Pages

Wednesday, July 10, 2013

अमरसिंहको खोजीमा।



अमरसिंहको खोजीमा
               -आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com

केही हप्ताअघि मण्डला नाट्यघर, अनामनगरमा नाटकको पृथक स्वाद लिइयो। हेटौंडा, नवलपुरका तुल्सी थापाजीले लेख्नुभएको "अमरसिंहको खोजीमा अमरसिंह नाटक" उज्वल शर्मा भण्डारीको निर्देशनमा तरङ्ग सांस्कृतिक परिवारले मञ्चन गरेको थियो। सबै बन्दोबस्त मिलाएर त्यस्पछि ढुक्कसँग जीवन बाँचौंला र जीवनको स्वाद लिउँला भनेर तरखर गर्दागर्दै जीवन सकिएजस्तै यहाँपनि नाटकको तैयारीमै नाटक सकिन्छ। एकठाउँमा बसेर अजय र पराजयले आफ्नो देश खुम्चँदै गरेको, देशको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा भएको स्थितिको चर्चा गरिरहेका हुन्छन्। त्यत्तिकैमा, "तपाईंहरु देश खोज्ने होभने आज नाट्यशालामा जानोस्" भनेर नेपथ्यबाट कसैले सल्लाह दिन्छ। सल्लाह मानेर अजय र पराजय नाट्यशाला पुग्छन्। त्यहाँ नाटक हैन, नाटकको तैयारी भैरहेको हुन्छ। नाटकको मुख्य पात्र अमरसिंहको भूमिका खेल्ने विजय नआइपुगेकोले निर्देशक, कलाकार सबै छट्पटिईरहेका हुन्छन्। विजयको खोजी सँगसँगै कलाकारहरुले आ-आफ्नो भूमिकाको तैयारी, गेटअप र सम्बादको अभ्यास गरिरहेका हुन्छन्। यही सम्बादभित्रै प्रतिकात्मक तर रोचक तवरले नेपाल राष्ट्रको अस्मिता र स्वाभिमानको दुर्दशा प्रष्ट झल्कँदै जान्छ। एउटा सम्बाद हेरौं-"अहिले नेपाल कत्रो छ ?" "खुम्चिंदै छ।" सँगसँगैको अर्को सम्बादपनि कम गम्भीर छैन- "अब फेरि लडाईं होला ?" "लडाईं भैरहेछ। विदेशीसँग हैन, एक नेपालीको अर्को नेपालीसँग।" नाटकमा अङ्ग्रेजसँगको लडाईंमा आफ्नो स्थिति कमजोर भएकोले सम्झौताको आदेश गर्न भीमसेन थापाले महारानीलाइ सल्लाह दिन्छन्। तर, महारानीले, "हामी सबै ओइरिएर आउँछौं, झन् डटेर लड्नु; लत्रने हैन" भनेर आदेश दिन खोज्छिन्। स्क्रिप्टमा नभएको सम्बाद बोलेको भनेर निर्देशकले हस्तक्षेप गर्छन्। प्रदीप भन्ने पात्र भन्छन्- "हाम्रा पुर्खाले इतिहास बनाउन जानेनन् कि ? हेर्नुभएन, महारानीको भूमिकामा रहेकी मिनाले सम्बाद फेरबदल गरिन्। विद्रोह, आफ्नै इतिहासविरुद्ध।" राजनीतिक नेताहरु र राज्यव्यवस्थाले गरेका पक्षपात र अन्यायबाट दिक्क भएका एकजना कमल भन्ने पात्रले, "अब नाटक खेल्दिन,विदेश जान्छु" भन्छन्। प्रदीप र सरोजले भन्छन्- "कमल दाई,लाहुरबाट फर्केपछि आउनचाहीं यहीं आउनुहोला। इमान्दारिता र वहादुरी वेचेको पैसाले कुनै बार या पवमा सँगै जाऔंला।" यसरी इतिहासको आलोकमा मुलुकको दुरावस्थाको चित्रण गर्दै नाटक अघि बढ्छ। अमरसिंह नआइपुगेकोमा अजय र पराजयको सम्बाद यस्तो छ- " साँच्चै त्यो अमरसिंह कलाकार किन आइपुगेन ?" "आज नेपाल बन्द होकि ?" नाटकको अन्ततिर अमरसिंहको भूमिकामा रहेका विजय आइपुग्छन्। तर, थकित र क्लान्त देखिन्छन्। भन्छन्- "मैले खोजें, बाहिर अमरसिंह छैनन्। अमरसिंह हामी भित्रै छन्। हाम्रो आत्मामा छन्।" यो कथनलाइ आम दर्शकले बोलेरै साथ दिन्छन्। हाम्रो इतिहासका कमजोरीलाइ कोट्याउँदै, र निर्माण भैरहेको इतिहासपनि गरिमापूर्ण हुन नसक्ने दर्शाउँदै नाटक टुङ्गिन्छ।
          नाटक रङ्गमञ्चीय र अभिनेयात्मक विधा हो। साहित्यका अरु विधाजस्तो यस्मा विचार र सौन्दर्यको संयोजन तथा उत्कृष्ट लेखनले मात्र पुग्दैन। रङ्गमञ्चको व्यवस्था तथा अभिनयपनि त्यत्तिकै जीवन्त हुनुपर्छ। सम्बादको मर्मलाइ आत्मसात गरी त्यस्मा प्राण भरेर रङ्गमञ्चमा प्रस्तुत गर्नु सामान्यकर्म होइन। शव्द सँगसँगै शारीरिक भावभङ्गिमा (बडील्याङ्ग्वेज), शारीरिक गति र आरोह-अवरोहको सिलसिला स्वाभाविक लयमा अभिव्यक्त हुनुपर्छ। यस्मा उज्जवल शर्मा भण्डारीलगायत सबै कलाकारले नाटकमाथि न्याय गरेका छन्।  
      ६०-७० बर्ष अघिसम्म नाटकहरु केवल मनोरञ्जनको साधन मात्र हुनेगर्थे। त्यस्ले परिवर्तनका सम्भावना र निकासका सङ्केत दिंदैनथे। तर, ४०-५० बर्षदेखि यता आएर नाटकमा पात्रलाइ सामाजिक प्रतिनिधिको रुपमा प्रस्तुत गरिएको पाइन्छ। मूल्याङ्कन र बिश्लेषणपनि वर्गचेतनाको दष्टिकोणबाट भैरहेको हुन्छ। बर्तोल्त ब्रेख्त बारम्बार भन्नेगर्थे, "म चाहन्छु, मेरा नाट्यमञ्चले संसारको परिवर्तनीय तत्वहरुको परिवर्तन हुँदैगरेको स्थितिलाइ देखाओस्। सामाजिक पर्यावरणको आलोकमा लगातार परिमार्जित, पुनर्सृजित र विकसित भैरहेको जीवन्त समाजको चित्रण गरोस्।" यी सूत्रहरुको आधारमा मूल्याङ्कन गर्दा "अमरसिंहको खोजीमा अमरसिंह नाटक" सफल छ।

No comments:

Post a Comment