राष्ट्रिय स्वाभिमान विरुद्ध
-आनन्दराम पौडेल
१० दिनअघि सञ्चार मन्त्रालय छेउको क्यान्टिनमा भेटिएका सञ्चार मन्त्रालयका अधिकृतहरु अलि बढी नै गम्भीर देखिन्थे। ईमेज एफएम (१०३.६)ले बिहान ८ देखि ९ वजेसम्म ‘जनचासो’ भन्ने कार्यक्रम सञ्चालन गर्दोरहेछ। कुनै उपाय गरेर त्यो कार्यक्रमलाइ रोक्न लगाउनु भनि माथिल्लो तहबाट निर्देशन आएकोले त्यस्तो काम आफ्नो हातबाट गर्नु नपरे हुन्थ्यो भन्ने उहाँहरुको चिन्ता रहेछ। अर्को दिन थाहा पाएँ, मन्त्रीपरिषद कार्यालयबाट समेत निर्देशन आएकोले ईमेज एफएमलाइ पत्र पठाउन बाध्य भएछन्।
सामान्यतया मान्छेको स्वभाव के हुन्छभने लुकाएकोचाहीं खोज्नुपर्छ, छोपेकोचाहीं उघार्नुपर्छ र निषेधको स्वाद चाखिहाल्नुपर्छ। मलाइ पनि खसखस लाग्यो र कहिल्यै नसुनेको कार्यक्रम वडो उत्सुकताका साथ ध्यान दिएर सुनें। त्यो कार्यक्रम सुनिसक्दा अचम्मको उत्साह, आत्मसम्मान, स्वाभिमान र आत्मगौरवको भाव मभित्र सञ्चार भयो। ज्ञानेन्द्रले एकलौटी शासन चलाएका वेलामा सर्जक, साहित्यकारहरुलाइ वोलाएर लोकतन्त्रको पक्षमा हामीलाइ जागरुक गरिरहन्थे, तिनै ठाकुर बेल्वासे कार्यक्रमका सञ्चालक रहेछन्। नेताहरुले देश बिगारे भन्दै गनगन गरेर मात्र हुँदैन, आआफ्नो ठाउँबाट जे गर्न सकिन्छ राष्ट्रका लागि केही गरौं भन्ने त्यो कार्यक्रमको केन्द्रीय भाव रहेछ।
ठाकुर बेल्वासेजीले सिराहाका अग्निपीडितका लागि सहयोग गरौं भनेर रेडियोबाटै आव्हान गरिरहनुभएको थियो। विजुली वजारमा ‘मेरो देश’ भन्ने अफिसै खोलेर राहत सङ्कलन भैरहेको देख्यौं। ४ओटा कोठामा लत्ताकपडाहरु भरिभराउ थिए। कार्टुनकाकार्टुन चाउचाउ र दालमोटहरु तथा चिउराका बोराहरु लिएर मानिस आइरहेका थिए। डा. सच्चेकुमार पहाडीजीले रु.पचाश हजार पठाइदिनुभो। उलेन्स स्कुल, ललितपुरले खाद्यसामग्री १ ट्रक र रु. ६८हजार पठायो। १ घण्टा वसुञ्जेलमा कृष्णा ताम्राकार लगायत धेरै विशिष्ट व्यक्तित्वलाइ त्यहाँ भेटें। कृष्णा ताम्राकारजी ईमेज च्यानेलमै काम गर्नुहुँदोरहेछ। तर, ठाकुर बेल्वासेजीको अभियानका बारेमा बाहिरबाहिरै चर्चा सुनेर आएको हुँ भन्दै हुनुहुन्थ्यो।
त्यहाँ जाँदा मैले धेरै युवाहरु देखें, जस्ले सेतो भेस्ट लगाएका थिए। भेस्टको अगाडी ‘ठाकुर बेल्वासे’ र पछाडी ‘मेरो देश’ लेखिएको थियो। त्यही भेस्ट लगाएकी मन्दिरा कार्की नामकी एउटी युवती काममा तल्लीन थिइन्। तिन्ले भोजपुर,देउरालीको तित्रे डाँडामा पुगेर पुस्तकालय स्थापना गरिसकेकी रहिछन् र त्यसैको लागि खटिरहेकी थिइन्। अर्का युवा सिन्धुपाल्चोक, ठोकर्पामा अपाङ्ग सशक्तिकेन्द्र निर्माणका लागि साधनश्रोतको व्यवस्था गर्दै थिए।
मेरो देशले गरेका यावत कर्महरु राष्ट्रका लागि दिव्य अनुष्ठान नै हो भन्ने निस्कर्षमा यो अकिञ्चन पुग्यो। यो निस्कर्षले ईमेज एफएम १०३.६ मा बिहान ८ देखि ९ वजेसम्म प्रसारण हुने कार्यक्रम सुन्न झन् प्रेरीत ग-यो। राघव भट्टराई र ईञ्जिनीयर रामेश्वर श्रेष्ठजीले सिराहामा अग्निपीडितहरुका लागि कटेज बनाउने सल्लाह दिनुभएको सुनें। रु.३० हजारमा कटेज निर्माण गर्न सकिने लगतइस्टमेट भएको पनि सुनें। १० ओटा कटेज हामी बनाइदिन्छौं भनि धादिङका उमेश रुपाखेतीले प्रस्ताव गर्नुभएको र नगद सहयोग गर्न धेरैजना तैयार भैरहेको सुनिरहें।
ज्ञानेन्द्रको शासनकालमा लोकतन्त्र पुनर्वहालीका लागि दौडधुप गरिरहेका ठाकुर बेल्वासेजीलाइ धेरै पछि करिव ५ महिना अघि रत्नपार्कमा भेटेको थिएँ। नेपाल सरकारका मन्त्री श्री राजेन्द्र महतोजीले काठमाण्डूलाइ नाकावन्दी लगाइदिन्छु भनेर एउटा आमसभामा चिच्याएका थिए। अलिकति मात्रै आत्मसम्मान भएका नेपालीले यो अभिव्यक्तिको विरोध गर्नुपर्छ भनेर ठाकुर वेल्वासेजीले आव्हान गर्नुभएछ। उहाँको एउटा आव्हानमा हजारौं जनता रत्नपार्कमा भेला हुन आएका थिए। मैले त्यहाँ कल्याण भट्टराई लगायत धेरै विशिष्ट व्यक्तिलाइ देखेको थिएँ।
हामी जत्तिका नागरिकलाइ उत्साहित गराउने, आत्मसम्मानको भाव जागृत गर्ने र आफ्नो राष्ट्रप्रति कर्तव्य,जिम्मेवारी र दायित्ववोध गराउने यस्तो कार्यक्रमप्रति सिंहदरबारमा ढलिमली गर्नेहरुले किन वक्रदृष्टि राखेका होलान्, यो गम्भीर प्रश्न खडा भएको छ। प्रिपेड रिचार्ज घुस खाने महेन्द्र यादवका कर्तुतविरुद्ध उजुरी गर्न गएका सिंचाई ईञ्जिनीयरहरुको फिराद सुनिएन। महेन्द्र यादवले घण्टौंसम्म मुख छाडेर अश्लील र भद्दा गालि गरेको सहन नसकी घुँक्क-घुँक्क रुँदै आएकी सचिव वृन्दा हाँडाको आँखाबाट भल्भल्ति वगेको आँसु देखिएन। कर्मचारी सरुवा गर्दा बगेको पैसाको भेलले झण्डै सिंहदरबार बगाएको थियो, त्यो चिन्ताको बिषय भएन। सुडान मिसनको एपीसी खरिदमा जिम्मेवार ठहरिएका रुबेल चौधरीलाइ जोगाउन सिंहदरबार ढाल बनेर खडा भयो। कर्मचारीहरुले आफ्नो मासिक तलवबाट कट्टी गरी जम्मा गरिदिएको युवा स्वरोजगार कोषको रकम दुरुपयोग भएको सम्बन्धमा कसैले जवाफ दिएको छैन। एनसेल र नेपाल टेलिकमले नविकरण शुल्कवापत तिर्न वुझाउनुपर्ने २० अरब रुपैयाँ राजस्व दाखिला नगरी बाहिरबाहिरै हिसाव मिलान गर्न खोजिएको सवाललाइ सामना गर्न सकिएको छैन। लेखराज भट्ट आपूर्ति मन्त्री हुनु अघिसम्म आयल निगमले जथाभावी तेलको कुपन वाँड्थ्यो। संस्थालाइ पटक्कै आवश्यक नभएका कर्मचारीहरु मनपरी नियुक्ती गरिन्थ्यो। त्यो कार्यवाहीको बिषय बनेन। क्याण्टोन्मेण्टका लडाकुको चेक खोसिएकोले धर्धरी रुँदा सिंहदरबारको हृदय पग्लेन।
गौरमा ७ किलोमिटरसम्म लखेटीलखेटी २८ जनालाइ नरसंहार गर्ने हत्याराहरुको मुद्दा फिर्ता लिइयो। कपिलवस्तुमा विध्वंश मच्चाउने अपराधीहरुलाइ बालिष्टामा विराजमान गराइयो। सम्बिधानसभा निर्वाचनको पूर्वसन्ध्याको वेला दाङमा ७ जनालाइ एकै घान पार्ने जघन्य हत्यारासँग कुम जोडेर वसियो। रुपन्देही,पटखौलीकी किशोरीलाइ सामुहिक बलात्कार गर्ने सोही गाविसका खाजिल, सुनील, जितेन्द्र, आनन्द कुर्मी र धकधई गाविसका शङ्कर धोवीलाइ कार्यवाही गर्नु सट्टा तिनीहरुलाइ संरक्षण गर्ने लाउकेहरुलाइ नै सिंहदरबारमा आशनग्रहण गराइयो। तत्कालीन सभासद हरिलाल थापाले डडेलधुरा, आलिताल गाविस स्थित स्यालचौडी माविका प्रअ महादेव भट्टलाइ अझै राजिनामा गर्दैनस् भन्दै वैठकमै चुटे। त्यसैगरी दुर्गा माविका प्रअ प्रताप धामीलाइ पनि आम भेलामै कुट्न गएका थिए, अरुले छेकेपछि कुट्न त पाएनन्,तर राजिनामा गरेनभने जिउँदै जलाइनेछ भनेर धम्कि दिए। भय र आतङ्कले त्रश्त भएका दुवै प्रअले तुरुन्त राजिनामा गरे, तर हरिलालको पहुँच सोझै सिंहदरबारमा भएकोले उनको रौंपनि हल्लेन। हैन, सिंहदरबारमा को छन् ? गृह मन्त्रालयको गेटबाट छिर्नासाथ जताततै गणेश लामा र सो सरहका अनुहारहरु मात्र भेटिन्छन् र उहाँहरुकै चुरिफुरी देखिन्छ। एसएसपीको ५ पद रिक्त छभने तिनीहरुले अरु १०जना थपेर १५ जनालाइ बढुवा गराइदिन्छन्। पदै नभएको ठाउँमा दुईटा एआइजी नियुक्त गरिदिन्छन्। गणेश लामा र सो सरहकाहरु सिंहदरबारभरी डम्म भएर बसेका छन् र उनीहरुकै हालिमुहाली चलिरहेको छ।
काजी भीम मल्लकी श्रीमतिले भने अनुसार नै भैरहेछकि क्याहो ? आफ्नो देशलाइ माया गर्ने र देशप्रति कर्तव्यवोध र जिम्मेवारीवोध भएका व्यक्तिहरु मात्र आँखाको कसिङ्गर भएका छन्। राष्ट्रप्रति अलिकति मात्रपनि चासो र चिन्ता लिने व्यक्तिलाइ लाञ्छित गर्ने, अपमानित गर्ने, चरित्रहत्या गर्ने र बदनाम गर्ने अभियान चलाइएको छ। जातीय राजनीति गर्नुहुँदैन र जातीय राज्य बनाउने हैन भन्यो भनेर टोपबहादुर रायमाझी, लेखराज भट्ट, नारायणमान विजुक्छेहरुका विरुद्ध ती गणेशमान सरहले ढ्याङ्ग्रो ठोकिरहेछन्। जस्ले जातीय,साम्प्रदायिक राजनीति गर्नुहुँदैन भन्छ त्यस्लाइ सङ्घीयता विरोधी र सङ्घीयता विरोधी भएकोले प्रतिगामी भनेर चित्रित गरिरहेछन्। चित्रबहादुर केसीजीहरुले गरेका कार्यक्रमलाइ गोपाल किरातीजीले ज्ञानेन्द्रको पैसाबाट सञ्चालित भनि ठोकुवा गरे। देशलाइ माया गर्ने व्यक्तिलाइ लखेट्ने अभियान वर्तमान कालखण्डमा मात्र भएको हैन। काजी भीम मल्ल, बहादुर शाह, भिमदत्त पन्त लगायत धेरै देशभक्तहरु किनारा लगाइएका थिए। यही सन्दर्भमा यिनीहरुको कोपभाजन ईमेज एफएम १०३.६ को जनचासो कार्यक्रम र सञ्चालक ठाकुर बेल्वासेमाथि पर्नु नितान्त स्वाभाविक ठान्नुपर्छ; काखी च्यापेको भए शङ्का गर्नुपर्थ्यो।
No comments:
Post a Comment