Pages

Monday, July 1, 2013

सर्वहाराकरण।



सर्वहाराकरण
         -आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com

महेन्द्रनगरको दुइटा घरमा घरधन्दाको काम सकेर डेरातिर फर्कंदैगर्दा सीता बोहराले खुला चउरमा धेरै मान्छे जम्मा भएको देखिन्। त्यही चउरकै छेउबाट बाटो भएकोले नचाहँदानचाहँदै पनि तिनको नजर प-यो। रङ्गीन ध्वजापताका र राता झण्डाहरु देखिन्थे। माइकबाट ठूलठूलो स्वरमा आवाज आइरहेको थियो। पार्टीका नेताका भाषण होला भनेर अनुमान गरिन्, तर नरोकिइकन फटाफट बाटो लागिन्। चउरको अर्को कुनामा पुगेकी थिइन्, एउटा परिचित अनुहार देखा प–यो। आफ्नै गाउँ दैजी-१नं वडा (कञ्चनपुर) का माओवादी नेता रहेछन्। अभिवादन गरेर केही कुरा भन्न खोजेकोले नबोली जान सकिनन्।
"अध्यक्ष कामरेडले बोल्न बाँकि छ। किन हिंडिहाल्नुभएको ?" पार्टीको नेताले भन्यो।
"म भाषण सुन्न आएकी नै ह्वैन।" सीता बोहोराले भनिन्।
"दैजी (कञ्चनपुर) देखि यहाँ कार्यक्रमस्थल सम्म आइसक्नुभयो। भाषण नसुनेनि अब एकछिन बस्नुभए हुन्थ्यो।" नेताले भन्यो।
"तपाईंहरुले मेरो जीवन बर्बाद पारिदिनुभो। तपाईंहरुकै कारणले परिवार ध्वस्त भयो। फेरि, तपाईंहरुकै भाषण सुनिबस्नु ? यो मनले मान्छ ?" सीता बोहोराले पीडा ओकलिन्।
"महेन्द्र कामरेडको आमा भनेर झन् म सम्मान गरिरहेछु, तपाईंचाहीं उल्टै हामीमाथि नै आरोप थोपर्नुहुन्छ। कस्ले तपाईंको जीवन बर्बाद पा-यो ? कस्ले तपाईंको परिवार ध्वस्त   ग-यो ?" पार्टी नेताले अलि कस्सिएरै सवाल ग-यो।
"मेरो श्रीमान रघुवीर बोहोरालाइ तपाईंहरुले मारेको ह्वैन ?"
"उ प्रहरीमा जागीरे रहेछ नि त। प्रहरी भनेकाले मारेका हुन् ?"
"अरु काम पाएको भए अर्थोकै गर्नुहुन्थ्यो। अन्यत्र जागीर पाएको भए अन्तकै जागीरे बन्नुहुन्थ्यो। प्रहरीमा भेट्टाउनुभो, त्यहीं जागीर खानुभो। के बिराउनुभो ?"
"प्रहरीमा जागीर खाएकोले साथिहरुले दुश्मन सम्झे।"
"मेरो पतिलाइ मार्नुअघि त हप्तैपिछे हूलकाहूल आइरहनुहुन्थ्यो। दुश्मनको घरमा आइरहेको चाहीं किन नि ?"
"सेल्टरको लागि प्रहरीको घर सुरक्षित हुन्छ भनेर आएका होलान्।"
"हूलकाहूल आएर हामीलाइ सधैं दु:ख त दिई नै रहनुभएको थियो। त्यतिले नपुगेर मेरो जेठो छोरो महेन्द्रलाइ बहकाएर लैजानुभयो। दुश्मनको छोरालाइ किन माओवादी लडाकु बनाउनुभएको नि ?"
"त्यो त राष्ट्रको लागि, मुक्ति र न्यायको लागि चाहियो नि। महेन्द्र जस्तै धेरै कामरेडहरु जनयुद्धमा सामेल नभएको भए यो परिवर्तन सम्भव हुन्थ्यो ?"
"के मुक्ति भयो भन्नुहुन्छ ? हामीजस्ता दु:खीदाखीहरु झन् गोलखाडीमा भासिएका छन्।"
"हुँदैछनि। देशबाट राजतन्त्र उन्मुलन भयो। गणतन्त्र आयो। यो सानो परिवर्तन ह्वैननि।"
"को आयो ? को गयो ? हामीलाइ के सरोकार भयो र ? हाम्रो दु:ख झन् बढेको छ। झन् खपिनसक्नु भएको छ।"
"परिवर्तनपछि झन् दु:ख र पीडा थपियो भन्नुहुन्छ। के दु:ख थपियो त्यस्तो ?"
"घरमा कान्छो छोरो राजेन्द्र र म मात्रै छौं। कान्छो छोरो छ भन्नुमात्रै, नेत्रहीन छ। आँखा देख्दैन। म ५० पुग्नलागेकी बुढी। कमाइ केही छैन। यस्तो अवस्था देख्दादेख्दै तपाईंको पार्टीका मान्छे आएर पैसा मागेर हैरानै गरे। आजीत भएर दैजी (कञ्चनपुर) को घर छाडेर यहाँ महेन्द्रनगरमा आएको हुँ। यहाँ बनिबुतो गरेर दुईजनाको प्राणसम्म धानेको छु।"
"राजेन्द्रको मात्रै किन नाम लिनुहुन्छ ? अहिले हामीसँग रहेका हाम्रो पार्टीका कामरेड महेन्द्रपनि त तपाईंकै छोरा होनि ?" नेताले सवाल राखे।
"हाम्रो लागि त्यो हुनु र नहुनु कुनै अर्थ रहेन। बाउ मारिएपछि एकपल्ट घर आएको थियो। त्यसबाहेक उस्ले हाम्रो कुनै खोजखबर लिएको थाहा छैन। बरु, तपाईंहरुकै सङ्गतमा पूरै बिग्रिएर अहिले त लागूपदार्थको कुलतमा फँसेको रहेछ। महेन्द्र जस्तै कति छोरालाइ बिगारिसक्नुभयो होला। एउटा महेन्द्रलाइ त असल मान्छे बनाउन सक्नु हुन्न, के परिवर्तन ल्याउनुहुन्छ ? के आधारमा ठूला कुरा गर्नुहुन्छ ?" सीता बोहोराले पीडाको मर्म मात्रै ओकलिनन्, नेतालाइ –याख्-याख्ति नै पारिन्।
     सीता बोहोराको कडिकडाउ शब्दले नेताको नुर गि-यो। सीता बोहोरा र असङ्ख्य सीता बोहोराहरुसँग नराम्ररी पराजित भएको महसुस गरे। मञ्चबाट बोल्ने नेताको भाषणमा, "अन्यायको पीडामा झुल्सिएर रहेका, सीमान्तिकृत र सर्बहारा वर्गको लागि..." वाक्य दोहोरिईरहेको थियो। त्यो वाक्यले सीतालाइ खपिनसक्नु भएछ, प्याच्च थुकिन्। नेताको अनुहार हेरिन्। नेता सीतासँग आँखा जुधाएर हेर्न सक्ने अवस्थामा थिएनन्।
शनिवार, जून 22, 2013
  

No comments:

Post a Comment