Pages

Monday, August 20, 2012

सिंहावलोकन।


सिंहावलोकन
         -आनन्दराम पौडेल\ anandarampaudel@yahoo.com
       

सधैं आफैंले नेतालाइ फोन गरेर समय माग्नुपर्थ्यो तर, आज कुसेऔंसीका दिन उपेन्द्र यादवले नै फोन गरेर चिया खान वोलाए। पत्रकारको लागि यो फरक स्थिति देखा प-यो।
“तपाईं आजकल राष्ट्रिय राजनीतिको दृष्यमा हुनुहुन्न नि ?” फोन गरेर वोलाएको भएपनि पहिलो प्रश्न पत्रकारले नै राख्यो।
“म आजकाल विगतको सिंहावलोकन र आत्मसमीक्षा गरिरहेछु। त्यसैले चर्चाको केन्द्रमा नभएको हुँ।”
“सिंहावलोकन र आत्मसमीक्षाको निचोड भन्न मिल्छ ?”
“मिल्छ हैन, तपाईंहरु मार्फत् जनतामा पुग्नुपर्छ। अझ ठूला पार्टीका नेताहरुले त गम्भीरतापुर्वक मनन गर्नुपर्छ। यसैको लागि नै मैले आज तपाईंलाइ सम्झेको हुँ।” उपेन्द्र यादवको पहिलो च्वाइसमा परेकोमा पत्रकारलाइ अलिकति गर्वानुभूति भयो। उत्सुकता झन् बढ्यो। पत्रकारले  भ्वाइस रेकर्ड मिलाए। उपेन्द्र यादव भन्न थाले:
“ (१) अधिकांश कम्युनिष्ट पार्टीका नेताहरुले सर्वहाराको लागि भन्दै आफ्नै लागि आन्दोलन गर्दारहेछन्, यति बुझ्न मलाइ धेरै बर्ष लाग्यो।  (२) तराईमा आन्दोलन सफल भएपछि घाँसपात, पत्कर, कुँडर, फोहोर र रछान सवै नजिकिन आए, ती सवैलाइ पार्टीमा हुल्यौं। (३) जनताको नजरबाट गिरेका र समाजबाट तिरस्कृत व्यक्तिहरुलाइ निर्वाचनमा टिकट दियौं। (४) नियत खराव भएका व्यक्तिहरुले पार्टीलाइ आफ्नो कुत्सित स्वार्थसिद्ध गर्ने माध्यम बनाइरहेको देख्दापनि कुनै कार्यवाही गरिएन। (५) जसरी भएपनि र जस्ले नेतृत्व गरेको भएपनि सरकारमै जान मात्र आतुर भए र तिनीहरु नै हावी भए। (६) सिद्धान्तनिष्ठ र इमान्दार व्यक्तिको कदर गरिएन। (७) सरकारका कुरालाइ पत्याइयो र सरकारले दिएका आश्वासनमा विश्वास गरियो। (८) जथाभावी घटक र व्यक्तिहरुलाइ समेटेर मोर्चा बनाइयो। (९) सम्बिधान निर्माणमा उत्पीडित वर्गको ख्याल गरिएन। (१०) भ्रष्ट पृठभूमि र गलत विचार वोकेका व्यक्तिलाइ चिन्ने प्रयत्न गरिएन।” यति भनेर उपेन्द्र यादव टक्क रोकिए। पत्रकारले एकपल्ट ऊपेन्द्र यादवको अनुहारका भाव पढ्यो, निकै गम्भीर पायो। कौतुहल मेटिएन। सोध्यो, “रोगको निदान (डाइग्नोसिस) भैसकेछ, उपचारतिर लाग्नुभो त ?”
“यहीं आएर म रोकिएको छु। झ्याप्पै ब्रेक लागेको छ। यो पाटोचाहीं निकै जटील, उकालो र सकसपूर्ण रहेछ। म एक्लैले सक्दिन, कसैले साथ दिने सम्भावना छैन।” पत्रकारले उपेन्द्रलाइ अझै नियालेर हे-यो। शुरुमा उपेन्द्रले हल्का मुस्कान समेत् दिन भ्याएका थिए। तर, अहिले नियाल्दा उपेन्द्र निकै गलेका देखिए। कता-कता सहानुभूति पनि पलायो। ठूला पार्टीका ठूला नेताले त आत्मसमीक्षा गर्दैनन्, गल्तिकमजोरी स्वीकार्दैनन्। यिनले यति गरे। योपनि ठूलो कुरो हो।
“आत्मसमीक्षा गर्नु र गल्तिकमजोरी स्वीकार्नु धेरै ठूलो कुरो हो। यस्लाइ जनतासमक्ष पु-याउन हाम्रो मेडियाले साथ दिनेछ।” यति भनेर पत्रकार विदा भएर हिंड्यो।


No comments:

Post a Comment