment