Monday, October 21, 2013
चन्द्र गुरुङको कविता।
Chandra Gurung को कविता:
सबैलाई चुनाव लागेको छ मलाई नि लागेको छ । मेरै कविता “हामी र यी मौन पर्खालहरू”बाट एक अंश...
हामी
हिँडछौँ नाकाम र नपुँसक जुलूसहरू
सुन्छौँ झूठा आश्वासनहरू ।
हामी र पर्खालहरू
पर्खाल र हामीहरू
उस्तै छन् हाम्रा कथा र व्यथाहरू ।
हाम्रा छातीमाथि देश दुखेको तस्बिर कोरिन्छ
जसरी लेखिन्छ पर्खालमाथि सिमाना मिचिएको खबर ।
हाम्रैअघि महँगीको पहाड अग्लिन्छ
जसरी पर्खालमाथि उचालिन्छ कुनै पार्टीको भद्दा झण्डा ।
छाद्छन् अगुवा हाम्रैअघि झूठा वचन
जसरी पर्खालमुन्तिर थुपारिन्छ फोहोरको दुर्गन्धित थुप्रो ।
जसरी नेताहरू देखाउँछन् सुनौला सपना हामीलाई
पर्खालअघि तेसरी नै नाङ्ले पसलेले सजाउँछ रंगीन दोकान
र, जसरी चर्किन्छन् पर्खालहरू
यसरी नै च्यातिन्छन् हाम्रा ईन्द्रधनुषी सपनाहरू ।
वास्तवमा,
हामी मात्र हौँ मौन मौन पर्खालहरू
थुप्रै अत्याचारहरू सहेर बस्न बाध्य पर्खालहरू
आवाजविहीन उभिन अभिशप्त पर्खालहरू ।
यी पर्खालमाथि
मानिसहरू दल्छन् जल्दै गरेका चुरोट ठुटा
जसरी नेताहरूले हाम्रा सपनाहरूमा झोस्छन् आगो,
यी पर्खालअघि भुस्याहा कुकुरहरू
उचाल्छन् खुट्टो र,
बिना हिच्किचाहट प्रदर्शन गर्छन् आफ्नो नमिठो पहिचान
जसरी चुनावअघि देखाउँछन् नेताले अनुहार ।
एकान्तको मौकामा
उस्तैले पर्खालमाथि निर्धक्क थुक्छन्
उस्तैले पर्खालमाथि निसंकोच मुत्छन् ।
यसरी नै हामीलाई
हाम्रा नेताहरूले लोप्पा खुवाउँछन्
सधैँ सधैँ धोखा दिन्छन्
सपनाका भीर चढाउँछन् र लडाउँछन् ।
हामी बाध्य छौँ
सहनलाई आफ्ना सपनाका निर्मम बलात्कार
हेर्नलाई हाम्रा ईच्छाहरूको हत्या ।
अब
पर्खालकै मौनता उभिएर हुँदैन हामीले
आफ्नै रूपरंगको सौन्दर्यलाई छोप्दै,
आफ्नै जीवनको मूल्यलाई मास्दै,
आफ्नै अस्तित्वलाई मेट्दै ।
बस्न हुन्न सपनाका अग्ला धरहरा भत्केको हेर्दै
जिउन हुन्न गरीब उमंगहरू कलिलै निमोठिएको सहदै
बाँच्न हुन्न आफ्ना कुहिएका रहरहरू सुँघ्दै ।
अब
त्याग्नु छ यो अभद्र मूत्रस्नान
जाग्नु छ थूक र सिँगानको लेपनको विरोधमा ।
हामीले
उठ्नु पर्छ आफ्नो स्वाभिमानको हिमालपहाड
बग्नु पर्छ आफ्नो स्वतन्त्रताको खोलानाला ।
चेतना बिउँझनु पर्छ च्यात्दै हामीमाथि टाँस्सिएका यी पोस्टरहरू
अत्याचारी निरंकुश पोस्टरहरू
अन्यायी क्रूर पोस्टरहरू
दमनकारी र विभेदी पोस्टरहरू ।
अब हामीले हिँड्नु छ युगकै एक सुन्दर यात्रा
उभिनु हुन्न मौन मौन पर्खालहरू ।
Like ·
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment