कन्तबिजोग
स्कुल \
खिया
लागेका पुराना जस्तापाता । एक हातको अन्तरमा परेका प्वाल । वर्षौंअघि बुनिएका थोत्रा
गुन्द्र्री र त्यसमाथि असरल्ल बसेर ‘यस सर’ भनिरहेका विद्यार्थी । झट्ट हेर्दा २० वर्षअघि
आमा समूहका लागि चलाइएको प्रौढ कक्षाको झल्को दिने यो दृश्य दैलेखको ठाटीकाँध गाउँपालिका-
१ स्थित गंगालाल आधारभूत विद्यालयको हो ।
अझ विद्यालयको
ढोकाबाटै छिनछिनमा धुलो उडाउँदै गुड्छन् सवारी साधन । सवारी साधनको आजवाजसँगै विद्यार्थी
कक्षा कोठाबाट बाहिर निस्कन्छन् र गाडी देखिउन्जेलसम्म हेरेर टोलाइरहन्छन् । न कक्षा
कोठाभित्र कालोपाटी/सेतोपाटी, न त
बस्न पर्याप्त कुर्सी-बेन्च नै छन् । २०६३ सालमा स्थापना भएको यो विद्यालय स्थानीय
तहको दैलोमै छ । तर, स्थानीय सरकारले सौतेनी व्यवहार गर्दै आएको
छ यसलाई । स्थानीय सरकार आएको ५ वर्ष पुग्न लाग्दासमेत छेवैमा रहेको गाउँको सरकारको
मुख्यालयले अहिलेसम्म फर्केर हेरेन ।
‘विद्यार्थीको
पीडा बुझ्ने त परै जाओस्,
५ वर्षसम्म स्थानीय सरकारले सिधा नजरले
पनि हेरेन’, गंगालाल आधारभूत विद्यालय कोसेडीका विद्यालय
व्यवस्थापन समिति अध्यक्ष दीपेन्द्र बम गुनासो गर्छन् । विद्यालयमा ११५ जना विद्यार्थी
अध्यनरत छन् । बालविकासदेखि ५ कक्षासम्म पढाइ हुने विद्यालयमा विद्यार्थीका लागि जम्माजम्मी
१५ वटा डेस्क-बेन्च छन् ।
एउटा
बेन्चमा ८ जनासम्म बसेर पढ्नुपर्ने अवस्था आएपछि विद्यालयले बालविकास र कक्षा १ का
विद्यार्थीलाई भुइँमै राखेर पढाउँछ । जसोतसो भुइँमा विद्यार्थी त बस्छन् तर कुनै पनि
दिन सबै कक्षामा एकै पटक पढाइ हुँदैन । बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई
पठाउन जम्मा ४ जना शिक्षक छन् । ३ जना दरबन्दीका र एक जना बालविकासका शिक्षकले सबै
कक्षामा पढाउनुपर्ने बाध्यता रहेको व्यवस्थापन समितिका अध्यक्ष बम बताउँछन् ।
विद्यालयले
दरबन्दी थप्न र पूर्वाधारमा सहयोग गर्न पालिकासँग पटकपटक आग्रह गर्यो । विद्यालयको
ढोकाबाटै सवारी गुड्ने अवस्था अन्त्य गर्न विद्यालय परिसरमा पर्खाल लगाउन अनुनय गर्यो
। तर, स्थानीय सरकारले अहिलेसम्म सुनेन । ‘त्यही
भएर हामीलाई सौतेनी व्यवहार भयो भनेका हौँ’, बम भन्छन्
। विद्यालय समयमै विद्यालय प्राङ्गणबाट सवारी साधन हुइँकिँदा पनि विद्यालयप्रति कसैको
चासो नगएको शिक्षिका कमला शाही बताउँछिन् । विद्यालय समयमै विद्यालयभित्र सवारी प्रवेश
गर्छन्’, उनले भनिन्, ‘तर, नियमनकारी
बेखबर छन् ।’
व्यवस्थापन
समितिका अध्यक्षदेखि शिक्षक-शिक्षिकाहरूले पटकपटक पूर्वाधारमा लगानी गर्न र विद्यालय
परिसरमा पर्खाल लगाइदिन आग्रह गर्दा स्थानीय जनप्रतिनिधि भने सडक महत्वपुर्ण भएको भन्दै
विद्यालय सुधार अहिले प्राथमिकतामा नभएको जबाफ दिन्छन् ।
पूर्वाधारलगायतका
सुविधा दिन पटकपटक कुरा गरिसक्यौँ तर पालिका अध्यक्ष विद्यालय भन्दा सडक नै उपयुक्त
भएको भन्दै विद्यालयको कुरा नउठाउन भन्छन्, हामीलाई
हेर्ने कोही भएन’, व्यवस्थापन समितिका अध्यक्ष बम भन्छन् ।
गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही भने विद्यालय अन्तै सार्ने योजना बनिरहेकाले पूर्वाधार
लगायतका विषयमा बेवास्ता गरिएको बताउँछन् ।
विद्यालय
भएको ठाउँबाटै बाटो लैजानुपर्ने बाध्यताका कारण विद्यार्थीले दुःख पाएका भन्दै उनले
विद्यालय सार्ने आश्वासन त दिए ‘तर, अभिभावकले
चन्दा उठाएर बनाइदिएको ६ कोठे विद्यालय भवन कहाँ लैजाने ?’ यसको उत्तर भने अध्यक्ष शाहीसँग पनि छैन ।
बुधवार, मार्च 30, 2022
No comments:
Post a Comment