Pages

Monday, December 3, 2012

जन्मिदैनजन्मिएका र उहिल्यै मरिसकेका।



जन्मिदैनजन्मेका र उहिल्यै मरेका
                         -आनन्दराम पौडेल 
anandarampaudel@yahoo.com


स्थानीय विकास मन्त्रालयका निमित्त सचिव शिववहादुर रायमाझीजीले यस्पालि जाडो छल्न सप्तरी जाने निर्णय गरे। उनीसँगै मन्त्री नारायणकाजी श्रेष्ठजी पनि जाने भए। जिविस सप्तरीका एलडिओ कृष्णप्रसाद सापकोटाजीले राम्रै खातिरदारी गरे। केही महिनाअघि मात्र जिविस धनुषा अन्तर्गत व्यापक र भयङ्कर भ्रष्टाचारहरु भएको तथ्यसहित सनसनिपूर्ण समाचार प्रकाशित भएको थियो। त्यो समाचारको राप र ताप सप्तरीसम्म नपुग्ने कुरै भएन। प्रसङ्ग चल्यो। तर एलडिओ साहेबले यहाँ धनुषामा जस्तो नाङ्गिएर भ्रष्टाचार भएको छैन, मैले राम्ररी हेरेको छु भनेकाले सचिव र मन्त्री ढुक्क भए। त्यसदिन रसरङ्गमै वित्यो।
भोलिपल्ट बिहानको नास्ता खाएर नजिकैको गाविसमा घुम्न निस्के। स्थानीय व्यक्तिहरुले चिन्दैनन् भन्ठानेको, तर एक-दुईजना अगुवाले चिनिहाले। उनीहरुले छाड्दैछाडेनन्, हाम्रो गुनासो सुन्नुपर्छ भनेर कराउन थाले। अलि-अलि गर्दै गाविसका सम्पूर्ण मान्छे ओइरिए। त्यस गाविसका एकल महिलाहरु कसैलेपनि सामाजिक सुरक्षा भत्ता एकपैसापनि पाएका रहेनछन्। तर, गाविस सचिवले भए-नभएका एकल महिलाहरुको नामनामेसीको लिष्ट र जाली भर्पाई बनाएर ठूलो रकम आफैंले झ्वाम् पार्नेगरेका रहेछन्। गाउँलेहरुलाइ चाहीं सरकारले बजेटै पठाएको छैन भनेर ढाँट्ने गरेका रहेछन्। एकल महिला भत्तामा त्यस्तो भेटिएपछि बृद्धभत्ता, बालकोषको भत्ता, अपाङ्गभत्ता लगायत सामाजिक सुरक्षाभत्ताहरुतर्फ हेर्दापनि व्यापक हिनामिना भएको पाइयो। जन्मिदै नजन्मिएका मान्छेहरुको जन्मदर्ता गरिएको र उहिल्यै मरिसकेका व्यक्तिहरुलाइ जीवितै देखाएर भत्ता डकारेको पाइयो। महालेखाले सप्तरीको सामाजिक सुरक्षा भत्तामा मात्रै ३० करोड वेरुजु कैफियत गरेको रहेछ। सामाजिक सुरक्षाभत्ताको बजेट दुरुपयोग भएको पाइएपछि विकासनिर्माणतर्फ नजर लगाए। त्यता त झन् कहालिलाग्दो दृष्य देखियो। सामाजिक सुरक्षाभत्ताको रकम गाविस सचिवले एक्लै र हदसेहद जिविसको एकाउण्टेण्ट र एलडिओसँग मिलेर खाएको हुनसक्ने अनुमान गरिएको थियो। तर, विकासनिर्माणको बजेटमाभने प्रभावशालि पार्टीका अगुवासँग "दलीय सहमति" गरेर "मिलिजुली बसौं, बाँडिचुँडी खाऔं" सिद्धान्तलाइ परिपालन गरेको पाइयो। शिवबहादुर रायमाझी र सँगै गएका मन्त्री नारायणकाजी श्रेष्ठजीले दुईटा सडकको निरीक्षण गरे। एउटा सडकको त रनीङ वील, मेजरमेण्ट बुक, जाँचपासलगायत श्रेस्ताकागजातहरु सवैमा १५ सेण्टिमिटर ग्राभेल बिछ्याएको भनि लेखिएको र सोही वमोजिम भुक्तानि गरेको, तर स्थलगत निरीक्षण गर्दा १ सेन्टिमिटरभन्दा बढी बिछ्याएको पाइएन। गाविस सचिव ५ जना, प्राविधिक ५ जना र प्रशासनिक कर्मचारी २ जनासमेत् गरी जम्मा १२ जना कर्मचारीलाइ कार्यवाही गर्नु भनेर निर्देशन जारी गरेपछि निमित्त सचिव शिवबहादुर रायमाझी र एलडिओ कृष्णप्रसाद सापकोटा वीच एकछिन यस्तो सम्बाद चल्यो-
"यसरी कसिकसाउ र कडिकडाउ गर्ने होभने के स्वादले जागिर खानु सचिवज्यू ? कि त (हेटौंडातिर घर भएका) ती पुराना उपसचिवले जस्तै गर्नुप-यो, जो रसिलो-पोसिलो ठाउँमा पोष्टिङ मिलाउन छाडेर पत्रपत्रिकामा स्तम्भ लेखेर बस्थे। हुँदा-हुँदा जागीरै छाडेर पत्रपत्रिकाहरु र फेसबुकमा लेख्ने, एफएममा बोल्ने तथा साहित्यिक कार्यक्रमहरुमा कविता वाचन गरेर बस्छन्।" एलडिओले भने।
"खानु त खानु, तर बोटै नराखेर खानु त भएननि एलडिओ साहब। पूरै गाविसमा एकजनाले पनि एकल महिला भत्ता पाएका रहेनछन्। केहीले पाएर केहीले नपाएकोभएपो धेरैले पाएका रहेछन्, एकदुईजनाको छुट्योहोला भनेर ढाकछोप गर्नुहुन्थ्यो। हामीले जोगाउन चाहेरपनि जोगाउने ठाउँ नै राख्नुभएको रहेनछ।"
"सर, तपाईंले यस्तो ठाउँमा पोष्टिङ गर्नुभएको छ। सप्तरी, धनुषा भनेको यस्तो जिल्ला हो, जहाँ घर-घरमा जुगाजस्ता नेता छन् र ती सवैलाइ मन्छेर मात्र बल्ल आफ्नो भान्छा शुरू हुन्छ। हाँ..हाँ मुख बाएर बसेका सीमेभुमे, भूतप्रेत, पिचाशहरुको वीचमा उनीहरुलाइ चित्त वुझाएर ज्यान जोगाइरहेछु। यही कम छ र ? " एलडिओले भने।
"संयोग र परिस्थिति यस्तो प-योकि छानविन गरेजस्तो नगरी धरै पाइएन। नत्र, भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको प्राथमिकतामा छैन, यति त तपाईंलाइ थाहै छ। गरिवी निवारण कोष, युवा स्वरोजगार कोषहरुले अरबौंअरब गायव गरेका छन्। सिंहदरबारभित्र प्रिपेड र पोष्टपेड घूस छ्याप्छ्याप्ति छ। एउटा एआइजी बनाउँदा २ करोड र सशस्त्रको आइजी बनाउँदा त्यत्तिकै रकमको हरहिसाब सुनिएकै हो। प्रत्येक सभासदलाइ बर्षेनी दिने गरेको रु.१० लाख विकासे पकेटखर्च त सवैले खाइपचाइसके। "सुत्केरीको नामगरी भाले मैले खाएँ" भन्ने गीत जस्तै क्याण्टोण्टमेण्टका लडाकुको नाममा साढेतीन अरब सर्लक्कै घिचे। अहिलेको यो घटना त हामी जाडो छल्न तराईतिर झरेको बेलामा आइपरेको केस हो। जनताको अगाडी साखुल्ले हुन यति गर्नैपर्ने भएकोले जनतालाइ देखाउनको लागि गरिएको कार्यवाही हो। यति त तपाईंपनि वुझिहाल्नुहुन्छनि।" सचिवले भने।
सचिवले खुलासा गरेपछि एलडिओ साहेबको चित्त वुझ्यो। नत्र, २-३ दिन छटपटिमै वितेको थियो। आजचाहीं मस्त सुत्नेभए।
      

   
    

No comments:

Post a Comment