Pages

Thursday, April 14, 2022

 

गाली माहात्म्य             \

 

२०४८ मा छोरा प्रकाशमान सिंहले चुनाव हारेपछि गणेशमान सिहले काठमाडौंलाई बैगुनी भन्दै ‘अर्को जन्म भयो भने म यहाँ हैन, अन्यन्त्र जन्म लिन पाऊँ भनेर भगवान्सँग प्रार्थना गर्छु’ भने। त्यसमा एमाले महासचिव मदन भण्डारीको जवाफ थियो, ‘हामी त भौतिकवादी हौं, यदि ईश्वर छ भने गणेशमानजीको इच्छा पूरा गरिदेओस्।’ शालीन र भद्र मान्छेको प्रतिक्रिया, कटाक्ष र गाली पनि भद्र नै हुन्छ। अहिले चुनाव एउटा रणभूमि भएकाले तेजाबी गाली मौलाएका छन्। गाली, प्रोपगान्डा, कुतर्क, कुतथ्य आदि अहिले चुनावी युद्धका हतियार बनेका छन्। मानिसहरू मनसुखका लागि अरूलाई उत्तेजित बनाउने अवसर खोजिरहेका हुन्छन्

 

शक्तिसँग भयग्रस्त भएकाहरू विपक्षीलाई डर देखाउन र आफ्ना

 

कमजोरी लुकाउन गाली बक्न थाल्छन्। प्रोपगान्डा, विरोधीको योजना र सूचनामाथिको पहुँच प्रमुख युद्धकला हुन्। विरोधीको मनोबल खस्काउन सके आधा युद्ध त्यसै जितिन्छ। विरोधीको नाडी छाम्न र उत्तेजित पार्न पनि फर्जी फायर खोलेजस्तै गाली पनि बक्ने गरिन्छ। तर गालीवक्ताको हैसियत र कला भने आमजनले ख्याल गरिरहेका हुन्छन्। गाली भक्त र कार्यकर्तालाई उत्तेजित बनाउने पेट्रोल बने पनि अरूलाई भने रमिता र तमासा बन्छ

 

भनिन्छ— जतिसुकै योग्य र शक्तिशाली भए पनि व्यक्तिवादी नेतृत्व डर र असुरक्षा–बोधले ग्रस्त भइरहन्छ; अन्धभक्तहरूको भीडबीच भए पनि ऊ आफूलाई एक्लो सोच्छ र हरेकमाथि शंका गरिरहन्छ; आफन्तको पनि खासै भर पर्दैन; कसैलाई विश्वास नगरी सुरक्षाखोजीको षड्यन्त्र रचिरहन्छ। चरम व्यक्तिवादी नेता एक हदसम्म सन्काहा र मनोरोगी हुने हुँदा एकातर्फ भगवान्भरोसे हुन्छ भने अर्कातर्फ व्यंग्य, गाली, कटाक्षले आत्मसन्तुष्टि लिने पनि गर्छ। श्रोताहरूले समर्थन गरेर कि व्यंग्य गरेर ताली पड्काएका हुन्, पत्तै पाउँदैन। हरेक नेतृत्वको शक्ति, आचरण, हैसियत, चिन्तनस्तर, चरित्र चुनावका बेला छ्यालब्याल हुन्छ। अझ गाली पण्डित र नयाँघरेहरूको भाउ त राजनीतिक बजारमा बढे पनि सामाजिक क्षेत्रमा भने खस्किरहेको हुन्छ

 

हरेक सफलताका बाधक र असफलताका कारक खोज्दा प्रतिकारमा गालीको सिर्जना हुँदै जान्छ। दिमाग त अराजक भइसकेको हुन्छ; फुत्तफुत्त शंका–आशंका उमार्दै काल्पनिक वैरी र विरोधी जन्माउँछ। काल्पनिक सिद्धान्तले मनसुखका लागि कल्पनाको लडाइँ लड्न गालीलाई हतियार बनाउँछ। व्यासासनमा बस्ने पण्डित पनि कसैले मर्ममा प्रहार गरेपछि सिङमा चोट लागेर रन्थनिएको पशुझैं बर्बराउन थाल्छ। केही बेरअघि मात्रै वाचन गरिएका आदर्श र ऋचाका ठाउँ अश्लील, अमर्यादित र आक्रोशित शब्दले लिन थाल्छन्। उचाइ, ज्ञान, गरिमा, हैसियत, मनोभाव छताछुल्ल पार्दै ऊ प्राकृतिक अवस्थामा फर्किन्छ। हवाई फायर खोलेपछि रन्थनिएको मान्छेले प्राज्ञिकताको खास्टो उतार्न ढिलो गर्दैन। त्यसैले कसैलाई चिन्नु वा कसैको हैसियत थाहा पाउनु छ भने पहिले उसलाई उत्तेजित पार्नुपर्छ

 

गालीबाट उम्कने उपाय नभएको भने होइन। गाली गर्ने मान्छेलाई बेवास्ता गरिदिए, चर्चै नगरे, महत्त्वै नदिए आफ्नो सबभन्दा ठूलो अपमान सोचेर ऊ आफैं मर्माहत हुन्छ। हैसियत मिल्नेसँग मात्रै गम्भीर संवाद हुनुपर्छ। कुकुर चुप लगाउन ढुंगाले हानिरहनुपर्दैन, हड्डी फ्याँकिदिनुपर्छ; अझ कुरूप पार्नु छ भने घ्यू खुवाइदिनुस्, खोइरो लागेर सबै रौं झर्छ

 

अन्तमा, सिद्धान्तहीन राजनीतिको अन्तिम अवस्था कर्पोरेट राजनीति हो, जसले नाफाको प्रत्याभूति गर्छ। त्यसका लागि गाली ऊर्जा वा आत्मिक शक्ति बन्छ। अंशमा टेकेर समग्रको व्यवस्थापन गर्न इतिहासको व्यवस्थापन वा घृणाको उत्पादन गरिन्छ। धर्म, संस्कृति र राष्ट्रवादको नयाँ कथ्य रचिन्छ। नेताहरू राज्यका अभिभावकभन्दा व्यवस्थापकमा फेरिन्छन्। यसले गर्दा आमजनमा राजनीतिप्रति नै वितृष्णा जाग्छ। त्यसको असर सामाजिक–सांस्कृतिक व्यवहारमा देखा पर्दै जान्छ। राम्रा मान्छेले राजनीतिक हस्तक्षेप नगरेपछि अपराधी र कर्पोरेटले सत्ताकब्जा गर्छन्, जस्तो स्थानीय तहको यो चुनावी मौसममा देखा पर्दै छ

 

प्रकाशित : चैत्र ३०, २०७८ ०८:४२

No comments:

Post a Comment