राज्य र विद्रोहीले
पिसेको चटनी
-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com
आज राधा घर्तीले मनको बह र गुम्सिएका भावना पोख्ने निश्चय गरिन्। ३ दिनअघि घरमा आएकी दिदीले उनीहरुको दुर्दशाप्रति चिन्ता प्रकट गरिरहेकी थिइन्। उनको विगत जीवन कोट्याउन खोज्दैथिइन्। घाम डुबिसकेको थियो, र घाम अस्ताएको मौका पारी सन्ध्याले सुस्तरी चियाउन थालेको थियो। दिदीलाइ पिंढीमा चकटी राखिदिइन्, आफूचाहीं थाममा अडेस लगाएर बसिन् र प..र क्षितीजतिर हेरेर एकछिन टोलाइन्। बाहिरी आँखाले डाँडाको थुम्कोलाइ एकटकले हेरिरहेको थियो, तर भित्रभित्रै उनी आफ्नै विगतलाइ नियालिरहेकी थिइन्। विगततिर फर्केर १८ बर्ष अघिको जीवन सम्झन पुगिन्। दिदीतिर फर्केर बिस्तारै बोलिन्, "तपाईंलाइ थाहै छ, त्यसबेला परिबार धेरै ब्यवस्थित थियो। सङ्घर्ष थियो, तर क्लेश-दु:ख थिएन। अमृत साइन्स क्याम्पसबाट बिएस्सी गरेका पति कर्णबहादुर घर्ती जङ्कोट गाविस, माडीचौर (रोल्पा) स्थित बाल उदय स्कुलमा मावि स्तरका बिज्ञान शिक्षक थिए। म आफैंपनि हुलाक कार्यालयमा मुखिया थिएँ। हामी दुबैको घरपायक जागिर थियो। करेसाबारीको तरकारी र टारीखेतको उब्जनीले धेरै भरथेग गर्थ्यो। कर्णबहादुरजीले ट्युशनबाट पनि राम्रै आर्जन गर्नुहुन्थ्यो। मासिक आम्दानीबाट मैले राम्रै वचत गरिराखेको थिएँ। दुबैको स्थायी जागिर भएकोले बुढेसकालमा पेन्सन आइहाल्थ्यो। सुन्दर सपना देख्न थालेको थिएँ र सुनौलो भविष्य छेवैमा महसुस गर्थें। सासु, हामी दम्पति र २ छोरी गरी ५ जनाको परिवार थियो। एउटी छोरी ५ बर्षकी र अर्की डेढ बर्षकी भैसकेकी थिई। जनमोर्चाको सदस्यता लिएको कारणले कहिलेकहीं तिनीहरुको कार्यक्रममा भाग लिनेबाहेक राजनीतिमा त्यति सकृय थिएनौं।"
अडेस
लाएको खम्बामा टाउको अलिकति खस्कियो। खम्बाबाट हटेर भित्तापटी सरेर अडेस लाएर बसिन्।
आफ्नो पोजिशन मिलाइन्, र आत्मबयान गरिन्, "उज्यालो भविष्यतर्फ बढिरहेको
हाम्रो परिवारमा एक्कासि कालो छेद पस्यो। २०५१ सालमा हो, मेरा पति कर्णबहादुरजीलाइ
प्रहरीले अनाहकमा पक्ड्यो। कसैको छुल्याईं र आशङ्काले गर्दा परिवन्दमा पर्नुभएछ
भनेर प्रहरीको हाकीमले भन्न त भन्यो, तर मुद्दाको रुप लिइसकेकोले त्यसै छाड्न
मिलेन पनि भन्न थाल्यो। आज-आज, भोलि-भोलि गर्दै २२ दिन हिरासतमा बस्नुप-यो।
कर्णबहादुरजीले यो घटनालाइ गम्भीरतापुर्वक लिनुभएछ। उहाँ क्षुब्द हुनुभएको थियो।
हत्या-हिंसाको समर्थक नभएकोले मसाल पार्टी फुटेर बनेको नेकपा माओवादीलाइ हामीले समर्थन
गरेका थिएनौं। तर, त्यो घटनापछि उहाँमा सरकारप्रति आक्रोश र विद्रोहको भाव जाग्यो।
सरकार र राज्यव्यवस्थाको प्रसङ्ग आयोकि आगो ओकल्नुहुन्थ्यो। यही क्षुब्दता र
आक्रोशले बिस्तारै उहाँलाइ बिद्रोही माओवादीको नजिक पु-याएछ। उहाँले जनयुद्धमा
लाग्ने निर्णय गर्नुभयो। यत्रो व्यबस्थित घरबार छाडेर उहाँ भूमिगत हुनुभयो।"
घोत्लिंदाघोत्लिंदै साँझ छिप्पसकेछ। छोरी
बिद्यालाइ खाना बनाउन अह्राइन्। पिंढीको भित्तामा अलि सजीलोसँग अडेस लाएर बसिन्, र
पुन विगत ओकलिन्, "कर्णबहादुरजी भूमिगत भएपछि राज्यको सम्पूर्ण आक्रोश
हामीमाथि खनियो। प्रहरी दिनदिनै घरमा आउन थाल्यो। सरकारी जासुसहरु पछि लाग्नथाले।
गाउँसमाजदेखि अफिससम्म असहज स्थिति पैदा भयो। हैरान र आजित भएर मैलेपनि जनयुद्धमै
जाने निर्णय लिएँ। जेठी छोरी छिमेकीको जिम्मा लगाएँ, र डेढ बर्षकी कान्छी छोरीलाइ
च्यापेर मपनि भूमिगत भएँ। हामी दुवैजना २०५६ सालसम्म जनयुद्धमा निकै सकृय रह्यौं।
धेरैजसो राती सुतिएन। निन्द्रा मारेर रात-रातभर हिंडिन्थ्यो। कडा फौजी अभ्यासलाइ
कर्णबहादुरजीको शरिरले धान्न सकेन। पतिपत्नीको भेटपनि बिरलै हुन्थ्यो। २०५६ सालको
एकदिन पतिपत्नी सँगै भएको मौकामा हामीले भूमिगत जीवन छाडेर खुल्ला हुने सल्लाह
ग-यौं, र नेता कृष्णबहादुर महरासँग अनुमति माँग्यौं। महराले, "खुला भएपछि
सेना र प्रहरीले तपाईंहरुलाइ रुटगाइड बनाएर हामीलाइ खोज्न हिंडाउँछ। त्यस्तो
सम्भावना भएकोले हाम्रै साथिहरुले तपाईंहरुलाइ सूट गर्नेछन्" भने।
छोरी बिद्याले खाना पकाइसकिछ। छेउमा उभिएर
खाना खाने होकि भनि सोधी। इशारामै 'एकछिनपछि' भन्ने सङ्केत गरेर राधा पुन दिदीतिरै
फर्किन् र बाँकि वृतान्त राखिन्, "हामीले घर छाडेर हिंडेपछि एक्ली वृद्ध
सासूलाइ प्रहरीले धेरै सताएछ। कतिपल्ट लछारपछार पनि गरेछ। घरब्यबहार बिग्रेको
चिन्ता र प्रहरीले दिएको दु:ख, अपमान खप्न नसकेर २०६१ सालमा सासूले प्राण
त्याग्नुभएछ। यो खबरले कर्णबहादुरजीलाइ पुन क्षुब्द गरायो। उहाँ निकै रन्थनिनुभएको
थियो। २०६१को अन्ततिर पार्टीले उहाँमाथि 'अभिव्यक्ति अराजकता' को आरोप लगायो। २०६२
साल बैशाखमा पार्टीको साधारण सदस्यबाट समेत् निस्कासन ग-यो। पार्टी सदस्यता समेत्
खारेज गरेपछि कर्णबहादुरजी घर फर्कनुभएको थियो। ४०-५० जना जनसेना आएर घर घेरेछन् र
उहाँलाइ पक्डेर थवाङ पु-याएछन्। त्यहाँ श्रमशिवीरमा ६ महिना राखेछन्। शरीरले धान्ननसक्ने वोझ उठाउन लगाउने र दिनरात
खट्नुपर्ने भएकोले शरिर जर्जर भएछ। लोकतन्त्र आएपछि श्रमशिवीरबाट मुक्त गरेका थिए।
हामी आफ्नै घरमा बस्न थालेका थियौं। जिल्ला कमिटीका नेताहरु घरमै आएर हामीलाइ
धम्क्याउन थाले। जहाँ गएपनि हामीलाइ 'भगौडा गद्दार' भनेर अपमानित गर्थे। जासुस,
सिआइडी, गुप्तचर भनेर ब्यापक प्रचार गरेछन्। एकदिन त वाइसिएलको एउटा जत्था आएर
हाम्रो घरै भत्काइदिए।"
राधाले लामो सास तानिन्। 'सू..इय' गरिन्।
बसाईको पोजिशन मिलाइन्, र भन्नथालिन, "आफ्नो घरगाउँमा बस्नैनसक्ने भएपछि
काठमाडौं आएर बालाजुमा डेरा लिएर बस्न
थाल्यौं। कृष्णबहादुर महरा सञ्चारमन्त्री भएका थिए। गएर भेट्यौं। दु:ख पाएको
वृतान्त कहन खोज्यौं। उहाँले, 'आफ्नो स्थानीय जिल्ला कमिटीलाइ चित्त वुझाउनुहोस्'
मात्र भन्नुभयो। अर्थोक केही बोल्नुभएन। ध्यान दिएर हाम्रो कुरा सुन्नुभएन। हाम्रो
कुरै सुन्न चाहनुभएन। बर्षमान पुनहरुलाइ भेट्न धेरै प्रयत्न ग-यौं, मरे भेट
दिएनन्। त्यही बालाजुको डेरामा समेत् वाएसिएलहरु आएर हाम्रो हाँडोभाँडो सबै
लुटिलगे। जे त होला भनेर पुन गाउँ फर्केर आएका ह्वौं।"
छोरीले फेरी खाना खान बोलाइन्। कुनबेलादेखि
दिदी रोइरहेकी रहिछन्। "कति रुनु ? मेरो त आँसुपनि सुकिसक्यो। खाना खान जाउँ"
भनेर राधाले दिदीलाइ उठाइन्। दुबै दिदीबहिनी छोरीको पछि लागेर भान्छामा पसे।
मे 19, 2013
No comments:
Post a Comment