एक बर्षे सम्बाद
-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com
एक बर्षको शासनकालमा भएका उपलव्धी बखान गर्नका लागि देशवासीको नाममा सम्बोधन गर्नलाग्दा नै यस्मा पत्रकारहरुले सोध्ने प्रश्नका बारेमा बाबुराम भट्टराईले अनुमान गरिसकेका थिए। समयाभावले पत्रकारले प्रश्न सोध्न भ्याएनन् र बाबुरामले पनि जवाफ दिन पाएनन्। सोधिनैलागेका र जवाफ दिन ठीक्क पारिएका सवालजवाफ यी थिए।
“काठमाडौंका गल्लीहरु विस्तार गर्नुबाहेक तपाईंको कार्यकालमा केही उपलव्धी देखिएन ?”
“मलाइ कामै गर्न दिएनन्।”
“कस्ले रोक्यो ?”
“केही ग-यो, अदालतले स्टे-अर्डर गरिहाल्छ।”
“आफैंले बनाएका ऐनकानुनभन्दा बाहिर गएर काम गर्नुहुन्छ, अनि अदालतले उत्प्रेषण, निषेधाज्ञा सवै जारी गर्छ। विधि, प्रकृया नमिची काम गर्नुहोस् त,अदालत प्रवेशै गर्दैन।”
“ऐननियमभित्र रहेर र प्रकृया पु-याएर काम गर्नलाइ त बाबुराम किन चाहियो ? यसरी त जस्लेपनि काम गरिहाल्छनि। हामीले क्रमभङ्ग गर्ने भनेकै थियौं। यहाँ वुझाईमा कमि देखिन्छ।”
“तपाईंले सम्बोधनमा सवै दोष अरुको थाप्लामा हाल्नुभएको छ र आफू पानीमाथिको ओभानो बन्नुभएको छ। काम नहुनुमा सवै दोष अरुको मात्रै होत ? तपाईंको कमिकमजोरी केही छैन ?”
“मैले त गर्न खोजेकै थिएँ। शान्तिप्रकृया टुङ्गोमा पु-याउन खोज्दैथिएँ। यता सम्बिधानसभा भङ्ग गरिदिए। बार्षिक बजेट ल्याउन दिएनन्।”
“हठात्,एक्कासि क्याण्टोन्मेण्टको जिम्मा नेपाली सेनालाइ दिनुभो। किन त्यसरी आफ्नै जनमुक्ति सेनालाइ सधैं वल्झिरहने गहीरो घाउ लगाइदिनुभो ?”
“लडाकुको लागि निकासा भएको रकमको हिसाव खोज्न थाले। त्यहाँ बवाल मच्चिने सम्भावना भयो। र, अपृय कदम चाल्न बाध्य भइयो।”
“सम्बिधानसभा भङ्ग गरिदिए भन्नुभो। सम्बिधानसभा त तपाईं आफैंले भङ्ग गरिदिनुभएको हो। किन अरुलाइ दोष दिनुहुन्छ ?”
“कांग्रेस, एमालेहरुले वहुजातीय भने, एकल जातीय वर्चस्वको सङ्घीयता बनाउन मानेनन्। यत्ति कारणले सम्बिधान जारी हुन नसकेको त जगजाहेरै छनि।”
“सम्बिधानसभा निर्वाचनको समयमा चुनावी घोषणापत्रसँगै तपाईंहरुले १३प्रदेशको सङ्घीय खाका घर-घर पु-याउनुभएको थियो। जेठ १३ गतेका दिन तपाईंहरुको यही खाकालाइ काङ्ग्रेस,एमालेले मञ्जुर गरेको थियो। आफ्नै खाकालाइ तपाईंहरु आफैंलेचाहीं किन पन्छाउनुभएकोनि ?”
“जेठ १३ गते कांग्रेस, एमालेले राजनीति गरे। हामीले जनअनुमोदन गराएको खाकामा सहमति जनाएर हामीलाइ निकै अप्ठ्यारोमा पारिदिए। कांग्रेस र एमाले यति बाठा भैसके होलान् भनेर हामीले सोचेका थिएनौं।”
“यस्मा तपाईंहरुलाइ के अप्ठ्यारो प–यो ?”
“लौ, त्यो खाकालाइ सम्बिधानमा राख्न खोजेको भए त मधेशीहरु विच्किहाल्थेनि। त्यो खाकामा त कोचिला, मिथिला, भोजपुरा, अवधहरु गरी तराईमा ५ प्रदेश छन्। उहाँहरुले एक मधेश प्रदेशको हठ र जिद्दी छाड्नुभएको छैन।”
“जेठको दोश्रो हप्तासम्ममा कांग्रेस र एमाले विचरा,ववुरा, ओईलाएको साग भैसकेका थिए। एकल जातीय वर्चस्वको सङ्घीयता सहितको सम्बिधान जारी गर्नुहोस् भनि आफूलाइ जनजाति भन्ने कांग्रेस, एमालेका समेत् गरी ४१८ जना सभासदहरुले हस्ताक्षर गरेर दिएका थिए। यत्रो वल मिलेपछि त तपाईंहरुले सम्बिधान पक्का जारी गर्नुहोला भनेर दुनिञा ढुक्क भैसकेको थियो। आखीर रोक्योचाहीं केले ?”
“राजकाजको कुरो सवै भन्न मिल्दैन। आज सम्बाद यहीं टुङ्ग्याउँ।” यति भनेर बाबुराम उठिहाले।
No comments:
Post a Comment