Pages

Sunday, September 23, 2012

क्षतविक्षत सपना।


क्षतविक्षत सपना
             आनन्दराम पौडेल \  anandarampaudel@yahoo.com


इटहरी नगरपालिका कार्यालय अगाडी गणेश बुढाथोकीको होटेलमा सीपी दाहालले जुठो भाँडा माझिसकेर हातगोडा धोए। हातगोडा धुँदा आफ्ना औंलाका कापहरु सेतै पल्टिएको देखे। सधैं भाँडा माझिसकेर हतार-हतार हातगोडा धुन्थे, त्यसैले त्यता नजर परेको थिएन। आज अलि फुर्सदमा नियालेर हेर्दा देखे- औंलाका कापहरु त पानीले खाइसकेछ। पानीले खाएका औंलाका काप हेर्दाहेर्दै आफ्नै जीवनभित्र घोत्लिए। आफ्नै विगत सम्झिए। २०५९ सालतिर हो, युवावयको सङ्घारमा नटेक्दै जनयुद्धमा लागें। सधैं युद्धमोर्चाको अग्रपङ्क्तिमा रहेर लडें। धेरै मोर्चाको नेतृत्व त म आफैंले गरेको थिएँ। युद्धमैदानमा मैले देखाएको साहस र कौशलताको सवैले प्रशंसा गर्थे। त्यही भएर मलाइ छिटै सेक्शन कमाण्डर बनाइदिएका पनि हुन्। २०६२ सालमा सुनसरीको चाँदवेलामा सेनाको गोली लागेर नढलेकोभए म अहिले क्याण्टोन्मेण्टमा हुन्थेंहोला। गोलीपनि एउटा हैन तीनचारवटै पसेछ। साथिहरुले म-यो भन्ठानेछन्। मलाइ त्यत्तिकै छाडेर भाग्न लागेका रहेछन्। एकजना साथिले निकैबेर छामछुम गरेछ। कता-कता मुटुको धड्कन चलेको र धुकधुकी सास फेला पारेछ। डोकोमा हालेर बोकेर ल्याएछन् र बीपी मेमोरियल अस्पताल,धरानमा ल्याएर छाडेछन्। त्यहाँका डाक्टरहरुको गुन यो जुनीमा मैले तिर्न सक्दिन। तिनीहरुले धेरै मिहेनत गरेर मलाइ वचाए। म-यो भनेर माया मारिसकेको मान्छेलाइ पुनर्जीवन दिए। दुईटा गोली अझै शरिरभित्रै छ। देशमा लोकतन्त्र र अस्पतालबाट मेरो डिस्चार्ज सँगसँगैजस्तो भयो। लोकतन्त्र आएको खुशीले म यति फुरुङ्ग भएको थिएँकि मैले म भर्खर अस्पतालबाट डिस्चार्ज भएको र दुइटा गोली शरीरमै रहेको व्यक्ति हुँ भन्नेसमेत् बिर्सें। बिहानैदेखि पार्टी कार्यालय जान्थें र साँझ परेपछि मात्र फर्कन्थें। पार्टीको कुनैपनि कार्यक्रममा म सवैभन्दा अगाडी पुगिसकेको हुन्थें। त्यस दौरान धेरै नेतासँग भेट भयो। सवैसँग मैले आफ्नो समस्या राखें। अरुभन्दापनि शरीरभित्र रहेको गोलीहरु मात्रै निकाल्न पाए हुन्थ्यो भनेर केन्द्रीय तहका कति नेतासँग त याचना नै गरें। उपचार गराइदिने त कता हो कता, कुरासमेत् सुन्न चाहेनन्। निर्वाचनपछि त पार्टीमा झन् रड्गिबिरङ्गी मान्छे भरिए। ती रङ्गीन मान्छेलाइ पार्टी प्रवेश गराउने कार्यक्रममा पार्टी कार्यालयमै पेटभरी मासुचिउरा खान पाइन्थ्यो। राज्यकमिटी र जिल्ला कमिटीका नेताहरु तिनै चैते र कात्तिकेहरुसँग अपरान्ह ४ वजेदेखि नै होटलमा रङ्गीन थाले। पार्टीमा तिनै चैतेहरुको हालहुकूम चल्न थाल्यो। एउटा चैतेले त यही होटेलको पश्चिमतर्फ गगनचुम्बी महल खडा गरेको छ। पार्टीको आडमा त्यस्ले ४-५ करोड कमायो भन्ने सुनें। र, त्यही पैसाले यत्रो गगनचुम्बी महल खडा ग-यो। यो होटेलमा बसुञ्जेल नहेरुँ भन्दापनि त्यो महलमा आँखा परिहाल्छ। पार्टी कार्यालय धाउञ्जेल र पार्टी काममा कुदुञ्जेलसम्म हामी सवै यही गणेश बुढाथोकीको होटलमा खाजा खान आउँथ्यौं। यो होटल सफामात्र हैन, यहाँका परिकार स्वादिष्टपनि छन्। तुलनात्मक रुपमा सस्तोपनि छ। मैले यो होटेलमा भाँडा माझ्न थालेपछि उहाँहरु आउनै छाड्नुभो। ‘सीपी भाँडा माझिरहेको हुन्छ, त्यहीं बसेर कसरी खानु’ भन्छन्’रे साहुसँग। हेटौंडातिरका स्तम्भलेखकले १ हप्ताअघि मेरो बिषयमा फेसबुकमा स्टाटस लेखेछन्। त्यस्ले एकातिर मप्रति चासो राख्ने जमात ह्वात्तै बढेको छभने अर्कोतिर सिपीलाइ हटाउनु भनेर हाम्रा कामरेडहरुले साहुलाइ दबाव दिन थालेका छन्। होटेल साहुले धेरै त कहाँ दिएका छन् र, मासिक एक हजार न हो। छोरी नभएकोभए अर्कै सूर गरिसक्थेंहोला। श्रीमतिको पनि कमाई धेरै छैन। छोरीलाइ कसरी पढाउने होला भनेर सोचिरहन्छु। छोरीको पढाई र शरीरको गोली, यही दुइटा चिन्ता छ। यति सोच्दासोच्दै सीपीको नजर फेरी त्यही गगनचुम्बी महलमा प-यो। लामो सास ताने, खू..ईय गरे र जुरुक्क उठेर सुसेधन्दामा भिडे।
सेप्टेम्बर 23, 2012  





















     

No comments:

Post a Comment