Pages

Friday, July 1, 2011

आली,कान्ला र डीलतिर।


आली, कान्ला र डीलतिर
                              -आनन्दराम पौडेल
                                                                     anandarampaudel@yahoo.com 
                              
 राजनीतिमा बिचार निख्रिनु र मुद्दा हराउनु सर्वाधिक सङ्कटको घडी बन्दोरहेछ। बर्तमान नेपालका धेरै राजनीतिक पार्टीहरु मुद्दाबिहीन भएर दरिद्र बन्न पुगेका छन्। नेपाली कांग्रेस अहिले प्रतिपक्षमा छ र प्रतिपक्षको भूमिका फेला नपारेर हिजो माओवादीले प्रतिपक्षमा रहँदा उठाएर असरल्ल छाडेका मुद्दालाइ स्याहारिरहेको छ। २०६७साल जेठ १४गते अगाडी माओवादीले सम्बिधानसभाको म्याद थप्न दिन्न भनेर अड्डी कसेको थियो, यस्पाली कांग्रेसले ट्याक्कै त्यही गर् यो। हिजो माओवादीले माधवकुमार नेपालले राजिनामा नदिउञ्जेल कुनै बिषयमा प्रवेश हुँदैन भनेर ब्रेक लगाएको थियो, आज कांग्रेस त्यही गर्न खोज्दैछ। पोहोर आफैं समेत् बसेर निर्माण गरेको बजेटलाइ माओवादीले संसदमा पेश गर्न दिएन, आज कांग्रेसपनि त्यस्तै कुरा गर्दैछ। अपुताली स्याहार्नमा एमाले १०पाइला अगाडी छ। साम्प्रदायिक राजनीति र जातीय राज्यको बिषयमा ब्यक्तिब्यक्तिसँग कुरा गर्दा नेकपा एमालेका ९०% केन्द्रीय नेताहरु यो दुवैको सख्त बिरुद्धमा छन्, तर पार्टीले सम्बिधानसभामा जातीय राज्यकै खाका पेश गरेको छ। माओबादीले साम्प्रदायिक र जातीबादीहरुलाइ समेट्नेभो, लौ सवै भ्याउनेभो भनेर स्याँस्याँ र फ्याँफ्याँ गर्दै हाम्फालेर माओबादीको प्रस्ताव चोर्न भ्याएको प्रष्टै बुझिन्छ। एनेकपा माओबादीको त “ ना ना करके प्यार तुम्हीं से कर बैठी” भनेसरी एकातिर लोकतन्त्र र संसदीय ब्यवस्थालाइ लात्ताले हानेर कान्लामुनी पुर् याइदिन्छु भन्ने र अर्कोतिर यसैको सत्तासुन्दरीसँग सम्भोगरत रहने अनौठो दोहोरो चरित्र देखाइरहेछ। हामीलाइ रनभुल्लमा पार्न “देशीबिदेशी प्रतिकृयाबादी शक्ति” आदि शब्दका जार्गन भट्भट्याउँछन् र भित्र सत्ताको लुछाचुँडीमा छिनाझम्टी गरिरहेका हुन्छन्। भागबण्डाको हिसाव नमिलेकोले सम्बैधानिक निकायहरु नेतृत्वबिहीन छन्। नेपालका राजनीतिक दल र नेताहरुको दोहोरो चरित्र बिडम्बनापूर्ण छ। साउथ ब्लकलाइ रिझाउनका लागि बिश्वमा कहीं नभएको र अति घिनलाग्दो नागरिकता ऐन बनाइसक्छन् र बाहिर आएर जनतालाइ भुलाउन राष्ट्रियताको कुरा गर्दै भारतबिरोधी नारा लगाउँछन्। भारतका एउटा नेताले औंलो ठड्याउनासाथ पशुपति पूजारीको नियुक्ति बदर गर्छन्। भारतबिरोधी नारा लगाउने यी नेताहरुको अन्तरबस्तु केलाउँदा “ भित्रभित्र लम्पसार,बाहिरबाहिर मुर्दाबाद” भेटिन्छ। नेपालका यी ठूला राजनीतिक पार्टीहरु, पार्टीको नाम,ब्यानर,नारा र दस्तावेजका अक्षरमा फरक भएपनि, राम कार्कीले भन्नुभएझैं सार,अन्तर्बस्तु र चरित्रमा रत्तिभर फरक छैनन्। कोही अलि ठूला र चर्का कुरा गरिरहेका होलान् र असम्भव सपना बाँडिरहेका होलान्, तर यथार्थमा सबै सत्ताकेन्द्रित राजनीति गरिरहेछन्।
 एक्कैचोटी चर्का नारा उराल्ने र अस्वाभाविक राजनीति गर्नेहरु रामदेवको गतिमा पुग्छन्। विश्व इतिहाँस हेर्दा अति चर्का नारा, असम्भव सपना र अस्वाभाविक राजनीति गर्नेहरु डँढेलोसरी हरर बलेर भस्याकभुसुक् निभेका छन्। साठीको दशकमा फ्रान्सको तत्कालीन शासनब्यवस्थाबिरुद्ध शुरु भएको तुमुल बामपन्थी आन्दोलन डँढेलो सल्केसरी बढ्दै गएर बिश्वब्यापी हुन खोजेको थियो। तर,ठोस धरातलमा नटेकेर हावामा कावा खाँदै हौसिएर बढेकोले यस्को आयु धेरै दिन रहेन, सवैतिर दुखद अन्त भयो। त्यो आन्दोलनका प्रवर्तक माइकल देब्रे पछि तिनै राष्ट्रपतिको सल्लाहकार भएर सत्ताभोगमा लीन भए, जस्को बिरुद्द आन्दोलन छेडेका थिए।
  हल्ला गर्नेहरु उफ्रन्छन्,कुद्छन् र जान्छन्, तर चुपचाप काम गर्नेहरुले बिस्तारै कायापलट गरिसकेका हुन्छन्। उर्जा मन्त्रालयमा ६महिना अघिसम्म डा प्रकाशरण महत छचण्डाउँदै उफ्रिरहेका थिए,तर आज गोकर्ण बिष्ट त्यही कुर्सीमा बसेर मज्जाले काम गरिरहेछन्।  बिहारमा नीतिसकुमारले हल्ला गरेनन्,काम गरे। सिक्किममा पवन चाम्लिङ भनाभनतिर लागेनन्, काममै घोटिए। दक्षिण अफ्रिकामा नेल्शन मण्डेलाले न कहिल्यै चर्का नारा लगाए, न असम्भव सपना बाँडे,नत अस्वाभाविक राजनीति नै गरे, जेजति गरे सवै दीर्घकालीन सोच अन्तर्गत गरे। दोश्रो बिश्वयुद्धमा तहसनहस भएको जापान राजनीतिक खिंचातानीमै अल्झेर बसेको भए आश्चर्यजनक उन्नति हाँसील गर्न सक्ने थिएन। त्यहाँत सम्बिधानपनि अमेरिकन जनरल डगलस म्याकअर्थरले बनाइदिएका थिए। त्यस्तै, फर्मोसा जस्तो एउटा सानो टापुले गर् यो, र दक्षिण कोरियाले गर् यो। श्रीलङ्कासरह हुन पाए हुन्थ्यो भनेर कल्पना गरेको सिङ्गापुरलाइ एकजना लीक्वान यूको अठोट,सङ्कल्प र समर्पणले कहाँ पुर् याए। मात्र प्रशासनलाइ सुधारेर चुस्तदुरुस्त बनाएको भरमा रामोन म्यागसेसेले अहिले नेपालको जस्तै स्थितिमा रहेको फिलिपिन्सलाइ सर्लक्कै उतारे। हामीले गरेजस्तै दन्तबजान,गाँड कोराकोर,सत्ताको लुछाचुँडी र भागबण्डामा मात्र अल्झेर बसेका भए उपरोक्त देशहरु बर्तमान नेपालभन्दा धेरै तल दुर्गतिको खाडलमा जाकिएका हुन्थे।
 नेपालका राजनीतिक दलहरु यो स्थितिमा पुग्नुको कारण भिजन र लक्षचिन्तनको अभाव हो। सैद्धान्तिक आधारभूमी छाडेकाले लक्ष,बाटो र दिशा हराएका छन्। मूल बाटो छाडेकाले आलि,कान्ला र गोरेटोतिर भट्किरहेछन्। मौलिक चिन्तन र बिचारशून्यताको कारणले कार्यनीति तात्कालिकतामा आधारीत छ, र राजनीति पपुलिष्ट बन्दै गएको छ। कार्यनीतिले कार्यशैलीलाइ प्रभावित पार्छ। आफ्नो कार्यशैली नभएकाले सत्ताको छेउमा पुग्नासाथ यिनीहरु महाराजा,छोटेराजा र बडाहाकीमको जीवनशैली अपनाउन थाल्छन्। बिचारशून्य भएपछि कर्म र ब्यवहारमापनि बिरोधाभास देखिन थाल्छ। करिव ३बर्षअघि एनेकपा माओबादीले नागरिक सर्वोच्चता नै अहिलेको मुख्य कार्यभार हो भन्यो, तर त्यस्को लगत्तै राष्ट्रिय स्वाधीनता भन्यो। नागरिक सर्वोच्चताले आन्तरिक ब्यवस्थामा फोकस गराउँछभने राष्ट्रिय स्वाधीनताले बाह्य स्थितितर्फ ध्यानाकर्षण गराउँछ। द्वन्दवादको नियमअनुसार एक्कैचोटी एकभन्दा बढी अन्तरबिरोध प्रधान हुन सक्दैन र सबै मोर्चा एक्कैचोटी खोलिंदैन। समग्रमा यो सवै माओबादी र एमालेले बर्गसङ्घर्ष छाडेको र कांग्रेसले प्रजातान्त्रिक समाजबाद छाडेकोले उत्पन्न परिस्थिति हो। बिचार नै पार्टीको चुरो र मियोपनि हो। चुरो नभएका पार्टीहरु खोक्रो हुँदै जाँनेछन् र अराजकहरुको भीड मात्र रहनेछ। राजनीति तपसीलका खुद्रा मुद्दाहरुमा रङ्मङ्गिइरहने छ। क्षेत्रीय पार्टीहरु र जातीय सङ्गठनहरु सवल बन्दै जानेछन्। राष्ट्र,देश र जनता बेवारिसे बन्नेछन्। राष्ट्रिय अस्तित्व धरापमा पर्ने छ। धोद्रोपसेको खोक्रा रुखहरुबाट नयाँ नेपालको निर्माण हुँने छैन।

No comments:

Post a Comment