Pages

Tuesday, August 16, 2022

 

मेडिकल टुरिज्म          \

 

विश्वमा मेडिकल टुरिजमको ठूलो बजार छ । उपचारका लागि ठूलो रकम खर्च गरेर विश्वका धेरै मानिस विश्वका विभिन्न भागमा जान थालेका छन् यस क्षेत्रमा एशियाका देशहरू आफ्नो अत्याधुनिक चिकित्सा प्रविधि, किफायती मूल्य, आतिथ्य र पर्यटनका कारण अन्य देशहरूभन्दा अगाडि छन् । एशिया मेडिकल पर्यटनका लागि विश्वभरका मानिसका लागि गन्तव्य बन्दै छ ।

सन् २०१७ मा १० लाख मेडिकल पर्यटकले मलेशिया र ३३ लाख मेडिकल पर्यटकले थाइल्यान्ड भ्रमण गरेको अनुमान गरिएको छ । थाइल्यान्डमा चिकित्सा पर्यटनका लागि ठूलो संख्यामा पर्यटकहरू आउने गर्छन् । यसको अत्याधुनिक चिकित्सा सुविधा र थाई आतिथ्यको कारण यस्तो पर्यटन फस्टाएको हो । एक अध्ययनअनुसार अधिकांश चिकित्सा पर्यटक दक्षिण र दक्षिणपूर्व एशियालगायत मध्यम आय भएका देशहरूबाट भित्रिएका थिए ।

सिंगापुर विश्व स्तरको चिकित्सा सुविधा, राम्रो प्रशिक्षित डाक्टरहरू र सरसफाइको कारण मेडिकल टुरिजमका लागि प्रख्यात छ । यसले जटिल केसहरूको पनि उपचार गर्छ । मेडिकल टुरिजम इन्डेक्सको तथ्याङ्कअनुसार सिंगापुर सात एशियाली देशमध्ये सबैभन्दा आकर्षक मानिएको थियो । तर, यहाँ उपचार खर्च निकै महँगो छ । मलेशियामा पनि मेडिकल पर्यटन बढ्दो छ । मलेशियामा उपचारका लागि आउने अधिकांश पर्यटक इन्डोनेशियाका छन् । मलेशियामा निजी अस्पतालहरूले लिने मूल्यलाई स्वास्थ्य मन्त्रालयले नियमन गर्छ । यसैगरी दक्षिण कोरिया कस्मेटिक सर्जरी र सौन्दर्य क्लिनिकहरूमा विशेष छ । २०१६ को एक रिपोर्टअनुसार लगभग ३६४९९ विदेशी चिकित्सा पर्यटकले दक्षिण कोरिया भ्रमण गरे र तिनीहरूमध्ये धेरै क्यानाडा, अमेरिका, यूएई, चीन र जापानका थिए ।

नेपाल, बंगलादेश, भुटान, श्रीलंका र अन्य एशियाली देशहरूका चिकित्सकीय यात्रीहरूको मनपर्ने गन्तव्य भारत हो । यसको अत्याधुनिक प्रविधि, विश्वस्तरीय सर्जन र सस्तो उपचारका कारण भारत चिकित्सा पर्यटकको केन्द्र बनेको छ । भारतको राष्ट्रिय स्वास्थ्य नीतिले चिकित्सा पर्यटनलाई समर्थन गर्छ ।

मेडिकल टुरिजम इन्डेक्स २०२० का अनुसार मेडिकल पर्यटनमा विश्वमा क्यानडा पहिलो नम्बरमा परेको छ । यहाँ वर्षेनि १४ मिलियन अमेरिकीहरू उपचारका लागि आउँछन् । अमेरिकामा भन्दा क्यानडामा उपचार गर्न सस्तो पर्ने हुँदा यसरी अमेरिकीहरू क्यानडामा पुगेका हुन् । मेडिकल पर्यटनमा सिंगापुर विश्वमा दोस्रो नम्बरमा छ । २०१९ मा मात्रै ५ लाखभन्दा बढी विदेशी स्वास्थ्यसेवा लिन सिंगापुर पुगेका थिए । जापान मेडिकल पर्यटनका लागि तेस्रो स्थानमा छ । यहाँ खासगरी चिनियाँ उपचारका लागि जाने गरेका छन् । चौथो स्थानमा स्पेन र र पाँचौं स्थानमा बेलायत रहेको छ भने छैटौं स्थानमा दुबई रहेको छ । सातौं स्थानमा कोस्टारिका, आठौं नम्बरमा इजरायल, नवौं नम्बरमा अबुधाबी र दशौं नम्बरमा भारत रहेको छ । यसरी एक देशका नागरिक स्वास्थ्योपचारका लागि अर्को देशमा जाने गरेको पाइन्छ । यो पछिल्लो समय निकै फस्टाउँदै गएको छ ।

नेपालको मौसम राम्रो भएकाले मेडिकल पर्यटनको सम्भावना उच्च छ । खासगरी दीर्घरोगीहरूका लागि सुविधायुक्त सेवा दिने हो र त्यो विश्वस्तरीय बनाउन सक्ने हो भने नेपालले यसबाट पर्याप्त लाभ लिन सक्छ ।

विश्व स्तरका स्वास्थ्यकर्मीहरू, नर्सिङ हेरचाह र उपचारको लागत आदिका कारण धेरै एशियाली देशहरूमा चिकित्सा पर्यटनमा प्रतिवर्ष ४० प्रतिशतले वृद्धि भइरहेको पाइन्छ । नेपालमा पनि पर्यटन र यात्रासम्बन्धी सुविधाहरूका साथै स्वास्थ्य सेवा वितरणको सहज एकीकरण गरी चिकित्सा पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।

विदेशबाट आएका बिरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन बहुराष्ट्रिय बीमा कम्पनीहरूसँग सहकार्य गर्नुपर्छ । विदेशी एजेन्सीबाट स्वास्थ्य संस्थाको मान्यता, स्वास्थ्य संस्थाको मार्केटिङ र विज्ञापन, सुविधा र उपचारको प्रचार गर्न सकिन्छ । उनीहरूले विदेशबाट बिरामीलाई प्याकेजहरू प्रस्ताव गर्छन् । विदेशबाट आएका बिरामीहरूका लागि विशेष वार्ड, उचित भिसा सुविधा र अध्यागमनमा प्राथमिकता दिनुपर्छ ।

संसारभरका मानिसहरू आफ्नो स्वास्थ्यको लागि वैकल्पिक चिकित्सा, योग, आयुर्वेदिक र स्पाको सहारा लिएका छन् । नेपालमा यस प्रकारको स्वास्थ्यमा तुलनात्मक लाभ छ, र यसले नेपालमा चिकित्सा पर्यटनलाई थप माइलेज दिन सक्छ । तर, अहिलेको पूर्वाधार पर्याप्त छैन । वृद्धहरूलाई निरन्तर चिकित्सा सेवा चाहिन्छ । यसका लागि हामीले नेपालमा वृद्धवृद्धा र बिरामीलाई नेपालमा लामो समयसम्म बस्न दिने नीतिगत व्यवस्था गर्नुपर्छ । साथै यस्तो सेवा विश्वस्तरीय भएको सुनिश्चितता पनि गर्न सक्नुपर्छ ।

 

No comments:

Post a Comment