Pages

Friday, February 2, 2018

स्वराज भ्रमण, बेमौसमी राग



पछिल्लोकालमा भारतले नेपालसँगको ब्यवहारमा भएका गल्ति-कमजोरीलाइ सुधार्न खोजेको छनक देखाएको छ। साँच्चै सुधार्न खोजेको होभने निकट भविष्यमा उस्का ब्यवहारले देखाउने छ।
  भारतले जानाजानि र सोचिसम्झि नेपाललाइ लगाएका घाउ-चोटहरु गहीरा छन्, अङ्गप्रत्यङ्गमा छन् र तल-तलसम्म छन्। माथि शीरलाइ मात्र सुमसुम्याएर तल-तलसम्म भएका घाउ-चोटहरुको उपचार सम्भव हुँदैन।
    अन्तर्राष्ट्रिय कानुन अनुसार भूपरिवेष्ठित देशले समुन्द्रसम्म निर्वाध पहूँच पाउनैपर्ने नैसर्गिक हकको रुपमा स्थापित मान्यतालाइ कुल्चेर भारतले नेपाललाइ पारवहन सुविधा दिनु उस्को दया,माया कृपा हो भन्ने ब्यवहार दर्शाइरह्यो। अर्थतन्त्र कमजोर मात्र हैन बिपन्न अवस्थामा रहेको नेपालले ८ खरबभन्दा बढी ब्यापारघाटा ब्यहोरिरहेको छ। यस्तो स्थितिमा नेपालका उत्पादनलाइ भारत प्रवेश गर्न नदिन अनेकौं बाधा, अड्चन खडा गरेकोगर्यै छ।

   सीमाक्षेत्रको त कुरा गरेरै साध्य छैन। कालापानी, सुस्ता त हाकाहाक्कि कब्जा गरिराखेकै छ, त्यसबाहेक डेढसय भन्दा बढी स्थानमा नेपाली भूमि मिचिराखेको छ। अहिले नेपालको लिपुलेकमा पाइला हालेको छ। सीमाको दशगजा नै मिचेर अग्लो बाँध बनाएको छ र त्यसमाथि रोड निर्माण गरेको छ।
नेपालका जलश्रोतमाथि गिद्देदृष्टि गाडेको छ। नेपालमा लम्पसारवादी नेता सत्तामा आएको मौका-अवसर छोपेर कोशी, गण्डकी, महाकाली सन्धि गरिसकेको र अरुपनि गर्दैजाने दाउमा देखिन्छ। उनीहरुकै दलाली गर्ने नेपाली पदाधिकारी निर्णायक स्थानमा रहेको मौकामा जलश्रोतका लाइसेन्स लिएर होल्ड गरिराखेकै छ।
भारतले नेपालका योजनाहरुमा हात हाल्ने तर योजना कार्यान्वयनलाइ अगाडी नबढाउने गरेका उदाहरण त, हुलाकी राजमार्ग, पञ्चेश्वर बहुउद्देश्यीय योजना, भूकम्प पनर्निर्माण योजना, अरूण जलविद्युत लगायत अनगिन्ति छन्।
यीभन्दा अझै बढी पीडादायी कार्य त, नेपालको आन्तरिक मामलाभित्र घुसेर माइक्रोम्यानेजमेण्ट नै गरिरहेको छ। हुन त उस्ले नेपालका सत्तापिपासु, लम्पसारवादी नेताहरु तथा निर्णायक तहमा रहेका बिकाउ पदाधिकारीहरुलाइ आफ्नो एजेण्ट बनाएर घुसपैठ र माइक्रोम्यानेजमेण्ट गरिरहेछ, तर आन्तरिक मामलाभित्र उस्को घुसपैठ र माइक्रोम्यानेजमेण्टले नेपाल राष्ट्रको सार्वभौम सम्प्रभुता र राष्ट्रिय स्वाभिमानलाइ नै निम्छरो बनाएको छ।
  सुष्मा स्वराजको भ्रमणसँगै प्रश्नहरु उठेका छन्। विद्यमान सरकारले सत्ता छाड्नलागेको र अर्को सरकार सत्तामा आइनसकेको यो शून्यकालमा स्वराजको भ्रमण भएको छ। भारतकै कारणले सिर्जित समस्याहरु छन् तर द्विपक्षीय छलफलको लागि केही एजेण्डा छैन भनिएको छ। भारतकै कारणले गर्दा आज नेपाली जनताले भुक्तमान खपिरहेछन् र सिङ्गै राष्ट्र आक्रान्त छ तर नेपालको परराष्ट्र मन्त्रालयले भारतसँग छलफल गर्नुपर्ने बिषय छैन भनिरहेछ। यो भनेको आलो घाउमा नुनचुक हालेको भन्दा बढी हो।

कुनै एजेण्डाबिना आएकी भनिएपनि, नाकाबन्दीमा बिच्किएका केपी ओलीलाइ मनाउन, फुल्याउनकै लागि सुष्मा स्वराजलाइ पठाइएको भनेर अनुमान गरिएको छ। यदि त्यसो होभने राष्ट्रिय आत्मसम्मानको मूल्यमा एउटा ब्यक्तिलाइ बोक्नखोज्दा त्यो झन् प्रत्युत्पादक हुनसक्ने आँकलन पनि बेलैमा गर्नु बुध्दिमानि हुनेछ।
केपी ओलीले पनि के हेक्का राख्नुपर्छभने उनको नेतृत्वमा निर्वाचनमा जाँदा वामगठबन्धनले पाएको मत भनेको उनले लिएको राष्ट्रियताको अडानलाइ जनताले दिएको मत पनि हो।
   यी सबका बावजुद के भन्न सकिन्छभने मनोमालिन्य, द्वेष र शत्रुतापूर्ण ब्यवहार भन्दा मेलमिलाप चाहीं हजार गुना उत्तम र बुध्दिमानि हो भन्नेमा नेपाली जनता जानकार छन्। यो मेलमिलापले राष्ट्रको कल्याण होस्, यही आशा गरौं।
Friday, February 2, 2018









No comments:

Post a Comment