Pages

Monday, June 6, 2022

 

आत्मोन्नतिका लागि योग            \

 

 

मनुष्यको चित्त अत्यन्त चञ्चल छ । मनुष्यलाई काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य जस्ता रिपुहरूले घेरा हालेर उम्कन नसक्ने अवस्थामा पु¥याएका हुन्छन् । मनुष्य जीवनको सबैभन्दा मुस्किल विषय सभ्यताले निर्धारण गरेको सीमा र व्यक्तिका आकांक्षाबीचको सन्तुलन हो । सभ्यताले वैवाहिक जीवन, परिवार, कुटुम्ब, समाज र राष्ट्रिय दायित्वको विधान निर्धारण गरेको हुन्छ । सभ्यको तात्पर्य सभामा बस्न लायक हुनु हो । सभामा बस्न लायक हुनुको अभिप्राय सभ्यता र राज्यले कोरेको लक्ष्मणरेखाको सम्मान, पालन र संरक्षण हो ।

 

सभ्यतामा प्रवेश गर्नुअघि मनुष्यको जीवन सरल थियो । प्राकृतिक अवस्थाको मनुष्यलाई विवाह, पारिवारिक जीवन, सम्पत्ति, मोह, मात्सर्य आदि कुराको ज्ञान थिएन । पद, प्रतिष्ठा र सानो ठूलोको भेद थिएन । त्यहाँ कोही इज्जतदार र इज्जतहीन थिएन । सभ्यताले विवाह गर्न सिकायो, माया गर्न प्रेरित ग¥यो, व्यक्तिगत सम्पत्तिको प्रादुर्भाव ग¥यो र संग्र्रह गर्न सिकायो । सभ्यताले नै हुने र नहुने, सुन्दर र असुन्दर, मालिक र सेवक एवं शासक र शासितको विकास ग¥यो । मनुष्यले स्वार्थ, बेइमानी, मक्कारी, लोभ, मोह, द्वेष, धोकाधडी र दम्भ सिक्यो ।

 

जति नै प्रयत्न गरे तापनि अस्थिर चित्त शान्त हुँदैन । २० वर्षअघि कसैले व्यक्त गरेका घोच्ने शब्द मानसपटलमा अझै जीवन्त छन् । १२ वर्षअघि गुमेको अवसरको सम्झना अद्यापि ताजा छ । ५० वर्षअघि लुटिएको सम्पत्तिको अविरल याद आइरहन्छ । ४० वर्षअघि असफल भएको प्रेमसम्बन्धको यादमा अझै आँखा भिज्दै छन् । कोही छ, जसको प्रगति देखेर मनमा जलन हुन्छ । कोही छ, जो मन पर्दैन तर उसैको संगतमा रहने बाध्यता छ । कोही छ, जोसँग घडी दुई घडी भए तापनि एकान्तमा बिताउने इच्छा छ तर सभ्यताले त्यसलाई निषेध गर्छ । केही कुरा छ जो सारा संसारले सुन्नेगरी चिच्याएर भन्ने इरादा छ, किन्तु त्यो चिच्याहटलाई सभ्यताले स्वीकार गर्दैन । सारा गोरखधन्दा सभ्यताले नै सिकायो र पछि गएर उसैले खोसेर लियो । अनि कसरी हुन्छ त मन शान्त र सन्तुष्ट ? मन त सधैं अशान्त, श्रान्त र क्लान्त छ ।

 

क्रोध, तृष्णा, मोह, ईष्र्या र अहंकार चराको गीत जस्तै स्वतः स्फुरित हुन्छन्, किन्तु तिनको निराकरण दुर्लभ छ । स्फुरण भएका क्रोध, ईष्र्या र द्वेष आदि प्रवृत्तिको निराकरणका लागि तिनलाई बन्द गर्ने पिँजडाको आवश्यकता पर्छ । जीवन कठिन छ तर भाग्ने बाटो पनि छैन । मनले माग गर्छ किन्तु सबै माग पूरा गर्ने कुनै उपाय छैन । एकातर्फ सभ्यताले प्रदान गरेको विकल्पहीन निषेधको दीक्षा र अर्कोतर्फ धर्मको मार्गदर्शन गराउनेहरूले आविष्कार गरेको दुःखवादले जेलिएको जीवन । मुस्किल छ जीवन ।

 

योगदर्शनको आधारभूत सन्देश नैतिक, सदाचारी र आरोग्यपूर्ण जीवन हो

 

माया, सम्पत्ति, परिवार, पद, प्रतिष्ठा, संग्र्रह आदि सबै कुरा सभ्यताले नै सिकाएको हो । परन्तु मनुष्यले सभ्यताले सिकाएको भन्दा बढी सिक्यो । सभ्यताले यिनै बढी सिकेका कुराहरूको त्याग गर्नु नै आत्मोन्नति हो भनेर निरन्तर प्रेरित गरिरहेको छ । आसक्त हुन जति सजिलो छ, अनासक्त हुन अत्यन्तै कठिन । जति सजिलोसँग क्रोध, ईष्र्या र द्वेष पैदा हुन्छ त्यत्ति नै दुरुह छ शालीनता र सहनशीलता । बाह्य संसारलाई चिन्न र जित्न जति सहज छ, आफैंलाई चिन्न र जित्न त्यति नै असहज । यस परिस्थितिमा उपाय एउटै छ, त्यो हो त्याग र उत्सर्गको माध्यमबाट आत्मोन्नति ।

 

प्रसिद्ध दार्शनिक प्लेटो भन्छन्, मनुष्यको सबैभन्दा ठूलो विजय आफैंमाथिको विजय हो । आफूलाई नजितेको मानिसले परिणामको विचार गर्दैन । मनुष्यको आफ्नै अनुचित कर्म, होसियारीको अभाव, अस्वस्थ खान्की, अनर्गल वाणी र दुच्छर बानीको कारण जति पतन भएको छ । अन्य कुनै कारणले भएको छैन । बुद्ध भन्छन्, ‘चञ्चल चित्तलाई नियन्त्रण गर, अनर्गल कामनाहरूलाई दमन गर र सदाचारयुक्त सम्यक जीवनको अभ्यास गर ।’

 

उनी भन्छन्, ‘जीवनमा दुःख छ, दुःखको कारण छ र दुःखको अन्त्यको उपाय पनि छ ।’ बुद्धले दुःखको निरोधका लागि आर्य अष्टांगिक मार्ग र पञ्चशीलको बाटो देखाएका छन् । वेदान्तले भन्यो, ‘ब्रह्म सत्य जगत् मिथ्या ।’ यो दृश्यजगत झुटो हो, सौन्दर्यप्रतिको आकर्षण झुटो हो, प्रेम झुटो हो, भ्रम हो । सांख्य दर्शनले भन्यो, ‘मनुष्य आधिभौतिक, आधिदैविक र आध्यात्मिक गरी त्रिविध तापले ग्रस्त छ । जीवन दुःखको संगम हो । योग भन्छ, चित्त बडो चञ्चल छ । मनले मागेको कुरा पूरा गर्दै जानुभनेको जल्दोबल्दो आगोमा घिउ होम गरे जस्तै हो । चित्तलाई मागेको कुरा दिएर शान्त पार्न सम्भव छैन । यसलाई शान्त पार्ने एक मात्र उपाय यसका मागहरूको व्यवस्थापन हो । पतञ्जली भन्छन्, ‘योगश्चित्तवृत्तिनिरोधः ।’

 

पतञ्जलीले क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध गरी पाँच चित्तभूमि या चित्तावस्थाको वर्णन गरेका छन् । विक्षिप्त अवस्थामा चित्त सदैव आफ्नै चञ्चलताले परेसान र हैरान हुन्छ । मूढ अवस्थामा के असल र के खराब भन्ने चेतना हुँदैन । विक्षिप्त अवस्थामा सात्विक चेतना त हुन्छ । परन्तु, एकाग्रताको अभावमा सात्विकता भंग हुने सम्भावना रहन्छ । एकाग्र अवस्थामा व्यक्ति एउटै कुरामा एकीकृत हुन थाल्छ र चित्तको अस्थिरता तिरोहित हुन्छ । यो योगको प्रथम सोपान हो । निरुद्ध अवस्थामा पुगेको व्यक्ति शान्त, सौम्य, निर्भय, अनासक्त र स्थितप्रज्ञ हुन्छ ।

योग भन्दछ, ‘चित्तका प्रमाण, विपर्यय, विकल्प, निद्रा र अनुभववृत्ति गरी पाँच वृत्ति छन् ।’ चित्तलाई अशान्त, व्याकुल तथा सन्तप्त पार्ने अविद्या, राग, द्वेष, अस्मिता र अभिनिवेशसमेत पाँच क्लेश छन् । अविद्या रूपी क्लेश अर्थात् दुःखले अनित्यलाई नित्य र विनाशीलाई अविनाशी मान्ने प्रेरणा दिन्छ । कुनै विषय, वस्तु या व्यक्तिप्रति अत्यन्त आसक्ति राग हो । द्वेष अत्यन्तै ठूलो क्लेश हो । अर्काको उन्नतिमा डाह र जलन, अर्काको अहितको चाहना, हानी पु-याउने इरादा र घृणाले अकार्थमा आफ्नै जीवन जलेर अंकार हुन पुग्छ । अस्मिताले अहंकार पैदा गर्छ । म ठूलो, म धनी, म जान्ने, मलाई सबैले सम्मान गर्नुपर्छ भन्ने भावना राख्ने व्यक्तिलाई त्यो प्राप्त हुन छाडेको दिनमा अत्यन्तै दुःख हुन्छ । अभिनिवेश अकारणको डर हो । यो ‘फियर’ नभई ‘फोबिया’ को अवस्था हो । सधैं नराम्रो घटना र मृत्युको कल्पना गरेर जीवनलाई दुष्कर बनाउनु अभिनिवेश हो ।

 

मन शान्त र सन्तुष्ट छैन, बरु मन त सधैं अशान्त, श्रान्त र क्लान्त छ

 

यिनै क्लेशबाट मुक्त हुन योगको आवश्यकता पर्छ । योग एक अनुशासन हो । यो चित्तवृत्तिलाई व्यवस्थापन गरेर असल र होसियारीपूर्ण जीवन बिताउने उत्तम उपाय हो । सके पथभ्रष्टलाई सन्मार्गमा ल्याउने उद्देश्य राख्नु, कसैको दुख्दो घाउमा मलम लगाउनु र त्यो नसके कमसेकम आफ्नो जीवनलाई अनुशासित, निर्मल र शालीन बनाउनु नै योग हो । योग सत्य, निष्ठा र चित्तशुद्धिको माध्यमबाट ईश्वरमा जोडिनु हो । सभ्यताले अपेक्षा गरेअनुरूपको सम्यक जीवन प्राप्त गर्न योगका यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिसमेतका आठ सोपानको वर्णन पतञ्जलीले गरेका छन् ।

 

यसअन्तर्गत अहिंसा, सत्य, ब्रह्मचर्य, अस्तेय र अपरिग्रहजस्ता अनुशासन रहेका छन् । अस्तेय (चोरी नगर्नु)लाई महात्मा गान्धीले अत्यन्तै व्यापक अर्थमा लिएका छन् । बिहान १० बजे अफिस गयो, चिया खायो, क्यान्टिनमा गफ ग¥यो, हाकिमको समीपमा हाजिर भयो, अखबार पढ्यो । ७ घन्टाको कार्यालय समयमध्ये ३ घन्टा काम नगर्नु भनेको त्यो ३ घन्टा समाजको सम्पत्ति चोर्नु हो । अपरिग्रहको तात्पर्य आवश्यकताभन्दा बढी वस्तु र सेवालाई ग्रहण नगर्नु हो ।

 

योगका सोपान पार गर्दै समाधिको अवस्थामा पुग्न सकिन्छ । समाधिलाई सम्प्रज्ञात र असम्प्रज्ञात गरी दुई भागमा विभक्त गरिएको छ । सम्प्रज्ञातको अवस्थामा समाधि भंग हुने सम्भावनाको बीज बाँकी रहेको हुन सक्छ भने असम्प्रज्ञात समाधि निर्वीज या ‘घसुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ’को अवस्था हो । सांख्य दर्शनले यो अवस्थालाई कैवल्य भनेको छ ।

 

सारमा योगदर्शनको आधारभूत सन्देश नैतिक, सदाचारी र आरोग्यपूर्ण जीवन हो ।

  

No comments:

Post a Comment