रुस-युक्रेन
युद्धको फाइदा अमेरिकालाइ \
युक्रेन
माथिको रूसी आक्रमणले अमेरिकी उच्च प्रशासनिक, सैनिक
र हतियार उत्पादकहरू निकै खुशी छन् । अमेरिका मिलिटरी इन्डस्ट्रियल कम्प्लेक्सबाट सञ्चालित
छ । रूसी विशेष सैन्य कारबाहीपछि अमेरिकी हातहतियार उत्पादन र विक्री गर्ने कम्पनीहरूको
भाउ उकालो लागेको छ ।
युक्रेन
लगभग अफगानिस्तान बन्ने निश्चित छ । युद्धले रूसको अर्थतन्त्र अनि युक्रेनको लगभग सबै
क्षेत्र जर्जर हुनेछ र युक्रेनी जनताको दुःखका दिनहरू झन् गहिरिँदै र लम्बिँदै जानेछन्
। संसारका थुप्रै जनता झन् गरीब हुनेछन् । रूस हारे पनि जिते पनि यो युद्ध अमेरिकाले
पहिल्यै जितिसकेको छ ।
अमेरिकामाथि
विश्वको निर्भरता, खास गरी यूरोपको झन् बढ्नेछ र अमेरिकाको
पकड झन् बलियो हुनेछ । यूरोपको हातहतियार आयात, अन्न
र तेलको आयात झन् बढ्नेछ ।
आर्थिक
फाइदा
रूसी
आक्रमणले त्रस्त र चिन्तित यूरोप अमेरिकाका लागि फाइदाजनक छ । उसले नेटोका यूरोपेली
देशहरूमा सुरक्षा खर्चमा गर्नुपर्ने वृद्धिका लागि दिइरहेको दबाबलाई बल मिलेको छ ।
हतियार बेचेर अमेरिकाले यूरोपसँग व्यापारघाटा हटाउन वा कम गर्न सक्नेछ । संसारकै अन्न
भण्डारको रूपमा रहेको अमेरिकाले कृषि उपजहरूको विक्री तथा तेल र ग्यासको यूरोप निर्यातबाट
ठूलो आर्थिक फाइदा लिनेछ ।
अमेरिका
संसारकै सबैभन्दा ठूलो खाद्य उत्पादक देश हो भने युक्रेनको धेरैजसो अन्न भण्डार क्षेत्र
नै रूसको कब्जामा पुगेको छ । यस्तो स्थितिमा अमेरिकाले चर्को मूल्यमा आफ्नो अनाज विश्व
बजारमा बेच्न सक्छ । सबैभन्दा ठूलो गहुँ उत्पादक देश रूसमाथिको आर्थिक नाकाबन्दीले
रूसले गहुँ बेच्न सक्दैन । साथै, चौथो
ठूलो गहुँ उत्पादक युक्रेनले गहुँ विक्री गर्न सकेको छैन । लम्बिरहेको युद्धले अर्को
वर्ष कृषि उत्पादनमा ठूलो ह्रास आउनेछ । चीन र अफ्रिकाको खाद्य सुरक्षाका लागि युक्रेन
र रूसले ठूलो भूमिका खेल्थे । अब अमेरिकामाथि चीन, यूरोप तथा मध्यपूर्वको खाद्य निर्भरता झन् बढ्नेछ ।
फ्रेकिङ
प्रविधिमा आएको क्रान्तिकारी सुधारले अमेरिका तेलमा पूर्ण आत्मनिर्भर छ । तेल कुवाको
भन्दा दोब्बर महँगो उत्पादन लागत भए पनि तेलको अन्तरराष्ट्रिय मूल्य आकाश छोइरहेको
बेला अमेरिकी तेल उत्पादन कम्पनीले सजिलै र ठूलो नाफा कमाउनेछन् । रूसी तेल आयात बन्दपछि
यूरोपमा अमेरिकाबाट आयात बढ्नेछ ।
विश्वको
रक्षा बजेट सन् २०२० मा २११३ अर्ब डलर कटेको बेला अमेरिकाको ८०० अर्ब डलरभन्दा बढी
कटेको छ । रक्षा बजेटको ठूलो अंश हतियारको विकास, उत्पादन र खरीदमा जान्छ । संसारमा अमेरिका पहिलो र रूस दोस्रो ठूलो हतियार
निर्यातक देश हुन् । आर्थिक प्रतिबन्ध र स्विफ्टबाट अलग्याइएपछि थुप्रै देशले रूसबाट
चाहेर पनि हतियार र पार्टपुर्जा खरीद गर्न पाउने छैनन् । १०औं ठूलो हतियार निर्यातक
युक्रेनको उत्पादनमा ठूलो ह्रास आएको छ र आफै पनि विदेशी हातहतियारमा निर्भर हुनुपर्ने
भएको छ । यस्तो स्थितिमा अमेरिकी हतियार कम्पनीहरूले झन् धेरै हतियार बेच्नेछन् र नाफा
कमाउनेछन् । हातहतियारको मर्मत सम्भार हतियार निर्यात गर्ने कम्पनीका लागि दुहुनो गाईजस्तै
हुन् । यसबाट अमेरिकी कम्पनीहरूले वार्षिक अर्बौं डलरको कमाइ गर्ने गर्छन् ।
संसारको
चौथो ठूलो अर्थतन्त्र रहेको जर्मनीले ११५ अर्ब डलरको रक्षा संयन्त्रको आधुनिकीकरण गर्ने
प्याकेज घोषणा गरेको छ । यस्तै प्रकारको घोषणा पोल्याण्डले पनि गरेको छ । भविष्यमा
विश्वको रक्षा खर्च झन् बढ्नेछ र यसको मुख्य र सोझो फाइदा अमेरिका र यसका हतियार उत्पादक
कम्पनीहरू लकहिड मार्टिन,
बोइङ, सिएरा नेभेदा,
जेनेरल डाइनामिक्स, नर्थग्रुप ग्रुरम्यान, बेई र रेथिएनजस्ता कम्पनीहरूलाई हुनेछ ।
सामरिक
फाइदा
उत्तरी
देशहरू फिनल्याण्ड र डेनर्माक युद्धमा समेत कुनै ब्लकमा नरही स्वतन्त्र रहेका थिए ।
तर, अहिले आएर त्यहाँका सरकारहरू नेटो प्रवेशका
लागि तयारी थालिरहेका छन् । यसले नेटोको शक्ति विस्तार हुनेछ र रूसका लागि उत्तरी वफर
जोन खत्तम हुनेछ । रूसको सुरक्षा चुनौती झन् थपिनेछ । अफ्रिका र ल्याटिन अमेरिकामा
चीन र रूस यूरोप अमेरिकाका मुख्य प्रतिस्पर्धी रहेका छन् । यूरोपसँग उसको गहिरो र व्यापक
गठजोड छ । कमजोर रूसको कारण अमेरिकाको उपस्थिति त्यहाँ झन् बलियो हुने अनुमान गर्न
सकिन्छ ।
रणनीतिक
फाइदा
यूरोपबाट
रूसलाई अलग बनाएर कमजोर बनाएपछि अमेरिका अब चीन केन्द्रित हुन सक्छ । यो युद्ध र पश्चिमाको
नाकाबन्दीबीच रूसको आगामी यात्रा कठिन छ । रूस झन् कमजोर र विश्वबाट अलग हुनेछ । बिस्तारै
रूस समर्थक देशहरू रूसबाट टाढिँदै जानेछन् । अफ्रिका, ल्याटिन अमेरिका, मध्यपूर्वमा रूसको प्रभाव झन् कमजोर हुनेछ । कमजोर रूसको साथ अहिलेका
केही पूर्व सोभियत गणराज्यजस्तै बेलारूस वा काजकस्तनले पनि रूसको साथ बिस्तारै छोड्न
सक्ने अनुमान गर्न सकिन्छ । रूस इरानजस्तै हुने सम्भावना छ ।
नेटोभित्र
खासगरी यूरोपमा नेटोको भूमिकाको नेतृत्व आफूले पाउनुपर्छ भनेर दाबी गर्ने र यूरोपेली
सेनाको निर्माणमा अग्रसर फ्रान्स र जर्मनीलाई अमेरिकाले फेरि लोप्पा खुवाउनेछ र नेटोमा
उसको हालीमुहालीलाई चुनौती कहीँबाट आउनेछैन ।
यसै
पनि राष्ट्रिय सुरक्षालाई खतरा भनेर पश्चिमाहरूले चिनियाँ प्रविधिलाई प्रतिबन्ध लगाएको
र कोरोनाले प्रभावित पारेको विश्व परिप्रेक्ष्यमा रूसलाई सहयोग गरेर पश्चिमी विश्वसँग
जोरी खोज्ने साहस चीनले गर्नेछैन । दोस्रो ठूलो अर्थतन्त्र भए पनि चीनको अर्थतन्त्र
निर्यातमुखी भएको र आर्थिक संरचनाहरू यूरोप र अमेरिकाको जस्तो बलियो नभएकाले रूसलाई
सहयोग गरेर पश्चिमा विश्वसँग जोरी खोज्ने साहस चीनले गर्नेछैन । केही महत्त्वपूर्ण
सैन्य प्रविधिमा चीन अझै पनि कम्तीमा १ दशक पछाडि छ ।
यस्तो
स्थितिमा अमेरिका यो युद्ध रोक्ने पक्षमा हुँदैन र उसले हतियार आपूर्ति गरेर रूसलाई
रोक्ने वा युद्ध लम्ब्याउने रणनीति लिई राख्नेछ । संसारभर आफ्नो आर्थिक र सामरिक शक्ति
बढाउन यो मौका अमेरिकाले छोड्नेछैन ।
बुधवार, जून 08, 2022
No comments:
Post a Comment