Pages

Friday, October 11, 2013

मुहान नै दुषित।



मुहान नै दुषित
          -आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com

सैद्धान्तिक आधारभूमि छाडेपछि राजनीतिले वजारमा आश्रय लिन पुग्दोरहेछ। वजारको नियमअनुसार नाफानोक्सानको हिसाबकिताब गरेर चल्दोरहेछ। नेपाली राजनीति त्यही बाटो र दिशामा गैरहेको त सबैले महसुस गरेका थिए, तर कतिसम्म पतनको गहिराईमा पुगेको छ भनेर यकीन गर्न सकेका थिएनन्। उम्मेदवार मनोनयन गर्ने बेलामा पार्टीका आन्द्राभुँडी र भित्र्याँसहरु जब सतहमा छताछुल्ल भएर देखा परे, तब नेपाली राजनीति भित्रभित्रै कतिसम्म कुहिसकेको रहेछ भनेर सर्वसाधारणले छ्याङ्ग देखे।    
            नेकाले बुधबारकै दिन धादिङ-१ मा फणिकान्त छत्कुलीलाइ टिकट दिने निर्णय गरेको थियो। डा. रामशरण महतजीले रोक्नुभयो। एकजना तिलक रुवाली नाम गरेका व्यक्ति महतजीको विश्वासपात्र हुनुहुन्छ। महतजीले घरको रेखदेख गर्ने जिम्मा दिनुभएको छ। घरको राम्रो हेरविचार गरेवापत महतजीले पुरस्कार दिन चाहे। पार्टीमा चर्कै दबाब दिए। फलस्वरुप फणिकान्त छत्कुलीको नाममाथि टिपेक्स लगाएर तिलक रुवालीलाइ टिकट दिइयो। यो एउटा प्रतिनिधि घटना हो। यस्ता सयौं घटना छन् र सबै पार्टीमा छन्। घटना हैन, प्रवृत्ति नै बनेको छ। चौबिसै घण्टा र बाह्रै महिना लोकतन्त्र फलाक्ने नेपाली कांग्रेस पार्टीभित्र लोकतन्त्र गायब र तजवीजचाहीं ढसमस्स बसेको भेटिन्छ। सबै पार्टीका नेताहरु छोटे राजा बनेका छन्। आ-आफ्ना गुटका कोटारी छन्। तिनीहरु राष्ट्रको लागि हैन, पार्टीको लागि पनि हैन, गुटको लागि घम्साघम्सि गरिरहेका हुन्छन्। आफ्ना नातागोता र आसेपासेलाइ टिकट बाँड्दाबाँड्दै बोनाफाइड कार्यकर्ता जहिलेपनि छुट्छन्। प्रचण्डले आफ्नो परिवारका सदस्यहरु (१) पुष्प कमल दाहाल - काठमान्डौ १०  सिराहा ५, रेणु दाहाल (छोरी) - काठमान्डौ १, नारायण दाहाल (भाइ) - चितवन ३, र बिना मगर (बुहारी) - कन्चनपुर् १ गरी ५ थान टिकट परिवारभित्रै सुरक्षित राखेका छन्। डाइनेस्टी राजनीतिको योभन्दा टड्कारो उदाहरण अरु के खोज्नुपर्छ ? प्रचण्डले आफ्नो परिवारका सदस्यहरुलाइ भरमार टिकट बाँडेको देखेपछि बाबुराम भट्टराई, बर्षमान पुन, शक्ति बस्नेत, देवेन्द्र पराजुलीहरुले पनि आ-आफ्ना श्रीमतिको नाममा भागशान्ति जयनेपाल गरेका छन्। आफूसँग टाँसिन आयोभने न त त्यस्को पृष्ठभूमि, न त चरित्र, न त संस्कार, केहीपनि हेरिंदोरहेनछ भनेर रेखा थापा र भुवन केसीलाइ टिकट दिंदा प्रमाणित भएको छ।
       'उठी-उठी सु गर्नेको छोरो घुमिघुमि सु गर्छ' भनेझैं अगुवाहरु बिग्रेपछि कार्यकर्ताहरु मियो उखेलिएको बहर भएका छन्। वाजुराका देवराज जोशीले नेकाबाट टिकट पाएका थिए। टिकट नपाउनेहरुले खोस्न गैहाले। सण्डमुसण्डहरु लगाएर घेरे। 'धुलो चटाइदिन्छौं'  भनेर धम्क्याएपछि देवराजजीले टिकट फिर्ता गरे। भक्तपुरका निर्मल भट्टराईजी बुधबार बिहानसम्म एमाले केन्द्रीय अध्यक्षका स्वकीय सचिव थिए। टिकट नपाउने वुझेर दिउँसो एमाओवादी पार्टीतिर लागे। कांग्रेसले टिकट नदिने नै भयो भन्ने थाहा पाउनासाथ अस्ति मङ्गलबारका दिन नेका बिराटनगरका सचिव बाबुराजा ओझाजीले तत्कालै प्रचण्डसँग सम्पर्क गरिहाले। एकछिन अबेर नगरिकन एमाओवादी भित्र छिरे। कांग्रेस महासमिति सदस्य, सर्लाहीका शम्भुलाल श्रेष्ठजी असोज १५ गते, मङ्गलबार सम्म काठमाडौंमै बिहानबेलुका कांग्रेसी नेताहरुकहाँ र दिउँसो केन्द्रीय कार्यालय धाइरहेका थिए। यति धाउँदा पनि पार्टीले उनलाइ टिकट दिन नसक्ने भएछ। मङ्गलबार साँझ मात्र टुङ्गो लाग्यो। यो जानकारी पाउनासाथ १५ मिनटभित्र उनी प्रचण्डको सम्पर्कमा पुगिहाले। र, तत्कालै राती ९ वजे प्रचण्डले पार्टीमा भित्र्याए। द्वन्दकालमा माओवादीले शम्भुलाल श्रेष्ठलाइ जनकार्यवाही गर्नुपर्ने व्यक्तिहरुको सूचि (ब्ल्याक लिष्ट)को हटलिस्टमा राखेको थियो। झापा क्षेत्र १ का कांग्रेसी नेता भक्ति सिटौलाजीले टिकटको आकांक्षा बोकेर निकै दौडधुप गरे। नपाउने वुझेपछि राप्रपा तिर छिरे।   
        नेपालमा नेताका कुरा पत्याउन छाडे। त्यस्माथि सुजाता कोइरालाका अभिव्यक्तिलाइ त शुद्ध हँसिमजाक , ठट्टारमाइलो र नि:शुल्क मनोरञ्जनको बिषय बनाउँछन्। तर, यस्पालि उनले, "टिकट वितरणमा पैसाको चलखेल" भनेर जुन भनिन्, त्यस्मा सत्यता छ। ठूला व्यापारी, पूँजिपतिहरुलाइ समानुपातिकमा नाम राख्नको लागि मात्र करोडको खेल भैराखेको सुनियो। कान्तिपुरका फिचर सम्पादक हरिबहादुर थापाजीले यसरी पैसाको लेनदेन भएको बिषयमा प्रकाश पारेका छन्।
       आफ्ना आसेपासेको लागि टिकट मिलाउन नेताहरुले जति कसरत गरे, त्यत्तिकै कसरत भोलि आफ्नो प्रतिद्वन्दी बन्न सक्ने युवालाइ किनारा लगाउनपनि गरे। गगन थापालाइ काठमाडौं ४ बाट उम्मेदवार बन्न नदिन प्रकाशमान सिंहजीले गरेको कसरत नमुनाकै थियो। प्रकाशमान सिंह मात्रै हैन, गगनलाइ काठमाडौंबाट टिकट नदिने प्रपञ्चमा कृष्णप्रसाद सिटौला, रामशरण महत र रामचन्द्र पौडेल समेत् भिडे। छोटै अवधिमा गगनले प्राप्त गरेको लोकप्रियतादेखि उनीहरु तर्सेका थिए। गगनको भव्य व्यक्तित्व डम्मै देखे  र उनको ग्र्याभिटीले किचकाच गर्ला भनेर आँत्तिए।
        पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभाव मात्र हैन, जनताको भावनालाइ कुल्चेर र क्षेत्रीय कमिटीको सिफारिशलाइ लत्याएर काम गरेको देखियो। तजवीजी निर्णयहरुमा विवेक र न्याय मिसिएको भेटिएन। एकातिर लोकतान्त्रिक सोच, संस्कार, संस्कृति र शैलीको खडेरी र अर्कोतिर स्वर्थप्रेरीत तजवीजी निर्णयहरुले गर्दा सिस्टमको जग नै चर्मरायो। आस्था निख्र्यो, विश्वास धर्मरायो। मूल्य, मान्यता, सभ्यता र मर्यादा भस्मखरानि भए। नेपाली कांग्रेस, स्याङ्जाका स्थानीय कार्यकर्ताहरु गोपालमान श्रेष्ठ विरुद्ध खनिए। एमाले,काठमाडौं क्षेत्र नं १ का कार्यकर्ताहरु हेडक्वार्टरमै धावा बोल्न पुगे। नेका,काठमाडौं क्षेत्र नं २ का कार्यकर्ताहरुले पार्टी निर्णय विरुद्ध मोर्चाबन्दी गरे। केन्द्रले रेखा थापा, बसरुद्दिन अन्सारी जस्ता नसुहाउँदा व्यक्तिलाइ टिकट दिएको भनेर एमाओवादीको पर्सा कमिटीले खुलेरै विरोध गरेको छ। पक्षपातपूर्ण टिकट वितरण भनि एमाओवादी, कोचिला राज्य समितिले आक्रोश ओकलेको छ।
     "प्रस्थानबिन्दु नै महत्वपूर्ण हुन्छ" भन्ने नियमको कसीमा हेर्ने होभने यस्तो वदनियतपूर्ण, घिनलाग्दो र दुषित निर्णयबाट शुरु भएको निर्वाचनले ल्याउने परिणाम कति विभत्स होला, मोटामोटी अनुमान गर्न सकिन्छ। यस्ता आत्मकेन्द्रित, स्वार्थीहरुले राष्ट्र निर्माण गर्लान् भनेर आशा त गर्न सकिंदैन तर देश र जनतालाइ गोलखाडीमा हालिदिने बिषयचाहीं ठोकुवा गर्न सकिन्छ। भोलि बन्ने सम्बिधानसभाको कम्पोजिशनको प्रोजेक्शन गर्दा, माओवादी र मधेशवादी दलले अघिल्लो निर्वाचनमा प्राप्त गरेको मत केही गुमाउने छन्। समानुपातिक मत साम्प्रदायिक-जातीवादी (आजकाल 'पहिचानवादी' भन्न थालेका) हरु र राप्रपा-नेपालले बढी पाउनेछन्। माओवादी पहिलो पार्टी बनेपनि 'नेक टु नेक' को स्थितिमा रहने छ। सम्बिधानसभामा कसैको वहुमत हुनेछैन। 'वीरवलको खिचडी' जस्तो किचकिच चलिरहने छ। भोलिको सम्बिधानसभाले सम्बिधान बनाइहालेपनि यस्ताले बनाएको सम्बिधान देश र जनताको हीतमा हुने छैन। बनाए जारी गर्न सक्दैन। जारी गरे लागु गर्न सक्दैन। राष्ट्र अराजकता र भाँडभैलोको भूमरीमा रुमल्लिने छ। नेपालमा ८-१० बर्ष अपराधी, डन र युद्ध सरदारहरुको हालिमुहाली चल्नेछ।
Friday, 11 October 2013
   Top of Form
Bottom of Form


No comments:

Post a Comment