महिलामाथि
अत्याचार \
काठमाडौँ
— गत वैशाख १७ गते (२०७८ बैशाख ) २५ वर्षीया युवती नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोमा
आइपुगिन् । किटानी जाहेरी बोकेर आएकी ती युवतीले भोगेको कथा ब्युरोका अनुसन्धान
अधिकारीका निम्ति नयाँ थिएन तर मनै रुवाउने खालको भने थियो ।
२२ वर्षको उमेरमा रोजगारीको प्रलोभनमा परेर
भारतको नयाँ दिल्लीस्थित एउटा कोठी (देहव्यापारको अखडा) मा बेचिएकी उनी तीन वर्षपछि
अनेकन रोग, वर्षौंसम्मको मानसिक प्रताडना र जीवनभर
भुल्नै नसक्ने दुःखका भारी बोकेर, जेनतेन
उम्केर नेपाल फर्केकी थिइन् ।
२५ वर्षीया
युवती गरिबीका कारण सानैदेखि काठमाडौंमा घरेलु कामदारका रूपमा काम गर्थिन् । १५ वर्षको उमेरमा प्रेम विवाह गरेकी उनी
विवाहपछिका वर्ष घरेलु हिंसाको सिकार हुन थालिन् । एकपटक त उनले भोगेको हिंसा महानगरीय प्रहरी
वृत्त बालाजुमा पनि पुगेको थियो तर प्रहरीले मिलापत्र गराइदिएपछि घर फर्किन् । श्रीमान्को टोकसो सहेर छोरी हुर्काइरहेका
दिनमा उनको चिनजान श्रीमान्का परका नाता पर्ने जान्द्रे भन्ने रामबहादुर तामाङसँग भएको
थियो । श्रीमान्सँग जान्द्रे उनको डेरामा आइराख्थे, उनलाई नाता लगाउँदै भान्जी सम्बोधन गर्थे ।
आवरणमा
ट्याक्सी चालकको काम गरे पनि जान्द्रे परिबन्धमा फसेका युवतीलाई रोजगारीको प्रलोभन
देखाउने र उनीहरूलाई स्थलमार्ग हुँदै भारत पुर्याएर यौन कोठीमा बेच्ने काम पनि गर्थे । प्रहरी बयानमा जान्द्रेले २०७१ सालमा
घर गएका बेला नुवाकोटको घ्याङफेदी घर भई नयाँदिल्ली बस्ने अञ्जली लामासँग चिनजान भएको
बताएका छन् । तिनै अञ्जलीले भेटमा उनलाई कोही केटी भए ल्याउन र त्यसबापत मनग्गे पैसा
बुझ्न प्रलोभन देखाएकी थिइन् । त्यही सम्पर्कपछि जान्द्रे केटी खोज्ने र भारत
पुर्याउने काममा जोडिएका थिए । उनले घरेलु हिंसा सहिरहेकी युवतीलाई भान्जीको
साइनो लगाएर रोजगारीको प्रलोभन देखाए ।
साडीमा
बुट्टा भर्ने काम मिलाइदिने र मासिक १० हजार भारु कमाइ हुने आशा देखाएपछि युवती प्रलोभनमा
फसिन् । २०७४ साउनको अन्तिम सातातिरको कुरा हो । युवती खुसुक्क घरबाट निस्किन् । जान्द्रेसँगै डेरा गरी बस्ने ट्याक्सी
चालक जितबहादुर तामाङ उनलाई लिन ट्याक्सी लिएर आए । जीतबहादुरसँग पनि युवतीको पुरानै चिनजान
थियो । गृह जिल्ला एउटै भएकाले जितबहादुर टाढाको नाता जोड्दै युवतीलाई मामाकी
छोरी भनेर बैनी सम्बोधन गर्थे ।
स्वयम्भूबाट
जान्द्रेले युवतीलाई बस चढाएर भैरहवा पुर्याए । सीमा नाकामा खटिएका प्रहरीको आँखा छलेर
युवतीलाई भारत पुर्याउने जिम्मा अञ्जलीले मुस्कान चौधरीलाई दिएकी थिइन् । जान्द्रेले मुस्कानसँग सम्पर्क गरे । मुस्कानले युवतीलाई मोटरसाइकल चढाएर सीमापारिको
नौतुना पुर्याए । जान्द्रे पनि नौतुना आइपुगेपछि उनीहरू बस चढेर दिल्ली पुगे । पीडितले दिएको प्रारम्भिक बयानमा दिल्ली
पुर्याएपछि उनलाई जान्द्रेले अञ्जलीको जिम्मा लगाए । अञ्जलीको फ्ल्याटबाट युवतीलाई अटो चढाएर
दिल्लीकै जीपी रोडस्थित एउटा घरमा पुर्याएर एक अपरिचित भारतीय महिलको जिम्मा लगाएपछि
उनका अप्ठ्यारा समय सुरु भए ।
ती भारतीय
महिलाले उनलाई जीपी रोड नम्बर ५९ मा रहेको एउटा कोठीमा पुर्याइन् । सुरुका चार दिन उनले रोएरै बिताइन् । केही सीप नचलेपछि उनी अरूजस्तै यौन कर्ममा
लाग्न बाध्य भइन् । उनले प्रहरी बयानमा भनेकी छन्, ‘दैनिक
१५ देखि २० जनासँग यौन सम्पर्क गर्न लगाइयो ।’ बेला–बेला प्रहरीले कोठीमा छापा मारे
पनि सञ्चालकले उनीहरूलाई लुकाउने गरेको उनले बयानमा बताएकी छन् ।
एक वर्षपछि
उनलाई त्यहाँबाट सञ्चालकले दिल्लीकै ६४ नम्बर कोठीमा पुर्याए । निरन्तरको बाध्यात्मक यौन सम्बन्धबाट
उनको स्वास्थ्य बिस्तारै बिग्रन थालेको थियो । उनले बयानमा भनेकी छन्, ‘दिनमै चार/पाँच पटकसम्म रगत बग्न थाल्यो । पाठेघरमा पनि समस्या बढ्दै गयो ।’ निरन्तर बिरामी भएपछि उनलाई अस्पतालमा
उपचार गर्न जाने छुट मिल्यो । त्यही समयलाई उनले तीन वर्ष लामो नारकीय जीवनबाट
फुत्कने मौकाको रूपमा सदुपयोग गरिन् । उनलाई स्पष्ट सम्झना छ, स्वतन्त्रताको त्यो दिन– ३ वैशाख २०७८ ।
नेपाल
फर्केपछि उनले दिएकै जाहेरीका आधारमा प्रहरीले १३ कात्तिकमा नुवाकोटको तारकेश्वर नगरपालिका
७ घर भई काठमाडौंको फुटुङमा बस्ने जान्द्रे भनिने रामबहादुर तामाङलाई पक्राउ गर्यो । त्यसअघि नै जीतबहादुर प्रक्राउ परिसकेका
थिए । ब्युरोकी एसएसपी दुर्गा सिंहका अनुसार आफन्तीका नाममा निकालेको चार
फरक–फरक सिम प्रयोग गरेर प्रहरीलाई झुक्याउँदै आएका जान्द्रे अन्ततः राति ८ बजेतिर
डेराबाटै पक्राउ परेका थिए ।
जान्द्रेले
प्रहरीसँगको प्रारम्भिक बयानमा पीडित युवतीलाई भारतको दिल्लीस्थित यौन कोठीमा एक लाख
भारुमा बेचेको बयान दिएका छन् । यसरी प्राप्त रकममध्ये काममा सघाउने जितबहादुरलाई
पचास हजार रुपैयाँ दिएको पनि उनले बताएका छन् । भारतका विभिन्न यौन कोठीबाट फुत्केर वा
उद्धार भएर नेपाल आएका पीडितले प्रहरीलाई दिने बयानमा एउटा समानता भेटिन्छ, त्यो हो– उनीहरूले आफूजस्तै थुप्रै नेपाली महिलालाई
यौन कोठीमा देखे–भेटेका थिए । २५ वर्षीया पीडित युवतीले पनि प्रहरी बयानमा भनेकी
छन्, ‘त्यहाँ अरू थुप्रै नेपाली छन् ।’
No comments:
Post a Comment