Pages

Saturday, July 14, 2012

अखवारबिनाको सरकार ।


अखवारबिनाको सरकार
                 -आनन्दराम पौडेल
                  anandarampaudel@yahoo.com      


ईमेज एफएमले बिहान ८ देखि ९ वजेसम्म जनचासो कार्यक्रम सञ्चालन गर्थ्यो। त्यस्मा दुइटा फोन खुला राखिन्थ्यो र जनताले निर्वाध तवरले गुनासो राख्न पाउँथे। फोनमा धेरैले पीडा  ओकल्थे, गुनासो पोख्थे र कसैकसैले आलोचना पनि गर्थे। दैनिक जीवनमा व्यक्त भैरहने आम टीकाटिप्पणीहरु नै जनचासोको फोनबाट राखिरहेका हुन्थे। जनताले व्यक्त गर्ने पीडा,गुनासो र आलोचना सरकारलाइ भारी भो। २ महिनाअघि सरकारले ईमेज एफएमका मालिकलाइ वोलायो र जनचासो कार्यक्रम तुरुन्त बन्द गर्नु भनेर आदेश ग-यो। त्यतिले नपुगेर विद्युतीय सञ्चार माध्यमहरुलाइ बन्द गर्न सकिने भनि सूचना प्रकाशित ग-यो। सँगसँगै पत्रकार महासङ्घका पदाधिकारीहरुलाइ वोलाएर सम्झाउनेवुझाउने कामपनि ग-यो।
         विश्व इतिहासमै के देखिएको छभने जव सत्तावानको मस्तिष्कमा सर्वसत्तावादी चिन्तन पलाउँछ तव उस्ले सर्वप्रथम मेडीयालाइ कस्न थाल्छ। पाकिस्तानमा जियाउल हकको सरकारले आफ्नो शासनकालभरी २०० भन्दा बढी अखवार बन्द गरे। पाकिस्तान बन्नासाथ सरकार हात धोएर रावलपिण्डीबाट प्रकाशित हुने हिन्दू अखवार “वसन्त” को पछि लाग्यो। ‘वसन्त’का मालिक हुकुमचन्दकी श्रीमति र छोरीलाइ अपहरण गरेर जवर्जस्ति मुसलमान बनाइयो। भुट्टो आफूलाइ समाजवादी भन्थे। तर यिनैले पञ्जाब, सीमाप्रान्त र बलूचिस्तानका ३ दर्जनभन्दा बढी अखवार बन्द गराए। अलिकति मात्रै आलोचनात्मक देखियोभने त्यो अखवारलाइ सरकारी बिज्ञापन पूरै बन्द गरिदिन्थे। अयूब खानले त भएभरका अखवारलाइ एउटा ट्रष्टको अधीनमा राखेका थिए। ठूलै धनरासी र आफ्नो जीवन पूरै अखवारमै समर्पित गरेका मियाँ इफ्तेखान उदीनले त आत्महत्या नै गरे।
       मेडीयालाइ ठेगान लाउन प-योभने सरकार प्रेस काउन्सील वा अदालततर्फको बाटो लाग्दैन, प्रशासनिक हतियार प्रयोग गर्छ। द्वन्दकालमा यिनै बाबुराम भट्टराईजीको लेखले विझायो भनेर गिरिजाप्रसाद कोइरालाजीले कान्तिपुरका सम्पादक र प्रकाशकमाथि पुलिस लगाइदिएका थिए। २०६१ माघ १९ गतेपछि ज्ञानेन्द्रले मेडीयाको घाँटीमा कसेको सुर्किनी त अहिलेसम्म सवैले महसुस गरिरहेका छन्। भारतमा इण्डियन एक्स्प्रेसले अलि बढी नै सत्य लेख्न थाल्यो भनेर राजीव गान्धीजी आयकर अधिकारीलाइ छापा मार्न लगाउँथे। पाकिस्तानमा दैनिक ‘जङ्ग’लाइ दाम्लो बाँध्न सरकारले कुनै कसर वाँकि राखेन। सत्तावानहरु आफ्नो मनोनुकूलका खवर बढाईचढाई ब्यानर न्यूज बनेर आवोस, तर प्रतिपक्षको खवर छेउकुनामा पनि नपरोस् भन्ने इच्छा राख्छन्। प्रतिपक्षी पार्टीका आमसभाका दृष्य समेत् प्रशारण गरेको भनेर नेपाल टेलिभीजनका दिपकमणि धिताललाइ महाप्रवन्धकको जिम्मेवारीबाट हटाएका थिए।
              लोकतान्त्रिक सरकारको आफ्नै मेडीया हुनुपर्छकि पर्दैन भनेर विहङ्गम वहस चलिरहेको समयमा सरकारले यस्तो निर्णय गरेको छ। सरकारलाइ अखवार, टेलिभीजन च्यानल किन चाहियो ? भन्ने प्रश्न उठेको छ। सरकारले राष्ट्रको कार्यभार सम्हाल्ने हो। कर्तव्य पूरा गर्ने हो। सरकारले कर्म गरे पुग्छ, प्रचार गरिरहनु पर्दैन। सरकारको अभिव्यक्ति उस्कै कर्महरु हुन्। सरकार उस्का कामबाट देखिने हो, हल्ला गरेर होइन। सरकारले चालेका हरेक कदमको प्रचार गर्न दुनिञाभरीका मेडीया तंतैयार भएर वसेका छँदैछन्। छुट्टै सरकारी अखवार र टेलिभीजनको जोगाड गरिरहनु पर्दैन। जव-जव सरकार कर्तव्यच्यूत हुँदै जान्छ तव बढी नै हल्ला मच्चाउनुपर्ने हुन्छ। कर्तव्यच्यूतको खाल्डो दुस्प्रचारले पुर्नुपर्छ। त्यसैको लागि सरकारले आफ्नै मेडीयाको बन्दोवस्त गर्छ। थोमस पेन सरकारको अधिकार हुँदैन, कर्तव्य मात्र हुन्छ भन्छन्। अधिकार त जीवित प्राणीको हुन्छ र त्यही अधिकारलाइ व्यवस्थित प्रयोग गर्ने वातावरण बनाइदिनु सरकारको जिम्मेवारी हुन्छ।   
          हाम्रो सरकार परिपक्व हैन आलोकाँचो रहेछ। परिपक्व हुन्थ्योभने जस्को विचार र आवाजलाइ जति दवाइन्छ उ त्यति नै हिरो बन्छ भन्ने सामाजिक मनोविज्ञानलाइ वुझेका हुन्थे। कुनैपनि बिषयबस्तुलाइ जति लुकाइन्छ र छोपछाप गरिन्छ, त्यसप्रतिको जिज्ञाशा त्यति नै बढ्छ। शुरुमै खुलेर प्रचारप्रसार गरिएको बिज्ञापन भन्दा ३-४ दिनसम्म कौतुहल जगाएर बल्ल खुलाइएको बिषयले धेरै गुना बढी र गहीरो प्रभाव पार्छ। इमेज एफएमको जनचासो कार्यक्रम अन्य रेडीयोका अरु कार्यक्रम जस्तै सामान्य तवरले चलिरहेको थियो। तर, जव प्रतिबन्ध लाग्यो तव यस्ले अकल्पनीय बिष्फोटक चर्चा पायो। सत्ताले जुन विचारलाइ दवाउँछ, सवैको आकर्षण र चासो त्यतै केन्द्रीत हुन्छ। यसरी सरकारले जानीनजानी अनाहकमा कसैलाइ हिरो बनाइरहेको हुन्छ। कुनैपनि विचारलाइ दवाउनु सैद्धान्तिक हिसावले पनि गलत छ। मानव सभ्यताको इतिहाँस सिधा रेखामा एकनासले अघि बढेको छैन। दायाँबायाँ र माथितल समेत भएर आएको छ। अस्तिको समाजले उपयुक्त ठानेको विचार हिजो गलत ठहरिएको छ। हिजो सही भनिएको दृष्टिकोण आज अनुपयोगी भैराखेको छ। हिजोका अनुभवबाट पाठ सिक्ने होभने आज हामीले पन्छाएका र दबाएका स्वरहरु भोलि स्थापित हुन सक्छन् भनेर सोच्नुपर्दछ। कसैलाइ जति बढी दवाइन्छ त्यो झन् चौगुना बिष्फोटक भएर प्रकट हुन्छ।
               समष्टीमा हेर्ने होभने यो समग्र जीवन र जगत परिवर्तनशील छ। स्थितिको परिवर्तनसँगै मान्छेका विचार, दृष्टिकोण र भावनामा पनि परिवर्तन आइराखेको हुन्छ। जनताका परिवर्तित भावना, विचार र इच्छाहरु मेडीया मार्फत् अभिव्यक्त हुन्छन्। जनभावना र जनताको इच्छा अनुसार चल्ने भनिएको सरकार यदि इमान्दार होभने उस्ले जनभावना वुझ्दैरहनुपर्ने हुन्छ र त्यस्को लागि मेडीया जति सहयोगी अरु हुनैसक्दैन। सरकारले लिने निर्णय र राज्यले निर्माण गर्ने नीतिहरु सामाजिक भावना, विचार र दृष्टिकोणका औपचारिक अभिव्यक्ति मात्र हुन्। जनभावनालाइ अगाडी बढाएर र सरकारका कृयाकलापलाइ जनसमक्ष पु-याएर मेडीयाले सेतुको काम गरिराखेको हुन्छ। जनमुखी सरकार होभने उस्लाइ स्वतन्त्र मेडीया चाहिन्छ, र आत्ममुखी सरकार होभने मुठ्ठीको मेडीया चाहिन्छ। सरकारको, पार्टीहरुको र शक्तिशाली नेताहरुको मात्र मेडीया हुने र स्वतन्त्र मेडीया नहुने होभने जनताका विचार गुम्सिएर रहनेछन्। जनताको भावना र दृष्टिकोण कुण्ठित भएर रहने होभने तिनै शक्तिशालीहरुको मात्र विचार प्रवाह भैरहेको हुन्छ। जनताको विचार अगाडी नआएपछि शक्तिशालीकै विचार नै राष्ट्रको विचार बनेर स्थापित हुन्छ। त्यसैभएर जेफर्सनले, “अखवारबिनाको सरकार वा सरकारबिनाको अखवार मध्ये एउटा रोज्नुपरेमा म नहिच्किचाइकन पछिल्लोलाइ रोज्नेछु” भनेका हुन्। जेफर्सनको यो वाक्यभित्र लुकेको मर्मलाइ मात्र हाम्रो सरकारले वुझिदिए पुग्थ्यो।

       

No comments:

Post a Comment