Pages

Wednesday, December 25, 2013

एक्लो बृहस्पति।

एक्लो बृहस्पति -आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com दशैंभरी परशु घिमिरेको गम्भीर मुद्रालाइ मित्रले मार्क ग-यो। यस्को जिन्दगि पत्रकारितामै वित्यो। तरुण (साप्ताहिक) को सम्पादक भएको पनि यतिका बर्ष भैसक्यो। पत्रकारिता पेशामा पाइला हालेदेखि यो परशुले धेरै समस्या र डरलाग्दा चुनौतिको सामना गरेको छ। सधैं हाँसि-हाँसि चुनौतिको सामना गरेको छ। कस्ता-कस्ता अप्ठेरा, समस्या र चुनौति आइपर्दा समेत् रत्तिभर विचलित नहुने यो मान्छेलाइ यस्पालि दशैंभरी गम्भीर, चिन्तित र मलिन देख्यो। एकदिन मौका पारेर मित्रले सोध्यो, "हैन, के भयो तँलाई ? यस्पालि दशैंभरी मलिन देखें ?" "त्यस्तै एउटा घटना भयो।" परशुले अमूर्त जवाफ दियो। "कहिले, के भयो ?" तिब्र उत्सुकताको आवेगमा मित्रले सोध्यो। "फूलपातिको ३ दिनअघि हो। दशैंमा बिदावारी हुने भएकोले तरुणका साथीहरु सबै बसेर चिया-खाजा खाँदैथियौं। एक्कासि मेरो मोवाइलको घण्टी बज्यो। त्यही घण्टी नै मेरो चिन्ताको कारण बन्यो।" "यसरी खटाई-खटाई हैन, खुलस्त भन् न।" "लौ सुन्। ९८५१२८१३६५ नम्बर मोवाइलबाट आइजिपी कुवेरसिंह रानाको सचिवालयमा कार्यरत खत्री थरका इन्स्पेक्टर बोलेका थिए।" "ठीक छ, तर कुरा के भयो ? त्यो भन् न।" "इन्स्पेक्टर खत्रीले, 'हजुरको लागि एउटा खाम छ। कहाँ ल्याइदिउँ' भन्यो। मैले त समाचारसामगृ होला भन्ठानें। आज साथीहरु बिदावारी हुनुभयो। अब दशैंभरी पत्रिका बन्द रहन्छ भनेर जवाफ दिएँ। उस्ले, 'समाचारसामगृ हैन, दशैंको दक्षिणा हो हजूर' भन्यो। मेरो त कन्सिरीको रौं तातिहाल्यो। मोवाइलमै एक लेक्चर दिएँ। उस्ले, 'हामी त तल्लो दर्जाको मान्छे। हाकीमको आदेश पालन गरेको मात्रै हुँ' भन्यो। उ बिनम्र भाषामा बोल्दैथियो। तैपनि मेरो रिसको पारो ओर्लेन। 'इन्स्पेक्टर भनेको भोलिको आइजिपी नै हो। आजैदेखि यस्तो अभ्यास गर्दै हुनुहुन्छ' भनें।" यति भनेर परशु घिमिरे चुप लागे। मित्रको खसखस झन् बढ्यो। सोध्यो, "कुरा यत्ति होकि अरुपनि छ।" "यसैसँग जोडिएका अरु कुरा पनि छन्।" "फटाफट भन् न त।" मित्रले हतारिएको लवजमा भन्यो। "यो वार्तालापपछि म निकैबेर स्तव्ध भएँ। अर्थोक सोच्नैसकिन। केही अन्तरङ्ग मित्रहरुसँग यो बिषयलाइ कोट्याएँ। उनीहरुले, 'यो त धेरै अघिदेखि प्राक्टिसमा आइसकेको छ। चलनचल्तिमा आइसकेको सामान्य कुरो हो' समेत् भने। वुझ्दा के थाहा भयोभने आइजिपी कुबेरसिंह रानाले सम्पादक र पत्रकारहरु गरी करिब तीन दर्जनलाइ रु.२५हजार राखेको खामसँगै आँगन र अनमोलको मिठाइको प्याकेट पठाएका रहेछन्।" परशु घिमिरेले खुलस्त गरे। "यत्ति कारणले तँ यस्पालि दशैंभरी घोत्लिएर बसेको ?" मित्रले खो-याए। "अरु भन्दापनि पत्रकार साथिहरुले नै यस्लाइ 'सामान्य' भनेकोमा म बढी गम्भीर भएँ।" "ठीकै त भने नि। तँ आफूलाइ पत्रकार भन्छस्, यत्तिपनि थाहा रहेनछ। पोहोर स्वास्थ्य मन्त्री राजेन्द्र महतोले फूलपातीकै ५ दिनअघि यसैगरी पत्रकारहरुलाइ खाम बाँडेका थिए। बरु त्यस्मा रकम थोरै, ८-१० हजार मात्र, थियो। कुबेरसिंह रानाकै बिषयमा भन्नुपर्दा उनकै आसेपासेहरु, 'रानासाहेबले यो तीन बर्षमा ५ करोड मात्र कमाउनुभयो, धेरै कमाउन सक्नुभएन। बरु निर्वाचनको बजेटबाट अरु ५ करोड कमाउनुहोला, त्यत्ति हो' भनिरहेका छन्।" मित्रले थप खुलासा गरेपछि परशु घिमिरेजी बोल्नै सकेनन्। हेरेको हे-यै भए। सोमबार निस्केको 'तरूण (साप्ताहिक)' पत्रिका १ प्रति बोकेर मित्र निस्के।

No comments:

Post a Comment