असुरक्षित लोकतन्त्र
-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com
५ बर्षअघि अमेरिकी
राष्ट्रपति जर्ज बुसलाइ जुत्ताले हान्ने व्यक्तिलाइ चुटपिटको त कुरै छाडौं एक लबटो
लगाएको समेत् सुनिएन। नेताहरु सामान्य व्यक्तिभन्दा महान हुन्छन् त्यसैले क्षमा
गर्छन् भनिन्छ। मङ्सीर १ गते महानता देखाउने अवसर प्रचण्डलाइ प्राप्त भएको थियो,
तर उनले गुमाए। अहिले सामाजिक सञ्जाल र सामाजिक जमघटहरुमा सवैले पदमले झापट हान्नु
गलत होभने पदमलाइ रक्ताम्य हुनेगरी पिट्नुपनि गलतै हो भनिरहेछन्।
मङ्सीर
१ गते एमाओवादीले आयोजना गरेको चियापान समारोहमा
प्रचण्डको गालामा थप्पड हान्ने पदम कुँवर उनैका कार्यकर्ता रहेछन्।
बाग्लुङ जिल्ला, राजकुत-२ कुटनेटाबाट उनको पूरै परिवार
भूमिगत भएर जनयुद्धमा होमिएको रहेछ। द्वन्दकालमा
उनको दाज्यु र दिदीलाइ लागेको गोलि अहिलेसम्म
निकालिएको रहेनछ। दिदी
र दाज्युको शरिरमा रहेको गोलि निकाल्नका लागि
लोकतन्त्र आएपछि सवै नेताहरुको घर-घर धाएछन्। कसैलेपनि वास्ता नगरेपछि निराश
भएर यिनी सोह्रखुट्टेको तन्दुरी रेस्टुरेण्टमा काम गर्न थालेछन्। दाज्यु सुन्दरचाहीं गाउँमै पसल थापेर
बसेछन्। प्रचण्डलाइ थप्पड हानेर यिनले आफूभित्र
दन्किरहेको आक्रोसको ज्वाला पोखेका रहेछन्।
थप्पड
प्रकरणमा नेताका भाट-हनुमानहरु र राज्यको ब्रह्मलूटबाट हिस्सा पाउनेहरुबाहेक वाँकि
सवैको प्रतिकृया एउटै आइरहेछ। सिंचाई मन्त्रालय अन्तर्गत जलउत्पन्न प्रकोप
नियन्त्रण विभागमा कार्यरत उर्जाशील, जवान इञ्जिनियर श्री श्रीकमल द्विवेदीजी
फेसबुकमा लेख्नुहुन्छ- "मलाई बिल क्लिन्टनको भाषण याद आयो। उन्ले
भनेका थिए- महात्मा गान्धीलाई गोलि
हान्ने
मानिस उन्कै अनुयायी हिन्दु थियो, कुनै उदण्ड मुस्लिम
थिएन। केनेडीलाई गोलि
हान्ने कुनै रस्सियन थिएन, एउटा अमेरिकन नै थियो। ईजरायलमा ईज्याक रबिनलाई गोलि हान्ने कुनै कट्टर
प्यालेस्टाईनी थिएन, एउटा
यहुदी
नै थियो। स्वाभाविकरुपमा प्रचण्डले
देखाएको सपनामा लागेर आफ्नो घर, परिबार ध्वस्त भएका माओवादीहरु
धेरै छन। नेताहरु
ईमान्दार भईरहेकाभए सबैले चित्त
बुझाउँथे। तर नेताहरुचाहीं अर्बपति अनि ती आफ्नै
घरबार
भताभुङ्ग पारेर होमिएका कार्यकर्ता
र समर्थकहरुको
कन्तबिजोग भएपछि खप्न सकिने कुरै भएन। भ्रष्टाचारी र शोषक-ठालूहरुसँगै
हातेमालो गरेको दृश्य देख्नुपर्दा दाँत कट्कटाउनेगरी मुर्मुरिने स्थिति बन्दैन त ?
अहिलेको मन्त्रीपरिषदमा भएका प्रिपेड र
पोष्टपेड घुषकाण्डका नाईकेहरुलाई ससम्मान राखिएको अवस्थाले आक्रोश जन्माउँदैन ? स्वाभाबिकरुपमा
आफू ठगिएको अबस्थामा पाउने समर्थकमा चरम आक्रोस आउनु स्वाभाविक
नै हो। गुमाउने
उ अनि उस्कै काँधमा चढेर मोज गर्ने नेता ! र देशलाई सँधै बन्धक
बनाईरहने र झुटै झुटको खेतिमात्र
भैरहने भएपछि विस्फोट नहुने कुरै भएन।"
कागज, निर्णय र घोषणामा
लोकतन्त्र प्राप्त गर्नुभन्दा प्राप्त लोकतन्त्रलाइ व्यवस्थापन गर्ने,
लोकतान्त्रिक संस्कृति निर्माण गर्ने तथा त्यस्लाइ जीवनपद्धतिमा उतार्ने कामचाहीं
महान रहेछ। प्राप्तिको लागि गरिने सङ्घर्ष र वलिदानमा जति गौरवको अनुभूति हुन्छ
प्राप्तिपछि पाइने धोकाले त्यस्को चौगुना पीडा दिंदोरहेछ। नेपालमा २००७ साल, २०४६
साल र २०६२-६३ सालमा जनताले लोकतन्त्रको लागि वलिदानी सङ्घर्ष गरेका हुन्। २०४६
चैत २४ गते पाटन र भक्तपुरबाट उर्लेको जनसागर र २०६२-६३मा १९ दिनको जनमहासागरले
विश्वक्रान्तिकै इतिहासमा उच्चस्थान प्राप्त गरेका हुन्। तर, प्रत्येक क्रान्ति र
आन्दोलनले जनतालाइ मझधारमै छोडेर हिंड्यो र नेता तथा ठालूहरुलाइ मात्र लाभ दियो।
फ्रान्समा १७८९ मा
प्राप्त भएको लोकतन्त्रलाइ नेताहरुले आफ्नै स्वार्थ र मनोमानिमा प्रयोग गरे।
क्रान्तिपछिको परिवर्तनलाइ क्रान्तिकालका नेता भनिएका रोब्सपियर र ज्याकोवाइनले
एकलौटी गरे। रोब्सपियर भन्थे, "हामी क्रान्तिकारी ह्वौं। तसर्थ, हामीले जे सोच्छौं
त्यही नीति हुन्छ र हामीले जता देखाउँछौं राष्ट्र त्यतै हिंड्छ। क्रान्तिकारीका
लागि मानवीय र विवेकशील बनिरहनुपर्ने जरुरत छैन। क्रान्ति गरेर आएको नेता जतिसुकै
क्रुर, कठोर र अमानवीय भएपनि त्यस्लाइ क्रान्तिकै विशेषता सम्झनुपर्छ।" फ्रान्सका
जनताले लोकतन्त्र चाहेका थिए र त्यसैको लागि क्रान्तिमा होमिएका थिए, तर नेताहरुले
त्यो परिवर्तनलाइ आफ्नो कव्जामा राख्न खोजे। नेपालमा २०४६ साल चैत २६ गते पछिको र
२०६३ बैशाख ११ पछिको स्थितिलाइ त्यसवेलाको फ्रान्सको स्थितिसँग तुलना गर्नेहोभने
सारमा फरक भेटिंदैन। २०६२-६३को आन्दोलन नेपाली समाजलाइ जात-जातमा विभाजित गरेर
भिडाउनको लागि भएको थिएन। राष्ट्रिय वहस गराउनुपर्ने राज्यसंरचनाको महत्वपूर्ण
बिषय सङ्घीयतालाइ मूलद्वारबाट प्रवेश गर्न नदिई जस्केलाबाट छिराउनु भनेका थिएनन्।
सम्बिधानसभामा समेत् छलफल नगराई पहिलो बैठकको शुरुमै एकघण्टाभित्र अनुमोदन गराउने
हतार गर्नुपर्ने थिएन। त्यतिमात्र हैन २०६३पछि आफ्नो अनुकूल हुनेगरी गरिएका
लोकतन्त्रको अपव्याख्या झन् डरलाग्दो छ। आफूले जे मनलाग्छ ग-यो र यही हो जनताको
चाहना भन्यो। जस्ले प्रश्न उठाउँछ त्यस्लाइ ठाडै सङ्घीयताविरोधी भनिदियो र
सङ्घीयताविरोधी भएकोले अग्रगमनविरोधीको कित्तामा हालिदियो, खलास भैगयो। १७८९ पछिको
फ्रान्समा रोब्सपियरपनि आफूलाइ क्रान्तिनायक भन्थे। उत्तेजक भाषण गर्थे,
रक्तपिपासु थिए, रक्तपातको लागि जनतालाइ उचाल्थे। विरोधीलाइ सखाप पार्नु नै
राजनीतिक स्थीरताको आधारशीला हो भन्थे र रगतको खोलो बगाउनुलाइ आत्मगौरवको बिषय हो
भन्थे। जर्मनको क्रुर तानाशाह हिटलरको प्रचारमन्त्री गोयवल्स जस्तै रोब्सपियरको
मरा थिए। मरा षडयन्त्र गर्न यति माहिर थिएकि त्यस्तो षडयन्त्रकारी व्यक्ति
फ्रान्समा जन्मेको छैन भन्छन्। उनको अधिनमा अखवारहरु निस्कन्थ्यो। उनी घटनालाइ
अतिरञ्जित गर्न, स्वार्थपूर्ण कदमलाइ सैद्धान्तिकृत गर्न र लोकतन्त्रलाइ
अपव्याख्या गर्न चौपट्टै सिपालु थिए। कतिसम्मभने अग्रगमन भनेको बिध्वङ्स हो भनेर
जनमानसमा स्थापित गर्न सफल भएका थिए। उनको निरन्तरको प्रचार र प्रशिक्षणले गर्दा
जति बिध्वङ्स मच्चायो त्यति अग्रगमन हुन्छ भनेर जनताले सोच्न थालिसकेका थिए। तर,
यो स्थिति धेरै रहेन। १० बर्षको अन्तरालमै धेरै भ्रमका पर्दा च्यातिन थाल्यो। सन
१७९४ जुलाईको एकदिन रोब्सपियर एउटा सभामा भाषण गर्दैथिए। त्यहीं उनकै सहयोगीले
एक्कासि रोब्सपियरविरुद्ध नारा लगाए। उनले नारा लगाउनासाथै सवै रोब्सपियरविरुद्ध
खनिए र सिटीहलमा लगेर थुने। भोलिपल्ट गोलि हानिएको अर्द्धमुर्च्छित अवस्थामा फेला
परे। त्यही अर्द्धमुर्च्छित अवस्थामै गिलेटिनमा राखेर घाँटी काटियो।
नेपालमा पनि स्वार्थको
सैद्धान्तिकरण, अपव्याख्या र कुतर्क मराको भन्दा कम छैन। मङ्सीर १ गते पदम कुँवरले
हानेको थप्पड आक्रोशको अभिव्यक्ति हो भन्ने जान्दाजान्दै सत्य-तथ्य र यथार्थबाट पर
हटाएर भ्रम र भ्रान्तिको झाडीभित्र हुल्न देशी-विदेशी प्रतिकृयावादी,
अग्रगमनविरोधी जस्ता भयङ्कर जार्गन शव्दावलीको बौछार गरिएको छ।
अवको लोकतन्त्रमाथि खतरा कुनै राजा, सम्राट वा सेनाबाट हैन आन्दोलनबाटै
आएका भनिएका नेताहरुबाट हुनेछ भनेर 'दि थर्ड वेभ'का लेखक स्यामुयल पी. हटिङ्गटनले
भनेका छन्। इरानमा क्रान्तिका नायक भनिएका आयुतुल्लाह खुमेनीले नै लोकतन्त्रलाइ
निमोठेर धार्मिक उन्मादको बलि चढाए। पाकिस्तानको गणतन्त्र धार्मिक अतिवादी र
सेनाको खेलौना बन्यो। जर्मनीमा लोकतान्त्रिक गर्भबाटै जन्मेका एडोल्फ हिटलरले
लोकतन्त्रको गला निमोठे। नेपालमा यो लोकतन्त्रलाइ जोगाउने र सुदृढ गर्ने होभने
जनता आफैं जागरुक र सङ्गठित हुनुपर्छ। वर्तमान राजनीतिक परिदृष्यमा देखिएका नेता र
अगुवाको भरमा हाम्रो लोकतन्त्र सुरक्षित छैन।
बुधवार, नोभेम्बर २१, २०१२
No comments:
Post a Comment