नङ्सिरी लाग्ने चीसो
-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com
"हैन डिएसपी
साहेब, पर्वत जिल्लाको प्रहरी कार्यालयले त बच्चापनि पाल्न थालेछ नि ! कहिलेदेखि
हो ?" पत्रकारले व्यङ्गमिश्रित प्रश्न गरे।
"यो त तिनैको बच्चा
होनि। जस्को बारेमा १ महिनाअघि तपाईंहरुले समाचार प्रकाशित र प्रसारित गर्नुभएको
थियो।" जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले प्रष्ट्याए।
पत्रकारले ठीक १ महिनाअघि आफैंले लेखेको समाचार
सम्झे। बाग्लुङ, पैंयुपाटा वडा नं ५ मा माइती र
गैंडाकोट,
नवलपरासी घर भएकी मीना पौडेलले जुनको पहिलो हप्तामा आफ्नो ११
महिनाको बच्चालाइ पर्वत, मुडिकुवाको सिर्सुवा जङ्गलमा फालेकी
थिइन्। २२ घण्टापछि गाउँलेले देखेर उद्धार गरी प्रहरीलाइ जिम्मा लगाएका थिए। आफ्नै
बच्चालाइ जङ्गलमा फालेको बिषयमा त्यसबेला प्रहरी निरीक्षक विजयराज पण्डितले हाम्रै
अगाडी सोधपुछ गरेका थिए। पोई छाडेर नाठोसँग पोइल जान खोज्दा नाठोले बच्चासहित
लैजान्न भनेकाले बच्चालाइ जङ्गलमा फालेर पोइल हिंडेको स्वीकारेकी थिइन्। एकजना
स्तम्भलेखकले त "पाषाणहृदय" भनेर लघुकथा नै लेखेका थिए। त्यसबेला यो
बच्चा जीवनमरणको दोसाँधमा भएकोले प्रहरीले कुष्मा अस्पतालमा लगेछ। कुष्मा
अस्पतालले पोखरा क्षेत्रीय अस्पतालमा रेफर गरेकोले त्यसबेला यो बच्चालाइ हामीले
देख्न पाएका थिएनौं। एउटै डल्लो पारी तन्नामा पोको पारेर फालेकी रहिछन्। रातभरी र
भोलिपल्ट अपरान्हसम्म गुमुतमा डुबेको बच्चो रुनसमेत् नसक्ने अवस्थामा थियो'रे
भन्ने सुनिएको थियो। त्यसबेला हामीलाइ लागेको थियो, २२ घण्टासम्म भोकभोकै रह्यो,
कति रोयो होला ? बर्षाको झरीले कति चुट्योहोला ? देख्नेजतिले बच्चो बाँच्दैन भनेका
थिए। तर, अहिले भर्खरै देखेको नै त्यही बच्चा रहेछ भन्ने सुनेर पत्रकारले राहत महसुस
ग-यो। एउटा बच्चालाइ बचाउन प्रहरीले गरेको प्रयासको सह्राहना नगरी बस्न सकेन।
भन्यो, "देख्नेजतिले यो बच्चा बाँच्दैन भनेका थिए। तर, तपाईंहरुले बच्चालाइ
बँचाएरै छाड्नुभयो। तर, किन बच्चालाइ उस्को परिवारको जिम्मामा नदिनुभएको ?"
"बच्चा
लिन आउनुहोस् भनेर यो बच्चाको बाउ कृष्णबहादुर पौडेललाइ धेरैपटक खबर पठायौं, तर
आएनन्।" डिएसपी श्यामकृष्ण अधिकारीले भने।
"आफ्नो
बच्चा लिन नआउनुको कारण के होला ?"
"औषधी
उपचार गर्दा लागेको खर्च तिर्नुपर्छ भनेर बच्चा लिन नआएका रहेछन्।"
"कति
तिर्नुपर्ने रहेछ ?"
"रु.३८५४०।"
"सरकारी
अस्पतालमा उपचार गर्दापनि त्यत्रो खर्च लाग्दोरहेछ ?"
"क्षेत्रीय
अस्पताल,पोखराले पनि उपचार गर्न नसकेर मणिपाल शिक्षण अस्पतालमा रेफर गरेको थियो।
यो रु.३८५४० को बील त्यही मणिपाल टिचिङ हस्पिटलको हो।"
"बच्चाको
हेरविचारको ब्यबस्था कसरी मिलाउनुभएको छ ?"
"यो
बच्चाको हेरचाह गर्नको लागि एकजना प्रहरीको ड्युटी नै तोकिदिएको छु।"
बाँच्दैन
भनेको बच्चा खेलिरहेको र हृष्टपुष्ट देखेर पत्रकारको मन प्रशन्न भयो। एउटी महिला
प्रहरीले काखमा लिएको बेलामा क्लिक्क एउटा फोटोपनि खिंच्यो। डिएसपीसँग बिदा भएर
हिंड्नैलाग्दा, बच्चाकी आमा मीना पौडेल त यही प्रहरी हिरासतमै हुनुपर्ने भनेर
सम्झ्यो। र, सोधिपनि हाल्यो, "बच्चाको आमा त यहीं हिरासतमा छिन्, हैन र
?"
"जस्ले
आफ्नो बच्चालाइ मरोस् भनेर तन्नामा पोको पारी जङ्गलमा फाल्यो, त्यस्ती राक्षसभन्दा
क्रुर आमालाइ बच्चा जिम्मा लगाउन त के कुरा, छुनसमेत् दिने आँट आएन।"
डिएसपीले भने।
बाँच्दैन
भनेको बच्चा खेलिरहेको र हृष्टपुष्ट देखेर पत्रकारको मन प्रशन्न भयो। एउटी महिला
प्रहरीले काखमा लिएको बेलामा क्लिक्क एउटा फोटोपनि खिंच्यो। बच्चा बाँचेकोमा
राहतको सास फेर्दै, तर अभिभावकले उपेक्षा गरेकोमा अपनत्वको न्यानो निख्रिएको
नङ्सिरी लाग्ने चीसोले सिरीङ्ग हुँदै अभिवादन गरेर हिंड्यो।
जुलाई
09,
2013
No comments:
Post a Comment