अब
मतदाता-नागरिककै भ्रष्टिकरण \
लोकतन्त्रको जग
मानिने मतदाता नै भ्रष्ट हुने अवस्था आइसक्दा पनि सरकार, आयोग, दल र नागरिक समाज सबै
चुप छन्; उपायहीन, निरीह र
किंकर्तव्यविमूढ देखिन्छन् ।
त्रिभुवन विश्वविद्यालयमा रहेको नेपालको एक मात्र राजनीतिशास्त्र विभाग बन्द हुने दिशातर्फ उन्मुख छ । केही एनजीओले आफूअनुकूल
गराउने ‘कन्सल्टेन्सी’ अध्ययनहरूले तात्त्विक परिणाम ल्याउने अपेक्षा गर्न सकिँदैन ।
तथापि, अन्तर्राष्ट्रिय
अध्येताहरूले चुनाव, त्यसमा
हुने भ्रष्टाचार र लोकतन्त्रको भविष्यको अनिश्चितताबीचको अन्तरसम्बन्धबारे चिन्तन, अध्ययन र चिन्ता
गरिरहेका छन् । उदाहरणका लागि, वर्ल्ड इकोनोमिक
फोरमले सन् २०१६ मा प्रकाशित गरेको ‘लोकतन्त्र भ्रष्टाचार र लालचसँग बिक्री भयो’
शीर्षक विश्लेषणमा जाफेट ओमोजुवाले लेखेका छन्, ‘विगतमा चुनावलाई अवमूल्यन गरेर
सत्तामा पुग्ने तानाशाहहरू हुने गर्थे, अहिले हामीसँग चुनावले सिंहासन
चढाएका र वैधानिकता दिएका तानाशाहहरू (सत्तामा) छन् ।×’ एमआईटीका प्रोफेसर
फ्रेडरिक चार्ल्स सफरको ‘ह्वाट इज भोट बाइङ ?’ शीर्षकको सन् २००२ मा प्रकाशित शोधपत्रमा मतदाताले आफ्नो राजनीतिक
अधिकारलाई किन यसरी बेच्न चाहन्छ भन्ने विश्लेषण छ । सन् १८३० को दशकमा बेलायतमा मत बिक्रीलाई
जन्मसिद्ध अधिकारझैं मानिन्थ्यो भन्ने उनको तर्क छ । लन्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापक विलियम कोलाहानले गरेको ‘सोसल क्यापिटल एन्ड करप्सन : भोट बाइङ एन्ड द पोलिटिक्स अफ रिफर्म इन थाइल्यान्ड’ शीर्षक शोध (पर्सपेक्टिभ्स अन पोलिटिक्स, अंक ३, नं. ३, सन् २००५) मा यस्तो
मत किन्ने अभ्यासले ‘नकारात्मक नागरिक सामाजिक पुँजी (नेगेटिभ सिभिल सोसल
क्यापिटल)’ निर्माण गर्ने र त्यसको सिकार लोकतन्त्र हुने उल्लेख छ ।
मतदाताले
कुन अवस्थामा भ्रष्ट राजनीतिकर्मीलाई भोट हाल्छन् भन्ने विषयमा न्युयोर्क सिटी
विश्वविद्यालयका राजनीतिशास्त्रीहरू म्याथ्यु विन्टर्स र रेबेका विट्ज–सापिरोको
खोजपत्रले दुइटा मान्यता (हाइपोथेसिस) को सेरोफेरोमा धेरै मुलुकलाई आफ्नो अध्ययनमा
समेटेर यसलाई पर्गेल्ने कोसिस गरेको छ (हेर्नुस्, ल्याकिङ इन्फर्मेसन अर कन्डोनिङ
करप्सन : ह्वेन डु भोटर्स सपोर्ट करप्ट पोलिटिसियन्स ?, जर्नल अफ कम्पेरेटिभ पोलिटिक्स, अंक ४५, नं. ४ पृ. ४१८–४३६, सन् २०१३) । पहिलो मान्यतामा, मतदाताहरू आफूले
चुन्ने नेता भ्रष्ट छ भन्ने जानकारीको अभावमा उसलाई भोट हाल्छन् । यो धेरै अस्वाभाविक होइन । दोस्रो, जसलाई लेखकहरूले
लेनदेन (ट्रेडअफ) को मान्यता भनेका छन्, त्यसमा नेता भ्रष्ट हो भन्ने
थाहा हुँदाहुँदै पनि उसैलाई भोट हाल्छन् । किन ? मतदाताहरूलाई लाग्छ, भ्रष्ट भए पनि उसले
सार्वजनिक सेवाप्रदायचाहिँ राम्रै गर्छ; त्यसैले उसको भ्रष्टाचारलाई
देखेको नदेख्यै (कन्डोन) गरिदिनुपर्छ ।
सिंगो
प्रणाली नै भ्रष्ट भयो, ओमोजुवाले
भनेझैं चुनाव भ्रष्ट तानाशाहहरूको सत्तारोहणलाई वैधानिकता मात्र दिने औजार मात्र
बन्दै गयो अथवा मतदाता आफैं भ्रष्ट भएर मतबिक्रीमा संलग्न भयो भने लोकतन्त्र के
हुन्छ भन्ने विषयमा अत्यन्तै कम खोज–अनुसन्धान भएको छ । एक त, विन्टर्स र सापिरोले
शोध गरेका मान्यताभन्दा धेरै फरक, मतदाताको ‘ट्रेडअफ’ भ्रष्टाचार र सार्वजनिक
सेवाप्रदायबीच नभएर नेताले गर्ने ठूलो भ्रष्टाचार र मतदाताले लिने तत्क्षणको सानो
रकम वा भोजभतेर हुन थालेको छ ।
दोस्रो, पैसा
वा प्रत्यक्ष लाभ पाए आफ्नै भविष्य अन्धकार हुने गरी जोसुकैलाई भोट ‘हाल्दिने’
मतदाताको व्यवहार आम हुन थालेको छ ।
लोकतन्त्रको
सबभन्दा आधारभूत पक्ष भनेकै मताधिकारका रूपमा बालिगहरूको विवेकले दिएको
‘म्यान्डेट’ ले उनीहरूकै हितमा सञ्चालन हुने राज्यसत्ता हो । यस्तो मताधिकार दिँदा आमजनता वा लोकको विवेक सधैं दैवी चेतसरह शुद्ध र इमानदार
हुन्छ, आफ्नो
हितको रक्ष गर्न सदैव सक्षम हुन्छ भन्ने मान्यतामा लोकतन्त्र टिकेको छ । तर, यो मताधिकारको प्रयोग
नै भ्रष्ट नियत र व्यवहारले कलुषित भएपछि लोकतन्त्रको भविष्य स्वतः अन्धकार हुन्छ ।
No comments:
Post a Comment