Pages

Monday, June 6, 2022

 

महिलामाथि अत्याचार         \

 

काठमाडौँ — गत वैशाख १७ गते (२०७८ बैशाख ) २५ वर्षीया युवती नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोमा आइपुगिन् । किटानी जाहेरी बोकेर आएकी ती युवतीले भोगेको कथा ब्युरोका अनुसन्धान अधिकारीका निम्ति नयाँ थिएन तर मनै रुवाउने खालको भने थियो ।

 २२ वर्षको उमेरमा रोजगारीको प्रलोभनमा परेर भारतको नयाँ दिल्लीस्थित एउटा कोठी (देहव्यापारको अखडा) मा बेचिएकी उनी तीन वर्षपछि अनेकन रोग, वर्षौंसम्मको मानसिक प्रताडना र जीवनभर भुल्नै नसक्ने दुःखका भारी बोकेर, जेनतेन उम्केर नेपाल फर्केकी थिइन् ।

२५ वर्षीया युवती गरिबीका कारण सानैदेखि काठमाडौंमा घरेलु कामदारका रूपमा काम गर्थिन् । १५ वर्षको उमेरमा प्रेम विवाह गरेकी उनी विवाहपछिका वर्ष घरेलु हिंसाको सिकार हुन थालिन् । एकपटक त उनले भोगेको हिंसा महानगरीय प्रहरी वृत्त बालाजुमा पनि पुगेको थियो तर प्रहरीले मिलापत्र गराइदिएपछि घर फर्किन् । श्रीमान्को टोकसो सहेर छोरी हुर्काइरहेका दिनमा उनको चिनजान श्रीमान्का परका नाता पर्ने जान्द्रे भन्ने रामबहादुर तामाङसँग भएको थियो । श्रीमान्सँग जान्द्रे उनको डेरामा आइराख्थे, उनलाई नाता लगाउँदै भान्जी सम्बोधन गर्थे ।

आवरणमा ट्याक्सी चालकको काम गरे पनि जान्द्रे परिबन्धमा फसेका युवतीलाई रोजगारीको प्रलोभन देखाउने र उनीहरूलाई स्थलमार्ग हुँदै भारत पुर्‍याएर यौन कोठीमा बेच्ने काम पनि गर्थे । प्रहरी बयानमा जान्द्रेले २०७१ सालमा घर गएका बेला नुवाकोटको घ्याङफेदी घर भई नयाँदिल्ली बस्ने अञ्जली लामासँग चिनजान भएको बताएका छन् । तिनै अञ्जलीले भेटमा उनलाई कोही केटी भए ल्याउन र त्यसबापत मनग्गे पैसा बुझ्न प्रलोभन देखाएकी थिइन् । त्यही सम्पर्कपछि जान्द्रे केटी खोज्ने र भारत पुर्‍याउने काममा जोडिएका थिए । उनले घरेलु हिंसा सहिरहेकी युवतीलाई भान्जीको साइनो लगाएर रोजगारीको प्रलोभन देखाए ।

 

साडीमा बुट्टा भर्ने काम मिलाइदिने र मासिक १० हजार भारु कमाइ हुने आशा देखाएपछि युवती प्रलोभनमा फसिन् । २०७४ साउनको अन्तिम सातातिरको कुरा हो । युवती खुसुक्क घरबाट निस्किन् । जान्द्रेसँगै डेरा गरी बस्ने ट्याक्सी चालक जितबहादुर तामाङ उनलाई लिन ट्याक्सी लिएर आए । जीतबहादुरसँग पनि युवतीको पुरानै चिनजान थियो । गृह जिल्ला एउटै भएकाले जितबहादुर टाढाको नाता जोड्दै युवतीलाई मामाकी छोरी भनेर बैनी सम्बोधन गर्थे ।

 

स्वयम्भूबाट जान्द्रेले युवतीलाई बस चढाएर भैरहवा पुर्‍याए । सीमा नाकामा खटिएका प्रहरीको आँखा छलेर युवतीलाई भारत पुर्‍याउने जिम्मा अञ्जलीले मुस्कान चौधरीलाई दिएकी थिइन् । जान्द्रेले मुस्कानसँग सम्पर्क गरे । मुस्कानले युवतीलाई मोटरसाइकल चढाएर सीमापारिको नौतुना पुर्‍याए । जान्द्रे पनि नौतुना आइपुगेपछि उनीहरू बस चढेर दिल्ली पुगे । पीडितले दिएको प्रारम्भिक बयानमा दिल्ली पुर्‍याएपछि उनलाई जान्द्रेले अञ्जलीको जिम्मा लगाए । अञ्जलीको फ्ल्याटबाट युवतीलाई अटो चढाएर दिल्लीकै जीपी रोडस्थित एउटा घरमा पुर्‍याएर एक अपरिचित भारतीय महिलको जिम्मा लगाएपछि उनका अप्ठ्यारा समय सुरु भए ।

 

ती भारतीय महिलाले उनलाई जीपी रोड नम्बर ५९ मा रहेको एउटा कोठीमा पुर्‍याइन् । सुरुका चार दिन उनले रोएरै बिताइन् । केही सीप नचलेपछि उनी अरूजस्तै यौन कर्ममा लाग्न बाध्य भइन् । उनले प्रहरी बयानमा भनेकी छन्, ‘दैनिक १५ देखि २० जनासँग यौन सम्पर्क गर्न लगाइयो ।’ बेला–बेला प्रहरीले कोठीमा छापा मारे पनि सञ्चालकले उनीहरूलाई लुकाउने गरेको उनले बयानमा बताएकी छन् ।

 

एक वर्षपछि उनलाई त्यहाँबाट सञ्चालकले दिल्लीकै ६४ नम्बर कोठीमा पुर्‍याए । निरन्तरको बाध्यात्मक यौन सम्बन्धबाट उनको स्वास्थ्य बिस्तारै बिग्रन थालेको थियो । उनले बयानमा भनेकी छन्, ‘दिनमै चार/पाँच पटकसम्म रगत बग्न थाल्यो । पाठेघरमा पनि समस्या बढ्दै गयो ।’ निरन्तर बिरामी भएपछि उनलाई अस्पतालमा उपचार गर्न जाने छुट मिल्यो । त्यही समयलाई उनले तीन वर्ष लामो नारकीय जीवनबाट फुत्कने मौकाको रूपमा सदुपयोग गरिन् । उनलाई स्पष्ट सम्झना छ, स्वतन्त्रताको त्यो दिन– ३ वैशाख २०७८ ।

 

नेपाल फर्केपछि उनले दिएकै जाहेरीका आधारमा प्रहरीले १३ कात्तिकमा नुवाकोटको तारकेश्वर नगरपालिका ७ घर भई काठमाडौंको फुटुङमा बस्ने जान्द्रे भनिने रामबहादुर तामाङलाई पक्राउ गर्‍यो । त्यसअघि नै जीतबहादुर प्रक्राउ परिसकेका थिए । ब्युरोकी एसएसपी दुर्गा सिंहका अनुसार आफन्तीका नाममा निकालेको चार फरक–फरक सिम प्रयोग गरेर प्रहरीलाई झुक्याउँदै आएका जान्द्रे अन्ततः राति ८ बजेतिर डेराबाटै पक्राउ परेका थिए ।

 

जान्द्रेले प्रहरीसँगको प्रारम्भिक बयानमा पीडित युवतीलाई भारतको दिल्लीस्थित यौन कोठीमा एक लाख भारुमा बेचेको बयान दिएका छन् । यसरी प्राप्त रकममध्ये काममा सघाउने जितबहादुरलाई पचास हजार रुपैयाँ दिएको पनि उनले बताएका छन् । भारतका विभिन्न यौन कोठीबाट फुत्केर वा उद्धार भएर नेपाल आएका पीडितले प्रहरीलाई दिने बयानमा एउटा समानता भेटिन्छ, त्यो हो– उनीहरूले आफूजस्तै थुप्रै नेपाली महिलालाई यौन कोठीमा देखे–भेटेका थिए । २५ वर्षीया पीडित युवतीले पनि प्रहरी बयानमा भनेकी छन्, ‘त्यहाँ अरू थुप्रै नेपाली छन् ।’

No comments:

Post a Comment