Wednesday, March 26, 2014
सञ्जयको भूमिगत जीवन
-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com
भूमिगत भएपनि भारतको सीतामढीमा सञ्जय साह 'टक्ला' सँग भेट्न जगदीश महरालाइ कठिन भएन। सञ्जय बसेको घरमा पुग्दा घाम डुब्नैलागेको थियो। टाढाको नाता पर्ने व्यक्तिको घरमा बस्नेखाने बन्दोबस्त मिलाएकै रहेछन्। त्यहाँपनि त्यत्तिकै बसेका रहेनछन्। राम्रै नेटवर्क भएको 'अण्डरवर्ल्ड' समूहसँग सम्बन्ध जोडेछन्। नयाँ योजनाको तानाबुना बुन्नथालेको भनकपनि जगदीशले पाए। 'अण्डरवर्ल्ड' समूहसँगको छलफल सकिएपछि सञ्जयले जगदीशलाइ इशारा गरेर बोलाए र भित्र अर्को कोठामा लगे। एउटा केटालाइ बोलाएर खाजा मगाए र ह्विस्कीको बोतल फोरे।
"मेरो बिषयमा के-के भैरहेछ ?", ह्विस्किको चुस्कीसँगै सञ्जयले सोधे।
"प्रहरीको बिषयमा त त्यही नै हो। त्यहाँभन्दा फरक र थप केही छैन।" जगदीशले जवाफ दिए।
"मेरो पक्षमा राजनीतिक पहलकदमी केही भएको छैन ?"
"मैले आफ्नै प्रयत्न र प्रयासमा केहि नजिकका साथिहरुलाइ, 'यो मधेशी विरुद्ध अर्को ठूलो षडयन्त्र हो' भन्न लगाएँ। म आफैंले पनि 'मधेश आन्दोलन विरुद्ध हो' भनेर ठूलै होहल्ला मच्चाएँ।"
"मेरो टीमको, त्यस्मापनि यति नजिकको, तपाईंजस्ता मित्रले मेरो पक्षमा गर्जेर जति चिच्याएपनि त्यस्को प्रभाव बढी पर्दैन। 'आफ्नै नजिकको मित्रलाइ बचाउनको लागि भनेको' ठान्छन् सबैले। दर्जनभन्दा बढी मधेसी पार्टी छन्, तिनीहरुले विरोधका कार्यक्रमहरु ल्याएनन् ?"
"कहाँ विरोधका कार्यक्रम भन्नुहुन्छ ? एउटा वक्तव्य त कसैले निकालेन। आफ्नै पार्टीले त वक्तव्य निकालेको छैन। बरु, लक्ष्मणलाल कर्ण बुढाको घरमै गएर बेलुका र बिहान दबाब दिएपछि अस्ति बिहीबार संसदमा बोले।"
"के बोलेछन् बुढाले ?" अनुहार उज्यालो पारेर सञ्जयले सोधे।
"सन्तुलित नै बोलेछन्। 'अपराधमा संलग्न होभने त माफी दिनुपर्छ भन्ने पक्षमा हामी छैनौं। सत्यतथ्य के हो ? गृहमन्त्रीले प्रष्ट पारिदिनुपर् यो' भनेछन्।"
"कडिकडाउ कुरा राख्नुपर्ने ! यो त झारा टार्न मात्र बोलेको भयो।"
"त्यही त, २ बर्ष अघिसम्म मधेसी नेताहरु बाघ थिए, ४-५ महिना यता स्याल भएका छन्। किन यसरी भस्याकभुसुक् निभे ? ओइलाएको साग पो भए त !" जगदीशले जिज्ञासा राखे।
"हामीबाट पनि धेरै कमिकमजोरी भयो। देख्नुभएन, '२४० बर्षदेखि पहाडे बाहुनक्षेत्रीहरुले मधेशीहरुमाथि विभेद गरेका छन् ' भनेर हामी कुर्लिरह्यौं। त्यही बेलामा हटौंडातिर घर भएको स्तम्भलेखकले युएनडिपी लगायत धेरै सर्वेक्षण रिपोर्टका तथ्यहरु अगाडी सारेर तराईका कायस्थ, भूमिहार, राजपूत र बाहुनहरु पहाडे बाहुनक्षेत्री भन्दा आर्थिक लगायत् हर पाटोमा धेरै माथिल्लो हैसियतका देखिए। मध्यपश्चिम र सुदूरपश्चिममा त तराईभन्दा पहाड झन् दयनीय हालतमा देखियो। तराईका यी समुदाय मात्रै ह्वैन पहाडे बाहुनक्षेत्री भन्दा नेवार, थकाली, मनाङे, गुरुङ, मारवाडी समुदायहरु आर्थिक, शैक्षिक, चेतना, पहूँच सबै पक्षमा माथिल्लो हैसियतमा देखिए। विकासका आधारभूत संरचनाहरु पनि तराईमै निर्माण भएका रहेछन्। भावनादोहनको लागि झुठमुठका हल्ला धेरै चलाएछौं। सत्यतथ्यको अगाडी के टिक्न सक्थ्यो ? एउटा कारण यो भयोभने अर्को कारणचाहीं हामी मधेशीहरु सिद्धान्तहीन र नैतिकहीन रहेछौं। जुट्न नजान्ने, फुटेकोफुट्यै गर्ने रहेछौं। पतनको लागि योभन्दा ठूलो कारण के चाहियो ?"
सञ्जय साह 'टक्ला' को ब्याख्याबिश्लेषणबाट जगदीश सन्तुष्ट भए। केही दिनदेखि अरु कौतुहल थिए। आज मौका परेकोले सोध्ने विचार गरे।
"ब्यक्तिगत कुरा सोधौं है ?" जगदीशले अनुमति माँगे।
"अरे..रे ! सोध्नुहोस् न। तपाईं त मेरो सबैभन्दा नजिकको मान्छे। मेरो बिषयमा तपाईंले थाहा पाइराख्न जरुरी पनि छ। ल सोध्नुहोस्, के सोध्न मन छ।" सञ्जय खुले।
"जनकपुरमा बमबिष्फोट तपाईंले नै गर्न लगाउनुभएको थियो त ?" धेरै दिनदेखि घाँटीमा अड्किएर बसेको ज्वलन्त प्रश्न मौका पाउनासाथ जगदीशले सोधिहाले।
"हो, मैले नै गर्न लगाएको थिएँ।" सञ्जय आज इमान्दार बने।
"किन गराउनुभयो ?"
"जीवनाथ चौधरीलाइ सिध्याउन जरुरी थियो। त्यो घटनाभन्दा केही महिनाअघि त्यस्को मुटुलाइ ताकेर हानेको गोली अन्यत्र लाग्यो। इण्डियामा उपचार गराएर आयो। त्यसदिन जीवनाथ चौधरी धर्नामा बस्दैछ भन्ने पक्का खबर थियो। त्यसैलाइ त्यहीं सिध्याउनको लागि बम बिष्फोट गर्न लगाएको थिएँ।"
"यस्ता घटना पहिले पनि भएका थिए कि ?" जगदीशको जिज्ञासा अरु बढ्यो।
"गराएँ नि। यो लाइनमा लागेपछि गर्नैपर्छ। सर्वप्रथम धीरापुर गाविस, महोत्तरीका तत्कालीन गाविस अध्यक्ष हेमचन्द्र यादवका छोरा पप्पुलाइ २०५७ चैत्र १७ गते अपहरण गरें, र रु.१० लाख फिरौती लिएर छाडिदिएँ। त्यसबेला मलाइ पैसाको निकै खाँचो परेको थियो। आफ्नै ड्राइबर जनकपुर-१४, मुजेलियाका नन्दुकुमार राउतको हत्या गर्नुपर् यो। त्यो भित्रभित्रै जीवनाथ चौधरीसँग मिलेको रहेछ।" मुख्यमुख्य घटना राखे।
"तपाईंसँग मेरो सङ्गत २०६४ पछि हो। त्यसअघिको तपाईंको जीवनयात्रा कसरी आयो भन्ने बिषयमा म अनभिज्ञ छु।"
" लोहना-७, धनुषामा घर हो। सम्पति खासै थिएन। पहिले यही जीवनाथ चौधरीसँग मिलेर ठेक्कापट्टामा हात हालें। चुँगीकरको रकम हिनामिना गर् यो भनेर ममाथि आरोप लगाएपछि उसँग सम्बन्ध बिग्रयो। २०५४ सालमा एमालेको टिकटबाट रामचरित्र साह धनुषाको सभापति भए। उनी सभापति भएपछि सबै काम मैमार्फत् हुनथाल्यो। उनकै सहयोगबाट मैले सामान्य बन्दोबस्त मिलाइसकेको थिएँ। २०५८ सालतिर धनुषामा एसपी भएर आएका विश्व राणाजीले मलाइ अपराध जगतमा स्थापित गराए। २०६४ सालको तराई आन्दोलनपछिको धमिलो वातावरणको फाइदा लिंदै म राजनीतिमा छिरें। बाँकि त तपाईंले देखिराख्नुभएकै छ।" यति भनेर सञ्जय चुप लागे।
रातको १० बजिसकेछ। सञ्जयको आँखा लोलाएको जगदीशले देखे। निन्द्रादेवीको काखमा लुटुक्क सुत्नु नै बुद्धिमानी देखेर जगदीशपनि आफ्नो बिछ्यौनातिर लम्किए।
शुक्रवार, मार्च 21, 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment