भूत लागेकी रूपाली
-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com
बिहानको समय भएकोले
होला, बर्दिया जिल्लाको सीमावर्ती गाउँ तिकोनियामा रहेको राममन्दीर परिसर गुल्जार
थियो। कमलपनि मानिसको चहलपहल हेर्दै मन्दीरभित्र छिर्दैथियो, एकजना महिलाको
ब्यवहार अलि पृथक लागेकोले टक्क रोकिएर हे-यो। तिनी गम्भीर हुनुपर्ने बिषयमा
मुस्काइरहेकी थिइन्, मुस्काउनुपर्ने बिषयमा गम्भीर देखिन्थिन्। पत्रकार भएकोले
उस्को 'न्युज सेन्स' जागृत भयो। यिनीभित्र केही गम्भीर रहस्य लुकेको छ भन्ने पत्रकारको
नजरले अनुमान ग-यो र महिलाको पछि लाग्यो। चिनेजानेकालाइ बाबा, मामा, काका, काकी,
दाज्यु नमस्कार भन्दै, र नचिनेकालाइ पनि मुस्कान दिंदै तिनी मन्दीर परिसरमै रहेको
आश्रमभित्र पसिन्। आश्रममा छिर्दाछिर्दै तिनले आफ्नो पछि लागेर आएको कमललाइ
देखिन्। उदार हृदयले सबैलाइ बाँडेको त्यही मुस्कानसहित् कमललाइ हेरिन्, र सोधिन्,
"तपाईंलाइ त यो आश्रममा यसअघि देखेकी थिइन। केही काम थियो कि ?"
"तपाईंसँगै
केही कुरा गरुँ भनेर आएको।" कमलले विनम्रतापुर्वक प्रस्ताव राखे।
"के बिषयमा
कुरा गर्न खोज्नुभएको ?"
"तपाईंकै
बिषयमा।" कमलले प्रष्ट पा-यो।
"मेरो बिषयमा
वुझ्नेभए उ..उहाँसँग कुरा गर्नुहोस्।" महिलाले औंलाले देखाइन्।
"उहाँ को हो
?"
"उहाँ मेरो
श्रीमान"
कमलले हे-यो, एकजना अधबैंसे
व्यक्ति ग्यासचुल्होमा बसालेको चियातिर पनि नजर लगाउँदै आलु काट्दै थिए। महिलाले
औंल्याएपछि कमलतिर पलुक्क हेरे, मुसुक्क हाँसे र बस्दै गर्नुहोस् भनेर मुढातिर औंल्याए। उम्लेको चिया
तीनौटा ग्लासमा हाले। कमलको छेउमा अर्को मुढा तानेर बसे। चिया पियुञ्जेल महिलाको
बिषयमा एक शव्द बोलेनन्। महिलाको बिषयमा जान्न चाहेको भनेर कमलले जतिपटक
ध्यानाकर्षण गराउन खोज्थे, त्यति नै त्यो बिषयलाइ छल्न अर्कै कुरा राख्थे। बरु,
कमलकै बिषयमा नीतिखुदी गरे। चिया पिईसकेपछि उठ्ने इशारा गरे, र मन्दिरबाट बाहिर
अलि परै लिएर गए। एउटा रेष्टुराँको भित्रपटी बसे। बल्ल वार्ताको लागि तैयार भएको
देखिए।
"ल भन्नुहोस्,
के सोध्न खोज्नुभएको ?" अधबैंसेले भने।
"तपाईंकी
श्रीमतिको बिषयमा कुरा गर्न खोजेको।"
"मेरी
श्रीमतिको नाम रूपाली थरुनी हो। हाम्रो घर यही बर्दिया जिल्लाको दौलतपुर गाविस,
वडा नं ९ मा छ। तपाईंले खास वुझ्न खोजेकोचाहीं के हो ?" अधवैंसेले भने।
"तपाईंकी
श्रीमतिको व्यबहार अलि अस्वाभाविक देखें। उहाँलाइ के भएको रहेछ भनेर जान्न चाहेको
हुँ।" कमलले जिज्ञासा प्रष्ट राखे।
"मेरी
श्रीमतिलाइ सरकारी सेना र माओवादीको भूत लागेको छ।"
"मैले
वुझिन।"
"द्वन्दकालको
कुरा हो। म कर्णाली अञ्चलतिर विशेषगरी माछाको व्यापार गर्थें। मेरी श्रीमतिले
आफैंले उत्पादन गरेका सामगृ नजिकको हाटमा लैजान्थी। बेला-बेलामा माओवादीहरु बास
बस्न आइपुग्थे। २०५९ साल कार्तिक ४ गते का दिन सुरक्षा फौजको टोली हाम्रो घरमा
आएछन् र मेरी श्रीमतिलाइ पक्डेर लगेछन्। ५ दिन हिरासतमा राखेछन्। पक्डेर लगेदेखि हिरासतमा
रहुञ्जेल मुटु छेड्ने अपशव्दको बाणबर्षा गरेछन्। चुट्नेपिट्ने, सिस्नुपानी लगाउने
र करेण्टका झड्का समेत् लगाएछन्। बाउआमाले एक लबटो नलगाएको र मबाट समेत् कहिल्यै
कठोर वचन नसुनेकी महिलाले यस्ता कठोर बचनबाँड कसरी सुन्न सकिन् होला ?"
अधबैंसे बोल्दाबोल्दै रोकिए। गला अबरुद्ध भएजस्तो लाग्यो। एकछिन वातावरण नि:शव्द
बन्यो। यो मौनतालाइ कमलले नै चि-यो।
"तपाईंले
सरकारी सेना र माओवादी भूत लागेको भन्नुभएको थियो।" कमलले सम्झायो।
"अँ भन्दैथिएँ,
सेनाको हिरासतबाट छुटेको ३ हप्तापछि कार्तिक २६ गतेका दिन मेरी श्रीमतिलाइ माओवादीले
पक्डेर लगेछन्। सेनालाइ के-के भनिस् ? हाम्रो के-के कुरा लगाइस् ? तँ सरकारी जासुस
होस्। हाम्रो के-के सुराकी गर्छेस् ? ल भन्, भन्दै माओवादीले चरम यातना दिएछ।
माओवादीले दिएको यातना बर्णन गरिसाध्य छैन। माओवादीबाट छुटाएर ल्याएपछि घरमा
बस्नैनसक्ने भइन्। सधैं तर्सिने, भयभित र आतङ्कित भैरहने भएकोले डाक्टरको सल्लाह
अनुसार घर छाडेर यहाँ राममन्दीरको आश्रममा आइ बसेका छौं। कतिसम्म भने 'माओवादी'
शब्दसमेत् सुन्न नहुने भयो। हाम्रो त घरब्यबहार र व्यापार सबै चौपट भयो।"
अधबैंसेले सबिस्तार बताए।
"यो वृतान्त
कहन तपाईंले घरबाट यति टाढा किन ल्याउनुभएको नि ?" कमलले कौतुहल राखे।
"रूपालीको
अगाडी त्यो घटनासँग सम्बन्धित कुनैपनि कुरा नगर्नु र त्यो प्रसङ्ग नकोट्याउनु
भनेकाले तपाईंलाइ यहाँ ल्याएको हुँ।" अधबैंसेले प्रष्ट पारे।
घटना छर्लङ्ग
वुझिसकेपछि कमल स्तब्ध भए। मध्ययुगीन बर्बरता के यति चर्को हुन्थ्यो होला त भनेर
घोत्लिए। कमललाइ सोचमग्न देखेर अधबैंसेले उठेर एक धाप मारे। र दुबैजना निशब्द बाटो
लागे।
शुक्रवार, जून 28, 2013
No comments:
Post a Comment