Pages

Wednesday, November 27, 2013

भूईंमान्छेले देखेको पार्टी।

भूईंमान्छेले देखेको पार्टी -आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com साँझ परिसकेको थियो। उकाली-ओराली हिंडेर प्यूठान, जुम्रिकाँठा-९ को बस्तीनिर आइपुग्दा थकाइले लोद भएका थिए। बाटाको छेउमा एउटा घर देख्नासाथ शशिधरको गोडाले अगाडी बढ्न इन्कार ग-यो। गाईगोठबाट निस्केर आउँदैगरेका एकजना किशोर देखिए। उनैलाइ सोधेर घरभित्र पसे, र झोला बिसाएर तिनै किशोरसँग अँगेनाको छेउमा बसे। पानसको उज्यालोमा शशिधरले देखे, एकातिरको कुनामा अधबैंसे महिला चुल्हो बाल्दैथिइन्। अर्कोपटि छेउमा एकजना किशोरले पाञ्चायनको आरती गर्दैथिए। खाना खानुअघि यिनै किशोरसँग सामान्य भलाकुसारीबाहेक विशेष कुरा भएन। खाना खाइसकेपछि चिनापर्चिसँगै वातचित भयो। महिलाको नाम बेदी पुँजाली रहेछ। ५० बर्ष पुगिछन्। ९ बर्षअघि उनका पति रिमे पुँजालीको मृत्यु भएछ। जेठो छोरा १३ बर्षको र कान्छो ११ बर्षको भएछ। अढाई बर्षदेखि भारततिरै काम गरिरहेको जेठो अहिले घर आइपुगेको रहेछ। दरिद्रताकै कारणले छोराहरुलाइ स्कुल पठाउन सकिनछिन्। शशिधर लेखक, पत्रकार हुन् भन्ने थाहा पाएपछि बल्ल खुलेर कुराकानि गर्न थाले। निर्वाचनको माहोल भएकोले शशिधरले त्यही प्रसङ्गबाट वातचित शुरु गरे। "भोट कस्लाइ हाल्ने विचार गर्नुभएको छ ?" शशिधरले सोधे। "उमेर नपुगेको कारणले हामी २ भाइले त भोट हाल्न नपाउने होला, आमालाइ पनि भोट हाल्न नजानुहोस् भनेका छौं।" थोरै विद्रोह मिसाएर जेठो बोल्यो। "आक्रोश चर्को रहेछ। के कारण प-यो त्यस्तो ?" "दुर्भाग्यको मारमा त हामी प-यौं नै। अत्याचारको जाँतोले हामीजति कोही पिसिएका छैनौं। अलिअलि जान्नेवुझ्ने भएदेखि नै अपमान र तिरस्कारबाहेक अर्थोक पाएको मलाइ थाहा छैन।" जेठो अलि बिस्फोटक भयो। "कस्ले ग-यो अत्याचार, अपमान र तिरस्कार ?" "यही समाजले ग-यो। र, अत्याचारीलाइ साथ दिएर पार्टीहरुले गरे।" "कस्ता-कस्ता अत्याचार गरे ? अलिकति खुलाइदिनुहोस् न।" शशिधरले उत्सुकता बढाए। यतिञ्जेल किशोर र आमा मौन थिए। मौन भएपनि उकुसमुकुसको छटपटी बेदी पुँजालीको अनुहारबाट प्रकट भैरहेको थियो। अघि सरेर बोलिन्, "अत्याचार खपिनसक्नु छ। भनेर भनिसक्नु र सुनेर सुनिसक्नु भए पो ..!" बेदी पुँजाली एकछिन अड्किन। खम्बामा अडेसलाएर बसेकी थिइन्। अलिकति अघि सरिन् र बोल्न थालिन्, "श्रीमानको मृत्यु भएदेखि नै जेठाजु लिमे पुँजालीका खलक हात धोएर मेरो पछि लागे। सर्वप्रथम एउटा लठुवासँग सल्केकी छ भन्न थाले। त्यतिले नपुगेर 'यो बोक्सी हो' भनेर हल्ला फिंजाए। गाउँघर, वरपर जस्को घरमा बालबच्चा बिरामी परेपनि, बस्तुभाउ झोक्राएपनि, तिनीहरु त्यहीं पुगेर, 'त्यही भेदाहाको काम हो, यहाँपनि भ्याइछ' भन्न भ्याइहाल्छन्। त्यसपछि जेठाजुको छोरो टङ्के पुँजाली सरासर आउँछ र मलाइ चड्कन हान्न थाल्छ। लठ्ठीले बजाउन थाल्छ। ढाड र पिडुँलाभरी नीलडाम छ। यहाँका ठूलाबडा भन्ने र बुढापाकाहरु सबैलाइ भनिसकें। ममाथि भएको यत्रो अन्याय, अत्याचारको बिषयमा कोहीपनि अघि सरेर बोलेनन्। घरजग्गा बेचेर अन्यत्रै जान्छु भनेर सूर कसें। किन्न आएका मान्छेलाइ पनि किन्न दिंदैनन्। अनेक गरेर भाँडिदिन्छन्।" बोल्दाबोल्दै बेदीको गला अवरुद्ध भयो। एकछिन रोकिइन्। एक ग्लास पानी पिइन्। सामान्य भएपछि शशिधरले सोधे, "यी बाबुले अघि पार्टीहरुप्रति आक्रोश पोखेका थिए। पार्टीले के ग-यो र ?" "पार्टीप्रति उस्को आक्रोश जायज छ। यी पार्टीका कार्यालय धाएँ। सबै पार्टीका नेतालाइ भेटें। आफूमाथि खनिएको अत्याचारको बेलिबिस्तार सुनाएँ। 'ओहो ! यत्रो अत्याचार खपेर कसरी बस्न सक्नुभयो' पनि भने। गाउँसमाज भेला गरेर छ्यानब्यान गरिदिनुहोस् भन्दा 'हुन्छ, गर्छौं' पनि भने। तर, कहिल्यै गरेनन्। किन गरेनन् भनेर वुझ्दा थाहा भयो, हामीमाथि अत्याचार गर्नेको जमात ठूलो छ। हाम्रो कोही छैन। म नितान्त एक्लो छु। त्यहाँमाथि, त्यो टङ्के त ५-६ बर्षदेखि प्रचण्डको पार्टीमा लागेको रहेछ। उस्ले जति अत्याचार गरेपनि पार्टीले उस्कै पक्ष लिने नै भयो। टङ्केले गरेको अत्याचार भन्दापनि पार्टी र नेताहरुले अन्यायविरुद्ध १ शव्द नबोलेकोमा हाम्रो चित्त दु:खेको छ।" अन्तिम बिसौनीमा आइपुगेर बस रोकिए जस्तै बेदीले ब्रेक लगाइन्। ओढिरहेकै पछ्यौरीको फेर मुखमा कोचेको देखें। घुँक्क-घुँक्क आवाज सुनियो। एकछिन वातावरण स्तव्ध भयो। मौनतालाइ चिर्दै ठूलो बाबुले, "तपाईंको लागि नौलो भयोहोला, हामी त आँसुको भेलमै वाँचिरहेका छौं। हिंडेर आउनुभएको, थाक्नुभएको होला। सुत्ने व्यबस्था यता गरेका छौं, जाउँ" भनेर मलाइ बिछ्यौनातिर लग्यो। नोभेम्बर 27, 2013

No comments:

Post a Comment