Pages

Monday, October 1, 2012

दम्भको वोझ


दम्भको वोझ
                      -आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com


“के उहाँलाइ मेरो छेउमा राख्न खोज्नुभएको ? मेरो हाराहारीमा बस्न उहाँको हैसियत पुग्छ ?” सँगै ड्यासमा बस्न आएका परशुराम मेघी गुरुङतिर औंल्याउँदै अग्नि सापकोटाले भने। राष्ट्रिय सूचना आयोगले ५ बर्षे रणनीतिको मस्यौदामाथि पार्टीका नेताहरुसँग छलफल गर्न गोष्ठीको आयोजना गरेको थियो। औपचारिक कार्यक्रम शुरुमात्र भएको थियो, हैसियतको प्रश्न उठाएर अग्निजी जुरुक्क उठे, र हिंडिपनिहाले। आयोजकहरु अक्क-न-बक्क परे। केही सोच्नै भ्याएनन्। हेरेकोहे-यै भए। नेपाली कांग्रेस र अरु पार्टीका नेतालाइ ड्यासमा वोलाउनसमेत् भ्याएका थिएनन्। यस्तो परिस्थितिको कल्पना कसैले गरेको थिएन। हरेक अनौठो परिस्थितिलाइ अवसर ठान्ने हाम्रो पत्रकारले मौका किन चुकाउँथ्यो, पछि लागिहाल्यो। गाडी चढ्नलागेका अग्निजीले पत्रकारलाइ आफ्नै गाडीमा राखेर हिंडे। एक्कैचोटी पेरिसडाँडामा प्रवक्ताको कार्यकक्षमा पुगेर भने, “ल भन्नुहोस्, तपाईंको प्रश्न के हो ?”
“परशुराम मेघीगुरुङलाइ तपाईंसँगै राखे’रे भन्दैमा कार्यक्रमै बहिस्कार गर्नु उचित हो र ?” पत्रकारले प्रश्न राख्यो।
“हाम्रो महान गौरवशाली पार्टीको मानमर्यादा, इज्जत,प्रतिष्ठा र उँचाईलाइ कायम राख्नका लागिपनि यति गर्न जरुरी थियो। ल तपाईं नै भन्नुहोस् त, कहाँ हाम्रो महान गौरवशाली पार्टी एनेकपा माओवादी र कहाँ नेकपा एमाले ? तुलनै हुन सक्दैन। त्यहाँमाथि सम्बिधानसभाको निर्वाचनले त सवैको हैसियत प्रष्ट पारिदिएकै छ। सम्बिधानसभामा उपस्थितिको हिसावले मात्र भन्नेहोभने हाम्रो तुलनामा नेकपा एमाले अढाईगुना सानो फुच्चे पार्टी हो। अर्को थप कुरो, त्यो परशुराम मेघी गुरुङ जनजाति भैकन जातीय-साम्प्रदायिक राजनीति नगरेर वर्गसङ्घर्षको वकालत गर्छ। त्यसैले म उस्लाइ मन पराउँदिन। योपनि कारण थियो।”
“ठूलो पार्टीको अहङ्कार प्रदर्शन गर्नु भनेर पार्टीले निर्देशन नै दिएको छकि ?” पत्रकारले तीखो प्रश्न राख्यो।
“तपाईंले के आधारमा यस्तो प्रश्न गर्नुभयो ?”
“दुई बर्षअघि अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्षमा हिमालय टेलिभिजनले ‘टक सो’ राखेको थियो। त्यस्मा अधिवक्ता मीरा ढुङ्गानालाइ सँगै राख्न खोजेको भनेर पूर्णकुमारी सुवेदीले आपत्ति प्रकट गरेकी थिइन्। मेरो हाराहारीमा बस्न उहाँको हैसियत पुग्छ ? भनेर प्रश्न उठाएकी थिइन्।” पत्रकारले उदाहरण दिए।
“त्यस्वेला पूर्णकुमारी म्याडामले बहिस्कारै गर्नुपर्थ्यो। उहाँले कडा कदम चालेकोभए अरुलाइ सजिलो हुन्थ्यो।”
“अन्तर्राष्ट्रिय मञ्चमा त साना र ठूला राष्ट्रहरु सँगसँगै वसिरहेका हुन्छन्। फुच्चे राष्ट्रको प्रतिनिधिसँग वस्दिन भनेर कसैलेपनि बहिस्कार गर्दैन।” पत्रकारले जिज्ञासा राख्यो।
“युरोप, अमेरिकाको संस्कार र व्यवहारसँग हाम्रो तुलना गर्न मिल्दैन। उनीहरु आफ्नो राजनीतिलाइ कुटनीतिक तरिकाले प्रदर्शन गर्छन्। डेढबर्षसम्म चरम प्रतिस्पर्धामा रहेका बाराक ओवामा र हिलारी क्लिण्टन मिलेर काम गरिरहेछन्। तर, हामीकहाँ आ-आफ्नो हैसियत आफैंले देखाउनुपर्छ र पाइला-पाइलामा सम्झाइरहनुपर्छ। अव हेर्नुहोला, आजको यही घटनाले कति असर पार्नेछ। सवैले सोच्नथाल्नेछन्। एनेकपा माओवादीलाइ ‘स्पेशल’ ठान्न वाध्य हुनेछन्।”
“चरित्र, व्यवहार, संस्कार र विचारले त्यस्को पहिचान बन्ने र कर्मले स्थान निर्धारण गर्ने होइन र प्रवक्ताज्यू ?” पत्रकारले अझै गहिरिएर प्रश्न राख्यो।
“सभ्य र सुसंस्कृत समाजमा तपाईंले भनेको सत्य हो। तर, हाम्रो समाज त सभ्यता हेर्दैन, शक्ति हेर्छ। प्रकृया र माध्यमको मतलव गर्दैन, प्राप्ती भए पुग्छ। पृष्ठभूमि खोतल्दैन, प्रदर्शन नै यथेष्ट हुन्छ। रूपको पछि दौडिरहेको समाजलाइ गुणको बखान गर्ने मुर्खता कस्ले गर्छ ?”
हाम्रो पत्रकार स्तव्ध भयो। आज पहिलोचोटी नेताको मुखबाट यथार्थ सत्य सुन्न पाइयो। नेपालका नेताहरु ढोंगी, पाखण्डी, आडम्बरी, फटाहा छन्। सधैं नौटङ्की गरिरहेका हुन्छन् भन्ने आमधारणा छ। उक्त उक्तिले सामान्य पुनर्विचारको दबाव दिएको ठान्यो र विदा भएर हिंड्यो।            
       
 

No comments:

Post a Comment