Thursday, October 31, 2013
न विवेक, न मूल्याङ्कन।
न विवेक, न मूल्याङ्कन।
-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com
छाँगाबाट खसेर बजारिन पुग्दा कस्तो अनुभूति हुन्छ ? आज (२०७०\ ०७\ ०४ गते) यज्ञराज पाठकजीले त्यही अनुभव गरे। आफ्नो मित्रको घर शिलगढी (डोटी)मा बसेका थिए। कौसीमा बसेर दूर क्षितीजतिर नियालिरहेका थिए, आफ्नै पुनरावलोकन गर्न थाले। चिन्तामग्न भएर सोचे, "चेतना पसेदेखि घर,परिवार र आफैंलाइ समेत् बिर्सेर यही नेपाली कांग्रेसको राजनीतिमा जिन्दगी होमें। जेलनेल भोगें। प्रशासनको वारण्टबाट जोगाउन पार्टीले प्रवासमा रहेर पार्टी-काम गर्न निर्देशन दियो। देशभित्रका हरेक आन्दोलनमा अग्रपङ्क्तिमै थिएँ। पुलिसका कति लाठिमुङ्ग्री यो ज्यानले खप्यो, त्यस्को लेखाजोखा र हिसाब छैन। उपचार गराउननपरेको कुनै आन्दोलन छैन। एकपल्ट त पुलिसले लाठी मजैसँग हानेछ। धेरै दिन अस्पताल बस्नुप-यो। राजनीतिमा मेरो एकोहोरो समर्पण देखेर मेरो घरपरिवार र नातागोता समेत् वाक्कदिक्क भएका थिए। डोटीका साथीहरुकै अनुरोधमा नेका डोटी जिल्ला कमिटीको सभापति भएर काम गरें। संसद पुनर्स्थापना भएको बेला यज्ञराज पाठकलाइ सांसद बनाउनुपर्छ भनेर साथिहरुले केन्द्रमा निकै दबाब दिएछन्। मनोनित सांसद हुन पटक्कै इच्छा थिएन। साथीहरुकै करबलले, आफ्नै आत्मा मिचेर, डेढ बर्षजति सांसद भैटोपलें। मेरो खुट्टाले बिरलै जुत्ता भेट्योहोला। चप्पल नै मेरो परिचय बन्यो। मैले घरबार जोडिन। केटाकेटीले गतीलो स्कुलमा पढ्न पाएनन्। अहिले ६५ बर्षको भएँ। जीवनभरी सङ्घर्ष, दु:ख, कष्ट र चुनौतिको सामना गरिरहें। शरीरले जति दु:ख पाएपनि मेरो आत्मा सधैं आत्मविश्वासले दह्रो र उत्साही नै रह्यो। तर, आज पार्टीकै नेताले, 'आर्थिक अभावमा तपाईंको परिवारले साह्रै दु:ख पाए। त्यसैले, यस्पालि टिकटको सट्टा पैसा लिनुहोस् है।' भनेर मलाइ १ करोडको अफर गरे। यस्तो प्रस्ताव सुन्न सकिन। खङरङ्ग भएँ। ओठ-तालु एक्कैचोटी सुक्यो। यस्पालि यज्ञराज पाठकलाइ टिकट दिनैपर्छ भनेर जिल्लाबाट १ नम्बरमा सिफारिश मात्र ह्वैन, जिल्लाका साथीहरुले दह्रो लबिङ्ग गरेकारहेछन्। केन्द्रका नेताहरुको भने आफ्ना मान्छेलाइ टिकट दिने सूर रहेछ।"
मित्रको श्रीमतिले चिया ल्याएर राखिन्। केही भन्न खोजेकी थिइन होला, एकछिन उभिइन्। यज्ञराज पाठक एकोहोरो घोत्लिरहेको देखेर डिस्टर्ब गर्न उचित ठानिनन्, र फर्किन्। बरु यज्ञराज पाठकले नै मित्रको परिवारको बिषयमा सोचे, "यो मित्र र म सँगसँगै हुर्केबढेका थियौं। यस्ले, 'एकोहोरो राजनीति-राजनीति भनी कुदेर मात्र हुँदैन, घरपरिवारको पनि ख्याल राख्नुपर्छ' भनेर धेरैपटक सम्झाएको थियो। आज यस्को घरपरिवारको राम्रो बन्दोबस्त छ। छोराछोरीलाइ गतीलो अङ्ग्रेजी बोर्डिङ् स्कूलमा राखेर पढाएकोले छोराबुहारी र छोरीज्वाईं युरोपमै सेटल भएका छन्। मित्रसँग आफ्नो परिवारलाइ दाँजे। आफ्नो छोराछोरीले सरकारी स्कूलमा समेत् राम्ररी पढ्न पाएनन्। १० बर्षदेखि नै घरको काममा सघाउन लगाइयो।" यो सम्झँदा पाठकको मुटु कटक्क काटियो। पुन सम्हालिए, र मनोवादमै घोत्लिए। सोचे, "हिजो सङ्घर्षका दिनमा जतिसुकै दु:ख पाएपनि त्यस्ले पीडा दिएको थिएन। तर, आज ममाथि टीठलाग्दो नजरले करुणा राखेर टिकटको सट्टा नोटको बिटो तेर्स्याएको दिन मेरो आत्मा फतक्कै गल्यो। चक्नाचुर भयो। पार्टीका सभापतिले विवेकविचार नपु-याएको कारणले पनि यो स्थिति उत्पन्न भएको हो। सुशील कोइराला दह्रो नेता होइन, लुलो रहेछन्। सुशील कोइराला, रामचन्द्र पौडेलहरुले आफ्नो निर्वाचन क्षेत्रका धेरैलाइ समानुपातिकमा हालेका छन्।"
पाठकजीले लामो सास ताने, र आत्मावलोकनको शिलशिलालाइ नै अघि बढाए। सोचे, "जतिसुकै अत्याचार गरुन्। चोटमाथि चोट र पीडामाथि पीडा थपिरहुन्। तर, नेपालगञ्जलका निजामुद्दिन अन्सारीले जस्तो पार्टीलाइ लात हान्ने काम मबाट हुँदैन। यो पार्टी निर्माणमा मेरो रगतपसिना बगेको छ। यो पार्टी ती ठालूहरुको मात्र बपौति, पेवा होइन। कुनै-न-कुनै दिन मूल्याङ्कन कसो नहोला ! पर्वतका ऋषिकेश तिवारीजीलाइ झन् बढी अन्याय भएको छ। अन्याय, पक्षपात र थिचोमिचो सहेरै पार्टीकाममा खटीरहेका छन्। आजभन्दा ३४ बर्षअघि नै अङ्ग्रेजी साहित्यमा एमए गरिसकेका थिए। २०३६ सालमा मण्डलेहरुले लादी आउने गरेर कुटेछन् र म-यो भनेर पोखराको सेतीमा फालिदिएका थिए। कीर्तिपुर, मच्छेगाउँको बाघभैरब माबिको व्यबस्थापन कमिटीले घरबाटै बोलाएर लगि शिक्षक बनाएका थिए। सरकारी (सामुदायिक) स्थायी शिक्षक भएका थिए। स्कूल धनी थियो। सरकारी तलबको अतिरिक्त झण्डै त्यति नै भत्ता दिन्थ्यो। अङ्ग्रेजी राम्रो भएकोले ट्युशन पढ्नेको धुइरो हुन्थ्यो। २०४७ सालतिर पार्टीले जागीर छाडेर जिल्ला जानु भन्यो। त्यस्पछि जिल्लामै छन्। एकजना सांसदको मृत्यु भएकोले वाँकि अवधी (५ महिना)को लागि सांसद बनाएको बाहेक आजसम्म एउटै अवसर उनले पाएका छैनन्। पर्वत क्षेत्र नं २ मा एमालेका उम्मेदवार विकास लम्सालजीले बरु चुनाव प्रचारमा ऋषिकेश तिवारीका योजनाहरु बोकेर हिंडेको देखियो। त्यस्ता योग्य व्यक्तिले त सहेरै बसेका छन् भने मैलेपनि सहनैपर्छ।"
पिल्सिएर बस्नुपरेपनि यज्ञराज पाठकजीले सहने नै निश्चय गरे। मित्रलाइ समेत् लिएर निर्वाचन अभियानतिर हिंडे।
Friday, 25 October 2013
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment