१०लाखको मल्हमले निको
नहुने घाउ
-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com
जेठ ९ गते (२०७०)
बिहान आफ्नै कामले वीर हस्पिटल पुगेका पत्रकारले जे दृश्य देखे त्यस्ले उनको पाइला
अघि बढ्न दिएन। पुर्जी काट्ने काउण्टर अगाडी भूईंमा एकजना प्रौढा लडिरहेकी थिइन्।
झुस्स लामा दाह्री भएका अर्को प्रौढ व्यक्ति शीराननिर झोक्राएर बसिरहेका थिए। उनले
अगाडी चेन लगाउने खरानि रङ्गको भेष्ट, गाढा कैलो रङ्गको पाइण्ट, हल्का पहेंलो
माकलटोपी र गोल्डेन स्टार जुत्ता लगाएका थिए। ती सबै रङ्ग खुइलिएर थोत्रो भैसकेको
देखिन्थ्यो। भूईंमा लडेकी प्रौढाले रातो डोरे चोलो तथा रातो र सेतोको छिर्बिरे
धोति लगाएकी थिइन्। प्रौढा गलित र सिथिल थिइनभने प्रौढपनि क्लान्त र ओइलाएका थिए।
हाड र छाला मात्र वाँकि रहेका प्रौढको अनुहार ख्वाप्लाक्क परेको थियो। यो सबै
हेरिसकेर पत्रकार उनीहरुकै अगाडी बस्यो र ती प्रौढसँग बातचित गर्न थाल्यो।
बातचितसँगै अत्याचार र पीडाको वृतान्त सुन्यो।
गोरखा, फुजेल घर भएका ५५ बर्षका ती प्रौढको
नाम नन्दप्रसाद अधिकारी र ५२ बर्षकी प्रौढाको नाम गङ्गामाया रहेछ। जानुका पौडेल,
छविलाल पौडेल, कालिप्रसाद अधिकारी, रामप्रसाद अधिकारी र शिवप्रसाद अधिकारीले मिलेर
२०६१ साल जेठ २४ गते नन्दप्रसादको कान्छो छोरा कृष्णप्रसाद अधिकारीलाइ अपहरण
गरेछन् र चितवनमा पु-याएर हत्या गरिदिएछन्। अपहरण हुँदा कृष्णप्रसाद १८ बर्षका
रहेछन्। अपहरण गर्दा पल्लो गाउँकी केटीसँग 'लब' गरेको तर बिवाह गर्न आनाकानि
गरेकोले मिलाउन लगेको भनेका रहेछन्। पछि हत्या गरिसकेपछि भने नानाथरी मनगढन्ते
आरोप गढ्न थालेछन्। अरु आरोप प्रभावी नभएपछि सुराकी थियो भनेछन्।
नन्दप्रसादले किटानी जाहेरी लिएर धेरैपटक
धाउँदा २०६४ सालमा आएर बल्ल प्रहरीले जाहेरी वुझेछ। प्रहरीले जाहेरी वुझेपछि ती
हत्याराहरु घरमै आएर, "जाहेरी फिर्ता लिन्छस् कि तेरो जेठो छोरोलाइ पनि
सिध्याइदिउँ" भनेर धम्काउन थालेछन्। पसलमा सामान किन्न लाग्यो त्यहीं घेर्ने,
फोन गर्न लाग्योभने रिसिभर खोसिदिने गर्दारहेछन्। २०६४ साल पुष १० गतेका दिन ठूलै
हुल आएर गोठमा भएका १२ ओटै गाइबस्तुलाइ मारिदिएछन्। धारापानीको लाइन काटिदिएछन् र
उनीहरुलाइ घरबाट निकालेर घरमा ताल्चा लगाइदिएछन्। यो अत्याचारको विरुद्ध उनीहरु
तिनैजना (बुढाबुढी र जेठो छोरा) जिल्ला प्रहरी कार्यालयमा गएछन्। जिप्रकाका
डिएसपीले, "जिल्ला प्रहरीको सामर्थ्य र वुताले नभ्याउने कुरो प-यो, तपाईंहरु
गृह मन्त्रालय जानुहोस्" भनेछन्। सिंहदरबार पस्नलाग्दा भित्र पस्नै दिएनछन्,
उल्टै नागरिकताको प्रमाणपत्रसमेत् खोसेर लिएछन्। गोरखादेखि काठमाडौंसम्मका
मानवअधिकारवादी संस्थाहरु, राष्ट्रिय मानवअधिकार आयोग, गृह मन्त्रालय र
प्रधानमन्त्रीको कार्यालयमा पटक-पटक उजुरी दिंदापनि कतै केही सुनुवाई भएनछ। प्रधानमन्त्री
बाबुराम भट्टराईलाइ भेट्न धेरैपटक प्रयास गरेछन्। एकदिन बालुवाटारमा प्रधानमन्त्री
निवासबाहिर सडकको पेटीमा बसिरहेका बखत प्रहरी आएर सोधपुछ गर्न थालेछ। प्रहरीसँग
यस्तो सम्बाद भएछ।
"तपाईंहरु यहाँ
अघिदेखि बसिरहनुभएको छ। के काम छ ?" प्रहरीले सोधेछ।
"प्रधानमन्त्री
बाबुराम भट्टराईलाइ भेट्न खोजेको।" नन्दप्रसादले जवाफ दिएछन्।
"अहिले भेट्न
पाउनुहुन्न।" प्रहरीले भनेछ।
"अहिल भेट्न
नपाइए भरे भेट्छौं।"
"भरेपनि भेट्न
पाउनुहुन्न।"
"भरे भेट्न
नपाइए भोलि-पर्सि जहिले पाइन्छ तहिले भेट्छौं। भेट्न नपाउञ्जेल यहीं
बसिराख्छौं।" नन्दप्रसादले भनेछन्।
यति बार्ता गरेर
भित्र पसेको प्रहरीले एकछिनपछि आएर, "तपाईंहरुलाइ यहाँबाट तुरुन्त हटाउनु
भन्ने प्रधानमन्त्रीको आदेश छ। तपाईंहरु आफैं खुरुक्क जानुहुन्नभने प्रहरी आएर
लैजान्छ" भनेछ। नभन्दै कमलपोखरी प्रहरी प्रभागबाट इन्स्पेक्टर किरण कुँवरको
कमाण्डमा आएको टोलीले कमलपोखरी पुलिस चौकीमा लगेर ४९ दिनसम्म थुनामा राखेछन्। ४९
दिनपछि यी बुढाबुढीलाइ मात्र हत्कडी लगाएर अड्डासार गर्दै गोरखा पु-याएछन्। तर,
जेठो छोरालाइ प्रहरीले कहाँ राखेको छ, अहिलेसम्म अत्तोपत्तो रहेनछ। जिउँदै छकि
मारे, त्योसमेत् जानकारी रहेनछ। बुढी रोगाएर थला परेकीले उपचारको लागि वीर
अस्पतालमा ल्याएका रहेछन्।
यति इतिवृतान्त सुनिसक्दा पत्रकारको हृदय
द्रविभूत भैसकेको थियो। रसाएका आँखा पुछ्यो र इन्स्पेक्टर किरण कुँवरलाइ भेट्न
कमलपोखरी चौकी पुग्यो। कुँवर त्यहाँबाट सरुवा भैसकेका रहेछन्। फोन नम्बर फेला
पारेर सम्पर्क गर्दा, "तत्कालीन एसएसपी रणबहादुर चन्दको आदेशले थुनामा
राखेकोले यसबारेमा म केही भन्न सक्दिन" भने। पत्रकार यत्तिकैमा अडिएनन्।
रणबहादुर चन्दलाइ भेट्न पुगे, र थोरै सम्बाद गर्न भ्याए।
"तपाईंले
नन्दप्रसाद अधिकारी, उनकी श्रीमति र छोरालाइ ४९ दिनसम्म किन थुनेर राख्नुभयो
?" पत्रकारले सोधे।
"थुनामा हैन
आतिथ्यमा राखेको।" रणबहादुर चन्दले जवाफ दिए।
"एउटा
परिवारलाइ बिनाकारण ४९ दिनसम्म प्रहरी चौकी भित्र राख्नुभयो। अनि अहिले 'आतिथ्यमा
राखेको' भन्नुहुन्छ ?" पत्रकारले अलि कस्सिएरै प्रस्न राख्यो।
"आतिथ्य नै
होनि। तिनीहरुको काठमाडौंमा बस्नेखाने ठाउँ थिएन। खर्चवर्चको पनि अभाव थियो।
कमसेकम ४९ दिनसम्म सित्तैंमा बस्न त पाए। जवानहरुको खानाबाट बचेखुचेको रहलपहल
जेजति हुन्छ, खान दिनु भनेकै थिएँ। ठीक छ, उनीहरुले दुईछाकपनि पेटभरी खान पाएनन्
होला। आधापेट, अझ चौथाइ पेट खाएर प्राण धानेहोलान्। तर, काठमाडौंमा योभन्दा बढी
आतिथ्यसत्कार के हुन्छ ?" रणबहादुर चन्द झन् खरो उत्रे।
"नन्दप्रसादको
जेठो छोरा ख्वै त ?" पत्रकारले अर्को बिषय राख्यो।
"त्यो त
उनीहरुलाइ नै थाहा होला।"
"को उनीहरु
?"
"हिसिला यमीकी
पिए जानुका पौडेलले चासो राखेकी छन् भन्थे। उनकै मान्छेहरुले लगेहोलान्।"
"ती
बुढाबुढीलाइ गोरखा पठाउँदा किन हत्कडी लगाएको ?"
"तिनीहरुले
कुनै अपराध नगरेकाले हत्कडी लगाउन आवश्यक थिएन। तिनीहरु उल्टै पीडित थिए। पीडितलाइ
यसरी हत्कडी लगाउन मेरो आत्माले पनि पटक्कै स्वीकार गरेको थिएन। पत्रकारज्यू,
तपाईंले यत्ति कुरा वुझिदिनुहोस्, यो हाम्रो चासोको बिषय थिएन। न त हाम्रो कर्तव्य
र जिम्मेवारी भित्रको काम थियो। हामी त प्रयोग भएका मोहरा मात्र ह्वौं। यति सत्यलाइ
तपाईंहरुले वुझिदिनुप-यो।" रणबहादुर चन्दले लाचारी खोले।
एसएसपीले यति लाचारी खोलिसकेपछि पत्रकारले बढी
कोट्याउन आवश्यक ठानेन। त्यहाँबाट बिदाबारी भएर हिंड्यो। बृतान्त टुङ्ग्याउनुअघि
गोरखाका सिडिओलाइ फोन ग-यो। सिडिओ कृष्ण कार्कीले भने, "खप्नैनसकिने घनघोर
अत्याचार भएकै हो। अत्याचारको पीडामा मल्हम लगाउनकै लागि मैले उहाँहरुलाइ, 'रु.१०
लाख दिलाइदिन्छु, चुपो लागेर बस्नुहोस्' भनेको थिएँ। उहाँहरु, 'बरु हामीलाइ रु.१०
लाख चाहिंदैन, हत्यारालाइ कार्यवाही होस्' भन्नुहुन्छ। सरकारले भित्रभित्रै यस्ता
अपराधको ढाकछोप गर्ने सोच बनाएको छ। उहाँहरु कुरा वुझ्नुहुन्न।" सिडिओ कृष्ण
कार्कीले सरकारकै भित्री नीति खोलिदिए। यति सुनेपछि पत्रकारलाइ घटनाको रहस्य वुझ्न
कठिन भएन।
शुक्रवार, जून 14, 2013
No comments:
Post a Comment