Pages

Monday, July 9, 2012

जोन केनेथ न्याउसको सफल प्रयोग


जोन केनेथ न्याउसको सफल प्रयोग
                           -आनन्दराम पौडेल
                            anandarampaudel@yahoo.com
            
                     असार २३गते बीबीसी नेपाली सेवामा कृपासूर शेर्पा र कृष्ण भट्टचन बीचको सम्बाद सुनियो। विश्वविद्यालयका प्राध्यापक भएका नाताले कृष्ण भट्टचनजीले तथ्यमा टेकेर सैद्धान्तिक विवेचना गर्नुपर्नेमा भावनाको आवेगमा आक्रोश ओकलिरहनुभएको थियो। २४० बर्षदेखि बाहुन जातीले देश खाए भन्नुहुन्थ्यो र एनेकपा माओवादी, नेका र एमालेको शीर्ष नेतृत्वका बाहुनलाइ घोचिरहनुभएको थियो। कृष्ण भट्टचनजीले भन्नुभए जस्तो बाहुन-बाहुन मिलेर खाएछन् कित भन्नलाइ यी बाहुनजति आत्मकेन्द्रित, अहङ्कारी र दम्भी कोही हुँदैनन्। एउटा बाहुनले अर्को बाहुनलाइ बाहुनको नजरले हेरेको कमसेकम मैले देखेको छैन। यूएनडिपी लगायत धेरै निकायले गरेको अध्ययन-अनुसन्धानका सालैपिच्छेका प्रतिवेदनहरुले पहाडे बाहुनहरुको हैसियत धेरै तल देखाएको छ। शिक्षा,चेतना,पहूँच र आर्थिक हिसावले नेवार, थकाली, मनाङ्गे, गुरुङ, तराईका फर्वार्ड कास्ट (राजपूत,भूमिहार,कायस्थ र ब्राह्मण)हरु पहाडे बाहुन भन्दा धेरै माथि छन्। उहाँले पहाडे बाहुनहरुले खाए भनेर दिनरात चिच्याइरहनुभन्दा तराईका डोम,बाँतर,चिडिमार, हरिजन, धोबी, मुसहर, खत्वे, दुसाध, नुनिया,चमार,बराई,कोइरीहरुको बिषयमा चासो राखिदिए हुन्थ्यो। पहाडका कुसुण्डा, राउटे जस्ता लोपोन्मुख जातीको चिन्ता लिइदिए हुन्थ्यो। विगतमा चर्को विभेद र अत्याचारमा परेका (अझैपनि विभेदको अवशेष वाँकि रहेको) दलीतहरुको वकालत गरिदिए कति कल्याण हुन्थ्यो। छुवाछुत जस्तो राष्ट्रिय कलङ्क विरुद्ध अभियान चलाउन कम्मर कसिदिए राष्ट्रकै इज्जत जोगिन्थ्यो। बँधुवा मजदुर, कमलरी बनाइएका थारूका सन्तानको सोधखोज गरिदिए झन् सुन्दर हुन्थ्यो।
        कृष्ण भट्टचनजीले बाहुनको विरुद्ध जति बिष ओकलेपनि व्यक्ति-व्यक्तिका सोच, समझ, दृष्टिकोण र चेतनाको स्तरअनुसार व्यक्तिले गर्ने वोलिवचन र व्यवहारवाहेक नेपालमा जाति-जातिकै वीचमा विद्वेष र द्वन्द भएको इतिहाँस छैन। ३०-३५ बर्ष अघिसम्म मोफसलका अधिकांश जिल्लामा कलेज थिएनन्। मोफसलबाट काठमाडौं आएर बाहुनका छोराहरु सानोतिनो जागीर खाँदै पढ्दै गर्थे। डेरा नेवार टोलमै हुन्थ्यो। नेवारको घरमा माथिल्लो भ-याङबाट ओर्लंदा “भिनाभी” भनेन भनेर गालि गर्थे। पानीको पाइप नाघ्यो भनेर सराप्थे। वात-वातमा काँठे, पाखे भनिरहन्थे। यस्ता दुर्वचनहरुलाइ एउटा सिङ्गै जातिले अर्को जातिलाइ दपेटेको अर्थमा कहिल्यै कसैले लिएन। व्यक्ति-व्यक्तिका स्वभाव र चेतनास्तर अनुसार स्वत हुनजाने स्थितिको रुपमा लिन्थे। व्यक्ति-व्यक्तिबाट हुन गएका व्यवहारगत कमजोरीलाइ उछालेर सिङ्गै जातिमाथि दोष थोपर्ने र लाञ्छित गर्ने कार्य भएन।
                      ४-५ बर्ष अघिको कुरो हो। एकजना भारतीयसँग भेट भएको थियो। नेपालमा आइएनजिओहरुले आफूखुशी मनपरी गर्न पाएको देखेर छक्क परेका रहेछन्। उनले भनेका थिए, “हुनत म आफैं एउटा आइएनजिओको प्रोजेक्टमा काम गर्छु। यहाँ नेपालमा जस्तो आइएनजिओले आफूखुशी र मनपरी गर्ने कुरा भारतमा कसैले कल्पना पनि गर्दैन। नेपालमा जात, धर्म र सम्प्रदायमा वेलायत, नर्वे, डेनिस चर्च, युरोपियन युनियन र आइएनजिओहरुले जुन लगानि गरिरहेछन् यस्ले अन्ततोगत्वा राष्ट्रलाइ सिध्याउँछ।” त्यसवेला उहाँले सम्वेदनशील ठानेर व्यक्त गरेको चिन्तालाइ हामीले गम्भीरतापुर्वक लिएनौं। युरो र डलर ओइ-याउँदैमा यहाँ जातीय, धार्मिक र साम्प्रदायिक विद्वेष हुँदैन। बरु जुनसुकै नाममा आएपनि डलर र युरो देशभित्रै आयो पनि भनेछौं। कति आलोकाँचो र गैरजिम्मेवार सोच रहेछ हाम्रो भनेर अहिले आत्मग्लानि भैरहेछ। एकल जातीय वर्चस्वकै राज्यहरु निर्माण गर्नुपर्छ भन्ने र गर्नुहुँदैन भन्ने बीचमै रस्साकस्सी भएर जव सम्बिधानसभा विघटन भयो तव मात्र हाम्रो आँखा खुल्यो।
                    कृष्ण भट्टचनजी, अशोक राईजीहरु तराईका आफूलाइ मधेशको मसीहा दावी गर्ने टाठावाठा, सम्भ्रान्तहरुलाइ काखी च्यापेर जातीय पार्टी निर्माण गर्ने अन्तिम तैयारीमा हुनुहुन्छ। उहाँले काखी च्यापेका ती मधेशीहरु उत्पीडित हैनकि त्यहाँका सम्भ्रान्त वर्गका शोषक, ठालूहरु हुन्। नेपालको तराईमा जत्तिको दमन, थिचोमिचो र उत्पीडन अन्य समुदायमा छैन। नेपालको पहाडी क्षेत्रका पछिल्लो पुस्तामा जातीय सोच हराउँदै गएको छ। तर, तराईमा जातीय सोच र विभेद ज्युँकात्यु छ। विश्वमै कहीं नभएको महिलाप्रति हेर्ने सङ्कीर्ण दृष्टिकोण र गरिने तुच्छ व्यवहार मधेशी समुदायमा छ। मधेशवादी पार्टीका नेताकै डरले गर्दा एनेकपा माओवादीले क्रान्तिकारी भूमिसुधार योजनाको फाइल खोल्न डराए। यिनीहरु पहाडमाचाहीं जात-जातको राज्य बनाए हुन्छ, तर तराईचाहीं ‘एक मधेश एक प्रदेश’ हुनुपर्छ भनेर अड्डि कस्छन्। मिथिला, भोजपुरा, अवधी क्षेत्रका भाषा,संस्कृति र सभ्यतालाइ मासेर हिन्दी भाषा लाद्न खोज्छन्। तराईकै समाज र जनजीवन अभिजात्य सामन्ती हिन्दू संस्कारले सर्वाधिक जकडिएको छ। जातीय मुक्तीको नारा चर्काउने कृष्ण भट्टचन, अशोक राईजीहरुले चर्को जातीय उत्पीडकमा दरिएका यी मधेशी नेताहरुसँग गर्ने सहकार्य अत्यन्तै अस्वाभाविक गठवन्धनको रुपमा खड्किएको छ।
          यो गठबन्धन अर्को पाटोबाट पनि अस्वाभाविक देखियो। नेपालका कतिपय जनजातिहरु विगतमा लामो समय शासन गरेका शासक वर्गका छन्। अहिलेपनि युएनडिपिको मानव विकास प्रतिवेदनमा अग्र स्थानमा रहेका नेवार समुदायले काठमाडौं र वरपर करिव ५०० बर्ष शासन गरेका थिए। गोपाल महिषपाल वंशपछि नेपालमा किरात राजाहरुले शासन गरेका थिए। किरात राजाहरु मध्ये राजा यलम्बरको नाम अहिलेपनि चर्चित छ। कतिपय इतिहाँसकारहरुले १८शय बर्षसम्म किरातहरुले राज्य गरेका थिए भन्छन्। तराईमाभने टाठावाठा मधेशीहरुकै प्रभुत्व छ र यिनैको हुकुम चल्छ त्यो बेग्लै कुरो हो, तर नेपालमा यिनीहरुको राज्यसत्ताचाहीं थिएन।
           राष्ट्रको आवश्यकता तथा जनताको आकांक्षा र भावना अनुसार हुन्थ्योभने यस्ता उल्टो र अस्वाभाविक कुराहरु हुँदैनथे। श्रीलङ्कामा तमीलहरुलाइ शुरुमा भारतले उकास्यो र पछि नर्वेले हावा भ-यो। जव उकास्ने र हावा भर्नेहरु पछि हटे र हटाइए, तव तमीलहरुको टेक्नेसमाउने ठाउँ कहीं वाँकि रहेन। जेठको तेश्रो हप्तामा भएको राजदूतहरुको जमघटमा श्रीलङ्काली राजदूत थोपासाला हेवागेले भने, “एकातिर नर्वेजीयनहरु सरकार र तमीलका बीचमा मध्यस्थता गरिरहेका देखिन्थेभने अर्कोतिर नर्वेबाटै अत्याधुनिक हातहतियार तमीलहरुलाइ सप्लाइ भैरहेको थियो। यो थाहा भएपछि यी आइएनजिओ र विदेशीका गतिविधिप्रति हामी धेरै नै सतर्क भयौं।” विदेशीहरुले यसैगरी उकासेर रुवाण्डामा सन १९९४मा गराएको जातीय नरसंहारमा १०० दिनमा ८ लाख मानिस मारिए। “रोमन क्याथोलिक क्रिश्चियनहरुले रुवाण्डामा जातीय घृणा फैलाएर नरसंहार गराएको” भनि बेल्जीयमको अदालतले जुन८, २००१मा फैसला गरेपछि मात्र दुनिञाले तथ्य छर्लङ्ग वुझे। डिएफआइडी, आइडिया इन्टर्नेशनल, डेनिस चर्च, नर्वे, युरोपियन युनियन, डानिडाहरु जहाँ-जहाँ पसेका छन् त्यहाँ जात-जातमा विभाजित गरेर भिडाइदिने गरेका छन्। ९०को दशकमा रुवाण्डामा प्रवेश गरे र त्यहाँ तुत्सी र हुतु जातिलाइ विभाजित गरेर भिडाइदिए। जातीय द्वन्द यतिसम्म चर्क्योकि अर्को जातिको छोरीलाइ बिवाह गर्नेहरुले जातीय निष्ठा जनाउनको लागि पहिला आफ्नै श्रीमतिको हत्या गरे। “फर्स्ट गिभ व्याड नेम, देन किल देम” भन्ने अङ्ग्रेजी उखान वमोजिम  हुतु र तुत्सी एकले अर्कोलाइ मान्छे भन्दैनथे, साङ्ला भन्थे। जसरी अहिले कसैलाइ अपमानित र तिरस्कार गर्नुप-योभने “बाहुन”, “जनै”, “बाहुनवादी”, “जनैवादी” भन्ने गर्छन्। मानौं बाहुन भन्ने जाति अपराधी जाति हो, यो जातिलाइ समाजले घृणा र तिरस्कार गर्छ भन्ने अर्थमा व्यवहार गर्छन्। फेसबुकमा हेर्नुपर्छ, भीमबहादुर तामाङ, धनराज गुरुङ, परशुराम मेघी गुरुङ, प्रा गणेशमान गुरुङ, कृपाशूर शेर्पा, राजेन्द्र राई, कृष्णगोपाल श्रेष्ठ,नारायणमान विजुक्छेहरुको नाम कहीं कतै उल्लेख भयोभने तत्कालै “त्यो फलाना त बाहुन हो” भनिहाल्छन्। दिवङ्गत हुनुभो, नत्र वलबहादुर राईजीलाइ पनि “बाहुन” भनेरै खिसिट्युरी गर्ने थिए।  
           जात-जातमा विभाजित गरेर भिडाउने, अनि आफ्नो स्वार्थ सिद्ध गर्ने ग्राण्डडिजाइन धेरै अघिदेखिको(६३ बर्ष अघिको) र योजनाबद्ध रहेछ भन्ने तथ्य ज्ञानमणि नेपालले हालसालै प्रकाशित गर्नुभएको “गणतन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्म” पुस्तकको पेज १६३मा पुगेपछि खुल्छ। सिआइएको भूतपूर्व वरिष्ठ अधिकृत जोन केनेथ न्याउसले लेखेको आत्मसंस्मरणात्मक कृति “शितयुद्धका टुहुरा-अमेरिकी र तिब्बतीहरुको सङ्घर्ष” पुस्तकबाट ज्ञानमणि नेपालजीले लामै उद्धरण राख्नुभएको छ। जस्को सानो अंश यस्तो छ, “हिमालय पर्वत श्रृङ्खलाको फेदीमा बसी जातीय स्वायत्तताको सूत्र प्रतिपादन गरेको हुँ। म दावाका साथ भन्छुकि नेपाललगायत विश्वमै जातीय मुक्तिको नारा उठाउने पहिलो व्यक्ति म हुँ। त्यसलाइ व्यवहारमा प्रयोग गर्ने मेरो संस्था सिआइएलाइ म सधैं धन्यवाद दिइरहने छु।” सँगसँगै जोनले “कम्युनिष्टहरु सिआइएको यही सूत्र बोकेर हिंडिरहेछन्, यस्ले मलाइ अत्यधिक खुशी दिईरहेछ” भनेर पनि लेखेका छन्।
                     हे जोन केनेथ न्याउस, तिमी खुशी छौ, तिम्रो सिआइए झन् खुशी छ। तिमीहरु जति-जति हर्षित हुँदै जान्छौ, हामी त्यत्तिकै दु:खी हुँदै गैरहेछौं।
     

No comments:

Post a Comment