Pages

Tuesday, August 28, 2012

Good for nothing.


गुड फर नथिङ
          -आनन्दराम पौडेल \  anandarampaudel@yahoo.com

“बुढो पोईको ओछ्यान लाउन जाँगर मरी आउँछ” भन्ने उखान झैं हाम्रा पत्रकारलाइ सुशील कोइरालाकहाँ जाने इच्छा कहिल्यै जागृत भएन। भस्याकभुसुक निभेको अँगेनोजस्ता बुढासँग नयाँ कुरा केही हुँदैनथ्यो। सधैं उही थोत्रा गनगन कति सुन्नु भनेरपनि पाइला कहिल्यै अघि बढेनन्। २-३ दिनदेखि सम्पादकले सधैं प्रचण्ड र बाबुरामको चर्तिकला मात्र कति छाप्नु ? पाठकहरु पनि वाक्क भैसके। कांग्रेसको सभापतिलाइ भेट्नुहोस् न भनेकाले समय लिएरै आज सुशील कोइरालाको डेरामा आइपुगेको थियो। समय मिल्नासाथ कत्ति वेर नगरी प्रश्न अगाडी सारिहाल्यो।
“तपाईं त असफल सभापति हुनुभयो त ?”
“के आधारमा यस्तो भन्नुभयो ?”
“पार्टीभित्रको विवाद मिलाउन सक्नुभएन। आन्तरिक व्यवस्थापन पनि हुन सकेन।” पत्रकारले आधार वतायो।
“कामै गर्न दिंदैनन्। निहूँ मात्रै खोज्छन्। सधैं कचिङ्गल गर्छन्। उहाँहरुको चित्त वुझाउन खोज्दाखोज्दै पदाधिकारी बनाउनै ९ महिना लाग्यो। २ बर्ष पुग्नलाग्दा बल्ल आएर केन्द्रीय विभागहरु गठन गरियो। अझै केन्द्रीय कमिटीमा ३-४ जना सदस्यहरु मनोनित गर्न वाँकि छ। डेगै चल्न नदिएपछि कसरी काम हुन्छ ?”
“तपाईंको काम गर्ने शैलीपनि त लोकतान्त्रिक भएन ?”
“जस्ले सिङ्गै जीवन लोकतन्त्रको लागि अर्पण गरेको छ, त्यसैलाइ तँ लोकतान्त्रिक भैनस् भन्नहुन्छ। मेरोलागि यो अपमानजनक प्रश्न हो। कमसेकम मेरो पृष्भूमि वुझ्नुहोस्। मेरो उमेर हेर्नुहोस्। केही त ख्याल गर्नुहोस्।” बुढाका कुण्ठा आक्रोश बनेर पोखिए।
“भातृसङ्गठनहरुलाइ एक्कासि भङ्ग गर्नु सट्टा ‘६ महिनाभित्र अधिवेशन गर’ भनेर केन्द्रीय कमिटीबाट निर्देशन दिएको भए कसैले प्रश्न उठाउन पाउँदैनथ्यो। ठाडै भङ्ग गरिदिनुभो, त्यसैलाइ अलोकतान्त्रिक भनेको।” पत्रकारले प्रस्टिकरण दियो।
“तपाईं पत्रकारहरु खालि यस्तै मिनिमेख निकाल्नुहुन्छ। ती भातृसङ्गठनहरुले फिटिक्कै काम गरेका होइनन्। माखो मारेनन्। बैठक त वस्दैनथे। न कुनै योजना छ, नत कार्यक्रम छ, नत अभियानै छ। सङ्गठन पूरै असरल्ल छ। यस्तो कन्तविजोग कतिञ्जेल हेर्ने ? लौ, तपाईं नै भन्नुहोस् त ? त्यो अकर्मण्यता र गतिहीनताको बिषयमाचाहीं तपाईंहरुको कुनै कमेण्ट हुँदैन ?” बुढाले फेरी प्रश्नकै झटारो हाने।
“प्रचण्डले सम्बिधानसभा पुनर्स्थापनाको प्रस्ताव अगाडी सार्नासाथ त्यस्को भोलिपल्टैदेखि शेरबहादुरजीले त्यही नारा भट्याउँदै हिंडे। संसदको निर्वाचन, सम्बिधानसभाको निर्वाचन वा पुनर्स्थापनामध्ये तपाईंहरुको प्रस्ट दृष्टिकोणचाहीं केहो ?”
“यही त फसाद छ। पार्टीले प्रस्ट दृष्टिकोण बनाउन नपाउँदै अर्कैको एजेण्डा बोकेर हिंड्नुहुन्छ उहाँहरु। त्यही एजेण्डा बोकिदिएवापत प्रचण्डको नजरमा उहाँहरु असल हुनुभएको छ र मचाहीं खराव। प्रचण्डजी अर्काको पार्टीमा खेल्न शिपालु हुनुहुन्छ। उहाँको खेलमा हामी गोटी बनेकोचाहीं हामी आफैंलाइ अत्तोपत्तो छैन।” यो अभिव्यक्तिसँगै सुस्केराका उच्छ्वासपनि आएको महसुस ग-यो हाम्रा पत्रकारले। जे भएपनि बुढा पवित्र मान्छे हुन्। लोभ गरेनन्। बढी महत्वाकांक्षा पनि राखेका होइनन्। तुलसी गिरीको पनि पिए भएर काम गरे। लामो समय गिरिजा कोइरालाको आज्ञापालक बने। फस्टम्यान हुने ल्याकत विकास गर्नै पाएनन्। यो विवशतालाइ वुझिदिनुपर्छ भन्ने ठानेर हाम्रो पत्रकारले सुशीलदालाइ झुकेर प्रणाम ग-यो र बिदा भयो।


No comments:

Post a Comment